अमृत फल सुन्तला

कान्तिपुर संवाददाता

काठमाडौँ — जाडोयाममा घाममा बसेर अमिलो, गुलियो, रसिलो सुन्तला खाँदाको आनन्द हामी बिर्सन सक्दैनौं । यसको रस शताब्दियौँदेखि औषधीय गुणका लागि चिनिने गरेको छ । सुन्तला स्वास्थ्यवद्र्धक फल हो । उपवास र सबै रोगमा सुन्तला उपयोग गर्न सकिन्छ ।

आयुर्वेदअनुसार सुन्तला वातनाशक, ज्वरो, हृदय विकारलगायतमा उपयोगी मानिन्छ ।
सुन्तला सिट्स फ्रुट हो । यसमा प्रचूर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । यसमा प्राकृतिक एन्टी–अक्सिडेन्ट हुन्छ । यसले रोगप्रतिरोधक क्षमता बढाउनुका साथै रगतको सफाइ र स्टेमिना बढाउन सघाउँछ । यो एन्टि–अक्सिडेन्टले उमेरमा वृद्घिसँगै छालामा हुने चाउरीलाई कम गर्छ । भिटामिन ‘सी’ ले मांसपेशीहरूका लागि भोजनबाट क्याल्सियम अवशोषण गर्न सहयोग गर्छ ।

सुन्तलामा भिटामिन ‘ए’, ‘बी’, फलाम र पोटेसियमसमेत बढी मात्रामा हुन्छ । भिटामिन ‘ए’ र क्याल्सियमले ओतप्रोत सुन्तला को नियमित सेवनले दाँत र हाडको स्वास्थ्य राम्रो हुन्छ । यसले अस्टियोस्पोरोसिसको जोखिमलाई धेरै हदसम्म कम गर्छ । यति मात्र नभई, यो फलले रगतमा ब्लड सुगरको स्तरलाई सामान्य राख्छ ।

रेसा (फाइबर) को राम्रो स्रोत भएकाले सुन्तलाले चिनीलाई फ्रुटोसमा परिवर्तित गर्छ । यो गुलियो भए पनि चिनीको स्तरलाई नियन्त्रित गरेर मधुमेहपीडित व्यक्तिका लागि राम्रो पेयपदार्थ सावित हुन्छ ।

सुन्तलाको सबैभन्दा ठूलो विशेषता भनेको यसमा भएको फ्रुक्टोज, डेक्सट्रोज, खनिज र भिटामिन, शरीरमा पुग्नासाथ ऊर्जा दिन थाल्नु हो । सूर्यकिरणद्वारा सुन्तलाको ‘स्टार्च’ गुलियोमा परिवर्तित हुन्छ, जुन मानव रगतमा अपेक्षाकृत बढी छिटो समाहित हुन्छ । यसैले सुन्तला खाएपछि स्फूर्ति अनुभव हुन्छ । सुन्तलाको सेवनले शरीर स्वस्थ रहन्छ, छालामा निखार आउँछ र सौन्दर्यमा वृद्घि हुन्छ ।

सुन्तलामा भएको पोटेसियम, फोलिक एसिड, क्याल्सियमले कोलेस्ट्रोलको स्तर र उच्च रक्तचापलाई नियन्त्रित राख्छन् । यी तत्त्व कोषिकाहरूमा इलेक्ट्रोलाइटलाई सन्तुलनमा राखेर मुटुलाई स्वस्थ राख्न सघाउँछन् । पोटेसियमले मस्तिष्कमा अक्सिजनको सञ्चारमा
सघाउँछ । यसले हामीलाई तनाव र डिप्रेसन (उदासी रोग) बाट निकाल्न सघाउँछ ।

सुन्तला सुक्खा खोकीमा समेत फाइदाजनक हुन्छ । यसले कफलाई पातलो गरेर शरीरबाट निकाल्न सघाएर नाक र छातीको बाटामा आउने अवरोध हटाउँछ । यो फलले स्वस्थ राख्नुका साथै शरीरको सफाइसमेत गर्छ । यसमा भएका फाइबरका कारण यस्तो हुने गर्छ । सुन्तलाको रसमा भने यी रेसाहरूको कमी हुन्छ, त्यसैलेसिंगो सुन्तला खानु नै बढी लाभदायक हुन्छ ।

सुन्तला नियमित रूपमाखानाले रुघाखोकी र रक्तस्रावको समस्या हुँदैन । शरीर सशक्त र दीर्घायु बन्छ । पाचन प्रणाली सधैँ ठीक हुन्छ ।

