रेबिज

कुकुरले टोक्नाले बर्सेनि सयभन्दा बढी नेपालीको मृत्यु
५० हजारभन्दा बढी घाइते
अतुल मिश्र

काठमाडौँ — २०७५ साल लागेयता वैशाख तेस्रो सातासम्म कुकुरले टोकेर रेबिज भएकाले तीन जनाको दु:खद मृत्यु भइसकेको छ । राजधानीको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आँकडा हो यो । यसअघि गत वर्ष कुकुरले टोकेर टेकु अस्पतालमा भर्ना भएका १७ जनाको मृत्यु भएको थियो भने करिब १२ जना रेबिज प्रभावितले उपचार सल्लाह लिए पनि अस्पतालमा नाम दर्ता गराएका थिएनन् ।

रेबिज

‘हाम्रो तथ्यांकअनुसार सबैभन्दा बढी कुकुरको टोकाइले वैशाखदेखि साउनसम्म मृत्यु हुने गरेको देखिन्छ,’ टेकु अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, ‘गत वर्षसमेत वैशाखदेखि असारसम्ममा १० जनाको रेबिजले मृत्यु भएको थियो भने, यो वर्ष वैशाखमै मर्नेको संख्या ३ पुगेको छ ।’

मुलुकमा बर्सेनि सयभन्दा बढी मानिसको रेबिजले मृत्यु हुन्छ भने करिब ५० हजारभन्दा बढी व्यक्ति कुकुरलगायतका जनावरको टोकाइका सिकार हुन्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलनअनुसार विश्वव्यापी रूपमा बर्सेनि ५९ हजार मानिसको मृत्यु रेबिजले गर्दा हुन्छ । मानिसमा हुने रेबिजको रोग मध्ये९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेको छ । शंकास्पद बौलाहा जनावरको टोकाइबाट प्रभावित हुने ४० प्रतिशत व्यक्ति १५ वर्षमुनिका बालबालिका छन् ।

यो रोगको विषाणु ०.०००८ मिलिमिटर लामो र ०.००००७ मिलिलिटर व्यास भएको हुन्छ । रेबिजको विषाणु टोकाइ लगायत माध्यमबाट हाम्रो शरीरमा प्रवेश गरेपछि दिनहुँ करिब १२ देखि २४ मिलिमिटरका दरले सर्दै छालामुनिको भित्री तन्तु अर्थात् ‘सबक्युटेनियस टिस्यु’ र मांसपेशी हुँदै हाम्रो गिदी, सुषुम्ना नाडीभन्दा बाहिरका नसाहरूमा पुग्छ । हाम्रो शरीरमा यो रोगको लक्षण रेबिजको विषाणु गिदीमा पुगेपछि देखा पर्छ ।

रेबिज रोग लाग्ने समय केही दिनदेखि, केही महिना हुँदै एक वर्षसम्म पनि हुन सक्छ । तर शरीरमा रेबिजको लक्षण देखिएपछि मृत्युसम्मको अवधि एक दिनदेखि एक सातासम्म हुन सक्छ । ‘हाम्रो अस्पतालमा जनावरको टोकाइको ४ महिनादेखि ७ महिनाको बीचमा रेबिज प्रभावितहरू बढी आउने गरेका छन्,’ डा. पुन भन्छन्, ‘काठमाडौं लगायतका छेउछाउका जिल्लामा कुकुरको टोकाइ बढी देखिएको छ भने तराईमा स्याल, फयाउरोको टोकाइका पीडित प्रभावित बढी छन् ।’

शतप्रतिशत प्राणघातक रोग रेबिजको लक्षण हाम्रो शरीरमा देखिएपछि यसको उपचार सम्भव छैन । रेबिज रोगविरुद्घ दिइने इन्ट्राडर्मल (छालामा) र इन्ट्रामस्कुलर (मांसपेशीमा) दुवै खोप पाखुरामा मात्र लगाइन्छ ।

डब्लूएचओले रेबिजको खोपलाई इन्ट्रामस्कुलर (मांसपेशीमा दिने खोप) बाट इन्ट्राडर्मल (छालामा दिइने खोप) तर्फ लिएर जान वकालत गर्दै आएको छ । छालामा दिइने खोप ६० देखि ८० प्रतिशत सस्तो मात्र नभएर यसमा एक सातामा मात्र उपचार गर्न सकिन्छ ।

