रोगमा सपनाको प्रभाव र होमियोप्याथी उपचार

काठमाडौँ — जब तपाई आफ्नो उपचारको लागि कुनै होमियोप्याथिक चिकित्सक कहाँ पुग्नु हुन्छ, डाक्टरले तपाईले भनेका शारीरिक एवं मानसिक समस्यालाई टिपोट गर्दछ । यस बाहेक तपाईको भोक- प्यास, जाडो, गर्मी, ईच्छा-अनिच्छा, रीसराग, द्वेष, स्वभाव, पेशा, सामाजिक अवस्था, निद्रा एवं राती सुत्दा देखिने सपनाको बारेमा पनि सोध्नेछ । रोगीलाई बडो आश्चर्य लाग्दछ । उसले भन्न सक्छ, डाक्टर सा'ब मेरो रोगसँग मैले देख्ने सपनको के सम्बन्ध छ? 

रोगमा सपनाको प्रभाव र होमियोप्याथी उपचार

होमियोप्याथी चिकित्सा पद्दतिमा रोगको निदान गर्ने प्रकृया अन्य चिकित्सा प्रणालीबाट अलिक भिन्न छ । यसमा बिरामीलाई समष्टीगत रुपमा ध्यान राखेर नै कुनै पनि रोगको निदान गरिन्छ । जसमा शारीरिक अगं-प्रत्यांगको अलावा रोगीको मनोविकारका करणमा निहित भावना तथा उद्वेगको पनि समावेश हुन्छ । हाम्रो जीवन तीन भागमा विभक्त छ, जाग्रत, सपना र सुषुप्ती अवस्था । यि तीनै अवस्थाको होमियोप्याथिक चिकित्सा विज्ञानमा महत्वपुर्ण स्थान छ ।


जीवनको आधाभाग हाम्रो निद्रामा नै ब्यतित हुन्छ । यदी एउटा व्यक्ति साठी वर्षसम्म बाँच्दछ भने पन्द्र वर्षको समय उसको सुत्नैमा बित्दछ । जाग्रत अवस्थामा ब्यक्तिको कतिपय कामनाहरु पुरा हुँदैनन् । त्यसलाई उसले सपनामा पुरा गर्दछ । सपनामा व्यक्ति कसरी बाँच्दछ? कुन किसिमको सपना देख्छ । सपनाप्रति उसको बिचार कस्तो छ । ब्यक्ति (रोगी) को उपचारमा मानव जीवनको यस महत्वपुर्ण भागलाई उपेक्षा कसरी गर्न सकिन्छ? सपनाले हाम्रो अन्तर्मनको ढोकालाई खोल्दछ । व्यक्तिले अभिव्यक्त गर्न नसकेका कुराहरु अथवा लक्षणहरु , उसले सपनाको माध्यमले व्यक्त गरिरहेको हुन्छ ।


हुन त प्रत्येक व्यक्तिले सपना देख्दछ । कोहि सुतेको बेला देख्छ भने कोहि दिउँसै पनि सपना देख्छन् । सपनाको एउटा रहस्यमय संसार छ । यसबारे बिभिन्न बिद्वानहरुले आ-आफ्नो ढगंबाट छुट्टाछुटै ब्याख्या गरेका छन् । यसको एउटै बिशेषता छ, त्यो के हो भने, सपना देख्नेले नै यसको अनुभव गर्दछ । तपाई सपना कसैसगं मिलेर हेर्न सक्नु हुन्न । यसलाइ देख्ने व्यक्ति नै स्वयं भोगी हुन्छ । मानिसले राती सुत्दा देखिने सपनामा – केहि सपना व्यक्तिको निजी जीवनसंग जोडिएका हुन्छन् । केहि सपना तपाईको वास्तविक जीवनबाट अलग हुन्छ । हामी आफ्नो जीवनमा दिनहूँ जसो आ-आफ्नो पेशा अनुसारको काम गर्दछौं । तपाईले अनुभव गर्नु भएको होला केहि काम अधुरो पनि रहन जान्छ । हामी मानसिक रुपले गहिरिएर बाँकी रहेको कामको बारेमा सोच्दछौं । जब तपाई राती सुत्नु हुन्छ । अधुरो काम सम्बन्धित सपना देख्नु हुन्छ । केहि सपना यस्ता पनि देखिन्छ जो तपाईको वास्तविक जीवनसित कुनै प्रकारको सम्बन्ध हुँदैन । बस अचानक देखिन्छ, यस्तो सपना देख्छ भनेर तपाईले कहिले कल्पना पनि गर्नु भएन होला ।


यस्ता सपनाहरु अपुर्ण ईच्छा, कुनै प्रकारको भय आदिमा आधारित पनि हुन सक्छन् । अचानक ब्यूँझिंदा यस सपनासंग टाढासम्मको कुनै सम्बन्ध हुँदैन । यस प्रकारको डर लाग्दो भयानक सपना देखेर केहि व्यक्तिहरु भयभित भई हाल्छन् र कोहिकोहि डिप्रेसनको शिकार हुन्छन् । उनीहरुलाई यस्तो लाग्छ कि कुनै अशुभ घटना हुनेवाला छ । उपचारकै सिलसिलामा कहिले काहि त यस्तो पनि देखिएको छ कि रोगीलाई उसको रोग लक्षण अनुसार उपयुक्त औषधि दिंदा पनि निको हुन नसकेको रोग मात्र रोगीले बारम्बार देख्ने सपनाको आधारमा औषधि दिंदा निको भएको छ ।


