कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

“कृ” लाई गीत चोरीको मुद्दा

‘सम्झना’ फिल्मको हिट गीत ‘उकालीमा पछिपछि...’ अनमुतिबिना प्रयोग गरेको भन्दै निर्माता शम्भु प्रधानद्वारा प्रहरीमा उजुरी

काठमाडौँ — हालै प्रदर्शनमा आएको अनमोल केसी अभिनीत ‘कृ’ मा समाविष्ट एउटा गीत मूल सर्जकलाई थाहै नदिई चोरी गरिएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

“कृ” लाई गीत चोरीको मुद्दा

उक्त फिल्ममा रहेको ‘उकालीमा पछिपछि...’ गीत यसअघि नै २०४३ मा निर्मित ‘सम्झना’ बाट चोरिएको भन्दै उक्त फिल्मका निर्माता शम्भु प्रधानले प्रहरी परिसर, काठमाडौंमा जाहेरी दरखास्त दर्ता गरेका छन् ।


गत २५ गते दर्ता उक्त निवेदनमाथि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ । प्रधानले निवेदनमा ‘कृ’ का निर्माता भुवन केसी र सुभाष गिरीलाई प्रतिवादी बनाएका छन् । प्रधानले आफूसँग कुनै अनुमति नलिई आफ्नो फिल्मको गीत चोरी गरेर प्रयोग गरेको भन्दै आर्थिक क्षतिपूर्ति दिलाइदिन अनुरोध गरेका छन् । उनले ‘कृ’ आफ्नो गीतकै कारण चलेकोले क्षतिपूर्तिबापत फिल्मको कुल आम्दानीमध्ये आधा रकम दिनुपर्ने दाबी गरेका छन् ।


रञ्जित गजमेरको रचना–संगीत रहेको उक्त गीत ‘कृ’ मा रिमेक गरेर प्रयोग गरिएको छ । युटयुबमा रहेको रिमेक गीतमा मूल संगीत रञ्जित गजमेर रहेको र रिमेक संगीत, गायन र लिरिक्स तीनैमा अल्मोडा राना उप्रेतीको नाम रहेको छ । अल्मोडा तिनै गीतकार/संगीतकार हुन्, जो यसअघि पनि ‘छक्का पञ्जा–२’ फिल्ममा रहेको ‘ए दाजु नसमाऊ नाडीमा...’ मा बोलको गीत चोरीमा तानिएका थिए । मूल गायक र रचनाकारसँग अनुमति नै नलिईकन फिल्ममा गीत राखेपछि अल्मोडासहित फिल्मका निर्माता दीपकराज गिरीसमेत विवादमा तानिएका थिए । अल्मोडामाथि अरू गीतको पनि चोरीको आरोप छ ।


गीतका मूल रचनाकार तथा संगीतकार गजमेरले प्रहरीमा उपस्थित भएर आफूले गीतको सर्वाधिकार ‘सम्झना’ का निर्माता प्रधानलाई दिएको बताएका छन् । प्रधानले निवेदनमा आफूलाई उक्त गीत पुन: प्रयोगका निम्ति थुप्रैले मागेको अवस्थामा ‘कृ’ मा आफूलाई थाहै नदिई गीत समावेश गरिएको बताएका छन् । ‘सम्झना’ को यो गीतमा अभिनेता भने भुवन केसी नै छन् ।


निवेदनमा ‘कृ’ का निर्माता भुवन केसी र सुभाष गिरी दुवैलाई प्रतिवादी बनाइएपछि काठमाडौं प्रहरी परिसरले फिल्मको निर्माता को हुन् भन्दै चलचित्र विकास बोर्डलाई पत्राचार गरेको थियो । बोर्डले फिल्मको निर्माता गिरी मात्रै रहेको जवाफ पठाएको थियो । तर हाइलाइट्स नेपालले राखेको फिल्मको ट्रेलरमा भने फिल्मको निर्मातामा सुभाष र भुवन दुवैको नाम उल्लेख छ । प्रहरीले निर्माता सुभाष र भुवनसँग यसबारे सोधपुछ गरिसकेको छ । गीत चोरीको विवादमा फिल्म निर्माता कम्पनी सुभाष इन्टरटेनमेन्ट प्रालिमाथि पनि प्रहरीले छानबिन सुरु गरेको छ । प्रहरीले यसबारे बुझ्न अल्मोडासँग पनि बयान लिने तयारी थालेको छ ।


प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ अनुसार गीत चोरीको मुद्दा चलाइने सम्भावना रहेको अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीले बताए । ती अधिकारीका अनुसार गीतका मूल सर्जक, पहिलोचोटि उक्त गीत समाविष्ट भएको फिल्मका निर्माता कसैलाई पनि थाहै नदिई सिर्जना चोरी गरिएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।

प्रकाशित : चैत्र १, २०७४ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?