१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अमेरिकी सहयोगले नेपालमा लगानी गर्ने वातावरण छ भन्ने सन्देश दिएको छ : अर्थमन्त्री कार्की

काठमाडौं — नेपाललाई अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो दुईपक्षीय सहयोग उपलब्ध गराएको छ । त्यही सहयोग सम्वन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अमेरिका आइपुगे । नेपाल फर्कनुअघि मन्त्री कार्कीसंग कान्तिपुरका चन्द्रशेखर अधिकारीले वासिङ्टन डीसीस्थित नेपाली दूतवासमा गरेको कुराकानी :

अमेरिकी सहयोगले नेपालमा लगानी गर्ने वातावरण छ भन्ने सन्देश दिएको छ : अर्थमन्त्री कार्की

मिलेनीयम च्यालेन्ज कोअपरेसन (एमसीसी) मा हस्ताक्षर गर्न आफैं नेपालदेखि अमेरिका आउनु भयो नि, किन ?

नेपालले पहिलो पटक यति ठूलो सहयोग पाउने भएकाले निकै ब्यस्त कार्यतालिका रहँदा रहँदै पनि दुई दिनको लागि अमेरिका आएको हुँ । यसअघिको प्रयास धेरैको भएपनि मेरो समयमा हस्ताक्षर हुन लागेको र सहयोगमा एउटा ठूलो सन्देश समेत रहेकाले आफै आउनु परेको हो । मलाई पनि आउन किन मन लाग्यो भने नेपालमा यति धेरै रकम दुईपक्षीय अनुदान सहयोगमा आएको पहिलो हो । त्यो पनि मित्र मुलुक अमेरिकाले दिन लागेको । यसैले एक दिनको लागि दुई दिन यात्रा गरें । अन्य मुलुकका त राष्ट्रपति (कार्यकारी प्रमुख) नै उपस्थित भएर वा आफैले हस्ताक्षर गर्ने भएकाले यसलाई हामीले पनि उच्च महत्व दिएका हौं ।

प्रधानमन्त्री नै अमेरिका आउँदै हुनुहुन्थ्यो । प्रधानमन्त्रीकै टोली मध्ये कसैको उपस्थितिमा गराएको भए हुन्थेन ?

हुन्थ्यो होला । तर, समयको कुरा थियो । अनि अर्को कुरा धेरै विषय अर्थ मन्त्रालयसँग नै सम्बन्धित रहेकाले पनि अर्थमन्त्री स्तरमा सम्झौता गर्न परेको हो । सरकारको निर्णय हो यो । मैले भन्ने भन्दा पनि सरकारले निर्णय गरेर म आएको हुँ । म आउँदा वेफाइदा भन्दा बढि फाइदा नै भएको होला । अमेरिकाले हामीलाई सहयोग गरेर एक प्रकारको सन्देश पनि दिएको छ ।

कस्तो सन्देश ?

नेपालमा अब लगानी गर्न मिल्ने अवस्था छ भन्ने सन्देश गएको छ । यो सहयोग असल शासन, राजनीति स्थायित्वतर्फ उन्मुख मुलुक, लोकतन्त्रमा र मानवअधिकारमा विश्वास तथा विकासमा जोड दिएकाहरुलाई दिने हुनाले यसबाट राम्रो सन्देश गएको हो । मुलुकमा विकासको प्रक्रिया अघि बढेको भन्ने सकारात्मक सन्देश जानु आफैमा निकै राम्रो कुरा हो । नेपालमा लगानी गर्ने अवस्था छैन भन्ने धारणाहरु ब्यक्त भइरहेको हुन्छ । तर, त्यस्तो अवस्था छैन अहिले । संविधान जारी गर्दै स्थानीय निर्वाचन सम्पन्न गराएर प्रदेश र संघको निर्वाचन गराउन लागेका छौं । यो सन्देश चानचुने होइन ।

अमेरिकाको यो सहयोगले हामीलाई हौसला मिलेको र अन्य मुलुकलाई पनि नेपालमा लगानी गर्न हुन्छ भन्ने सकारात्मक सन्देश दिन सफल भएको भन्ने यहाँको धारणा हो ?

निश्चय नै । कतिपयले नेपालमा लगानी गर्ने अबस्था राम्रो छैन भनेका होलान् । कति हिचकिचाएका होलान् । तर, अहिलेअमेरिकाले निश्चित समय सीमा तोकेर सहयोग गर्नु भनेको नेपाल अब स्थायीत्वतिर गएको छ भन्ने सन्देश हो । नेपालमा काम गर्न सकिन्छ लगानी गर्दा हुन्छ भन्ने ठूलो सन्देश गएको मेरो बुझाई छ ।

किन अमेरिकाले नेपाललाई यस्तो सहयोग गरेको होला ? यसको कुनै भित्रि कारण छन् की ?

