कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घमाइलोमा हिँडाइ

तनमनलाई स्वस्थ राख्ने सबैभन्दा सस्तो र सजिलो स्वस्थकर प्रयास हिँडाइ हो । -डा. ओममूर्ति अनिल
अतुल मिश्र

काठमाडौँ — मुटु रोगी वा यससम्बन्धी उच्च जोखिम भएकालाई जाडो याममा ‘मर्निङ’ वा ‘इभनिङ’ वाकले जोखिममा पार्न सक्ने हुन्छ । त्यही भएर त्यस्ता व्यक्तिहरूका लागि ‘घमाइलोमा हिँडाइ’ फाइदाजनक हुन्छ ।

घमाइलोमा हिँडाइ

ह्दयरोगीहरूको मुटुलाई चिसो मौसमले प्रभावित गर्ने भएकोले वातावरणको तापक्रम कम भएको समय घरबाहिर उपयुक्त लुगाफाटोबिना निस्कनु हुन्न । सामान्य स्वस्थ व्यक्तिको लागि मर्निङवाक फाइदाकारी मानिए पनि मुटुको समस्या भएकाहरूको लागि जाडोमा बिहान वा बेलुकाको हिँडाइले स्वास्थ्यसम्बन्धी जटिलता उत्पन्न गर्न सक्छ ।

जाडो याममा वातावरणको तापक्रममा आएको कमीले गर्दा बढी ह्दयाघात, उच्च रक्तचापलगायतका मुटुसम्बन्धी समस्या हुने गरेका छन् । यति हुँदाहुँदै यस्ता व्यक्तिले अहिलेको निकै चिसोमा समेत दिनहुँ शारीरिक रूपले सक्रिय रहनु स्वास्थ्यको लागि त्यतिकै आवश्यक हुन्छ ।

यसैले मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मुटुका बिरामीहरूलाई यो मौसममा मर्निङ वा इभिनिङवाकको सट्टा दिनहुँ घाम लागेपछि हिँड्न सल्लाह दिने गरेका छन् । यस्तो हिँडाइ दिनहुँ न्यूनतम आधा घण्टा हुनैपर्छ । हिँडाइ सबैभन्दा सहज र सस्तो स्वस्थकर प्रयास रहेको उनी बताउँछन् ।

‘मुटु रोगीको लागि नियमित व्यायाम ओखती जतिकै महत्त्वपूर्ण हुन्छ,’ उनी भन्छन्, ‘तर चिसोमा बाहिर हिँडदा ज्यान जोखिममा पर्ने भएकोले यो मौसममा एक मात्र समाधान घाम लागेपछिको हिँडाइ हो ।’

तर शारीरिक स्वास्थ्यका लागि हिँडाइलगायत अन्य व्यायाम रोजेका मुटु रोगी वा मुटु रोगको उच्च जोखिममा रहेकाहरूले विशेषज्ञसँग आफूले दिनहुँ गर्ने हिँडाइलगायतका शारीरिक सक्रियताबारे सल्लाह लिनु आवश्यक हुन्छ ।

घाम लागेको बेला उपयुक्त लुगाफाटो, जुत्ता लगाएर स्वास्थ्यका लागि पैदल हिँडनु नै घमाइलो हिँडाइ रहेको आंैल्याउँदै डा. ओममूर्ति भन्छन्, ‘व्यायामले तपाईंको मुटुको मांसपेशीलाई बलियो बनाउँछ । यसले छाती नदुखी, अन्य लक्षण नभई बढी सक्रिय रहन सघाउँछ ।’

एक्कासि हिँडाइमा निस्कनु विज्ञान सम्मत होइन । डा. ओममूर्ति हिँडाइमा निस्कनुअघि शरीरलाई तताउनु (वार्मअप गर्नु) पर्ने बताउँछन् । जीउलाई तन्काएर वा घुमफिर गरेर तपाईं आफूलाई तताउन सक्नुहुन्छ । यसो गर्दा मांसपेशीमा रक्तसञ्चार बढ्छ । यस्तै, हिँडाइ सकिनुभन्दा ५–७ मिनेट अगावैदेखि विस्तारै हिँडन थाल्नुपर्छ । यसले तपाईंको शरीरलाई शान्त हुन समय मिल्छ ।