सुन्तलामा एन्टि–इन्फेमेन्ट्री गुण हुन्छ, जसका कारण शरीरमा इलोक्ट्रोलाइटको सन्तुलन कायम रहन मद्दत मिल्छ । यसमा भएको साइट्रिक एसिडले मूत्र र मृगौलासम्बन्धी निर्मूल गर्न सघाउँछ । नियमित रूपमा सुन्तलाको सेवनले पिसाबका माध्यमले साइट्रिक एसिडको उत्सर्जन हुने गर्नाले पीएच स्तरमा सुधार हुन्छ । यसले मृगौलाको क्याल्सियमलाई फयाँक्न सघाउँछ । यसै कारण मृगौलाको पत्थरीको जोखिम कम हुन्छ । अर्थात्, सुन्तलाको रसले मृगौलामा क्याल्सियमको ओक्सलेटस्लाई एक ठाउँमा जम्मा हुन दिँदैन र पत्थरीको सम्भावना न्यून हुन्छ ।

सुन्तलाको रस क्याल्सियम अक्सलेटलाई तोड्नसमेत सहायक हुने विश्वास गरिन्छ । यसैले प्राचीनकालमा पत्थरी रोगबाट पीडितलाई औषधिकै रूपमा सुन्तलाको रस खाने सल्लाह दिइने आयुर्वेदमा उल्लेख छ ।

सुन्तलाको बोक्रासमेत गुणकारी मानिन्छ । सुकेका बोक्रा पिँधेर अनुहारमा लेपन गर्दा दाग, कालो पोतो हट्नुका साथै अनुहार टल्किन्छ ।

बालबालिका, बूढापाका, रोगीहरूलाई दुर्बलता हटाउन सुन्तला उपयोग गर्ने सल्लाह दिइन्छ । आयुर्वेदअनुसार, सुन्तलाको नियमित सेवनले पाइल्स रोगमा समेत लाभ पुग्छ ।

प्रकाशित : पुस २२, २०७४ ०८:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बहुऔषधिप्रतिरोधी क्षयरोग

अतुल मिश्र

काठमाडौँ — हाम्रो मुलुकमा बहुऔषधिप्रतिरोधी क्षयरोग अर्थात् मल्टिड्रग रेसिस्टेन्ट (एमडीआर) टीबीसँगको लडाइँ जारी छ । सामान्य क्षयरोगको उपयुक्त उपचार नगरे वा औषधि बीचैमा छोडे एमडीआर टीबीको सम्भावना हुन्छ । एमडीआर टीबी भएकाबाट सद्दे व्यक्तिमा रोग सर्दासमेत एमडीआर टीबी नै हुन्छ । 

डा. रमेश चोखानी राजधानीको नर्भिक अस्पतालमा बिरामीको एक्सरे जाँच गर्दै ।

क्षयरोगमा प्रयोग हुने मुख्य चार औषधि हुन्— रिफाम्पिसिन, आइसोनियाजिड, पाइराजिनामाइड र इथामबुटोल । यीमध्ये सबैभन्दा शक्तिशाली रिफाम्पिसिन र आइसोनियाजिडलाई मानिन्छ । यिनै दुइटा औषधिले काम गर्न छोडे एमडीआर टीबी भएको मानिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, विश्वव्यापी रुपमा वर्षेनि रिफाम्पिसिन प्रतिरोधका करिब ६ लाख नयाँ केस देखिन्छ, जसमध्ये ४ लाख ९० हजारलाई एमडीआर टीबी हुन्छ ।

हाल हाम्रो मुलुकमा जीन एक्स्पर्ट मेसिनको सहयोगले मात्र कुनै बिरामी रिफाम्पिसिनप्रतिरोधी भएको पत्तो पाइन्छ । तर हाम्रै मुलुकमा रिफाम्पिसिनप्रतिरोधी भएकामध्ये करिब ९७ प्रतिशत व्यक्ति समते आइसोनियाजिडप्रतिरोधी भएको पाइन्छ ।
अति जटिल, खर्चिलो र विषाक्त प्रभावसहित उपचार प्रक्रिया हुने एमडीआर टीबी भएकाहरूको संख्या समेत मुलुकमा वर्षेनी बढदो रहेको राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ कन्सल्टेन्ट छाती रोग विशेषज्ञ डा. मोहनकुमार प्रसाईं बताउँछन् ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीका अनुसार, हाम्रो मुलुकमा हाल ३२ हजार ५७ जना नयाँ सामान्य क्षयरोगीले उपचार गराइरहेका छ भने एमडीआर टीबी प्रभावित ४ सय ५१ जना उपचाररत छन् । दुवै प्रकारका क्षयरोगको लागि औषधिमुलो, परीक्षण आदि पूर्ण रूपमा नि:शुल्क छ ।

