१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘अब कसैले सपना मात्रै बेच्न सक्दैन’

[कुराकानी]

नयाँ दिल्ली र छत्तीसगढ सीतापुरको गाउँ ओहोरदोहोर गरिरहने उदय प्रकाशको नाम समकालीन भारतीय लेखकमध्ये अग्रपंक्तिमा लिइन्छ । नेपाल लिटरेचर फेस्टिभलमा सहभागी हुन गत साता नेपाल आएका यी कवि, सिनेमा लेखक तथा जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वप्राध्यापकसँग बसन्त बस्नेतले सोमबार पोखरामा गरेको कुराकानी :

‘अब कसैले सपना मात्रै बेच्न सक्दैन’

नयाँ दिल्ली र छत्तीसगढ सीतापुरको गाउँ ओहोरदोहोर गरिरहने उदय प्रकाशको नाम समकालीन भारतीय लेखकमध्ये अग्रपंक्तिमा लिइन्छ । भारतीय प्राज्ञ एमएम कलबुर्गीको हत्याविरुद्ध प्रतिष्ठित साहित्य अकादमी पुरस्कार फिर्ता गर्ने निर्णय लिएर पछिल्लो समय चर्चामा आएका उनका ‘मोहनदास’, ‘पिली छतरीवाली लड्की’, ‘वाल्ज अफ् दिल्ली’, ‘चिनी बाबा’ लगायत आख्यान प्रकाशित छन् । दसभन्दा बढी भाषाहरूमा अनूदित उदय प्रकाशका ‘मोहनदास’ र ‘नेलकटर’ लाई अनुवादक यज्ञशले नेपालका पाठकसामु भित्र्याएका हुन् । तीमध्ये ‘नेलकटर’ सार्वजनिक गर्न उदय आफैं नेपाल आए । नेपाल लिटरेचर फेस्टिभलमा सहभागी हुन गत साता नेपाल आएका यी कवि, सिनेमा लेखक तथा जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वप्राध्यापकसँग बसन्त बस्नेतले सोमबार पोखरामा गरेको कुराकानी :

विश्वभरि फैलँदो दक्षिणपन्थी हावाले दक्षिण एसियालाई पनि छोइसकेको छ । तपाईं प्रतिष्ठित भारतीय वाम लेखक हुनुहुन्छ । कसरी हेर्दै हुनुहुन्छ ?
अहिले राष्ट्रवादको नाममा जहाँतहीँ प्रजातान्त्रिक अधिकार, नागरिक हक र मानवअधिकारजस्ता आधारभूत विषयमाथि प्रश्न उठाउन थालिएको छ । भारत, नेपाल र यो क्षेत्रमा मात्रै होइन, यस्तो दक्षिणपन्थी हावा संसारभरि नै छ । दक्षिणपन्थीहरूको बोलवाला बढ्दै जाने क्रममा नै नेपालमा पहिलो संविधानसभा समस्यामा पर्‍यो । यो क्षेत्रका अरू देश पनि कुनै न कुनै खाले समस्यामा परेको देखिन्छ । नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेक्सिको सिमानामा पर्खाल लगाउने भन्दै छन् । नेपाल–भारत सिमाना वा बंगलादेश–भारत सिमानामा पनि कुनै बेला पर्खाल लगाउने प्रस्ताव कतैबाट आयो भने आश्चर्य नमाने हुन्छ ।

तपाईं त्यस्तो सम्भावना देख्नुहुन्छ ?
म तपाईं पत्रकारहरूजस्तो राजनीतिक विश्लेषक भएर यो सबै रौंचिरा केलाएर भन्न सक्दिनँ । म सिर्जनशील लेखक हुँ । तर एउटा सचेत लेखकका रूपमा मेरा सबै एन्टिनाहरू खुला राखेर बस्छु । आफ्नो देशमा, छिमेकमा अनि विश्वमा के भइरहेको छ भन्ने जिज्ञासा एउटा लेखकभित्र सधैं भइरहनुपर्छ भन्ने ठान्छु । अहिले विश्वभरि नै पपुलिज्म (लोकप्रियतावाद) फैलँदो छ । यसो गर्नेमा दक्षिणपन्थी मात्रै छैनन् । २००९ र २०१० तिर ‘युरो सिंगल करेन्सी’ को ठूल्ठूलो कुरा गरियो । सिंगो युरोप नै एउटै देशजस्तो गरी एकीकृत चस्माबाट हेर्न खोजियो । हिजो पनि कुनै बेला उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का रूपमा यस्तो प्रयास गरिएकै हो ।

यस्तै खाले उतारचढावले राष्ट्रवादी दक्षिणपन्थी लहर उठाएको हो । आज राष्ट्रवादको नाममा आप्रवासीमाथि अत्याचार सुरु भएको छ । आप्रवासी पनि मुस्लिम र गैरमुस्लिमबीच विभेद गरिएको छ । ट्रम्पले बोलेका कुरालाई नीतिका रूपमा लागू गर्न खोजिँदै छ । उनको यही अनुदार शैलीका कारण शपथ ग्रहण नहुँदै विश्वभरिका ६ सय ७८ ठूला सहरहरूमा ट्रम्पविरोधी प्रदर्शन भइरहेका छन् । मैले यसअघि कुनै पनि राष्ट्रपतिको शपथ हुँदै गर्दा यतिबिघ्न विरोध देखेको थिइनँ ।