‘डब्लूएचओका नयाँ सिफारिसअनुसार एक सातामा रेबिज खोपको पूरा कोर्स लगाउनुपर्छ,’ डब्लूएचओ, दक्षिण पूर्व एसिया कार्यालयका डा. ज्ञानेन्द्र गाेंगल भन्छन्, ‘यो खोप कुकुरले टोकेको दिन, त्यसपछि तेस्रो दिन र अन्तमा सातांै दिन ०.१ मिलिलिटर गरी दुवै पाखुराको छालामा लगाउनुपर्छ ।’

पहिला इन्ट्रामस्कुलर रेबिजको खोप लगाउँदा एक जनामा चारदेखि पाँच भाइलसम्म खोप लाग्ने गरे पनि इन्ट्राडर्मल खोप एक व्यक्तिका लागि एक भाइल भए पुग्छ । एक भाइल रेविज खोपको मूल्य करिब ९ अमेरिकी डलर पर्छ ।

यो खोप पाखुरामा लगाउनुपर्छ, नत्र प्रभावकारी हुँदैन । डा. गोंगलले उक्त खोप पाखुराको सट्टा पुट्ठा, नितम्ब आदिमा लगाउँदा रेबिजले मृत्यु भएको घटनासमेत आैंल्याउँछन् ।

‘पुट्ठा, नितम्ब आदिमा यो खोप दिँदा त्यहाँ बोसो बढी हुने भएकोले शरीरभित्र खोप सोसिने प्रक्रिया लामो मात्र नभई अनिश्चितसमेत हुने गर्छ,’ डा. गोगल भन्छन्, ‘यसरी खोप लगाउँदा पनि रेबिज रोग देखिने सम्भावना हुन्छ ।’

उनका अनुसार रेबिजको खोप छालाभित्र र मासुभित्र दिँदा विकसित हुने प्रतिरोधात्मक शक्ति एकसमान हुँदैन । यो खोप छालाभित्र दिँदा उच्च प्रतिरोधात्मक शक्ति विकास हुन्छ । छालामा भएका कोषहरू मासुमा हुने कोषहरूभन्दा रोग प्रतिरोधातमक शक्ति विकास गर्न बढी प्रभावकारी पाइएको छ ।

डा. पुनका अनुसार राजधानी लगायत केही सहरमा दुवै पाखुराको छालामा ०.१ एमएल खोप कुकुर टोकेको दिन लगायत तेस्रो, सातौं र २८ दिन गरी चार पटकसम्म प्रयोग गरिन्छ । यस्तै इन्ट्रामस्कुलर सुई चाहिँ कुकुरले टोकेको दिन लगायत तेस्रो, साताैं, चौधाैं र २८ औं दिन गरी ५ पटकसम्म लगाइन्छ ।

रेबिजको खोपले हाम्रो शरीरमा एन्टिबडीको निर्माण गर्छ । तर यो प्रक्रियामा करिब १५ दिन लाग्ने उल्लेख गर्दै डा. पुन टाउको छेउछाउको घाउ, ठूलो–गहिरो घाउमा यो समय खतरनाक हुन सक्ने बताउँछन् । यसैले यस्ता घाउमा पहिलेदेखि तयार रहेको एन्टिबडी अर्थात् रेबिज इम्युनोग्लोबिलनको सुईसमेत घाउमा लगाइन्छ ।

केको टोकाइमा रेबिज खोप लिनुपर्दैन ?
डब्लूएचओका अनुसार न्याउरी मुसाबाहेक मुसा जाति, खरायो वा गिनिपिग (घरमा पाल्ने सेतो मुसा) को टोकाइमा रेबिजविरुद्घको खोप लिनुपर्ने आवश्यकता छैन ।

दक्षिण–पूर्वी एसियामा ९६ प्रतिशत रेबिज रोग कुकुरको टोकाइबाट सर्छ । कुकुरबाहेक यो क्षेत्रमा स्याल, ब्वाँसो, फयाउरो, बिरालो, न्याउरी–मुसा लगायतका अन्य मांसाहारी जनावरको टोकाइबाट समेत रेबिज भएका प्रतिवेदनहरू छन् । बाँदर र मुसाबाट यो रोग विरलै सरेको अवस्था देखिएको छ ।

दक्षिण एसियाका केही मुलुकहरूमा मुसाबाट मानिसमा रेबिज रोग सरेको रिपोर्ट पाइए पनि यो विरलै अवस्था हो । घरेलु मुसाको टोकाइमा रेबिज रोगविरुद्घ खोप दिन आवश्यक नरहे पनि जंगली मुसा वा मुसा प्रजातिका जनावरले टोकेमा सरुवा रोग विशेषज्ञको सल्लाहमा खोप लगाउनु उपयुक्त हुन्छ । यति मात्र नभई शाकाहारी रहेका घोडा, गधाले रेबिज रोग लागेपछि बढी उत्तेजित हुनुका साथै नराम्ररी टोक्ने गरेका प्रमाणहरूसमेत छन् ।