एसियन र बेइजिङ प्रजातिकोएमडीआर टीबीहाम्रो मुलुकमा पाइने एमडीआर टीबीका सेन्ट्रल एसियन प्रजाति र बेइजिङ प्रजाति गरी दुई प्रकार छन् ।

केही वर्षअघिसम्म सेन्ट्रल एसियन प्रजातिको एमडीआर टीबी प्रभावितको संख्या बढी देखिएको भए पनि हाल बेइजिङ प्रजातिबाट पीडितको संख्या सबैभन्दा बढी रहेको राष्ट्रिय क्षयरोग केन्द्रका डा. प्रमोद भट्टराई बताउँछन् ।

हाल पूर्वाञ्चलमा बेइजिङ प्रजातिको एमडीआर बढेको हो । चीनबाट आएर पूर्वी युरोपतिर गएको बेइजिङ प्रजातिको एमडीआर जस्तै सेन्ट्रल एसियन प्रजातिको एमडीआर टीबी बंगलादेश र भारतमा बढी छ । सेन्ट्रल एसियनको दाँजोमा बेइजिङ प्रजातिको एमडीआर टीबीले अरुमा चाँडै सर्ने क्षमता राख्ने डा. भट्टराई बताउँछन् ।

जेन टप प्रोजेक्टकी डा. भावना श्रेष्ठका अनुसार, पछिल्लो ‘ड्रग रेसिस्टेन्स सर्भिलेन्स’ का अनुसार नयाँ क्षयरोगीमा २.२ प्रतिशतमा एमडीआर टीबी हुन सक्छ । यस्तै, पहिले औषधि खाएर निको भएका, औषधि छोडेका, औषधि खाए पनि निको नभएका एक सय जनामध्ये १५.४ प्रतिशतमा एमडीआर टीबी हुन सक्छ ।

दुई वर्षको सट्टा नौ महिना उपचार
हालसम्म हाम्रो मुलुकमा एमडीआर टीबीको उपचार २० देखि २४ महिनासम्म गरिन्थ्यो । बिरामीका लागि नि:शुल्क भए पनि यसमा प्रयोग भएका औषधिहरूको मूल्यसमेत करिब साढे पाँच लाख रुपैयाँ पथ्र्यो । तर सन् २०१८ देखि नौमहिने छोटो अवधिको उपचार सुरु भएको छ । यो पनि नि:शुल्क नै छ अनि औषधिको मूल्य पनि २ लाखजति मात्र छ । यो उपचारको सफलताको दर ८५ प्रतिशतभन्दा बढी पाइएको छ ।

छोटो अवधिको उपचारअन्तर्गत सुरुका चार महिनालाई गहन चरण (इन्टेन्सिभ फेज) भनिन्छ । यो चरण अन्तर्गत बिरामीलाई सुईसहित अरू छ औषधि सेवन गर्न दिइन्छ ।
यसअन्तर्गत खाने चक्कीमा इथामबुटोल, आइसोनियाजिड, पाइराजिनामाइड, क्लोफाजिनिन, मोक्सिफलोक्सेसिन र एटिओनामाइड तथा केनामाइसिन सुई दिने गरिन्छ । बिरामीले दिनहुँ छ चक्की र सातामा छ दिन उक्त सुई लगाउने गरेको डा. भट्टराई बताउँछन् ।

यसरी चार महिना पुगेपछि बिरामीको खकार परीक्षण गरिन्छ । खकारमा क्षयरोगको कीटाणु नदेखिए थप पाँच महिनासम्म क्लोफाजिनिन, पाइराजिनामाइड, मोक्सिफलोक्सासिन र इथामबुटोल गरी चार वटा औषधि मात्र दिइन्छ । यो पाँच महिनाको समयमा प्रत्येक महिना बिरामीको खकारपरीक्षण गरेर क्षयरोगको कीटाणु भए/नभएको पुष्टि गरिन्छ । यस्ता बिरामीमा धेरै समयसम्म क्षयरोगको कीटाणु नदेखिए उनीहरूलाई क्षयरोगमुक्त घोषणा गरिन्छ ।

छोटो उपचार विधिमा नौ महिनासम्म औषधि दिँदासमेत खकार पोजेटिभ देखिए पुन: दुई महिना औषधि थप्ने गरिएको छ ।