यो लहरमा भारत कहाँनेर छ ?
भारतमा पनि जनता पार्टी जब शक्तिमा आयो, आजको भाजपा एउटा पक्षका रूपमा त्यहा थियो । त्यस बेला भाजपा आजको जस्तो भइसकेको थिएन, उदारवादी दृष्टिकोण थियो । भारतमा मनुस्मृति, उच्च जातीय र निम्न जातीय राजनीतिलाई ठाउँ दिइयो । दलित, आदिवासी र मुस्लिमले भारतमा यसैकारण दु:ख पाएका हुन् । जहाँसम्म नेपालको कुरा छ, हामीबीच दुई देशबीचको सम्बन्ध मात्रै रहेन ।

दुई देशका जनताबीचको सहभागितापूर्ण दोहोरो सम्बन्धका आधारमा यी दुई देश आजसम्म चलेका छन् । जस्तो नेपाल र भारतका जनता जहाँको पनि लोकतान्त्रिक आन्दोलनका लागि लडेका छन् । १९८९ मा नवउदारवादसँगै विश्व राजनीतिको व्यवस्था बदलियो । पहिले अमेरिका र सोभियत संघ रहेकामा अब दुई व्यवस्थाका ठाउँमा एक व्यवस्था आयो ।

‘टिना’ (देयर इज नो अल्टरनेटिभ) को धारणा यसै क्रममा अघि सारियो । सोभियत संघ ढलेपछि, अनि बर्लिनको पर्खाल ढालिएपछि युगोस्लाभिया, कोसोभो, अनि सर्बहरूले आफ्नो शक्ति दाबी गरे । उदारवादको राज त्यसरी सुरु भएको हो ।

त्यो व्यवस्था उदार थियो त ?
कहाँको हुनु ? उनीहरू भन्नलाई आर्थिक उदारवाद भन्छन्, तर ‘उदारता’ भन्ने शब्दको मर्मलाई त्यसले प्रतिनिधित्व गर्दैन । उनीहरूले उदारवाद र सुधारवादको कुरा गर्दै भने, ‘पहिले राज्यले सबै कुरा नियन्त्रण गर्‍यो, अब स्वतन्त्र बजारको प्रतिस्पर्धा हुनेछ ।’ धनीहरूले माथि बसेर गर्ने आपसी प्रतिस्पर्धाको फाइदा ‘ट्रिकल डाउन’ हुँदै गरिबहरूले पाउनेछन् भनियो । अनि समाज विकसित र समृद्ध हुँदै जानेछ भनियो । तर आज हामी कहाँ आइपुग्यौं ?

संसारको एक प्रतिशतले ८६ प्रतिशतभन्दा बढी पुँजी र स्रोत कब्जा गरिसक्दासम्म तलतिर त केही पनि ट्रिकल डाउन भइरहेको (चुहिरहेको) छैन । स्रोत साधनको केही पनि बाँडफाँट भइरहेको छैन । केवल बन्दुक, बम, युद्ध, हस्तक्षेप, चर्को कर, मूल्यवृद्धि, श्रमिकको अधिकार कटौती मात्रै भइरहेको छ । उदारवादको अनुदार अनुहार यही हो । हिजो पो समाजवादी र पुँजीवादीका दुई विपरीत ध्रुव थिए । अहिले त पुँजीवादका अन्तसंघर्ष चर्कंदै छन् । ‘सिटिजन्स अफ् द इम्पायर’ भन्ने रोबर्ट जेन्सनको पुस्तकले यसको बारेमा राम्ररी व्याख्या गरेको छ ।

तर यो विश्वव्यवस्था बदलिँदै छ, अमेरिकाको एकछत्र राजमा चीन आफ्नो हिस्सा दाबी गर्ने ठाउँमा आइपुगेको छ भन्ने किसिमका तर्कहरूसमेत आइरहेका छन् नि ?
सुरुमा विश्वव्यवस्था एकध्रुवीय (युनिपोलर) देखिए पनि वास्तवमा भइसकेको छैन । पाकिस्तानी बौद्धिक तारिक अलीले एउटा लेख लेखेर अझै विश्व बाइपोलर, दुईध्रुवीय भएको तर्क गरेका छन् । अली भन्छन्, ‘दुर्भाग्य यो छ कि ती दुवै ध्रुवहरू पुँजीवादी ध्रुवहरू हुन् । चीन, भारत, जापान भनेका पुँजीवादी अर्को ध्रुवकै विस्तारित एसियाली रूप मात्रै हुन्, अमेरिका र युरोपका विकल्प होइनन् ।’ यस्तो अवस्था छ ।

