कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुटु रोग उपचारकालागि सस्तो गन्तव्य बन्दै वीपी प्रतिष्ठान

प्रदीप मेन्याङ्बो

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटु रोगीको उपचारकालागि पछिल्लो एक वर्षयता सस्तो गन्तव्य बनेको छ ।

मुटु रोग उपचारकालागि सस्तो गन्तव्य बन्दै वीपी प्रतिष्ठान

प्रतिष्ठानमा मुटुरोगको सबैखाले उपचार हुने भएकाले भारतबाट समेत विरामीहरु आउने गरेका छन् । यसअघि प्रतिष्ठानमा मुटुरोगको उपचार गर्ने चिकित्सक र उपकरण नहुँदा पुर्वका विरामीहरु गंगालाल ह्दयरोग केन्द्र वा भारतका अस्पतालमा जाने गरेका थिए ।


मुटु सम्बन्धी उपचार गर्न प्रतिष्ठानले सुपर स्पेशियालिटि सेवा दिन थालेपछि सस्तो गन्तव्य बनेको मुटुरोग विषेशज्ञ डा प्रशान्त शाहले बताए । उनले भने, ‘वर्ल्ड क्लासको अत्याधुनिक क्याथल्याव जडान भएपछि प्रतिष्ठानमा मुटुरोगी विरामीको चाप अत्यधिक बढेको छ । शायद अरु तिर भन्दा धेरै सस्तोमा उपचार गर्न सकिने भएकाले होला धेरै आउन थालेका छन् ।’ मुटुरोगको उपचार गर्ने मध्ये भारतबाट मात्र कम्तिमा १५ प्रतिशत विरामीहरु आउने गरेका छन् ।


प्रतिष्ठानमा मुटुको दुई प्रकारले उपचार गर्ने गरिन्छ, चिरफार गरेर र चिरफार नगरी । क्याथल्याव नहुँदा सामान्य जाँचहरु इको, टिएमटी, होल्टर, इसिजीमात्र हुने गरेका थिए । सुपर स्पेशियालिटि सेवा विस्तारसँगै चिरफार गरेर र नगरी उपचार गर्न सक्ने दक्ष डिएम इन्टर भेन्सन कार्डियोलोजी गरेका चिकित्सकहरु नियुक्ती भएपछि पुर्वका मुटुरोगी विरामीले टाढाको अस्पताल धाउनु नपरेको हो ।


नयाँ प्रविधि र पद्धती नआएको बेला चिरफार गरेर उपचार गरिएका मुटु सम्बन्धी रोगहरु हाल क्याथल्याव उपकरणको सहयोगमा सहजै उपचार गर्न थालेको डा. शाहले बताए । उनले भने, ‘नवजात शिशुमा देखिने जन्मजात मुटुरोगहरु, मुटुका हुने प्वालहरु, बाथरोगले हुने भल्भ साँघुरिने, उमेर बढ्दै गएपछि मधुमेह, उच्च रक्तचाप, मोटोपन, निस्कृय जीवन शैलीले निन्त्याउने हृदयघात, मुटुको धड्कन सम्बन्धी सवैखाले उपचार विना चिरफार प्रतिष्ठानमा हुन्छ ।’


नेपालमा अधिकांश मुटुरोगीहरु तीन तारे पेशमेकर लगाउन विदेशका अस्पताल जाने गरेका छन् । उक्त सेवा पनि एक महिना यतादेखि प्रतिष्ठानमा सुरु भएको डा. शाहले बताए । गर्भअवस्थामै मुटुको जन्मजात रोगको जाँज गरी उपचार गर्ने प्रविधि, धड्कन नियन्त्रण गर्ने इन्प्लान्टेवल कार्डियोभर्टर डेफिव्रिल्लाटोर (आइसिडी) प्रविधिको सेवा पनि सुरु भएको छ ।


प्रतिष्ठानका कार्डियो थोरासिक सर्जन (मुटुको शल्यचिकित्सक) डा. लोकेश जैसवालका अनुसार शल्यक्रियाबाट गरिने मुटुको सबैखाले उपचार हालसम्म सफलतापुर्वक सम्पन्न भएको बताए । उनले भने, ‘मुटुको शल्यक्रिया नै गरेर उपचार गर्नुपर्ने मध्ये भल्भ फेर्ने, रिपेयर गर्नुपर्ने, प्वाल टाल्नु पर्ने, रक्तधमनी रिपेयर गर्नुपर्ने, भास्कुलर, धमनी फुटेर हुने समस्या, मुटु भित्रको ट्युमर, फोक्सोको क्यान्सर, फोक्सोको इन्फेक्सन ट्युवरक्लोसिस आदि शल्यक्रिया गरेर यहाँ उपचार हुँदैछन् ।


