१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

स्वास्थ्यको नयाँ संरचनामा ३५ डिभिजन कार्यालय

जिल्ला संरचना असोजबाट हट्दै, १५ बेड माथिका अस्पताल प्रदेश मातहतमा 
भिषा काफ्ले

काठमाडौँ — जिल्ला संरचनामा रहेको ७७ वटै जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयलाई खारेज गरी सरकारले प्रदेश सरकार मातहतमा ३५ वटा डिभिजन कार्यालय राख्ने गरी संरचना पारित गरेको छ । 

स्वास्थ्यको नयाँ संरचनामा ३५ डिभिजन कार्यालय

३५ वटै डिभिजन कार्यालय प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय अन्र्तगत रहने छन् । ती डिभिजन कार्यालयले तोकिएका जिल्लाबीच समन्वय गरी काम गर्ने गरी संरचना तयार गरिएको छ ।


स्वास्थ्य मन्त्रालयले तयार गरेको संरचना मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै १ असोजबाट जिल्ला संरचना नरहने पक्का भएको स्वास्थ्य मन्त्रालय योजना महाशाखाका उपसचिव लिला पौडेलले बताए । सरकारले गत चैतमा नै जिल्ला संरचना खारेज गर्ने निर्णय गरेको थियो ।

तर स्वास्थ्य मन्त्रालयले नयाँ संरचना सो समय तयार गर्न नसक्दा दुई पटक स्वास्थ्यमन्त्री स्तरीय निर्णय गरी ६ महिनालाई पर सारिएको हो ।

अब नयाँ संरचना पास भएसँगै कर्मचारी पदस्थापन गरी असोजबाट नयाँ ढाँचामा काम अगाडि बढ्ने स्वास्थ्य मन्त्रीका स्वकीय सचिव महेश चौरसीयाले बताए ।

नयाँ संरचना अनुसार प्रदेश नम्बर १ मा पाचथर, तेह्रथुम, उदयपुर, मोरङ, ओखलढुंगा र धनकुटा गरी ६ वटा डिभिजन कार्यलय रहनेछन् ।

त्यसैगरी प्रदेश नम्बर २ मा सप्तरी, धनुष र बारा गरी ३ वटा, प्रदेश नम्बर ३ मा चितवन, रामेछाप, काभ्रे, नुवाकोट र काठमाडौं गरी ५ वटा डिभिजन कार्यलय रहने उल्लेख छ ।


गण्डकी प्रदेशमा लम्जुङ, गोर्खा, कास्की, बाग्लुङ र मुस्ताङमा डिभिजन कार्यालय रहनेछन् भने पाँच नम्बर प्रदेशमा बाके, दाङ, रुकुम पूर्व, प्युठान, रुपन्देही र पाल्पामा रहने छ ।

त्यसैगरी प्रदेश नम्बर ६ अन्र्तगत सुर्खेत, सल्यान, जुम्ला, मुगु, डोल्पा र हुम्लामा रहनेछ भने प्रदेश ७ मा आछाम, बैतडी, डडेलधुरा र कैलालीमा डिभिजन कार्यलय रहनेछन् ।


नया संरचनामा पनि ५ वटा हिमाली जिल्लाको संरचना यथावत् राखिएको छ । त्यसैगरी १४ वटा डिभिजन कार्यालयले दुई दुई जिल्लालाई समन्वय गर्नेछन् भने बाँकी डिभिजन कार्यलयले तीन तीन जिल्लालाई समन्वय गर्ने गरी संरचना तयार भएको हो ।


प्रदेश निर्देशनालयको कार्यविवरण तयारीः

स्वास्थ्यको नयाँ संरचना पारित भएसँगै स्वास्थ्य मन्त्रालयले प्रदेश निर्देशनालयको कार्यविवरण पनि तयार भएको छ ।


निर्देशनालय माताहतमा ८ वटा शाखा रहने व्यवस्था छ । जसमा प्रदेशको नीति, योजना हेर्नेगरी नीति योजना तथा कार्यक्रम समन्वय शाखा रहने छ ।

त्यसैगरी चिकित्सा सेवा तथा रोग नियनत्रण शाखा, खरिद तथा आपूर्ती व्यवस्थापन शाखा, स्वास्थ्य सूचना तथा जनसंख्या व्यवस्थापन शाखा, आर्युवेद तथा वैकल्पिक चिकित्सा शाखा, नर्सिङ सेवा व्यवस्थापन शाखा, स्वास्थ्य प्रवद्र्धन तथा तालिम र प्रशासन शाखा रहने छ ।


ती शाखाले समग्र प्रदेशको स्वास्थ्य सेवा सञ्चालन व्यवस्थापन गर्नुको साथै स्थानीय तह र संघीय सरकारबीच समन्वय गर्ने उपसचिव पौडेलले बताए ।


तोकिएको कार्यविवरण अनुसार प्रदेश निर्देशनालयले अल्पकालीन र दीर्घकालीन निति योजना तर्जुमा गर्न प्रदेश मन्त्रालयलाइ सहयोग गर्ने, राष्ट्रिय निति तथा रणनिति अनुसार सम्बन्धित कार्यक्रमहरु प्रदेश तथा स्थानीय स्तरमा कार्यान्वयन गर्न सहयोग गर्ने, प्रदेश स्तरीय जनस्वास्थ्य निगरानी कार्य गर्ने, सरुवा र नसर्ने रोग नियन्त्रण तथा रोकथामको कार्य गर्ने उल्लेख छ ।


प्रदेश अन्तर्गत रहने १५ शैया भन्दा माथिका सबै अस्पताल पनि सम्बन्धित प्रदेशको मातहतमा रहने उल्लेख छ ।

तर वीर अस्पताल, ट्रमा सेन्टर, नरदेवी आर्युवेद औषधालय, परोपकार प्रसुतीगृह, मानसिक अस्पताल जावलाखेल र शुक्रराज सरुवा रोग अस्पताल भने केन्द्रीय मन्त्रालय अन्र्तगत रहने उल्लेख छ ।


सरकारले यसअघि नै स्थानीय तह, र संघीय स्वास्थ्य मन्त्रालय र विभागको संरचना पारित गरी कार्यन्वयनमा आइसकेको छ ।

प्रकाशित : श्रावण २३, २०७५ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?