अब नेपाललाई हेरौं । कुनै बेला भारत जब असंलग्न राष्ट्रको नेतृत्व गर्दै थियो, त्यस बेला उसको झुकाव समाजवादतिर थियो । सोभियत संघसँग उसको राम्रो सम्बन्ध थियो । आज त्यो अवस्था छैन । अहिले नेपाल दुई ठूला शक्ति राष्ट्र चीन र भारतसँग बार्गेनिङ गर्ने ठाउँमा छ । चीन कुनै पनि उदियमान पुँजीवादी देशभन्दा सर्वाधिक छिटो विकास भएको अर्थतन्त्र बन्न पुगेको छ ।

यता प्रजातान्त्रिक भारतचाहिं म्यानमारका प्रजातन्त्रवादी जनताका विरुद्ध सैन्य जुन्टाहरूलाई समर्थन दिइरहेको छ । सरकारले जनवरी २६ को गणतन्त्र दिवसमा युनाइटेड अरब इमिरेट्सका युवराजलाई मुख्य अतिथि बनायो । यूएईले पूर्वी एसियाका देश अनि आफ्नै जनताविरुद्ध ‘मोरल पुलिसिङ’ गर्ने नीति लिइरहेको छ । यूएई भनेको आज अमेरिका र इजरायलको साथी हो । यस्तोमा कल्पना गरौं त, के हुन्छ ?

यसरी एसिया र अरबसमेतको यो सिफ्टलाई समाजशास्त्रीय र राजनीतिशास्त्रीय आधारमा हेरियो भने धर्म, जातिजस्ता विषयमा सर्वाधिक ठूला हेजेमोनी बनेका देशहरू एक आपससँग मिलेका देखिन्छन् । आजको भारत पुरुषवादी, उच्च जातीय र दक्षिणपन्थी हिन्दु हो । तपाईं आज भारतको सत्ताधारी वर्गमा अरूमाथि घृणा फैलाउने ‘माइन्डसेट’ मात्रै भेट्नुहुन्छ ।

भारत त समावेशी लोकतन्त्र भएको देश होइन र ? यसले राजनीतिक, सामाजिक अल्पसंख्यकहरूलाई समेट्छ भनिन्छ नि ?
भारत एउटा बहुल देश हो । यसभित्रको विविधताभित्रको प्रचुरताले नै सबैमा आशाहरू बाँड्छ । भारतलाई एकल वा एकपक्षीय चेप्टो समाज बनाउने कसैको प्रयास छ भने त्यो सफल हुने छैन । तर हामीभित्रको जातीय व्यवस्थालाई सही ढंगले निरुपण नगर्दा यसले आपसमा दूरी र भिन्नता बढाउँदै लगेको छ । यो विविधतापूर्ण विचारको मान्यताविरुद्ध छ ।

महात्मा गान्धी एउटा ‘सिन्ड्रोम’ थिए, जसले स्वतन्त्रता वा राष्ट्रवादी लडाइँका क्रममा सबै अल्पसंख्यकसमेतलाई एक बनाउने प्रयास गरे । भारत स्वतन्त्रताका लागि लड्ने थुप्रै समुदाय थिए, जसलाई लडाइँका क्रममा एक बनाउने प्रयास गर्नु अस्वाभाविक पनि थिएन । संघर्षको बेलामा सबैले एकसाथ काम गर्नु उचित पनि हो । अहिले नेपालमा पनि यही बहस आएको छ । नेपालको सिमानाभित्र को पहिले आयो, को पछि भन्ने बहसका आधारमा आज विवाद भइरहेको छ । यो संघर्ष त पछिसम्मै चलिरहन्छ ।

लोकतन्त्र यस्तो राजनीतिक आविष्कार हो, जुन बजारले सबै खाले समाधान दिन सक्दैन । फ्रिडम्यानको एउटा सिद्धान्त आयो— सरकारले सबै समाधान दिन सक्दैन, त्यसका लागि बजार चाहिएको हो । आज हामी २००७ को विश्वव्यापी मन्दीपछि बजारको असफलता पनि देखिहाल्यौं । उता अमेरिकाको असफलताका कारण यहाँ (भारतमा) समेत रुपियाँको स्फीति भयो । अहिले पनि भर्खरै नोटबन्दी भएको छ, भारतमा ।

नोटबन्दीले भारतमा कालोधन रोक्न सहयोग गर्‍यो भन्छन् नि ?
सहयोग भएको भए विश्वभरिका नामी अर्थशास्त्रीहरूले भारतीय सरकारको खिसीटयुरी किन गर्थे र ? इतिहासमा यसको प्रयास ६ पल्ट गरिसकियो । सधैं फेल । यो सफल भएमा ऐतिहासिक चमत्कार हुने थियो । कालोधन, जो पहिल्यै घरजग्गामा लगानी गरिसकियो, अनि विदेश लगेर सुरक्षित गरिसकियो । यसको बारेमा मैले मेरो ‘वाल्ज् अफ् दिल्ली पुस्तक’ मा पनि लेखिसकेको छु ।

