स्क्रब टाइफस संक्रमण बढ्दै

असार तेस्रो सातायता २७ बिरामी, २७ जिल्लामा संक्रमण देखियो
अतुल मिश्र

काठमाडौँ — असार तेस्रो सातायता शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल आउने स्क्रब टाइफस बिरामीको संख्या २७ पुगेको छ । यिनमा २० महिला र सात पुरुष छन् । यो संख्या भदौसम्म अझ बढ्न सक्ने विशेषज्ञहरू बताउँछन् । 

स्क्रब टाइफस संक्रमण बढ्दै

संक्रमितमा कडाखाले टाउको दुखाइ, सास फेर्न गाह्रो हुने, १०३/१०४ डिग्रीसम्म ज्वरो आउने, जीउ दुख्ने, आँखा हल्का रातो हुने, पसिना बढी आउने, लिम्फ ग्रन्थी सुन्निनेजस्ता लक्षण देखिने डा. शेरबहादुर पुनले जानकारी दिए । पछिल्ला केही वर्षको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी संक्रमण साउन र भदौमा देखिने गरेको छ ।


स्क्रब टाइफस ‘रिकेटसिया’ जीवाणु संक्रमित सूक्ष्म किरा (माइट) को टोकाइबाट फैलिन्छ । यो किरा मुख्यत: खेत, झाडी र घाँसमा रहने मुसा प्रजातिको जीवमा पाइन्छ ।


पुनका अनुसार गत वर्ष किराले टोकेको ठाउँमा दाग देखिने गथ्र्यो । ‘यसपालि आएका बिरामीमा त्यस्तो दाग देखिएको छैन,’ उनले भने । स्क्रब टाइफसलाई टाइफाइड भनी गलत निदान भइरहेको तर्फ सचेत गराउँदै पुनले छिटो उपचार गरे कुनै जटिलता नआउने औंल्याए ।


सात महिनायता मुलुकका २७ जिल्लामा स्क्रब टाइफस देखिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जनाए । यिनमा ललितपुर, सिन्धुपाल्चोक, गोर्खा, झापा, बारा, रौतहट, सर्लाही, चितवन, धादिङ, मकवानपुर, नुवाकोट, रामेछाप, बाग्लुङ, कास्की, स्याङ्जा, अर्घाखाँची, बाँके, बर्दिया, गुल्मी, कपिलवस्तु, नवलपरासी, पाल्पा, प्यूठान, रूपन्देही, दैलेख, बझाङ, कैलाली छन् ।


स्क्रब टाइफस संक्रमण आशंका गरिएका बिरामीलाई स्वास्थ्यकर्मीले प्रयोगशाला प्रतिवेदन आउनुअघि नै एन्टिबायोटिक दिन सक्ने डा. लाल बताउँछन् । ‘यस्ता बिरामीलाई ‘डक्सिसाइक्लिन’ वा ‘टेट्रासाइक्लिन’ तथा एन्टिबायोटिकका माध्यमले उपयुक्त उपचार गरिए ४८ घण्टाभित्रै सुधार हुन थाल्छ,’ उनले भने ।


चिकित्सकका अनुसार बेलैमा उपयुक्त उपचार नपाउँदा जटिलता निम्तिन सक्छ । बिरामीमा दीर्घकालीन रूपमा श्रवण क्षमता गुम्ने, न्यून रक्तचाप, अंगमा क्षति, मृगौला फेल हुने, निमोनियाँजस्ता सेकेन्डरी ब्याक्टेरियल संक्रमण, छारे रोग, सुस्ती, मासु कुहिनेजस्ता समस्या देखिन सक्छन् । तत्काललाई रोग निको भए पनि भविष्यमा देखिन सक्ने दीर्घकालीन समस्या टार्न बिरामीले केही महिना नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने डा. लालले बताए ।


बेलायतस्थित नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार रिकेटसिया संक्रमित जुम्राको टोकाइबाट समेत स्क्रब टाइफस हुन सक्छ । यो जुम्रा संक्रमित भइसकेकाहरूको शरीरमा हुन्छ । ट्रेन, बस, पार्क, सार्वजनिक स्थलमा सुत्नेहरूमा पनि हुन सक्छ । रिकेटसिया संक्रमित सुल्सुले, उपियाँ वा सूक्ष्म किराको टोकाइबाट पनि यस्तो संक्रमण हुन्छ ।



लक्षण

१०२/१०४ सम्मको कडा ज्वरो

काम ज्वरो आउन सक्छ

कडा प्रकृतिको टाउको दुखाइ

किराले टोकेको ठाउमा रातो डामर जस्तो दाग देखिनु

पसिना धेरै आउनु

पखाला लाग्नु

शरीरका मुख्य अंगले विस्तारै काम गर्न छाडनु

समयमै उपचार नभए कडा श्वासप्रश्वासको समस्या देखिनु

बढी संक्रमण हुँदा गर्धन, नितम्ब, पाखुरामाथि गाँठो हुनु

प्रकाशित : श्रावण १९, २०७५ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?