२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बहुऔषधिप्रतिरोधी क्षयरोग

अतुल मिश्र

काठमाडौँ — हाम्रो मुलुकमा बहुऔषधिप्रतिरोधी क्षयरोग अर्थात् मल्टिड्रग रेसिस्टेन्ट (एमडीआर) टीबीसँगको लडाइँ जारी छ । सामान्य क्षयरोगको उपयुक्त उपचार नगरे वा औषधि बीचैमा छोडे एमडीआर टीबीको सम्भावना हुन्छ । एमडीआर टीबी भएकाबाट सद्दे व्यक्तिमा रोग सर्दासमेत एमडीआर टीबी नै हुन्छ । 

बहुऔषधिप्रतिरोधी क्षयरोग

क्षयरोगमा प्रयोग हुने मुख्य चार औषधि हुन्— रिफाम्पिसिन, आइसोनियाजिड, पाइराजिनामाइड र इथामबुटोल । यीमध्ये सबैभन्दा शक्तिशाली रिफाम्पिसिन र आइसोनियाजिडलाई मानिन्छ । यिनै दुइटा औषधिले काम गर्न छोडे एमडीआर टीबी भएको मानिन्छ ।


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, विश्वव्यापी रुपमा वर्षेनि रिफाम्पिसिन प्रतिरोधका करिब ६ लाख नयाँ केस देखिन्छ, जसमध्ये ४ लाख ९० हजारलाई एमडीआर टीबी हुन्छ ।


हाल हाम्रो मुलुकमा जीन एक्स्पर्ट मेसिनको सहयोगले मात्र कुनै बिरामी रिफाम्पिसिनप्रतिरोधी भएको पत्तो पाइन्छ । तर हाम्रै मुलुकमा रिफाम्पिसिनप्रतिरोधी भएकामध्ये करिब ९७ प्रतिशत व्यक्ति समते आइसोनियाजिडप्रतिरोधी भएको पाइन्छ ।

अति जटिल, खर्चिलो र विषाक्त प्रभावसहित उपचार प्रक्रिया हुने एमडीआर टीबी भएकाहरूको संख्या समेत मुलुकमा वर्षेनी बढदो रहेको राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ कन्सल्टेन्ट छाती रोग विशेषज्ञ डा. मोहनकुमार प्रसाईं बताउँछन् ।


राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीका अनुसार, हाम्रो मुलुकमा हाल ३२ हजार ५७ जना नयाँ सामान्य क्षयरोगीले उपचार गराइरहेका छ भने एमडीआर टीबी प्रभावित ४ सय ५१ जना उपचाररत छन् । दुवै प्रकारका क्षयरोगको लागि औषधिमुलो, परीक्षण आदि पूर्ण रूपमा नि:शुल्क छ ।


एसियन र बेइजिङ प्रजातिको एमडीआर टीबी हाम्रो मुलुकमा पाइने एमडीआर टीबीका सेन्ट्रल एसियन प्रजाति र बेइजिङ प्रजाति गरी दुई प्रकार छन् ।


केही वर्षअघिसम्म सेन्ट्रल एसियन प्रजातिको एमडीआर टीबी प्रभावितको संख्या बढी देखिएको भए पनि हाल बेइजिङ प्रजातिबाट पीडितको संख्या सबैभन्दा बढी रहेको राष्ट्रिय क्षयरोग केन्द्रका डा. प्रमोद भट्टराई बताउँछन् ।


हाल पूर्वाञ्चलमा बेइजिङ प्रजातिको एमडीआर बढेको हो । चीनबाट आएर पूर्वी युरोपतिर गएको बेइजिङ प्रजातिको एमडीआर जस्तै सेन्ट्रल एसियन प्रजातिको एमडीआर टीबी बंगलादेश र भारतमा बढी छ । सेन्ट्रल एसियनको दाँजोमा बेइजिङ प्रजातिको एमडीआर टीबीले अरुमा चाँडै सर्ने क्षमता राख्ने डा. भट्टराई बताउँछन् ।