१९९१ मा ‘ब्ल्याक इकोनमी इन् इन्डिया’ पुस्तक छापियो । भारतमा ४५ प्रतिशत ब्ल्याक मनी रहेको आकलन त्यो बेला थियो । त्यस बेला सय रुपियाँको मूल्य घटेर माइनस ४५ पो हुन पुग्यो । अहिले पनि के भयो ? नोभेम्बर ८ मा रिजर्भ बैंक अफ् इन्डिया अनि उच्च सल्लाहकार कसैसित सल्लाह नगरी यो झ्वाट्ट ल्याइयो । त्यसयता कति मानिस बैंक अगाडि लाइन लाग्दालाग्दै मरिसके । यो त लाजैमर्दो भयो ।

भारतीय नागरिक समाज यस्तो बेलामा कसरी काम गरिरहेको छ ?
हामी सधैं चिन्तित छौं, तर एक ठाउँमा उभिएर काम गरिरहेका छैनौं । प्रतिरोध आज असंगठित र विभाजित छ । सूक्ष्म तहसम्म गएर हेरियो भने थाहा हुन्छ— एउटै सीमान्त जातिको मानिस दक्षिणपन्थी छ, अनि प्रतिरोधमा पनि छ । भारतका चर्का मोदीपन्थी त थुपै्र सीमान्तकृत समुदायबाट आएका छन् । यस्तो बेला कति कठिन होला !

यस्तो बेला परिवारभित्रै लड्नुपर्ने भएको छ । मजस्तो लेखक, जो सोचिरहन्छ– सबै कुरा परिवर्तन भइसक्यो । कुनै बेला विश्वकै ठूलो सोभियत संघमा फहराएको लालझन्डा आज म्युजियममा किन छ ? किन वामपन्थ वा लोकतन्त्र दुवैको पुनर्परिभाषित नगर्ने ? लोकतन्त्र १९७९ मा फ्रान्समा जन्मेको थियो ।

समानता, भ्रातृत्व र स्वतन्त्रताको नारासहित आएको थियो । तर समय क्रममा जर्मनीका हिटलर, स्पेनका फ्रान्कोलगायत तानाशाहले पनि लोकतन्त्रको शब्द भजाएको देखियो । लोकतन्त्र शब्दको दुरुपयोग गर्नेको संख्या झन् बढ्दै छ । यो बेला नागरिकहरूको सक्रिय चेतना चाहिन्छ ।

कम्युनिस्ट पार्टीको अवस्थाचाहिं के छ ?
जिजेकले भनेका छन्, कम्युनिस्ट पार्टी नवधनाढयको भयो । त्योभन्दा पहिले मध्यमवर्गको थियो । मध्यम वर्ग सुरुमा आफैं गएर श्रमिक वर्गसँग काम गथ्र्यो । त्योभन्दा पहिले श्रमजीवी वर्गको पार्टी थियो । अहिले त नवउदारवाद मध्यवर्गमा यसरी घुस्यो, पहिलेको भाषा बोल्ने मध्यवर्ग अब बोल्नै सक्दैन । कर्पोरेट स्वार्थमा बोल्ने मध्यमवर्ग मात्रै हामीकहाँ बाँकी छ । अहिले पनि टिना (देयर इज नो अल्टरनेटिभ) नै जहींतहीं काम गरिरहेको छ ।

बंगाल केरलातिर वामको हाल के छ ?
उनीहरू समीक्षाको चरणमा छन् भन्ने लाग्छ । यो बीचमा धेरै थोक बिग्रिइसक्यो । आन्दोलन चलाउने हो भने जनता चाहिन्छ । उनीहरू जनतामा फर्कनैपर्छ । कम्युनिस्ट पार्टी जनताबिना चल्न सक्दैन ।

तपाईंले सीपीआईबाट राजीनामा दिएको सुनेको थिएँ । वामपन्थी लेखकले पार्टी सदस्य हुनु उचित हो कि होइन ?
मैले राजीनामा दिएको होइन, सदस्यता नवीकरण नगरेको मात्रै हो (हाँसो) । १९८२ यता मैले नवीकरण गरेको छैन । म लेखकको संघमा पनि सक्रिय थिए । पछि केही समय सीपीआई–एममा आएँ । त्यस बेला डाँगे हाम्रो नेता थिए । म उनीहरूको लाइनसँग सहमत भइनँ । उनीहरू सधैं पार्टी निर्णयलाई सिपाहीझैं अनुसरण गर्नुपर्छ भन्ने, अलिकति प्रश्न उठायो कि शंका गर्न थाल्ने । लेखक, पार्टी सदस्य र कार्यकर्ताबीच फरक छुटयाउनै नसक्ने ।

