१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘लाप्राक र एनआरएनए भवन मुख्य एजेन्डा’

कान्तिपुर संवाददाता

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय साधारणसभा राजधानीमा चलिरहेको छ । यो महाधिवेशनबाट संघको नेतृत्वमा पुग्न एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङ चुनावी मैदानमा छन् ।

‘लाप्राक र एनआरएनए भवन मुख्य एजेन्डा’

अस्ट्रेलियाका दुई सय धनीहरुको सूचीमा परेकी गुरूङ र जापानमा व्यवसायरत भट्टसँग गैरआवासीय नेपाली अभियान र चुनावी एजेन्डामा केन्द्रित रहेर कान्तिपुरका गोकर्ण अवस्थी र कृष्ण आचार्यले गरेको कुराकानी :

 

तपाईंले अन्तिम समयमा उम्मेदवारी घोषणा गर्नुभयो । किन यति ढिलाइ ?

मेरो योजना नै थिएन । योजना भएको भए पहिल्यै घोषणा गर्थें । तर केही साता मैले सोचेँ । सकारात्मक र नकारात्मक दुवै विश्लेषण गरियो । एक–दुई सातायता केही कुरा सुनिए । त्यसपछि उम्मेदवारी दिनुपर्छ भन्ने महसुस भयो । धेरै गैरआवासीय नेपालीको हितका लागि उम्मेदवारी घोषणा गरेकी हुँ । 

 

उम्मेदवारी घोषणाको अघिल्लो साता के भइरहेको थियो र ?

एनआरएनएले गरिरहेको आयोजनाका विषयमै चर्चा थियो । लाप्राकमा भूकम्पपीडितका लागि घर निर्माण र एनआरएनएको भवन निर्माण कतै अगाडि नबढ्ने हो कि भन्ने कुरा सुनियो । धेरै व्यक्तिले यसबारे गम्भीर भएर चर्चा गर्नुभयो । यो योजना सफलताका विषयमा पनि उहाँहरूको चिन्ता थियो ।

 

एनआरएनएको भवन बनाउने कुरा वर्षौदेखिको हो । लाप्राक पनि त निरन्तर चल्ने योजना हो । यसलाई किन बन्द गरिएला र ?

एनआरएनएको भवन बनाउने ठूलो कुरा हैन । तर कुन ठाउँमा बनाउने भन्ने मुख्य कुरा हो । लाप्राकमा भूकम्पपीडितका लागि घर निर्माणको कार्यक्रम धेरै चुनौतीपूर्ण हो । लाप्राकमा वर्षमा जम्मा चार महिना मात्रै काम गर्न सकिन्छ । नोभेम्बरदेखि फेब्रुअरी वा मार्चसम्म त्यहाँ काम गर्न सकिँदैन । वर्षा भएन भने केही काम गर्न सकिन्छ । जुन, जुलाई, अगस्टमा पानी परिरहने हुनाले काम गर्न निकै गाह्रो हुन्छ । त्यसकारण यो आयोजना भौगोलिक हिसाबले धेरै चुनौतीपूर्ण मानिन्छ । काठमाडौंमा १० रुपैयाँमा पाइने सामग्री लाप्राकमा एक सय रुपैयाँ पर्छ । वास्तविक प्रतिबद्धताबिना यो आयोजना पूरा हुन सक्दैन । 

 

त्यसो भए लाप्राकको काम हालका अध्यक्ष अथवा तपाईंले मात्र गर्न सक्नुहुन्छ भन्ने हो त ?

हैन । यो एनआरएनएको आयोजना हो । लाप्राकमा के काम भइरहेको छ, तपाईंंले देख्नुभएको पनि होला । तर काम गर्नेहरूको मूल्यांकन तपाईं आफैं गर्नुस् ।

 

- धेरै गैरआवासीय नेपालीको हितका लागि उम्मेदवारी घोषणा गरेकी हुँ ।
- मैले आफ्नो पहिचान बनाइसकेँ भने मलाई शेष घलेकी श्रीमती मात्रै भनेर हुन्छ ?
- चुनावका बेला अलिकति यताउता हुन्छ । चुनाव सकिएपछि एकढिक्का हुन्छौं । 
- म एनआरएनएमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ४ वर्ष संलग्न भएँ तर अरुले १० वर्षमा सिकेको अनुभव लिएकी छु ।

 

तपाईंका अन्य एजेन्डा केके छन् ?

यसबाहेक मेरा अन्य एजेन्डा छैनन् । सुरु भइसकेका यी दुवै आयोजना पूरा गर्ने हो । यी दुवै आयोजनामा ४० लाख नेपालीको भावना, सहयोग र पसिना जोडिएको छ । यी हाम्रा गर्वका आयोजना हुन् । भूकम्प आउँछ, बाढी–पहिरो आउँछ, हामी सहयोग बाँड्न चाहन्छौं । नेपालमा प्राकृतिक प्रकोप भइरहन्छ । एनआरएनहरूको नेपालको सामाजिक–आर्थिक गतिविधिमा हातेमालो गरेर गरिबी निवारणमा सहयोग गर्ने मुख्य उद्देश्य छ, लाप्राक प्रोजेक्ट त्यसको ‘सिम्बोल’ हो । यो सबै एनआरएनको विचार हो ।

 

एनआरएनएमा ४० लाख मान्छे छन्, यो आयोजनालाई त अरूले पनि निरन्तरता दिन सक्छन् होला नि ? 

अहिलेसम्म केके काम भए ? ककसले गरे ? आफैं मूल्यांकन गर्नुस् । म यसबारे धेरै भन्न चाहन्नँ । कसैले गरेको देख्नुभएको छ ? कोही गर्ने होलान् । तर उपयुक्त व्यक्ति को हो भनेर तपाईंहरूले बुझ्नुपर्‍यो । आगामी दुई वर्षभित्रमा यी आयोजना पूरा गर्छु भनेर म आएको हो । म यसमा प्रतिबद्ध छु । 

 

एनआरएनएमा परिवारवाद हावी भयो भनेर पहिला तपाईंहरू पनि भन्नुहुन्थ्यो । धेरैले अहिले पनि भनिरहेका छन् । अहिले त झन् त्यस्तै देखिएको हो ?

परिवारवाद हावी भएकै हो त ? म एनआरएनएका लागि कोही पनि हैन त ? समाजले त्यस्तो भन्न सक्छ ? म एउटा गाउँमा हुर्केको मान्छे । ग्रामीण भेगमा गाडी जाँदैनथ्यो । बिहानभरि घाँस काटेर स्कुल जाने मान्छे म पनि हो । त्यतिबेलादेखि अहिलेसम्म मैले म को हुँ भन्ने सिकेकी छु । मेरो श्रीमान् शेष घले हो । यो वास्तविकता हो । तर हामी फरकफरक मान्छे पनि हौं । आपसमा सहयोग हुन्छ, गरिन्छ । हाम्रो व्यवसाय फरकफरक छ । मैले त्यहाँ आफ्नो पहिचान बनाइसकेँ भने मलाई शेष घलेकी श्रीमती मात्रै भनेर हुन्छ ?

 

तपाईं अस्ट्ेरलियाको १ सय १२ औं धनीमा पर्नुहुन्छ । उतै बस्नुहुन्छ । चार वर्ष शेष घलेले एनआरएनए चलाउनुभयो । अब तपाईं उम्मेदवारी दिँदै हुनुहुन्छ । यसो गर्न केले प्रेरित गर्‍यो तपाईंलाई ? 

‘प्यासन’ हो मुख्य कुरा । अहिलेसम्म एनआरएनएको नेतृत्वमा रहेर कसैले लाभको काम गरेजस्तो मलाई लाग्दैन । तर भविष्यमा के होला, भन्न सकिँदैन । अहिलेसम्म हामीले त्यस्तो गरेका छैनौं । इमानदारीमा हामी सम्झौता गर्नेछैनांै ।

 

अन्तिम समयमा तपाईंले दिएको उम्मेदवारीले एनआरएनएमा विभाजन आएको दाबी गर्नेहरू पनि छन् । चुनाव जित्नुभयो भने तपाईंलाई काम गर्न गाह्रो हँुदैन ?

एनआरएनएमा विभाजन भएजस्तो लाग्दैन । सन् २००३ मा उपेन्द्र महतो, जीवा लामिछाने, भीम उदास, हिराचन दाइहरूले जुन ‘भिजन’का साथ यो ‘प्लेटफर्म’ तयार गर्नुभयो । यसको सबैले प्रशंसा गर्नुपर्छ । यसले विदेशमा बस्ने सबै नेपालीलाई समेटेको छ । चुनावका बेला अलिकति यताउता हुन्छ । तर काम गर्ने बेला यस्तो हँ‘ुदैन । चुनाव सकिएपछि हामी एकढिक्का हुने गरेका छौं । मैले विगतमा यस्तै देखेकी छु । मैले जितेँ भने सबैसँग मिलेर काम गर्छु । सक्छु पनि । म तीन/चारवटा कम्पनी सञ्चालन गरिरहेको मान्छे हुँ । पाँच सयभन्दा बढी कर्मचारी छन् । विभिन्न समूहमा बौद्धिक मान्छे हुनुहुन्छ । उहाँहरूको आआफ्नै ‘इन्ट्रेस्ट’ हुन्छ । उहाँहरूलाई समेटेर म यतिको अवस्थामा आइपुगेकी हुँ । केही नभई म यहाँसम्म आएको त हैन नि ।

 

तपाईंहरूले बनाउनुभएको ‘भिजन ट्वान्टी–ट्वान्टी’ दस्ताबेजले पहिलेजस्तो समाजसेवा गर्ने संस्थाभन्दा पनि एउटा कर्पोरेसन बनाउन खोजियो भन्ने आलोचना पनि सुनिन्छ नि ?