उपचार सुरु भए पनिकेही दिन रोग सार्न सक्ने
एमडीआर टीबी भएकाहरूले अन्य स्वस्थ व्यक्तिमा एमडीआर टीबी नै सार्छन् । एमडीआर टीबी भएकाहरूले उपचार सुरु गरे पनि उनीहरूबाट केही दिनसम्म अन्य स्वस्थ व्यक्तिमा रोग सर्ने सम्भावना कायमै रहन्छ । उसो त यस्ता व्यक्तिमा रोग सार्ने समस्या व्यक्ति–व्यक्तिबीच फरक हुन्छ ।

‘एक, डेढ महिना नियमित औषधि खाएपछि करिब ८० प्रतिशत व्यक्तिले अन्य स्वस्थ व्यक्तिमा रोग सार्दैनन्,’ डा. भट्टराई भन्छन् । उनका अनुसार अपवादमा भने केही व्यक्तिमा औषधि खान सुरु गरेको चारपाँच महिनासम्म खकारमा क्षयरोगको कीटाणु भेटिन्छ अर्थात् ती व्यक्तिबाट अन्य स्वस्थ व्यक्तिमा रोग सर्न सक्छ ।

औषधि खाएपछि खकारमा क्षयरोगको कीटाणु देखिन छोडेको केही समयपछि पुन: खकारमा क्षयरोगको कीटाणुसमेत भेटिने गरेको छ । यसैले विशेषज्ञले एमडीआर टीबीमुक्त रहेको र संक्रमण अरुलाई सार्न नसक्ने नभनेसम्मबिरामी र तिनका आफन्तले विशेष सावधानी अपनाउनुपर्छ ।

एमडीआरका ६०० बिरामीउपचारमा आउँदैनन्
डा. प्रसाईंका अनुसार हाल वर्षेनि उपचारमा आइरहेका एमडीआर टीबीका बिरामी करिब चार सय रहे पनि यो संख्या एक हजार हुनुपर्ने हो ।

‘वर्षेनि करिब ६ सय जना एमडीआर टीबीका बिरामी उपचारमा आएका छैनन्,’ उनी भन्छन्, ‘अनुमानित ६ सय जना समाजमै रहेर स्वस्थ व्यक्तिलाई एमडीआर टीबी सारिरहेका छन् । यो सबैभन्दा खतरनाक पक्ष हो ।’

विशेष सावधानी आवश्यक
एमडीआर टीबीको उपचार गराइरहेकाहरू र तिनका आफन्तहरूले अन्य व्यक्तिमा रोग सर्न नदिन विशेष सावधानी अपनाउनुपर्छ ।

‘बिरामी बस्ने कोठा हावा खेल्ने खालको हुनुपर्छ’, डा. श्रेष्ठ भन्छिन् ‘बिरामीले मास्क लगाएर बस्नुपर्छ । तिनको हेरचाह गर्ने बेलामा परिवारका सदस्यले समेत मास्क लगाउनुपर्छ ।’
यस्ता बिरामीसँग खकारमा कीटाणु भेटिउन्जेल अनावश्यक रुपले बढी हिमचिम गर्नु हुँदैन । बिरामीका लुगाफाटा, ओछयान आदि पनि सातामा एक पटक घाममा राम्ररी सुकाउनुपर्छ ।
बालबालिका, बूढापाका लगायत रोगप्रतिरोधी क्षमता कम भएकाहरूले यस्ता बिरामीको अनावश्यक सम्पर्कमा आउनु हुन्न । सार्वजनिक यातायात प्रयोग गर्दा बिरामीले मास्क लगाउनुपर्छ, जथाभावी थुक्ने गर्नु हुँदैन ।

उपचारताका खानामा ध्यान दिनु पर्ने
एमडीआर टीबीका बिरामीले उच्च प्रोटिन भएका खाद्य पदार्थ सेवन गर्नुपर्छ । नियमित रुपमा लिने सुई लिने गर्नाले उनीहरूको शरीरमा पोटेसियमको कमी हुने औँल्याउँदै डा. श्रेष्ठ यस्ता बिरामीलाई केरा, दही लगायतका पोटेसियमयुक्त खाद्य पदार्थ सेवन गर्ने सल्लाह दिन्छिन् । एमडीआर टीबीको नियमित औषधि सेवन गर्नेहरूलाई सरकारले गत साउनदेखि महिनाको तीन हजार रुपैयाँसमेत दिने गरेको छ ।
फोक्सोको क्षयरोगका लक्षण
  • दुई साता वा यसभन्दा बढी समयदेखि खोकी लागिरहनु
  • छाती दुख्नु, सास फेर्न गाह्रो हुनु
  • खास गरी बेलुका र राती ज्वरो आउनु
  • तौल घट्नु, खाना नरुच्नु
  • खकारमा रगत देखिनु
atulmishra7@gmail.com

प्रकाशित : पुस २२, २०७४ ०८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT