१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘अब कुनै आन्दोलनमा जान्नँ’

काठमाडौं — तेस्रो मधेस आन्दोलनमा वीरगन्जको सीमावर्ती मैत्री पुलमा ६ महिनासम्म धर्ना दिनेमध्ये एक युवक थिए– १३ वर्षीय अजय गिरी । आफ्नो नाम पछाडि ‘क्रान्तिकारी’ झुन्ड्याएका उनी अहिले १५ वर्षका भए, बाराको कलैयास्थित एउटा होटलमा सहयोगीको काम गर्छन् ।

‘अब कुनै आन्दोलनमा जान्नँ’

आन्दोलनका क्रममा प्रहरीको गोलीबाट जोगिए । अनगिन्ती अश्रुग्यास खाए । प्रहरीलाई पेट्रोल बम हान्दा उनको हातैमा पडकियो । रबरका गोलीहरू उनका शरीरमा पटकपटक बर्सिए । गरिबीका कारण पढाइबाट वञ्चित भएका, सानैमा बुबा बितेपछि श्रम गरेर परिवार पालिरहेका उनलाई अचेल आन्दोलनले होइन, जनताको एकताले देश बन्ने रहेछ भन्ने लाग्छ । प्रस्तुत छ– उनीसँग अखण्ड भण्डारी र लक्ष्मी साहले गरेको कुराकानी ।

 

तपाईंको नाम के हो ?

अजय गिरी ‘क्रान्तिकारी’ ।

नामै त्रान्तिकारी ?

हो, मेरो नाम राजेन्द्र महतो सरले ‘क्रान्तिकारी’ राखिदिनुभयो । हामी मैत्री पुलमा आन्दोलनमा गएका थियौं । त्यसपछि भेट्नुभयो महतो सर । अनि सरले भन्दिनुभयो– ‘तिमी क्रान्तिकारी ।’

तपाईंलाई मन पर्छ यो नाम ? 

मन पर्छ । 

क्रान्तिकारी भनेको के हो ?

क्रान्तिकारी भनेको देशको सेवाका लागि, विकासका लागि (लड्नु) हो । जसरी कि आन्दोलन भयो, मधेसका लागि । तर, हामीलाई थाहा थिएन कि पार्टीका लागि आन्दोलन गरिरहेका छौं । हामीले सोचिरहेका थियौं कि मधेसका लागि पार्टी आन्दोलन गरिरहेको छ । त्यही भएर त्यसमा हामी गयौं । कति कुटाइ खायौं । कति पिटाइ खायौं । पुलिसलाई कति हान्यौं । त्यसमा गोली लाग्न सक्थ्यो । 

‘क्रान्तिकारी’ शब्दको अर्थ त बुझिएन नि ?

आफ्नो देशमा कोही पीडित भयो, कोहीलाई पीडा भयो । देशमा त्यसलाई कोही पनि सहयोग दिएन भने त्योसँग मिलेर त्यसको काम गराउनु, त्यही हो क्रान्तिकारी । 

त्यसो भए तपाईं ‘क्रान्तिकारी’ हो कि ‘पीडित’ ? 

म त पीडितै हुँु । अहिले क्रान्तिकारी त छैन । त्यो बेला आन्दोलन थियो । हामीले खुबै आन्दोलन गर्‍यौं । मैले पाँच दिनसम्म आन्दोलनमा खाना खाएन । भोकै थियो । कति छाक मीठा (सख्खर) चिउरा खाएँ । धेरै दु:ख गरेको थिएँ, मधेस आन्दोलनमा । मधेस आन्दोलन बितेपछि कोही पनि चिन्दैन । माया पनि गर्दैन नेताहरू । 

 

 -  आन्दोलनपछि कोही पनि चिन्दैन, माया पनि गर्दैन नेताहरू । 
 -  पुलिसलाई हानेको पेट्रोल बम आफ्नै हातमा पड्कियो । 
 -  आँसुग्यास चल्दा चट्टीको बोरा भिजाएर पुलिसतिरै हान्थ्यौं । 
 -  नेताले भन्छ, त्यो पार्टी गलत छ, फेरि त्यहीलाई सपोर्ट गरिदिन्छ । 
 -  नेताहरू केही गर्दैन, फोकटमा मर्न लगाउँछ, काट्न लगाउँछ । 

 

कति वर्ष पुग्नुभयो ? 

१५ वर्ष । 

पढेको छ कि छैन ? 

पढेको त छैन । 

अक्षर चिन्नुहुन्छ ? 

हल्का चिन्छ । पत्रिका पढ्न जान्दैन । लेख्न सक्दैन । 

घरमा को–को हुनुहुन्छ ? 

म र आमा । म पाँच वर्षको हुँदा बुवा बित्नुभो । खोकी र दम रोगले । दिदी तीन जना । बहिनी एक जना । उनीहरूको बिहे भइसक्यो । 

आमा कहाँ बस्नुहुन्छ ?

काठमाडौं बहिनीको घरमा । 

तपाईं नि ? 

म होटेलमै बस्छु । घर टुट्यो (भत्कियो) । बर्खामा बाढ आएको थियो । त्यसैमा टुटिसक्यो । तीन/चार महिनापछि होटलबाट पैसा उठाएर घर बनाउँछु भन्ने सोच्दै छु । आमा होलीमा आउने भन्नुभएको छ । त्यतिन्जेलमा बनाउनु छ । 

कहिलेदेखि होटलमा काम गर्नुभएको ? 

म पाँच वर्षको हुँदादेखि नै होटलमा काम गर्छु । बुवा बितेपछि घर हेर्ने कोही भएन । आमालाई र बहिनीलाई पाल्नुपर्‍यो । त्यही भएर काम गर्न थालेको । पछि होटल साहुसँगै १७ हजार रुपैयाँ मागेर बहिनीको बिहे गरें । त्यो पैसा काम गरेर सधाएँ । तीन दिदीको बिहे बुवाले गर्नुभएको थियो । 

अहिलेसम्म कतिवटा होटलमा काम गर्नुभयो ? 

धेरै वटामा । कम्तीमा १०–१५ वटामा । सबभन्दा पहिलो बसपार्कको खसी बजारको होटलमा काम गरें । मिठाईको होटलमा पनि गरें । 

त्यहाँ के गर्नुहुन्थ्यो ? 

भाँडा माझ्थें । त्यहाँ दुई/तीन वर्ष काम गरें । पछि मन नलागेर छाडें । साहुले धेरै कराउँथे, हप्काउँथे । त्यहाँबाट छाडेर बजारको होटलमा काम गरें । फेरि त्यहाँ केही वर्ष काम गरेर छाडें । यस्तै यस्तै काम गरेर ‘लाइफ’ बढाइरहेको छु । 

मधेस आन्दोलनमा कसरी जानुभयो त ?

नेताहरूले भाषण गरिरहेको थियो, हाम्रो मधेसको माग जायज छ रे । किनकि पहाडको मान्छे हुन्छ नि, त्यो हामीलाई हेप्छ । पहाड र काठमाडौंमा हामीलाई गाली पनि दिन्छ । त्यही भएर जुन बेला आन्दोलन भइरहेको थियो, म १३ वर्षको थिएँ । ती सब कुरा सुनेर जोस, जाँगर चल्यो । त्यही बेला मैले होटलको सबै काम छोडिदिएँ । र, आन्दोलनमा होमिहालें । 

सुरुमा कहाँ जानुभयो ? 

कलैयामा आन्दोलन जुन भयो, त्यो क्रान्तिकारी आन्दोलन थियो । त्यसमा धेरै इँटापत्थर (ढुंगामुढा) चलिरहेको थियो । त्यही बेला पत्रकारको गाडी नेताहरूले जलाउने भनिरहेको थियो । तपाईंको कान्तिपुरलाई जलाउने कुरा गरिरहेको थियो । किनभने पत्रकारहरूले तराईको मान्छेको दु:ख छाप्दैन भनेर सुरुमै गाडी जलाउने योजना बनायो । तर गाडी जलाएन । खाली जलाउने मात्र सबैले भन्थे । पहाडको पत्रकारहरू आउँछन् अनि तराईको दु:ख छाप्दैन रे भनेर सबै भन्थे । यहाँको दु:ख काठमाडौंमा हेराउँदैन । त्यही भएर जनतालाई दु:ख हुन्थ्यो । त्यही भएर रिसाएको थियो पत्रकारसित । 

अनि के भयो ? 