हामीमा सबै पक्षलाई सकारात्मक भन्दा बढि नकारात्मक कोणबाट हेरिहाल्ने बानी छ । त्यो राम्रो होइन । त्यसमा अध्ययन गरेर विचार पुर्‍याएर मात्र बोल्न वा टिप्पणी गर्नुपर्छ । सामाजिक सञ्जालमा के के लेखेको पनि देखें । सतही रुपमा होइन, यथार्थमा हामी पुग्न सक्नुपर्छ । यो सहयोग अमेरिकी चाहनाबाट मात्र होइन, हाम्रो अथक प्रयासबाट भएको हो । आरम्भदेखि अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र अमेरिकास्थित राजदूतावासको सक्रियता बिना सफल हुन सक्ने नै थिएन । हो, अमेरिकाले पनि नेपाललाई सहयोग गर्ने रोस्टरमा राखेर छलफल अघि बढाएपछि हाम्रोतर्फ भएको गृहकार्यले नै यो निष्कर्षमा पुगेको छ । मैले राजदूत डा. अर्जुनबहादुर कार्की र उनको टिम, अर्थमन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र उनको टिम, अन्य प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने निकायको टिकवर्कको रुपमा यसलाई लिएको छु । यसमा अमेरिकी चाहना भनेको नेपालको विकास प्रक्रिया अघि बढोस भन्ने नै हो । त्यसको लागि यो एमसीसी स्थापना गरेर विश्वभर सहयोग गरिरहेको छ । यसमा नेपाल पर्नु स्वभाविक हो । अमेरिका र नेपालको सम्वन्धको ७० औं बर्ष गाँठमा पुगेको अवसरमा पनि हो यो । अमेरिकी ५० अर्वसँगै हामीले पनि १३ अर्व रुपैयाँ यसमा राखेका छौं । यो संयुक्त कार्ययोजना हो ।

समय सीमा तोकिएकोले यो अलिक चुनौतिपूर्ण झै लाग्दैन ?

ठीक भन्नु भयो । समय सीमाले गर्दा गाह्रो हुने हो की भन्ने पनि छ । तर, हामी सधै एउटै परियोजनामा बर्षौं लगाएर बसिरहने हो र ? त्यसैले यो परियोजना समयमा सम्पन्न गरेर यसबाट केही सन्देश दिनु महत्वपूर्ण छ । परियोजना समयै सकाएर मुलुक अब विकासको प्रक्रियामा अघि बढेको छ भन्ने सन्देश दिने अवसर पनि हो यो । नेपाल शान्ति प्रक्रियापछि राजनीतिक स्थायित्वसँगै बिस्तारै विकास प्रकृयामा अघि बढेको सन्देश यो सहयोगबाट गएको छ । त्यो सन्देश दिन जरुरी पनि छ । राजनीतिक अस्थिरता विकासको बाधक थियो भन्ने सन्देश दिन पनि जरुरी छ ।

लामो समयपछि अमेरिका आउनु भएको रहेछ । गैरआवासीय नेपालीलाई पनि भेट्नु भयो कस्तो पाउनु भयो अमेरिकामा नेपालीको उपस्थिति ?

हो, म अमेरिका २५ बर्षपछि आएँ । मलाई लामो प्लेन यात्रामा खासै रुचि छैन । तर, सम्झौताको लागि आउनै पर्ने भएकोले आएको हुँ । यो छोटो समयमा पनि धेरै नेपालीसँग भेट भयो । उहाँहरुको कुरा सुनियो । उहाँहरु सबै नेपालको राजदुतको रुपमा अभ्यस्त हुन आवश्यक छ । सरकारी काम गर्ने निकाय दूतावास भए पनि जनस्तरबाट काम गर्ने उहाँहरु नै हो । कति हामी अझै नेपाली नै होला, कति पय अमेरिकन भइसकेका छौं होला । तर, मन हाम्रो नेपाली नै हो । मुलुकको विकासको लागि केही काम गर्न आवश्यक छ । नेपालीहरुले आफ्नो मुलुकप्रति देखाएको सद्भावनालाई म सम्मान गर्छु । यस्तो सद्भाव सधै रहोस् । अनि विदेशमा रहेका नेपालीहरु मिलेर बस्न सक्नुपर्छ । मुलुक स्थायित्वतिर गइरहेको बेला सबै मिलेर अघि बढेको सन्देश दिन जरुरी छ ।

प्रकाशित : आश्विन ३, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?