व्यायामले रक्तचाप र कोलेस्ट्रोललाई कम गर्न सघाउन सक्छ । मधुमेह भए चिनी नियन्त्रण गर्नसमेत यो सहयोगी हुन सक्छ ।

अमेरिकास्थित नेसनल हार्ट लङ एन्ड ब्लड इन्स्टिच्युटका अनुसार केही खास प्रकारको व्यायामले छातीमा एक्कासि दुखाइ (एन्जाइना) को प्रकरण ल्याउन सक्छ । तर अन्य प्रकारका शारीरिक गतिविधिको कोमल रूपले वास्तवमा तपाईंको मुटुको स्वास्थ्यलाई राम्रो पार्न सघाउँछ । यसैले यस्ता प्रकारका नियमित शारीरिक गतिविधि राम्रो मानिन्छ ।


जाडोले शरीरको गर्मी चोर्छ

हाम्रो मुलुकमा समतल मधेसदेखि पहाड हँुदै उच्च हिमाली क्षेत्रसमेत पर्ने भएकोले यहाँ जाडो याममा हिउँ, पानी, हावा अत्यन्त चिसोको अवस्थासँग जुध्नुपर्ने स्थिति देखिन्छ ।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार तापक्रममा कमीसँगै उच्च हावा, पानी, हिउँ पर्नुले समेत हाम्रो शरीरको गर्मीलाई चोर्छ । यसअन्तर्गत हावा मुख्य रूपले खतरनाक हो । किनभने यसले तपाईंको शरीरवरपर भएको तातो हावाको तहलाई हटाउँछ । ३० डिग्री फरेनहाइट तापक्रममा ३० माइल (४८.२८ किलोमिटर) प्रतिघण्टाका दरले बगेको हावाको चिस्याउने प्रभाव १५ डिग्री फरेनहाइट बराबर हुन्छ ।

यस्तैउस्तै तापक्रमको अवस्थामा नमी/गिलोपनाले शरीरबाट तातोपना सुक्खा मौसमको दाँजोमा छिट्टै हराउँछ । यसैले जाडो याममा शरीरलाई न्यानो राख्न विभिन्न तहमा लुगा लगाउनुपर्छ । अर्थात्, एक–दुइटा बाक्ला लुगा लगाउनुको सट्टा तीन/चारवटा पातलो लुगा लगाउनुले बढी न्यानो राख्छ । विभिन्न तहमा लुगा लगाउँदा यसले विभिन्न तहबीच हावालाई समात्छ र कुचालकको काम गर्छ । यस्तै यसले शरीरलाई चिसोबाट जोगाउन एउटा तहसमेत निर्माण गर्छ ।

जाडो याममा घरबाहिर निस्किँदा टाउको टोपी वा स्कार्फले छोप्नैपर्छ । टाउकोको माध्यमले तपाईंको शरीरको धेरैजसो तापक्रम गुम्छ । यस्तै कानसमेत जोगाउनुपर्छ भने हातखुट्टासमेत न्यानो राख्नुपर्छ । यो तापक्रम छिटो गुमाउने अंग हो ।


कति तापक्रम उपयुक्त ?

मानव शरीरको सामान्य भित्री तापक्रम ९७ डिग्री फरेनहाइटदेखि ९९ डिग्री फरेनहाइटको बीचमा हुन्छ । तर शरीरको औसत सामान्य तापक्रम ९८.७ डिग्री फरेनहाइट (३७ डिग्री सेन्टिग्रेट) हुन्छ । बिनाकुनै तातो पार्ने वा चिस्याउने यन्त्रको सहयोगले शरीरको यो तापक्रमलाई कायम राख्न हाम्रो शरीर छेउछाउको वातावरणको तापक्रम करिब ८२ डिग्री फरेनहाइट (२८ डिग्री सेन्टिग्रेड) हुनुपर्छ ।