जब क्रान्तिकारी आन्दोलन चलिरहेको थियो, त्यसमा ढुंगाहरू चलिरहेको थियो । त्यसपछि पुलिसहरूले हामीमाथि आँसुग्यास छोड्न थाल्यो । बन्दुकबाट ग्यास छोडदा हाम्रो आँखाबाट आँसु चुहिरहेको थियो । जसलाई पथ्र्यो त्यसले केही सेकेन्डका लागि केही देख्दैनथ्यो आँखाबाट । फेरि त्यही आन्दोलनमा मेरा साथी थियो, कलैयाको हिफाजत मियाँ । उसले गोली खायो । ऊ र म पनि पुलिसलाई ढुंगा हानिरहेका थियौं, यो कलैयाको कुरा हो । आँसुग्यास बेस्सरी चलेपछि छाडेर भागिहाल्थे । तर त्यही बेला साथी हिफाजत मियाँ पक्राइहाल्यो । त्यसको दाहिने हातमा गोली लाग्यो । त्यो भाग्न सकेन । लडिहाल्यो । त्यही बेला एउटा पुलिस आयो । गोली हान्यो । त्यसपछि हामी वीरगन्जको मैत्री पुलमा गयौं, भाषण गर्न । त्यहाँ धेरै मिहिनेत गरें । धेरै कुटाइ, पिटाइ पनि खाएँ । पूरै ६ महिना बसें । 

त्यहाँ कति जना धर्नामा हुन्थे ? 

सुरु–सुरुमा त थुप्रै हुन्थ्यो । त्यसपछि पाँच सय, हजार भयो । जब आन्दोलन कम भयो, कात्तिकमा मान्छे पनि कम भयो, २० जना २५ जना हुन्थ्यो । जुन दिन नाका खुल्यो, ट्रक खुल्यो, त्यो दिन म पनि त्यहीं थिएँ । 

त्यहाँ पुलिसले गोली हान्ने, कुट्ने, पिट्ने गथ्र्यो कि गर्दैन थियो ?

गर्‍यो नि । त्यो बेला इन्डियामा भोट भइरहेको थियो । जब हामी सुतिरहेका थियौं, पुलिस ढुका लागेर (गौंडा कुरेर) बस्थ्यो । जब सुत्थ्यौं, आएर कुट्थे । मेरो घुँडामा कुट्यो । कुटाइ खाएपछि हामी ढुंगा चलाउँथ्यौं । प्रहरीलाई लखेटदै भगाइदिन्थ्यौं । प्रहरीलाई थाना (चौकी) सम्म पुर्‍याउँथ्यौं । त्यस्तै बेला प्रहरीले गोली फायर गरेको थियो । त्यही बेला गोली आशिषकुमार रामलाई लागेको थियो । रक्सौलको आशिष मर्‍यो । त्यो गोली मलाई नै लाग्ने थियो । त्यो बखतमा म मर्थें । तर संयोगले जोगिएँ । गोली फायर गरेपछि म भुइँमा सुतिहालें । 

भुइँमा सुत्न कसरी सिक्नुभयो ? 

टीभीमा हेरेर सिकेको थिएँ । विचरा आशिष मर्‍यो । ऊ मेरो मिल्ने साथी थियो । उसको फोटो भन्सारमा अहिले पनि तपाईं गएर देख्न सक्नुहुन्छ । त्यसबेला मैले पुलिसमाथि पेट्रोल बम हान्दा मेरो हात जलेको छ । पुलिसलाई हानेको तर आफ्नै हातमा पड्कियो । उपचार गरें । निको भयो । 

आन्दोलनमा अरू के–के भयो ?

आँसुग्यास धेरै खाएँ । सुरुको आन्दोलनमा कलैयामा त आँसुग्यास चल्दा चट्टीको बोरा भिजाएर पुलिसलाई हान्थ्यौं । पुलिस भाग्थ्यो । पुलिसलाई चोट लागेपछि आ म:म भन्दै भाग्थे । भारतले नाकाबन्दी लगाएको थियो । (एक दिन) मैत्री पलमा तेल ल्याइरहेको थियो, मैले रोक्यो । भन्यो कि– किन तेल बेच्छौ ? न बेच्नुस् । हाम्रो तराईको माग माग्नु छ । उनीहरूले भन्यो– तँ धेरै बोल्छ ? तलाई पेट्रोल छरेर आगो लगाइदिन्छौं । 

तपाईंले के जवाफ दिनुभयो ? 

केही भन्न सकिनँ, जलाइदिनै के बेर ? डराएँ । चुप लागें । 

आन्दोलन अहिले सम्झिँदा कस्तो लाग्छ ? 

त्यो त एउटा काल थियो, तराईको र पहाडको मान्छेका लागि । नेताहरू कम राजनीति खेल्छ र । नेताले भन्छन्– त्यो पार्टी गलत छ, फेरि त्यहीलाई सपोर्ट गरिदिन्छ, हामीसित सपोर्ट गराएर त्यही पार्टीमा घुसाइदिन्छ । कार्यकर्ता भिडाएर जे पनि गरिदिन्छ, फेरि त्यही पार्टीलाई सपोर्ट गरिदिन्छ । यस्तो त हुन्छ नेपालको राजनीति । 

त्यो बाटो ठीकै थियो त ? 