लेखक सधैं आलोचनात्मक हुन्छ । त्यसैले हामीले इन्दिरा गान्धीको संकटकाललाई कमरेड डाँगे सघाउन जाँदै गर्दा विरोध गर्‍यौं । त्यस बेला डाँगेले भारत जोगाएको भन्दै इन्दिराले भाषण नै ठोकिन् । बैंक, कोइलाखानी आदिको धमधाम सरकारीकरण गर्न थालियो । सीपीआई इन्दिरालाई जवाहरलाल नेहरूभन्दा पनि प्रगतिशील देख्न थाल्यो । उनीहरू कंग्रेसका थिंकटयांक बने । सरकारबाट टन्नै फाइदा लिए । सरकारमा शक्ति बाँडफाँट मात्रै गरेनन्, चुनावमा सँगै भिडे पनि । यसले तत्काललाई कम्युनिस्ट पार्टीको सिट त बढेको देखियो, तर जनाधार सधैंका लागि गुमाए । हेर्नुस् त, आज उनीहरू कहीं छैनन् । लेखक संघ, ट्रेड युनियन मात्रै छिटफुट छन् ।

यस्तो त नेपालमा पनि भइरहेको छ ।
यो त संसारैभरि छ । बंगलादेश, नेपाल, भारत वा पाकिस्तानको कुुरै भएन । पाकिस्तानभित्र कुनै बेला बलियो वाम आन्दोलन थियो, आज छैन । हंगेरी, रोमानियातिरको कथा त्यस्तै छ । रोमानियाका कम्युनिस्ट नेता चाउचेस्कुको बाथरुममा भेटिएका हीराजुहारत, अनि बसाइ यस्तो राजसी थियो कि त्यस्तो त अम्बानीको पनि थिएन । आज त कुनै कुरा पनि लुक्दैन, क्यामेरा सबैतिर छ । अहिले हामी ‘पोस्ट–एडल्सेन्ट’ युगमा छौं ।

अब हामीलाई कसैले सपना मात्रै बेच्न सक्दैन । खुला बजारवालाले सन् ९० मा जुन समृद्धिको सपना बेचे, त्यस्तै सपना कम्युनिस्टहरूले पहिल्यै बेचिसकेका थिए— वर्गविहीन समाज, समानता र मुक्तिको । अहिले २०१७ रुसी अक्टोबर क्रान्तिको शताब्दी वर्ष हो । आज त्यो कहाँ छ ? त्यसैले अहिलेको उत्तरसमाजवादी र उत्तरपुँजीवादी युगमा बाँचिरहेका छौं हामी ।

उसो भए संसारको यो परिवर्तनसँगै तल्लो वर्गका जनताको पार्टी अब रहिरहन सम्भव छ ?
अझै पनि सम्भव छ । तपाईंले घोत्लिएर कार्ल माक्र्स पढ्नुभयो भने उनको दर्शन र विचारले अझै पनि त्यसको मार्गनिर्देशन गरेको पाउनुहुन्छ । यस्तो बेला माक्र्सको दर्शन आयो, जुन बेला अराजकतावादीहरू, अनि शुद्धतावादीहरू एकआपसमा बहस गर्दै थिए । १९०५ देखि १९१७ सम्मको अवधिसम्म साना समूहहरू सक्रिय थिए । संगठन बन्न पाएको छैन, तर त्यहा व्यक्तित्व टकराव ठूलो थियो ।

अहिले पनि भारतमा कन्हैया कुमार, जिग्नेस, केजरीवालजस्ता थुप्रै अनुहार आइरहेका छन् । यसो आउँछन्, चर्चित हुन्छन्, अनि कहाँ बिलाउँछन् । दक्षिणपन्थीतिर पनि अनुहार आउने क्रम छँदै छ । जस्तो कि पछिल्लो समय तल्लो वर्गले मोदीमा नै आफ्नो आशा देख्यो । पपुलिज्मको उदय खतरनाक छ । लोकतन्त्रलाई यसले भीडतन्त्रका परिणत गरिदिने खतरा छ । गोरुको मासु खाइरहेको मानिस भेटियो भने अहिले हिन्दुवादीको आक्रमणमा पर्न सक्छ ।

नेपाल लिटरेचर फेस्टिभलको सत्रमा पनि तपाईंले लेखक एक्टिभिस्ट बन्न नहुने तर्क राख्नुभयो नि।
म एक्टिभस्ट हुँ, भाषाको । मलाई यहीँ रहन दिनुस् । सडक मेरो होइन । सडकमा भीड हुन्छ । भीडमा विचारहरू सुरक्षित हुन्छन् भन्ने मलाई कमै लाग्छ । लेखक कसरी जाने, जहा कंग्रेसलगायत पार्टीहरूका पुराना मानिसहरू सामन्तजस्तो उद्घाटनमा जान्छन् । मञ्चमा बस्ने । भाषण गर्ने । अनि फर्कने । भोलि त्यही गर्ने । पर्सि त्यही गर्ने । यस्तोमा लेखक सहज हुँदैन ।

