२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘ओबर सम्मेलनअगावै नेपालको हस्ताक्षर’

काठमाडौं — चीन सरकारले र मुख्यत: चिनियाँ राष्ट्रपति सी चिनफिङले अगाडि सार्नु भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (ओबर) कार्यक्रम रणनीतिक अवधारणा हो । यसको महत्त्व विश्वव्यापी रूपमा रहेको छ । हामीले यसलाई स्वागत गरिसकेका छौं । दुई देशबीचमा बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यक्रमसम्बन्धी समझदारीपत्र (एमओयू) गर्ने अन्तिम तयारी भइसकेको छ ।

‘ओबर सम्मेलनअगावै नेपालको हस्ताक्षर’

चीनको हैनानमा आयोजित बोआओ शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार बेइजिङ आइपुगेका छन् । यहाँ आएलगत्तै नेपाली दूतावासको अन्तक्र्रिया कार्यक्रममा भाग लिएका प्रधानमन्त्री दाहालसँग शनिबार साँझ कान्तिपुरका चेतनाथ आचार्यले गरेको संक्षिप्त कुराकानी :

तपाईंको चीन भ्रमणका मुख्य एजेन्डा र उद्देश्य के–के हुन् ?
समग्रमा मैले यो भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र विगतमा भएका सम्झौता कार्यान्वयनको आधार तयार पार्ने उद्देश्य लिएको छु । मेरो चीन भ्रमणको निष्कर्ष तपाईंहरूले चाँडै देख्नुहुनेछ ।

चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मा नेपाल कहिले सहभागी हुन्छ ?
यसबाट हामी नजिकको छिमेकी हुनुको नाताले सबभन्दा बढी फाइदा हामी लिन चाहन्छौं । त्यही अर्थमा हामी अगाडि बढिरहेका छौं पनि ।

आगामी मे महिनामा चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ शिखर मञ्चको आयोजना गर्दैछ । यसमा नेपाल सहभागी हुन्छ त ?
नेपाल पक्कै सहभागी हुन्छ । मेमा आयोजना हुने बेल्ट एन्ड रोड इनिसिएटिभ शिखर मञ्चभन्दा पहिले नै नेपालले एमओयूमा हस्ताक्षर गर्नेछ । हस्ताक्षरपछि सक्रिय सहभागिता जनाउने कोसिस हुनेछ । 

चिनियाँ उपप्रधानमन्त्री चाङ काउलीसँगको भेटमा चिनियाँ रेललाई नेपाल लैजाने कुरा गर्नुभयो । नेपाली जनताले आशा गरेको यो विषयमा तपाईं साँच्चै गम्भीर हुनुहुन्छ ?
पहिलोपल्ट संघीय लोकतान्त्रिक नेपालको प्रधानमन्त्री हुँदा सन् २००८ मा ओलम्पिक समापन समारोहमा भाग लिन चीन आएको थिएँ । त्यतिबेला मैले तत्कालीन चिनियाँ राष्ट्रपति हु चिनथावो र तत्कालीन प्रधानमन्त्री वेन च्यापावोसँगको भेटमा नेपालमा रेल लैजानेबारे, खासगरी ल्हासा र लुम्बिनीलाई जोड्ने रणनीतिक महत्त्वको कुरा उठाएको थिएँ । त्यसले चीन, नेपाल र भारतको आर्थिक क्रियाकलापमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ भनेर भनेको थिएँ । त्यतिबेला त यो सपनाजस्तो लाग्थ्यो । तर अबचाहिँ यो सपना रहेन, विपना र यथार्थ भइसकेको छ । छिट्टै केरुङ–काठमाडौं रेलमार्गका लागि ठोस कार्यक्रम बन्दै छ । मैले त्यसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार गर्नका लागि सहयोग माग गरेको छु । मेरो कुरालाई चिनियाँ उपप्रधानमन्त्री चाङ काउलीले निकै सकारात्मक रूपमा लिनुभएको छ । 

तपाईंले मौखिक रूपमा कुरा त राख्नुभयो तर कागज र फिल्डमा कामचाहिँ कहिले हुन्छ ?
फिल्डमै काम गर्ने वातावरण बनाउन म चीन आएको हुँ । मलाई के विश्वास छ भने हिजो उपप्रधानमन्त्री चाङ काउलीसँगको कुराकानी र पर्सि (सोमबार) चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको कुराकानीपछि फिल्डमै काम हुनेछ । अहिले मैले फिल्डमै काम गर्ने उद्देश्य लिएर आएको छु ।

अन्य के–के परियोजनामा तपाईं फिल्डमा काम गर्दै हुनुहुन्छ त ?
पहिले यो रेलको कुरा त भई नै हाल्यो । क्रसबोर्डर इकोनोमिक जोनका बारेमा हाम्रोतर्फबाट पनि तयारी भइसकेको छ र चीनको तर्फबाट पनि तयारी भइसकेको छ । त्यसैगरी तातोपानी 
नाका खोल्ने, पेट्रोलियम स्टोरेज बनाउने कुरादेखि लिएर अन्य कुराहरूमा पनि हामी ठोस रूपमा अगाडि बढ्छौं ।

प्रकाशित : चैत्र १३, २०७३ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?