कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धेरै मेकअप गर्नेहरू “नेतृत्वमा कमजोर”

‘मेकअप नगरी हिँड्दा सबैले बिरामी जस्ती देखियौ भन्छन् । त्यसैले मेकअप गर्नु हाम्रो बाध्यता हो ।’ – गायिका मेलिना राई

काठमाडौँ — मेकअपलाई महिलाको सौन्दर्यसँग जोडिन्छ । राम्री बन्न अनेक क्रिम, पाउडर लगाउँछन् । ब्रान्डेड प्रसाधनले भनेजस्तै परिणाम दिने अपेक्षा गरिन्छ ।

धेरै मेकअप गर्नेहरू “नेतृत्वमा कमजोर”

विदेशमा गुणस्तरीय प्रसाधन पाइने भएकाले उताकाले गज्जबै गर्छन् भन्ने विश्वास छ । तर, जतिसुकै ब्रान्डेड भए पनि मेकअपलाई सौन्दर्य वा साहससँग जोड्नु उचित नहुने रहेछ ।

बेलायतको अबर्ते युनिभर्सिटीका अनुसन्धाताहरू यसै भन्छन् । भरमार मेकअप गर्ने महिलाहरू नेतृत्वकर्ताका रूपमा कमजोर हुने उनीहरूले बताएका छन् । अनुसन्धानका सहभागीलाई एउटै महिलाका अनेक तस्बिर देखाएर कुन अवस्थामा यिनले राम्रो नेतृत्व गर्लिन् भनी सोधिएको थियो । सोह्र जोडी तस्बिरमध्ये एउटामा मेकअपरहित र अर्कोमा पार्टी जानुअघिको तस्बिर राखिएको थियो । कम्प्युटर सफ्टवेयर प्रयोग गरी मेकअप घटी/बढी पनि गरिएको थियो ।

सहभागीले अनुहार हेरेकै आधारमा कसले कति प्रतिशत राम्रो नेतृत्व गर्लिन् भनी मनखुसी अंक दिए । फेस पर्सेप्सन टास्क (अनुहार हेरेर आकलन गर्ने कार्य) मा उनीहरूले मेकअपसहितको अनुहारलाई कम अंक दिए भने मेकअप नगरेकालाई धेरै । यसबाट मेकअप र महिला–नेतृत्वसम्बन्धी आमबुझाइ छर्लंग भएको बताइयो ।

‘यसअघिको अनुसन्धानमा हामीले महिलालाई प्रभावशाली देखाउन मेकअपले धेरै सहयोग गर्छ भन्ने निष्कर्ष निकालेका थियौं,’ भारतीय अनलाइन डीएनएले उक्त विश्वविद्यालयका क्रिस्टोफर वाटकन्सलाई उद्धृत गर्दै लेखेको छ, ‘तर, हामी गलत रहेछौं । मेकअपले महिलाको नेतृत्वकारी भूमिका प्रबल बनाउन कुनै भूमिका नखेल्ने प्रमाणित भएको छ ।’

मनोविज्ञानका सन्दर्भमा यो अनुसन्धानलाई उदाहरणीय मानिएको छ । यसमा पहिलो प्रभाव (फस्ट इम्प्रेसन) नाप्न अनुसन्धानको मेजरमेन्ट स्केल प्रयोग गरिएको थियो । अनुसन्धानका अनुसार नेतृत्व तहमा रहेका महिला कम मेकअपमा देखिए भने मानिसले तिनमा बढी विश्वास गर्छन् । वा, शृंगारपटारमा ध्यान नदिनेलाई असल नेतृत्वकर्ता मानिँदो रहेछ ।

हामीकहाँ बढी मेकअप गर्ने महिलालाई ‘नक्कली’ भन्ने चलन छ । बाहिरी सौन्दर्यमा चाख राख्नेले राम्रो काम गर्दैनन् कि भन्ने आशंका गरिन्छ । कामकाजीलाई नक्कलझक्कल गर्ने समय हुन्न भन्ने आमविश्वास पनि छ । तसर्थ, यो अनुसन्धानको निचोड हामीकहाँ सान्दर्भिक हुने छाँट देखिन्छ । यद्यपि, कतिपय महिलाले मेकअपलाई आत्मबल बढाउने आधार मानेकै छन् ।

‘मेकअप नगरी हिँड्दा सबैले बिरामी जस्ती देखियौ भन्छन्,’ गायिका मेलिना राईले कान्तिपुरसँग भनिन्, ‘त्यसैले मेकअप गर्नु हाम्रो बाध्यता हो ।’ यस्तोमा महिलाको क्षमतालाई मेकअपसँग दाँजिनुलाई उनले निको मानिनन् ।

‘भित्री क्षमता र बाहिरी शृंगार फरक कुरा हुन्,’ उनले भनिन्, ‘मेकअप नगर्दैमा क्षमतावान् हुने र गर्दैमा नक्कली हुने भन्नु गलत हो ।’

प्रकाशित : चैत्र २, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?