उसोभए साहित्य अकादमी अवार्ड किन फिर्ता गर्नुभएको ? त्यो पनि एक्टिभिज्म नै होइन ?
३ सेप्टेम्बर २०१५ मा मैले अवार्ड फर्काउने घोषणा गरे । त्यसो गर्ने म पहिलो भारतीय थिए । त्यसको आठ नौ दिनसम्म मानिसहरूले मेरो आलोचना गर्दै बसे । वामपन्थीहरूसमेत मैले स्टन्ट गरेको भनी आरोप लगाए । कलबुर्गीको हत्या हुँदै गर्दा म छत्तीसगढस्थित गाउँमा थिएँ । राज्यको क्रूरताविरुद्ध एउटा सचेत नागरिकको प्रतिरोध थियो, त्यो । त्यसपछि नयनतारा सेगल, के सचितानन्दन, सारा जोसेफले पनि फर्काए । कन्नडा लेखकहरू पनि थिए । उनीहरू हत्याविरुद्ध मुख्यमन्त्रीलाई भेट्न चाहन्थे । यो त लहरै भएर चल्यो ।

जुनसुकै नागरिक आन्दोलन यसरी नै स्वतस्फूर्त उठ्ने गर्छ । अनि पुराना राजनीतिक दलहरू त्यसलाई मन लागी वा नलागी पछयाउँछन् । यो नैतिक विश्वसनीयताको शक्ति हो । मजस्तो लेखकको समस्या के हो भने म कुनै पनि पार्टीमा गएर मेरो अभिभावक वा गुरु खोज्दै हिँड्न सक्दिनँ । म जातीय, धार्मिक संकीर्णता रुचाउँदिन भन्ने कुरा सबैलाई थाहा छ । मेरा पाठकलाई अझै थाहा छ । त्यस बेला पार्टीका मानिसहरू मलाई नै समस्या ठान्न थाल्छन् ।

उनीहरू तपाईंलाई के आरोप लगाउँछन् ?
के लगाउनु र, उही सदावहार गालीहरू (हाँसो) ? अमेरिकालाई गाली गरुन्जेल यहा वामपन्थी भइन्छ । सामन्तवादलाई गाली गर्दासम्म पनि वामपन्थी भइरहिन्छ । पाकिस्तानको विरोध गरे त झनै वामपन्थी । तर देशभित्रको जातीय व्यवस्था अनि धार्मिक प्रभुत्वको विरोध गरिहेर्नुस् त ? के हुँदो रहेछ ? हिन्दु ब्राह्मणवादलाई छुनै हुँदैन । गान्धीलाई कसले मारेको होजस्ता प्रश्न गर्नै हुँदैन । थाहै छ नि, गान्धीलाई मार्ने आठमध्ये सात जना एउटै जातका थिए ।

मैले ‘पिली छतरीवाली लड्की (गर्ल विद् अ गोल्डेन पारासोल’ उपन्यास यस्तै जातीय व्यवस्थामाथि लेखें । यो धेरै चर्चित भयो । भारतका सबैजसो भाषामा अनुवाद भयो । अनि प्रतिष्ठित अमेरिकी पेन ग्रान्ट पनि पायो । मैले दयानन्द सरस्वती वा विवेकानन्दका आध्यात्मिक एन्टिकास्ट सिस्टम तर्क, कोटेसनहरू राख्दै यसअघि लेख्ने चलन तोडें । त्यसको ठाउँमा मैले केही मानवशास्त्रीय ढंगबाट खोजी गर्न खोजेको मात्रै हुँ ।

मैले एउटै परिवारको पाँच पुस्ताको फोटो हेर्‍यो भने कसैको कसैसँग फरक देखिने भएकाले कुन जाति ठूलो वा सानो भन्ने तर्क बेकार भएको मान्यता स्थापित गर्न खोजें । त्यो छापिएपछि यस्तो धुलाइ भेटियो कि, त्यस्तो प्रहार गर्नेमा वाम लेखक पनि त्यत्तिकै ठूलो संख्यामा थिए । त्यसैले त फेरि भन्दै छु, को वामपन्थी हो भन्ने अब पुनर्मूल्यांकन गर्नैपर्छ । ‘गड दयाट फेल्ड’ भन्ने एघार लेखकको एउटा विख्यात पुस्तक छ ।

कम्युनिस्ट पार्टीका पूर्वसदस्यहरू, महान् लेखकहरूको साझा कृति हो त्यो । उनीहरू वामपन्थका विरोधी होइनन्, प्रश्नकर्ता भने हुन् । विलियम राइट नामक अश्वेत वाम लेखक थिए । उनले विद्यार्थीकालमा कसरी माक्र्सवाद बुझ्न पुगे, अनि कसरी नजिक पुगे, लेफ्टहरूले आफ्नै मानिसलाई मात्रै ठूलो हुन् भन्दै महिमामन्डन गरेको पनि देखे । कम्युनिस्ट पार्टीका नाममा स्वान्तसुखाय: गर्नेहरू सबै गोराहरू मात्रै थिए, कालाहरू थिएनन् ।

कम्युनिस्ट पार्टीमा त झन् कालाहरू बढी हुनुपर्ने होइन र ? अनि राइट लेख्छन्, ‘मेरो अझै एउटा प्रश्न भने छँदै छ, किन यी सबै अमेरिकी कम्युनिस्टहरू गोरा समुदाय र उच्च वर्गबाट मात्रै आए ?’ भारतमा पनि यस्तै छ । किन वाम नेतृत्व सबै उच्च जातबाट मात्रै आयो ? किन दलितबाट, सीमान्त समुदायबाट आएन ?