जेन टप प्रोजेक्टकी डा. भावना श्रेष्ठका अनुसार, पछिल्लो ‘ड्रग रेसिस्टेन्स सर्भिलेन्स’ का अनुसार नयाँ क्षयरोगीमा २.२ प्रतिशतमा एमडीआर टीबी हुन सक्छ । यस्तै, पहिले औषधि खाएर निको भएका, औषधि छोडेका, औषधि खाए पनि निको नभएका एक सय जनामध्ये १५.४ प्रतिशतमा एमडीआर टीबी हुन सक्छ ।


दुई वर्षको सट्टा नौ महिना उपचार

हालसम्म हाम्रो मुलुकमा एमडीआर टीबीको उपचार २० देखि २४ महिनासम्म गरिन्थ्यो । बिरामीका लागि नि:शुल्क भए पनि यसमा प्रयोग भएका औषधिहरूको मूल्यसमेत करिब साढे पाँच लाख रुपैयाँ पथ्र्यो । तर सन् २०१८ देखि नौमहिने छोटो अवधिको उपचार सुरु भएको छ । यो पनि नि:शुल्क नै छ अनि औषधिको मूल्य पनि २ लाखजति मात्र छ । यो उपचारको सफलताको दर ८५ प्रतिशतभन्दा बढी पाइएको छ ।


छोटो अवधिको उपचारअन्तर्गत सुरुका चार महिनालाई गहन चरण (इन्टेन्सिभ फेज) भनिन्छ । यो चरण अन्तर्गत बिरामीलाई सुईसहित अरू छ औषधि सेवन गर्न दिइन्छ ।

यसअन्तर्गत खाने चक्कीमा इथामबुटोल, आइसोनियाजिड, पाइराजिनामाइड, क्लोफाजिनिन, मोक्सिफलोक्सेसिन र एटिओनामाइड तथा केनामाइसिन सुई दिने गरिन्छ । बिरामीले दिनहुँ छ चक्की र सातामा छ दिन उक्त सुई लगाउने गरेको डा. भट्टराई बताउँछन् ।


यसरी चार महिना पुगेपछि बिरामीको खकार परीक्षण गरिन्छ । खकारमा क्षयरोगको कीटाणु नदेखिए थप पाँच महिनासम्म क्लोफाजिनिन, पाइराजिनामाइड, मोक्सिफलोक्सासिन र इथामबुटोल गरी चार वटा औषधि मात्र दिइन्छ । यो पाँच महिनाको समयमा प्रत्येक महिना बिरामीको खकार परीक्षण गरेर क्षयरोगको कीटाणु भए/नभएको पुष्टि गरिन्छ । यस्ता बिरामीमा धेरै समयसम्म क्षयरोगको कीटाणु नदेखिए उनीहरूलाई क्षयरोगमुक्त घोषणा गरिन्छ ।


छोटो उपचार विधिमा नौ महिनासम्म औषधि दिँदासमेत खकार पोजेटिभ देखिए पुन: दुई महिना औषधि थप्ने गरिएको छ ।


उपचार सुरु भए पनि केही दिन रोग सार्न सक्ने

एमडीआर टीबी भएकाहरूले अन्य स्वस्थ व्यक्तिमा एमडीआर टीबी नै सार्छन् । एमडीआर टीबी भएकाहरूले उपचार सुरु गरे पनि उनीहरूबाट केही दिनसम्म अन्य स्वस्थ व्यक्तिमा रोग सर्ने सम्भावना कायमै रहन्छ । उसो त यस्ता व्यक्तिमा रोग सार्ने समस्या व्यक्ति–व्यक्तिबीच फरक हुन्छ ।


‘एक, डेढ महिना नियमित औषधि खाएपछि करिब ८० प्रतिशत व्यक्तिले अन्य स्वस्थ व्यक्तिमा रोग सार्दैनन्,’ डा. भट्टराई भन्छन् । उनका अनुसार अपवादमा भने केही व्यक्तिमा औषधि खान सुरु गरेको चारपाँच महिनासम्म खकारमा क्षयरोगको कीटाणु भेटिन्छ अर्थात् ती व्यक्तिबाट अन्य स्वस्थ व्यक्तिमा रोग सर्न सक्छ ।


