१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गोठमा सुत्दा मलेरियाको जोखिम 

मुगुको खत्याड भेगका अधिकांश महिला महिनावारी र सुत्केरी भएका बेला गोठमा सुत्नुपर्ने बाध्यता छ
राजबहादुर शाही

मुगु — गोठमा सुत्दा खत्याड गाउँपालिकाको रिघा गाउँका स्थानीयमा मलेरिया संक्रमण बढेको पाइएको छ । गोठमा लामखुट्टेले बढी टोक्ने र त्यसले मलेरिया फैलिएको चिकित्सकले बताए । 

गोठमा सुत्दा मलेरियाको जोखिम 

झुल नलगाएर गोठमा सुत्दा मलेरियाको जोखिम बढेको रोग नियन्त्रण महाशाखाका विशेषज्ञ डा. मदन कोइरालाले बताए ।


उनका अनुसार गाउँका महिला सुत्केरी र महिनावारी हुँदा गोठमा सुत्नुपर्ने बाध्यता छ । ‘गोठमा गाईभैंसीको गन्ध र फोहोरका कारण लामखुट्टे बढी लाग्छन्, त्यही नजिकै सुतेका महिलालाई लामखुट्टेले टोक्ने नै भयो,’ उनले भने, ‘महिनावारी र सुत्केरी भएका बेला रोगसँग लड्ने क्षमता कम हुँदा थप जोखिम भएको पाइयो ।’


गर्मी छल्न कतिपयले सिरकसमेत नओढ्ने गरेकाले लामखुट्टेले बढी टोकेको चिकित्सकको भनाइ छ । मलेरियाको अनुसन्धानका लागि कोइराला बाजुरा हुँदै रिघा गाउँ आएका थिए । उनले अधिकांश महिला महिनावारी भएका बेला गोठमा सुत्ने गरेको भेट्टाए । त्यस्तो अवस्थामा पाँच दिनसम्म गोठमा सुत्ने गरेका छन् ।


गाई–गोरुलाई टोक्ने ‘एनोफिलिक’ नामक लामखुट्टेले रोग सारेको उनले बताए । अनुसन्धानका क्रममा रिघा गाउँमा एनोफिलिजम्याकुलेटस, एनोफिलिजएनुलाटिज र एनोफिलिक क्युम्याटिलिज जातको लामखुट्टे भेटिएका छन् ।


गाउँमा पुरुषभन्दा महिलामा औलो रोग बढी भेटिएको थियो । महिनावारी र सुत्केरी महिलालाई घरमा राख्दा देवीदेवता रिसाउने गलत मान्यताका कारण यहाँका महिला गोठमा बस्न बाध्य छन् ।


मलेरिया नियन्त्रणमा गोठ मुख्य बाधक बनेको जिल्ला स्वास्थ्य कार्यालयका औलो रोग फोकलपर्सन बलिबहादुर बुढाले बताए । महिनावारी र सुत्केरी भएका महिलालाई गोठमै बसे पनि झुलको व्यवस्था गर्न थालिएको उनको भनाइ छ ।

नियन्त्रणमा कठिनाइ

खत्याड गाउँपालिकाको–७, ८ र ९ मा फैलिएको औलो रोग नियन्त्रणमा कठिनाइ भएको छ । औषधि सेवनले बिरामीको संख्या घटदै जानुपर्नेमा झन् वृद्धि भएको स्वास्थ्यकर्मीको भनाइ छ । यो वर्ष ९२ जनामा औलो देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार असारमा ४८ र साउनमा ४४ बिरामी भेटिएका थिए । साउनमा ३८ बाट घटेर २४ पुगेका थिए । तर फेरि ४४ जनामा रोग देखिएको थियो ।


महाशाखाका औलो रोग विशेषज्ञ उत्तमराज प्याकुरेलका अनुसार एक साता बिरामीको संख्या घट्ने र अर्को साता फेरि बढ्ने समस्या देखिएको छ । रोग नियन्त्रण गर्न अझै समय लाग्ने प्याकुरेलको भनाइ छ ।


बिरामीको संख्या फेरि बढेपछि रोग नियन्त्रण महाशाखाबाट डा. मदन कोइरालासहितको टोली रिघा पुगेको छ । यसअघि पनि दुई सातासम्म विशेषज्ञ छोलीले घरदैलो गरी बिरामीको उपचार गरेको थियो । विशेषज्ञ टोली त्यहाँ बस्दा रोग नियन्त्रणमा आएको थियो ।


स्थानीयवासीलाई रोगबाट बचाउन झुल वितरण गरेर टोली फर्किएको थियो । औलोले महिला, बालबालिका र वृद्ध बढी प्रभावित छन् । बुधबार दुई बालिकामा रोगको संक्रमण भेटिएको छ ।


४ वर्षीया गोमा सन्ज्याल र १४ वर्षकी पुस्तिका रोकायामा औलोको संक्रमण भेटिएको चिकित्सकले जनाए । रिघा गाउँको औलोले आसपासका गाउँमा समेत त्रास फैलिएको स्थानीय धनबहादुर रोकायाले बताए ।


बिरामीले डोज नपुर्‍याएर औषधि सेवन गरेकाले रोग फैलिएको बुढाको भनाइ छ । क्लोरोक्विइन नामक औषधि दुई/तीन दिनसम्म खाने र त्यसपछि छोड्ने गरेको उनले जनाए ।


लगातार १४ दिनसम्म औषधि सेवन गरेपछि मात्र कीटाणु नष्ट हुन्छ । दैनिक दुईजना स्वास्थ्यकर्मीको टोली रिघा गाउँमा पुर्‍याएर बिरामी जाँच गर्ने र औषधि सेवनको अनुगमन गर्ने गरिएको जिल्ला स्वास्थ्यले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?