साम्राज्यवादी, विस्तारवादीहरूले देशभित्रको स्थिरता खल्बल्याउन जनजाति र मधेसका जातीय, क्षेत्रीय प्रश्न ब्युझाउँछन्, उनीहरूमार्फत राष्ट्र वाम आन्दोलन कमजोर बनाउँछन् भन्ने मान्यता यहाँका कम्युनिस्ट पार्टीहरूमा छ । त्यो सही हो ?
यहीँनेर माक्र्सवादको ऐतिहासिक सीमा देखिन्छ । कार्ल माक्र्सले जर्मनी, फ्रान्स र युरोपका ती देशहरू हेरे, जहाँ एउटै जाति, संस्कृति, भाषा हावी थियो । तर भारत र यसका छिमेकी देशहरूमा जातीय सांस्कृतिक विभिन्नता छ, जुन युरोपमा थिएन ।

सूक्ष्म ढंगले सामाजिक संरचनाहरूमा हेर्दै गयो भने यहाँ जाति र वर्गहरू एक अर्कासँग छुट्टिन नसक्ने गरी गाँसिएको भेटिन्छ । वर्ग मात्रै भनियो भने यो समस्यालाई सम्पूर्ण रूपमा बुझ्न सकिन्न । १९६८ मा एके रोयले सीपीआई–एममा जमसेदपुर क्षेत्रमा आयोजित एउटा कम्युनिस्ट सम्मेलनमा कार्यपत्र पेस गरे, जहाँ समाजको विविधतालाई वर्गीय दृष्टिकोण मात्रैले सम्बोधन गर्न नसकेको विचार राखे ।

यो पहिलोपल्ट कम्युनिस्ट पार्टीमा नयाँ कोणबाट उठेको प्रश्न थियो । कम्युनिस्ट पार्टीमा यो विचार नराम्ररी निषेधित भयो, किनकि जातीय प्रश्नको बारेमा कार्ल माक्र्सले केही पनि भनेका थिएनन् (हाँसो) । अहिले विश्वभरिका विश्वविद्यालयका ‘कन्फ्लिक्ट स्टडिज’ पढाइन्छ । कर्पोरेट राजनीति अरू देशका द्वन्द्वमाथि अध्ययन गर्न रुचि पनि राख्छ । वर्ग, समाजवाद, पहिचानजस्ता विषयमाथि यसबीचमा पढाइ भइरह्यो, पहिचानका अधारमा कसरी विभेद भयो भन्नेबारे पनि पढाइयो ।

सपना त बाँडेको बाँडै गरियो, भविष्यमा आउने समाजवादको । जब पूर्वी जर्मनीमा पुग्दा थाहा भयो, यतापट्टि केही खान पाउने अवस्था छैन । समाज पनि अस्तव्यस्त छ, केवल काम गर, काम गर भनिएको छ । उता पश्चिम जर्मनीपट्टि खाना, जलपानलगायत जीवननको सबै आनन्द छ । ‘गुडबाई लेनिन’ भन्ने सिनेमा हेर्नैपर्छ, यो बुझ्न । गजबको सिनेमा छ, यो । ७०–८० वर्षसम्म कसलाई पर्खिरहने ?

भारतमा आदर्श कम्युनिस्ट नेता छैनन् ?
जब सीतेराम येचुरी, प्रकाश करात वा कुनै सीपीआई नेता अल इन्डिया ट्रेड युनियन कंग्रेसको सभा वा कुनै आन्दालनमा जान्छन्, आजकाल जनता हाँसोउठ्दो प्रश्न सोधेर हैरान लगाउँछन् । आम मानिसलाई त के छ र ! सधैं सानाठूला समस्यामा परिरहेका हुन्छन् । उनीहरूले पाउने केही हुँदैन, अनि सोधिदिनछन् ।

कम्युनिस्ट नेताहरू विलासी कारबाट निस्केर मजदुरको सभामा बोल्छन् । कोक, पेप्सी वा कुनै बहुराष्ट्रिय कम्पनीको पानी पिएर फर्कन्छन् । कम्युनिस्ट नेताले आफूलाई साधारण अवस्थामा राख्नुपर्छ, किनकि उनीहरूलाई नेता बनाएको भुइँका आम जनताले हो । ग्राम्सीले यो प्रश्न पहिल्यै उठाएका छन् : नेताले आफूलाई ‘डिक्लास’ गर्नुपर्छ, नत्र जनताको भावना, अनि संघर्षलाई सम्मान गर्ने क्षमता आउँदैन ।