यो कुरा अध्यक्ष शेष घलेसँगै सोध्नुस् । मैले यसमा स्वामित्व लिएको छैन । यो ‘डकुमेन्ट’ २०१६ को मे वा जुनमा सबै आईसीसी सदस्यहरूलाई पठाइएको हो । सबै एनसीसी कार्यालयमा पठाइएको हो । म एउटा आईसीसी मेम्बर मात्रै हो । त्यो तपाईंहरूले हेर्नुभयो भने थाहा पाउनुहुन्छ, अहिलेका अध्यक्षको जुन दायित्व र जिम्मेवारी छ, त्यसलाई विकेन्द्रीकरण गर्न खोजिएको हो । उपाध्यक्षहरूलाई पनि जिम्मेवारी दिन खोजिएको हो । एनआरएनएले कहिले राहत दिने, के निर्णय गर्ने भन्ने भन्दा एउटा फाउन्डेसन किन नखोल्ने भन्ने हो । त्यो फाउन्डेसन एउटा नेपालमा हुन्छ । अर्को विदेशमा हुन्छ । विदेशमा पैसा दान दिँदा कर फिर्ता लिन पाइन्छ । कर फिर्ता हँ‘ुदा बढी रकम सहयोग गर्न सकिन्छ । एनआरएनएले ‘लबिङ’ र ‘एड्भोकेसी’ पनि गर्छ । नेपालका लागि नेपाली भन्ने मूल मन्त्र छ । त्यसलाई कसरी सार्थक बनाउने भन्ने छ । सन् २०१७ मा हामी कहाँ पुगेका छौं, तपाईंहरूले मूल्यांकन गर्नुभएकै छ । ७५ मुलुकमा शाखा विस्तार भएको छ । ६५ हजार सदस्य भइसके । यहाँ ठूलो जमात छ । सबैलाई एकबद्ध गर्न सक्नुपर्‍यो नि । सबैलाई एकबद्ध गर्ने भिजन ट्वान्टी–ट्वान्टीको योजना र रणनीति हो । यो कुरा कसैले बुझ्दनन् भने म त्यसमा कुनै टिप्पणी गर्दिनँ ।

 

एनआरएनएको चुनावमा उम्मेदवारले निकै खर्च गर्छन् भनिन्छ । कति खर्च गर्दै हुनुहुन्छ ?

मेरा श्रीमान्ले दुईपटक चुनाव लड्दा मलाई यसबारे थाहै थिएन । अहिले मैले धेरै हल्ला  सुनेकी छु ।

 

एनआरएनएको चुनावमा राजनीति र जातीयता पनि निकै मजाले घुसेको भन्ने छ । तपाईंले यो कुरालाई समर्थन वा बेवास्ता के गरिरहनुभएको छ ?

साँच्चै भन्नुपर्दा मलाई यो मन पर्दैन । एनआरएनए परोपकारी संस्था हो । हामी मातृभूमिलाई दिन आएका हौं । आर्थिक, सामाजिक रूपमा केही गर्न खोजेका हौं । राजनीतिक दलहरूबाट हस्तक्षेप आउनु राम्रो हैन । नेताहरूले जलपान, शुभकामना भनेर बोलाउँछन् । जानुपर्ने रहेछ । मैले पहिलोपटक अनुभव गरेँ ।

 

अन्तमा भन्नैपर्ने बाँकी कुरा छन् ?

म एनआरएनएमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चार वर्ष संलग्न भएँ । संस्थाका धेरै कुरा बुझेकी छु । संस्थालाई कहाँसम्म पुर्‍याउन सकिन्छ भन्ने बुझेकी छु । चार वर्ष मात्रै काम गरे पनि मैले धेरै अनुभव लिएकी छु । लामो समयदेखि काम गरिरहेका साथीहरू पनि हुनुहुन्छ । म उहाँहरूलाई आफैं मूल्यांकन गर्नुस् भन्न चाहन्छु । अरूले १० वर्षमा सिकेको अनुभव मैले ४ वर्षमा लिएकी छु भन्ने लाग्छ । मेरो कामको मूल्यांकन तपाईंहरू नै गर्नुस् । दुई वर्षमा मैले भनेका योजनाहरू सक्छु । त्यसपछि आराम गर्नेछु ।

प्रकाशित : आश्विन २९, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?