औषधि खाएपछि खकारमा क्षयरोगको कीटाणु देखिन छोडेको केही समयपछि पुन: खकारमा क्षयरोगको कीटाणुसमेत भेटिने गरेको छ । यसैले विशेषज्ञले एमडीआर टीबीमुक्त रहेको र संक्रमण अरुलाई सार्न नसक्ने नभनेसम्म बिरामी र तिनका आफन्तले विशेष सावधानी अपनाउनुपर्छ ।


एमडीआरका ६०० बिरामी उपचारमा आउँदैनन्

डा. प्रसाईंका अनुसार हाल वर्षेनि उपचारमा आइरहेका एमडीआर टीबीका बिरामी करिब चार सय रहे पनि यो संख्या एक हजार हुनुपर्ने हो ।


‘वर्षेनि करिब ६ सय जना एमडीआर टीबीका बिरामी उपचारमा आएका छैनन्,’ उनी भन्छन्, ‘अनुमानित ६ सय जना समाजमै रहेर स्वस्थ व्यक्तिलाई एमडीआर टीबी सारिरहेका छन् । यो सबैभन्दा खतरनाक पक्ष हो ।’


विशेष सावधानी आवश्यक

एमडीआर टीबीको उपचार गराइरहेकाहरू र तिनका आफन्तहरूले अन्य व्यक्तिमा रोग सर्न नदिन विशेष सावधानी अपनाउनुपर्छ ।


‘बिरामी बस्ने कोठा हावा खेल्ने खालको हुनुपर्छ’, डा. श्रेष्ठ भन्छिन् ‘बिरामीले मास्क लगाएर बस्नुपर्छ । तिनको हेरचाह गर्ने बेलामा परिवारका सदस्यले समेत मास्क लगाउनुपर्छ ।’

यस्ता बिरामीसँग खकारमा कीटाणु भेटिउन्जेल अनावश्यक रुपले बढी हिमचिम गर्नु हुँदैन । बिरामीका लुगाफाटा, ओछयान आदि पनि सातामा एक पटक घाममा राम्ररी सुकाउनुपर्छ ।

बालबालिका, बूढापाका लगायत रोगप्रतिरोधी क्षमता कम भएकाहरूले यस्ता बिरामीको अनावश्यक सम्पर्कमा आउनु हुन्न । सार्वजनिक यातायात प्रयोग गर्दा बिरामीले मास्क लगाउनुपर्छ, जथाभावी थुक्ने गर्नु हुँदैन ।


उपचारताका खानामा ध्यान दिनु पर्ने

एमडीआर टीबीका बिरामीले उच्च प्रोटिन भएका खाद्य पदार्थ सेवन गर्नुपर्छ । नियमित रुपमा लिने सुई लिने गर्नाले उनीहरूको शरीरमा पोटेसियमको कमी हुने औँल्याउँदै डा. श्रेष्ठ यस्ता बिरामीलाई केरा, दही लगायतका पोटेसियमयुक्त खाद्य पदार्थ सेवन गर्ने सल्लाह दिन्छिन् । एमडीआर टीबीको नियमित औषधि सेवन गर्नेहरूलाई सरकारले गत साउनदेखि महिनाको तीन हजार रुपैयाँसमेत दिने गरेको छ ।

फोक्सोको क्षयरोगका लक्षण

  • दुई साता वा यसभन्दा बढी समयदेखि खोकी लागिरहनु
  • छाती दुख्नु, सास फेर्न गाह्रो हुनु
  • खास गरी बेलुका र राती ज्वरो आउनु
  • तौल घट्नु, खाना नरुच्नु
  • खकारमा रगत देखिनु
[email protected]

प्रकाशित : पुस २२, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?