कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

क्यान्सर र मुटुका बिरामी बढी

फातिमा बानु

काठमाडौँ — नेपालमा पाइएका आठ कडा रोगमध्ये क्यान्सर र मुटुरोगका बिरामी बढी देखिएका छन् । यस्ता कडा रोग लागेपछि बिरामीले सरकारबाट उपचार खर्चस्वरूप एक लाख रुपैयाँ पाउँदै आएका छन् ।

क्यान्सर र मुटुका बिरामी बढी

आर्थिक अनुदान लिनेमा यी दुई रोगका बिरामी बढी देखिएका हुन् । क्यान्सर, मुटु, मृगौला, अल्जाइमर, हेडइन्जुरी, स्पाइनलइन्जुरी, ,पार्किन्सन र सिकलसेल एनिमियाँ जस्ता कडाखाले रोग लागेमा बिरामीलाई सरकारले एक लाख रुपैयाँ दिँदै आएको छ ।

आव २०७४/७५ सम्म आइपुग्दा सेवा लिने बिरामी बढेका छन् । अहिले पनि क्यान्सर र मुटुरोगका बिरामी नै बढी छन् । सेवा लिने १ हजार २ सय ६५ बिरामीमध्ये क्यान्सरका बिरामी मात्रै ५ सय ८८ छन् । मुटुका बिरामी भने चार सय ४६ छन् । यो सेवा लिनेमा सिकलसेलका बिरामी भने शून्य देखिएका छन् । तुलनात्मक रूपमा मृगौलाका बिरामी पनि बढी नै छन् । कार्यालयका सूचना अधिकारी बिजुक्षेले बताए । उनले भने, ‘अरू रोगको उपचार खर्च लिन आउने निकै कम छन्, प्रतिशतमा भन्नुपर्दा शून्य नै छ ।

अझै पनि सरकारले दिने अनुदानबारे धेरैलाई थाहा नभएको उनी बताउँछन् । नेपालमा क्यान्सर, मुटु, रोगबाट मृत्यु हुनेको संख्या अत्याधिक छ । विश्वमै चाँडै मृत्यु निम्त्याउने रोगमध्ये नसर्ने रोगलाई पहिलो मानिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगकै कारण हरेक वर्ष करिब ३ करोड ६० लाखको मृत्यु हुने गरेको छ । बर्सेनि ६० प्रतिशतको मृत्यु नसर्ने रोगको कारण हुने गरेको छ । त्यसमध्ये मदिराजन्य पदार्थ सेवनकै कारण मात्रै बर्सेनि पाँच लाखले ज्यान गुमाइरहेका छन् ।

नेपालको हकमा पनि ठूला र नसर्ने रोगमध्ये क्यान्सर प्रमुख भएकाले सहयोग लिनेमा क्यान्सरका बिरामी बढी भएको कार्यालयका पूर्वप्रमुख महेन्द्र श्रेष्ठको भनाइ छ । संगठनका अनुसार क्यान्सरका प्रत्येक ६ बिरामीमध्ये एकको उपचारबिनै मृत्यु नै हुने गरेको छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका व्यक्ति छन् ।

सरकारले विशेषगरी गरिब विपन्न, पिछडिएका र दुर्गम क्षेत्र लक्षित गरेर ८ प्रकारका कडा रोगको उपचारमा आर्थिक अनुदान दिँदै आएको हो । यसका लागि बर्सेनि अर्बौं रुपैयाँ उपचारमा खर्च हुने भए पनि लक्षित वर्गले सुविधा पाउन नसकेको गुनासो पनि सुनिँदै आइएको छ । अधिकारी विजुक्षें भन्छन्, ‘प्रचारप्रसारको कमी छ, जनचेतनालाई व्यापक रूपमा बढाउन जरुरी छ ।’ राजधानीकै मानिस यसबारे जानकार हुन नसकेको उनी बताउँछन् ।

अधिकांश बिरामी रोग पहिचान हुनासाथ सेवा लिन आउँदैनन् । उपचार खर्च सकिएर बेवारिसे अवस्थामा पुगेपछि मात्रै यसबारे थाहा पाउँछन् । नेपाल लगायत विकासोन्मुख मुलुकका बढ्दो सुर्तीजन्य पदार्थ सेवनका कारण बर्सेनि क्यान्सरका बिरामी थपिँदै गएका छन् । किशोरअवस्थामै सुर्तीजन्य पदार्थको प्रयोग गर्ने प्रवृत्तिका कारण ४० वर्ष नपुग्दै क्यान्सर रोगको सिकार हुनुपर्ने अवस्था छ । विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगकै कारण हरेक वर्ष करिब ३ करोड ६० लाखको मृत्यु हुने गरेको छ ।

बर्सेनि ६० प्रतिशको मृत्यु नसर्ने रोगको कारण हुन्छ । त्यसको मुख्य कारण सुर्तीजन्य र मदिराजन्य पदार्थ सेवन हो । सुर्तीजन्य पदार्थकै कारण मात्रै बर्सेनि पाँच लाख व्यक्तिले ज्यान गुमाइरहेको संगठनको तथ्यांक छ । उता एक लाखले उपचारमा केही राहत नभएको बिरामीहरूको गुनासो छ । जनस्वास्थ्य कार्यालयका प्रमुख र चिकित्सकहरू पनि कम्ती ५ लाख रुपैयाँ आर्थिक सहयोगको व्यवस्था भए बिरामीलाई उपचारमा सहयोग हुने बताउँछन् ।

प्रकाशित : वैशाख २०, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?