जस्तै, औछ्यानमा पिसाव गर्ने (बेड वेटिङ्ग) समस्याबाट केटा- टीहरु मात्र होइन कि ठुलै मान्छे पनि पीडित हुन्छन् । सपनामा बाहिर गएर पिसाब गर्दै गरेको सपना देख्ने व्यक्ति (रोगी) लाई क्रियोजोट नामक औषधिको प्रयोगले यस किसिमको सपना आउन बन्द हुनुको साथै रोग पनि ठिक हुन्छ । यस्तै, सर्पले लखेटेको, ठुँगेको अथवा बाटो छेकेको सपना कसैले बराम्बार देख्दछ भने जाग्रत अवस्थामा पनि उसको मन हरहमेशा भयभित रहन थाल्छ । जसले गर्दा अजीर्ण, स्नायु दुर्वलता, रक्तहीनता आदि जस्ता मोनोदेहिक रोगबाट ग्रस्त हुन जान्छ । यसको लागि आर्जेन्टम नाईट्रिकम नामक औषधि उपयुक्त हुन्छ ।


यस औषधिको प्रयोगले सर्प आउने सपना बन्द हुनुका साथै अन्य शारीरिक एवं मानसिक रोग पनि स्वत: ठिक हुन जान्छ । यसैप्रकार कसैलाई हावामा उडेर परपरसम्म डुलेको जस्तो महत्वकांक्षी सपना बारम्बार आउँछ भने यस्ता रोगीलाई एपिस मेलिफिका नामक औषधिको प्रयोग गरिन्छ । कारण केहो भने एपिसमेलिफिका नामक औषधि एपिसमेलिफिक जातको मौरीबाट बनेको हुन्छ । यस औषधिमा मौरीकै समान गुण–धर्म निहित छ । जसरी मौरी महसञ्चय गर्न धैरै टाढा-टाढासम्म उडेर जान्छ । खुल्ला हावादार चिसो ठाउँ मन पराउँछ । गर्मी मन पराउँदैन । ईर्ष्यालु स्वभाव हुनुका साथै अरुसंग बदला लिने जस्ता कैयौं मौरीको समान लक्षणहरु यस एपिस नामक औषधिको कार्य क्षेत्रभित्र पर्ने रोगी व्यक्तिमा देखा पर्छ । यही कारण उपरोक्त लक्षण भएको रोगीलाई होमियोप्याथीको सिद्धान्तमा संम, समं, शमयतिका अनुसार निको तुल्याइन्छ ।


उपरोक्त बर्णन गरिएका कुराहरु कुनै कपोलकल्पित कुरा होइनन् । यसप्रकार सपना देखिने लक्षणहरु ति स्वस्थ व्यक्तिहरुमा देखिएको छ । जसले यि औषधिहरुको परीक्षण–प्रयोग होमियोप्याथिक सिद्धान्त अनुसार स्वयं आफुमाथि गरेका थिए । अमेरिकी डा. जेम्स टेलर केन्ट –एम.डि. (१८४९ -१९१६) द्वारा रचित अभुतपुर्व ग्रन्थ “रिपर्टरी आँफ दी होमियोप्याथिक मेटेरिया मेडिका (लक्षण संग्रह ग्रन्थ ) मा सपना शीर्षकमा हेर्ने हो भने कैयौं यस्ता औषधिहरु भिन्नभिन्न प्रकारका देखिने सपनाहरुका लागि (एरेन्ज) ईन्डेक्सको रुपमा सुचीबद्ध गरी सेटिङ्ग गरेको भेटिन्छ ।


होमियोप्याथिक चिकित्सा सिम्पटमस्मा आधारित छ । यसकारण भिन्न–भिन्न देखिने सपनाको आधारमा औषधि पनि भिन्ना भिन्नै हुन्छ । मन शरिरसंग जोडिएको छ र सपना तपाईको सुसुप्तावस्थाको मनले देख्छ । रोगीले देख्ने सपनाको लक्षणको आधारमा प्रयोग हुने केहि औषधिहरु निम्न लिखित छन । * सपनामा– कुकुर, बिरालो देखेमा औपियम, आर्निका । * भुत, प्रेत, लास देखेमा थुजा, आरम मेटालिकम । * सपनामा आगो, पानी देखिएमा नेट्रम- म्युर । * सपनामा आफैले पानी खाँदै गरेको देखिएमा ड्रोसेरा । * सपनामा आफै मरेको देखिएमा चिनिनम-आर्स । त्यस्तै सपनामा तपाईलाई यस्तो लाग्छ कि कसैले मेरो घाँटी थिचिरहेकोछ – यस किसिमको लक्षणमा सेबाडिला, स्पाजेलिया । * युद्ध, लडाई भएको सपना देखिन्छ भने – आर्सेनिक एल्ब । * रातभरी नै सपना देखिन्छ भने – पायोरिजिनम । * सपनाबाट ब्युँझेर–सुत्दा फेरी उही सपना देखिन्छभन् – सोरिनिम नामक औषधि लाभदायक हुन्छ ।


उल्लेखित होमियोप्याथिक औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चिकित्सकसंग सल्लाह लिएर सेवन गर्नु बेश हुनेछ ।

अस्तु ।



[email protected]


प्रकाशित : जेष्ठ १, २०७५ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?