हाम्रो देश जति सानो छ नि, हैन, यदि हामी जनता मिल्यो भने देश स्वर्ग बन्छ । म धनी भयो भने नेपालको जीवन सुधार्न सक्छु । हामी पहाड र तराईको सबै मिल्यो भने त्यो देश राम्रो हुन्छ । गाउँ–गाउँमा विकास हुन्छ । सडक बन्छ । गाडी पल्टिँदैन । काठमाडौं जाने बेलामा कम जाम लाग्छ ? एउटा–दुईवटा बाटो छ । त्यसैमा ७५ जिल्लाकै गाडी कोचिएको हुन्छ । पूर्वको सिरहा, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, पश्चिम दाङ जाने गाडी यति घातक छ कि एउटा बस नै पल्टिहाल्यो– मधेस आन्दोलनका क्रममा । त्यो भयो, बित्यो । हामी चाहन्छौं, कि सबै मिलेर बसौं । आपस–आपसमा झगडा नहोस् । आफ्नो–आफ्नो जीवन सबै सुरक्षाले धानौं ।

मधेस आन्दोलनले के दियो ? के पाइएको ठान्नुहुन्छ ? 

त्यही एउटा पायौं– देशभक्ति । ८ वटा जिल्लाको २ नम्बर प्रदेश दियो । नेताहरूलाई चाहिँ के दियो, थाहा छैन । हामी त्यो बेला घर पनि गएनौं । ६ महिनासम्म पिटायौं । त्यो फाँवमा (बेकार) गयो । अहिले नेताहरूसित बोल्न जान्छौं त कोही बोल्दैनन् हामीसित । 

६ महिनासम्म आन्दोलनमा जाँदा तपाईंलाई घाटा भयो कि नाफा ? 

कम्तीमा २५ हजार घाटा लाग्यो । होटलमा काम गरेको भए कमाइ हुन्थ्यो । 

अब फेरि आन्दोलन भयो भने जानुहुन्छ ? 

जाँदिनँ । 

किन ?

किनकि, ती नेताहरू केही गर्दैन, कोही मान्छेलाई । खालि फोकट (बेकारमा) मर्न लगाउँछ । काट्न लगाउँछ । 

मधेस आन्दोलनको त्यो बेलाको माग के थियो, थाहा छ ? 

मधेसका लागि शासन, प्रशासन, स्रोत, संघीय प्रदेशको राजधानी । जस्तै– वीरगन्जमा राजधानी भयो भने तराईको जनतालाई सजिलो हुन्छ । तराईको मान्छे काठमाडौंमा कम गयो भने त्यो रोडमा चाप पनि कम हुन्छ । रोड खाली हुन्छ । काठमाडौं जान जिपबाट ६ घण्टा लाग्छ । बसबाट रातभर । जाममा फस्दै–फस्दै जानुपर्छ । दु:ख हुन्छ । थकाइ लाग्छ । 

तपाईं आन्दोलनमा बुझेर जानुभएको थियो कि नबुझी ? 

त्यही बुझेर गएको थिएँ कि तराई मधेसको जनता पीडित छ । पहाडको नेताहरूले (त्यो कुरा) बुझ्दैनथ्यो । तर त्यो हाम्रो सोच गलत थियो । अब मलाई कुनै पार्टीसित मतलब हुँदैन । पार्टीका मान्छेहरू गरिबका लागि केही गर्दैन । 

चुनाव हुन गइरहेको छ, कस्तो लागेको छ ?

राम्रो लागिरहेको छ । मैले त सोच्छु कि मासु, दारु नखाएर भोट दिऊँ । नेताहरूले पाँच/छ सय पैसा, मासु दारु, दिन्छ । भोट लिन्छ । केही गर्दैन । पैसा लिने त्यो जनताले पनि सोच्दैन कि किन मासु, दारु, पैसा लिएर भोट दिने ? गएको स्थानीय तहको ‘मुखिया’ को भोटमा मासु, दारु खाएर भोट दिएको हेरेको छु । म नेता भएर कसैलाई पैसा दिएर भोट लिन्छु भने किन विकास गर्छु भन्ने सोच हुन्छ । न नेताले पैसा दिऊन्, न जनताले नेतासित भोटका लागि पैसा लिऊन् भने मेरो सोच छ ।

हस्, तपाईंलाई धन्यवाद । 

धन्यवाद । जय मधेस । जय नेपाल ।

प्रकाशित : मंसिर ६, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?