१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लसुन

काठमाडौँ — आयुर्वेदले लसुनलाई अत्यन्त फाइदाजनक औषधिजस्तै मानेको छ । विभिन्न चिकित्सा पद्धतिमा लसुनलाई उपयोगी मानिएको छ । आयुर्वेदको ग्रन्थ ‘भाव प्रकाश’ मा लसुनको गुणको चर्चा गर्दै लेखिएको छ— ‘लसुन उपयोग गर्ने व्यक्तिलाई शारीरिक श्रम गर्ने आवश्यकता छैन ।’

लसुन

लसुनको प्रयोग भारतीय उपमहाद्वीपमा प्राचीनकालदेखि गरिँदै आएको छ । केही अध्ययनले पाँच हजार वर्षअघि यो क्षेत्रमा उपचारका लागि लसुनको प्रयोग हुने गरेको समेत दाबी गरेका छन् । प्राचीन रोममा सैनिकलाई उनीहरूको आन्तरिक शक्ति बढाउन लसुन खुवाइन्थ्यो । प्लेगको संक्रमणबाट बच्नसमेत पहिले लसुन खाने चलन थियो ।

विभिन्न अध्ययनअनुसार, लसुनमा पाइने ऐलिसिन अत्यन्त उच्च गुणस्तरको ब्याक्टेरिया, ढुसी (फंगस) रोधक हो । ऐलिसिन एन्टीअक्सिडेन्टको रूपमा समेत चिनिन्छ । कपाल झर्ने समस्या रोक्न लसुन लगाइन्छ । रिङ वर्म, एथलिट फुटलगायत छालाका रोगमा पनि लसुन उपयोग गरिन्छ । रासायनिक रूपले लसुनमा गन्धक बढी हुन्छ । यही सल्फर यौगिकले गर्दा लसुन खाँदा तीखो स्वाद र कडा गन्धको सामना गर्नुपर्छ ।

यसमा भिटामिन ए, बी र सी एवं सल्फयुरिक एसिड विशेष मात्रामा पाइन्छ । कार्बोज २१ प्रतिशत, प्रोटिन ६.३ प्रतिशत, आइरन १.३ मिलिग्राम प्रति १०० ग्राम, खनिज पदार्थ १ प्रतिशत, बोसो ०.१ प्रतिशत, क्याल्सियम ०.३ प्रतिशतलगायत पनि पाइन्छ ।

लसुनलाई सेलेनियमको राम्रो स्रोत मानिन्छ । यसले सामान्य रुघाखोकी मात्र नभई थुप्रै कडा रोगहरूबाट समेत जोगाउँछ । लसुन सेवनले साससम्बन्धी रोगमा फाइदा मिल्छ ।

तीन महिना चलेको एउटा अध्ययनमा दाबी गरिए अनुसार, लसुन सेवनले रूघाखोकीमा ६३ प्रतिशतसम्म कमी आउँछ । यति मात्र नभई, रूघाखोकीको औसत समयमा समेत ७७ प्रतिशतसम्म सुधार हुन्छ । उक्त समय पाँच दिनबाट घटेर डेढ दिनमा आउने अध्ययनमा औँल्याइएको छ । अर्को अध्ययनमा उल्लेख भएअनुसार, लसुनको २.५६ ग्राम मात्रा लिँदा रूघाखोकी रहिरहने दिनमा ६१ प्रतिशत कमी आउँछ ।

लसुनमा एनाबोलिक हार्मोन पाइन्छ । महिलामा उमेर बढेपछि वा मुख्य रूपले महिनावारी सुकेपछि यही हार्मोनको कमीले अस्टियोस्पोरोसिसजस्तो हाड कमजोर हुने रोग लाग्छ ।

लसुन हाडका लागि समेत लाभदायक मानिन्छ ।

लसुनमा पाइने एन्टिअक्सिडेन्टले गर्दा डिमेन्सिया, क्यान्सर, अल्जाइमरजस्ता बुढयौलीमा हुने रोगलाई समेत रोक्छ । यही एन्टिअक्सिडेन्टले शरीरबाट ‘फ्री रेडिकल्स’ निकाल्छ । शरीरमा ‘फ्री रेडिकल्स’ जम्मा हँुदै जाँदा उमेर बढेसँगै विभिन्न रोगले आक्रमण गर्न थाल्छन् ।

लसुन मुटु स्वास्थ्यका लागि समेत राम्रो मानिएको छ । कोलेस्ट्रोलका बिरामीहरूका लागि लसुन धेरै फाइदाजनक मानिन्छ । यसले रगतलाई पातलो बनाउनुका साथै शरीरमा रगत जम्नबाट समेत रोक्छ । यसको नियमित सेवनले शरीरमा कोलेस्ट्रोल नियन्त्रित रहन्छ । यसले लिपिड्सलाई नघटाई हानिकारक ‘एलडीएल’ लाई मात्र कम गर्छ । लसुनले मोटोपना कम गर्नेसमेत दाबी गरिन्छ । विभिन्न अनुसन्धानमा उल्लेख भएअनुसार, यसमा बोसो जम्न नदिने गुण हुन्छ । एउटा अध्ययनको दाबीअनुसार, दैनिक २५–३० ग्राम लसुन खाने गरे शारीरिक मोटाइ ४ देखि ७ किलोसम्म घट्छ ।

लसुनले पाचनथैलीको क्रियाशीलतालाई बढाउँछ । यसैले यो टाइप–२ मधुमेहमा समेत प्रभावकारी हुन्छ । लसुनलाई तारेर, उमालेर वा पोलेर खाँदा यसमा भएको एलिसिन नामक तेल उड्छ र यसको प्रभावकारिता कम हुन्छ । त्यसैले लसुन काँचै खाने गर्नुपर्छ ।

प्रकाशित : माघ ६, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?