गाईभैंसी आदिलाई बौलाहा जनावरको टोकाइबाट रेबिज रोग लागे पनि तिनले अन्य व्यक्ति वा जनावरलाई टोक्दैनन् । तर यस्ता जनावरको र्‍यालमा रेबिजको विषाणु हुने भएकोले थप सावधानी आवश्यक मानिन्छ ।

जनावरले टोके
रेबिजविरुद्घको प्रभावकारी प्राथमिक उपचार तुरुन्त जनावरको टोकाइको घाउलाई धुनु हो । यस्ता व्यक्तिलाई छिटो थप उपचारका लागि नजिकको स्वास्थ्य संस्थासमेत लिएर जानुपर्छ । जनावरले टोकेलगत्तै घाउलाई १०–१५ मिनेटसम्म साबुनपानीले बगिरहेको घारामा राम्ररी सफा गर्नुपर्छ । साबुन उपलब्ध नहुँदा पानीले राम्ररी घाउ पखाल्नुपर्छ । उपलब्ध छ भने, कीटाणुनाशक वा एन्टिसेप्टिकजस्तो स्पिरिट, टिन्चर आयोडिन, डेटोल, पोबिडोन आयोडिनले घाउलाई राम्रोसँग सफा गर्न सकिन्छ ।

जनावरले टोकेको घाउलाई छोप्नु हुँदैन । यसैले यो घाउमा ड्रेसिङ ब्यान्डेज आदि गर्नु हँुदैन । गाउँघरमा स्थानीयस्तरमा उपलब्ध विभिन्न वस्तु जस्तै– खुर्सानीको धूलो, बिरुवाका पात, रस, जडीबुटी, तेल आदिको प्रयोग गर्नु हँुदैन । कहीँकहीँ यस्ता घाउलाई डढाउनेसमेत गरिन्छ । तर यसो गर्नु हुँदैन ।

रोग सर्ने तरिका
यो मुख्य रूपमा रेबिजले संक्रमित जनावरको र्‍यालले अर्को जनावर वा मानिसमा सर्छ । सामान्य रूपमा यो रोग रेबिज संक्रमित जनावरले टोक्दा, चिथोर्दा वा हाम्रो काटिएको घाउ भएको छालालाई चाट्दा हुन्छ ।

तर असामान्य अवस्थामा भने रेबिज अंग प्रत्यारोपणद्वारा, रेबिजको विषाणुलाई श्वासका माध्यमले फोक्सोमा लिनाले वा यो विषाणुलाई खानाको माध्यमले शरीरभित्र लिनाले रोग सर्न सक्ने डा. पुन आंैल्याउँछन् । रेबिजले मृत्यु भएका मानिसको अंग (आँखाको कर्निया लगायतका अन्य अंग) स्वस्थ व्यक्तिमा प्रत्यारोपण गर्दा यो रोग सरेको देखिएको छ ।
हाम्रो मुलुकमा काँचो दूध खाने चलन छैन । हामी उमालेर मात्र दूध खान्छौँ । उमाल्दा यसमा रहेका विषाणुहरू नाश हुन्छन् । रेबिज लागेको जनावरको दूध सेवन गरेर वा पकाएको मासु खाएर यो रोग मानिसमा सरेको प्रमाण हालसम्म छैन ।

रेबिजविरुद्घको खोप लिँदा
रेबिज रोगविरुद्घको खोप लिँदा केही खास औषधिहरू सेवन गर्नु हँुदैन । डब्लूएचओका अनुसार हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई कम गर्ने औषधिहरूको सेवन वर्जित छ । यसअन्तर्गत औंलोको औषधि क्लोरोक्बिन, स्टेरोइड, क्यान्सरविरुद्घको औषधि आदि खुवाउनु हुँदैन ।

रोग प्रतिरोधात्मक शक्ति क्षीण भएका बिरामीहरूमा यस्ता औषधिहरू खुवाउनै पर्ने भए मानिसमा मासुभित्र दिइने खोपसँगै सिफारिस गरिएअनुसार घाउ र यसको वरिपरि रेबिज इम्युनोग्लोविन अनिवार्य रूपले दिनुपर्ने डब्लूएचओले जनाएको छ ।

[email protected]

प्रकाशित : वैशाख २२, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?