कम्युनिस्ट नेताहरूले आफूलाई त्यसरी डिक्लास गर्ने दिन आउला ?
गर्नैपर्छ । म परिवर्तनप्रति सधैं आशावादी छु । मैले अघि पनि भने कम्युनिस्ट आन्दोलन वा कुनै पनि वाम आन्दोलन बचाउने, अघि बढाउने जनताको सहयोगले हो । कर्पोरेटको पैसाले कम्युनिस्ट पार्टी चल्न सक्दैन ।

भारतीय वामहरूको बारेमा अरुन्धती रोयले पनि आलोचनात्मक कोणबाट लेखिरहेकी छिन् । उनको विचारसँग तपाईंले कत्तिको समानता पाउनुहुन्छ ?
उनी प्रतिभाशाली लेखक हुन् । असाध्यै साहसी पनि । उनी जति शक्तिशाली लेख्छिन्, उनी आफैं त्योभन्दा बढी शक्तिशाली छिन् । त्यति साहसी म छैन । उनी भीडमा जान सक्छिन्, कहिलेकाहीं हेलाहोचो पनि खप्छिन् । म त्यस्ता परिणामहरूको सामना गर्न अप्ठयारो मान्छु । म बढी नै भावुक किसिमको छु । छिटो दुख्छ मलाई । म नारा लगाउन रुचि मान्दिनँ । दलहरूलाई यस्तो काम गर्न दिनुपर्छ । लेखकहरूले लेख्ने नै हो ।

नेपालमा दशक लामो माओवादी सशस्त्र युद्ध चल्यो, अझैसम्म भारतमा माओवादीहरू लडिरहेका छन्, के भन्नुहुन्छ ?
म उनीहरूसित सहमत छैन । म कुनै पनि खाले हिंसाको विरोधी हुँ । मेरो लागि त्यो उचित बाटो होइन । तर यसको मतलब कर्पोरेटहरूले गर्ने हिंसाको स्केल पनि सानो छैन । यो उत्तिकै भत्र्सनायोग्य छ ।

तपाईंले चिनेको नेपाल कस्तो हो ?
नेपाल संघर्षहरूको बीचबाट परिवर्तन भइरहेको जुझारु देश हो । एउटा समय थियो, भारत, नेपाल र छेउछाउका देशहरू लोकतन्त्रको साझा लडाइँमा थिए । एक अर्काप्रति ऐक्यबद्धता पनि थियो । परस्पर सम्मानको भावना थियो । अब सबैले आ–आफ्नो बाटो पक्रने बेला भएकै हो । यस्तो कार्यमा न त चीन, न भारत वा पाकिस्तानले अनावश्यक बढ्ता गतिविधि गर्ने हो हो । यो देश (नेपाल) शान्त र स्वतन्त्र भएर बाँच्नुपर्छ ।

कुनै पनि खाले राजनीतिक हस्तक्षेपहरू ठीक होइन । कसैले कसैलाई पेल्ने वा मर्कामा पार्नेतिर जानुभएन । यहाँ पनि हिन्दु राष्ट्र हुनुपर्छ भन्ने सल्लाहरू भारतका केही समूहहरूबाट आइरहेको बुझिन्छ । त्यो सही छैन । सबै धर्म र विचारहरूलाई राज्यले हेर्ने दृष्टि समान हुनुपर्छ । लोकतन्त्रको मूल्यले यसै भन्छ ।

मन पर्ने लेखक को हुन् ?
प्रेमचन्द, अरुन्धती, होर्खे लुई बोर्खेस, मिखाइल बुलुवाकोभ, बोरिस पास्तरनाक, अनि सधैं मार्खेज ।

लेखक र जीविकाको प्रश्न नेपालमा पनि उठिरहन्छ । तपाईं के ठान्नुहुन्छ ?
कहिलेकाहीं पैसा नभई बाँच्दा पनि पैसाको महत्त्व थाहा हुने रहेछ । त्यसले पैसका लागि संघर्ष गर्न सिकाउँछ । कुनै बेला श्रीमतीसँग भाडाको कोठामा बस्थें । आज त गाजियावादमा मेरो राम्रो घर छ । लेखक भएरै तपाईं विलासी जीवन बिताउन पाउला भन्ने कल्पना नगर्नुस् ।

सिर्जनशील लेखकले संघहरूमा बस्नु उचित हो ?
लेखक कहिलेकाहीं साह्रै एक्लो र विचलित महसुस गर्छ । मानिस नै हो ऊ पनि । तर संघहरूमा बस्दा साह्रै उकुसमुकुस हुने रहेछ । मेरो विचारमा कुनै लेखक वा कलाकार ‘सोलो पर्फमर’ हो । मलाई आफ्नै गीत गाउन सहज हुन्छ, कोरसमा के गाइरहनु ? मैले एक्लै बसेर मुक्त मनोभावमा लेखें भने झन् शक्तिशाली बन्न सक्छु । म स्पिरिचुअल बुद्धिस्ट गान्धीयन् माक्र्सिस्ट हुँ । मलाई यसै हालतमा रहन मन पर्छ ।

प्रकाशित : माघ २२, २०७३ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?