उनका अनुसार कार्डियो थोरासिक सेवा सुरु भएयता प्रतिष्ठानमा करिव चार सयजनाको मुटु सम्बन्धी रोगको शल्यक्रिया गरिएको छ । शल्यक्रिया नगरी करीब तीनसय जनाले उपचार गरिसकेका छन् । निजी अस्पतालहरु र भारतीय अस्पतालमा मुटुरोगको उपचार खर्च प्रतिष्ठानमा लागेको भन्दा चार गुणा बढी हुने गरेको चिकित्सकहरुले बताए । डा. शाहले भने, ‘अरु तिर जतिसुकै महंगो किन नहोस्, त्यसबारे हामी चासो राख्दैनौ तर यहाँ सर्वसाधारणलाई कसरी सस्तो भन्दा सस्तोमा वर्ल्ड क्लासको गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने विषयलाई हामीले प्राथमिकता दिएका छौं ।’


समस्या पनि उतिकै


उपत्यका बाहिर मुटुरोगको सबैखाले उपचार हुने मुलुकको एकमात्र स्वास्थ्य गन्तव्य प्रतिष्ठान मात्र हो । प्रतिष्ठानमा सुपर स्पेशियालिटि सेवा दिने मुटुरोग विषेशज्ञहरु मेडिसिन विभाग प्रमुख प्रा. डा. संजीव शर्मा, डा. प्रशान्त शाह, डा. नवीन पाण्डे, कार्डियो थोरासिक सर्जन डा. लोकेश जैसवाललगायत छन् ।


तर प्रतिष्ठानमा आवश्यक पुर्बाधारको भने अभाव छ । अधिकांश मुटुरोगीको उपचार वा शल्यक्रिया गरेपछि सघन उपचार कक्षमा भर्ना गर्नुपर्छ । तर सघन उपचार कक्षमा भेण्टिलटरसहितको शैया अभाव सधै भइरहन्छ । भएका सबैजसो अप्रेशन थिएटर सधै रातदिन व्यस्त रहन्छन् । मुटुरोगमा अर्का विषेशज्ञ चिकित्सक डा. नवीन पाण्डेले भने, ‘विरामीको चाप अत्यधिक हुने भएकाले हामीले सातामा दुई पटक मात्र मुटुको शल्यक्रिया गर्ने रुटिङ बनाएका छौं । सिमित श्रोतसाधन र पुर्वाधारको भरमा दक्षताले मात्र पनि काम नहुने भएकाले भने जस्तै दैनिक शल्यक्रिया गर्न नसकेका हौं ।’


प्रतिष्ठानले मुटुरोगीहरुकालागि दुई सय शैयाको छुट्टै कार्डियाक सेन्टर निर्माण सुरु गरिएको छ । तर, एमआरआई खरिद प्रकरणसंगै हाल मुटुरोग उपचार केन्द्र निर्माण योजना रोकिएको छ । प्रतिष्ठानले ह्दय रोग उपचार केन्द्रको भवन निर्माणका लागि भनेर गुरु योजनासहित चालु आर्थिक वर्षमा ७ करोड रुपैया र बहुवर्षीय गुरु योजना स्वीकृत भई ४३ करोड रुपैयाँकोलागत इस्टिमेट, डिजाइन र पुर्वाधार तयारी गरेको थियो ।


प्रतिष्ठानका मुटुरोग विषेशज्ञ चिकित्सकहरुले पनि उक्त योजनाको आशा गरेर सुपर स्पेशियालिटि सेवा दिन सुरु गरेका थिए । तर विवाद र भौतिक पुर्वाधारको अभावका वीच सिमित साधन श्रोत, सातामा दुई पटक मात्र मुटुको शल्यक्रिया गर्नका लागि प्रयोग गर्न पाइने अप्रेशन थिएटर, मुटुरोगीका अत्यधिक चाप, सरकारी वेवास्ताले उक्त सेवा निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता चिकित्सकहरुमा बढेको छ ।

प्रकाशित : वैशाख ३०, २०७५ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?