‘हावा चलेको बेला बाहिर निस्किँदा यसले मुटु स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भएकोले साँझपख हावा चलेको समयमा बाहिर निस्कनु हुँदैन,’ डा. ओममूर्ति भन्छन्, ‘तपाईंले लगाउने लुगाफाटोले तपाईंलाई राम्रो देखिनका लागि मात्र हैन, तपाईंको शरीरलाई न्यानो राख्नसमेत त्यतिकै महत्त्वपूर्ण हुन्छ ।’

यति मात्र नभई जाडो याममा चिसो हावा बगिरहेको समय मास्क लगाएर निस्किए यसले प्रदूषणबाट जोगाउने मात्र नभई शरीरको गर्मीलाई कायम राख्नमा समेत सघाउने डा.ओममूर्ति औंल्याउँछन् ।


के गर्छ चिसोले ?

जाडो याममा मुटु र रक्तनलीमा विभिन्न प्रकारका नकारात्मक परिवर्तन आउँछन् । यस्तो प्रभाव मुख्यत: मुटु र रक्तबाहिनीसम्बन्धी (कार्डियोभास्कुलर) रोग भएकाहरूमा बढी मात्रामा देखिन्छ ।

विशेषज्ञहरूको अनुसार मुटु रोगीका लागि चिसो याम बढी घातक हुन्छ । चिसो याममा मुटु एवं रक्तसञ्चार प्रभावित हुन्छ । यो मौसममा रगतको बाक्लोपना बढ्छ । पातलो रगतको नली झन् साँगुरो हुन्छ । यसले रगतको दबाब बढ्छ र मुटुको चालमा समेत वृद्घि हुन्छ ।

जाडो याममा चिसो बढ्नुका साथै मुटुमा रगत आपूर्ति गर्ने कोरोनरी धमनीको भित्री सतहमा कोलेस्ट्रोल जम्छ । यसले धमनी साँगुरो र असमतल हुन्छ । जाडो याममा मुटुलाई कोरोनरी धमनीले पर्याप्त रगत आपूर्ति नगर्दा एनजाइना (मुटु दुखाइ) समेत हुन सक्छ ।

जाडोमा मुटुबाहेक मस्तिष्क र शरीरको अन्य अंगको धमनीसमेत साँगुरो हुन्छन् । यसले रगतको प्रवाहमा रोकावट आउनुका साथै रगत जम्ने डर हुन्छ । यसमा मुटुमात्र नभई मस्तिष्क र शरीरको अन्य अंगको पक्षाघात हुने सम्भावनासमेत बढ्छ ।


राजधानीमा मर्निङवाक जोखिमपूर्ण

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा गरिएको एउटा अध्ययनअनुसार राजधानीमा मर्निङ वा इभिनिङवाक गर्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण छ ।

उपत्यकाको वायु प्रदूषण र श्वासप्रश्वासमा पर्ने असरबारे सन् २०१५ मा गरिएको उक्त अध्ययनअनुसार प्रदूषणको स्तर एकाबिहानैदेखि बढ्न थाल्छ । राजधानीमा वायु प्रदूषणको स्तर सबेरैदेखि बढ्दै बिहान ८/९ बजेतिर सबैभन्दा बढी हुन्छ ।

यस्तै साँझतिर पनि प्रदूषणको स्तर बढी हुन्छ । मर्निङवाक गर्नेहरूलाई उपत्यकाको वायु प्रदूषणले ‘हेल्थ थ्रेट’ दिइरहेको समेत अध्ययनले आंैल्याएको छ ।


हिँडाइअघि कसले सल्लाह लिनैपर्छ ?

  • हालै ह्दयाघात भएकाहरूले
  • हालै मुटुसम्बन्धी शल्यक्रिया वा उपचार गरेकाहरूले
  • मुटु कमजोर (हार्ट फेल्योर) र ब्लकेज भएकाहरूले
  • हालसालै मस्तिकाघात भएकाहरूले
  • मुटु रोगको उच्च जोखिममा भएकाहरूले
  • लामो समयदेखि मधुमेहको समस्या भई रक्तचाप अनियन्त्रित भएकाहरूले
  • हिँडदा छाती दुख्ने, सास फेर्न असजिलो हुनेहरूले


[email protected]

प्रकाशित : पुस ८, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?