दाहालसँगको अन्तर्वार्ता : एमालेकै अध्यक्ष अबको प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौं — अब ठूलो पार्टी हुनुको नाताले र अहिले संख्यात्मक हिसाबले पनि प्रधानमन्त्री एमालेकै अध्यक्ष हुने प्रबल सम्भावना रहन्छ । हाम्रो बहुमत आउँछ । तीनवटै तहको सरकारमा वामपन्थीको बहुमत हुने भयो । स्थानीय तहमा त भई नै सक्यो । अब प्रदेशसभा र प्रतिनिधिसभामा पनि हुन्छ । पहिलो चरणको निर्वाचनको मतको आकलन गर्दा त हामी दुई तिहाइकै नजिकजस्तो छौं । बहुमत भएपछि प्रधानमन्त्री र अरू कुराका बारेमा हामीले मिलाएर गर्ने भनेका छौं ।

पुत्रवियोगको शोकलाई शक्तिमा बदल्दै निर्वाचनमा होमिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार बिहान यो अन्तर्वार्ता गर्नुअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी कार्यक्रममा जाने हतारोमा थिए । निर्वाचन व्यवस्थापनको अन्तिम तयारीमा आफ्नो निर्वाचन क्षेत्र चितवनबाट काठमाडौं आएका दाहालका अनुहारमा व्यस्तताबीचको उत्साह देखिन्थ्यो । प्रस्तुत छ, कान्तिपुरका गंगा बीसी र दुर्गा खनालले उनीसँग गरेको कुराकानी :

निर्वाचन अभियान कसरी चलिरहेको छ ?
समग्रमा हेर्दा राम्ररी नै चलिरहेको छ । देशभरिबाट राम्रो रिपोर्ट पाएको छु । जनतामा उत्साह छाएको छ । वाम गठबन्धनप्रति भरोसा बढ्दो छ । मेरो आफ्नै निर्वाचन क्षेत्र चितवनमा पनि वातावरण राम्रो बनेको निष्कर्ष छ ।

धेरै ठाउँमा जानुभयो, मतदाताको मुख्य चासोचाहिं के पाउनुभएको छ ?
मतदाताको मुख्य ध्यान विकास निर्माणमा छ । राजनीतिक रूपमा सचेत जनताले चाहिं राजनीतिक स्थायित्व होस् भन्ने पनि चाहेका छन् तर मुख्य विषय ठूलो आयोजना र स्थानीय विकास निर्माणकै छ ।

पहिलोपटक गृहजिल्लाबाट चुनाव लड्दै हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ ?
आफू हुर्केको, पढे–खेलेको, बढेको ठाउँ, त्यहीं आफ्ना साथीभाइ, आफन्त बढी भएका नाताले अन्यत्रभन्दा त्यहाँ फरक ‘सेन्टिमेन्ट’ हुने कुरा स्वाभाविक हो । अहिले चितवनका जनताले एउटा ठूलो उत्साह र भरोसा मानेको स्थिति देख्छु । त्यहाँ जनतामा पार्टीगत विभाजन नै छैन । के कांग्रेस, के वाम गठबन्धन, के राप्रपा सबै नै राष्ट्रिय स्तरको ‘लिडरसिप’ चितवनको विकास र समृद्धिका निम्ति चाहिन्छ भन्ने भावना आम जनतामा छ । यो भावना जो देखेको छु, यसलाई मानिसहरूले पैसाले ‘डाइभर्ट’ गर्छन्, करोडौ खर्च गरेर यो भावना डाइभर्ट हुन्छ भन्ने लाग्दैन । जनताको भावना अर्बौं खर्च गरेर पनि बेचिन्छ र किनिन्छ भन्ने लाग्दैन ।

अहिले तपाईंहरूले वाम गठबन्धन बनाउनुभएको छ, यसको मत माग्ने मुख्य आधार के हो ?
पहिलो कुरा, राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन भनेका हौं । ७० वर्षदेखि नेपालको राजनीति अस्थिरता र अराजकताको भुमरीमै छ । कहिल्यै एउटै पनि सरकार पाँच वर्ष चलेन । वाम गठबन्धनले के भन्न खोजको छ भने अब पहिलोपटक पाँच वर्ष चल्ने सरकार बन्छ, वामपन्थीहरूको सरकार बन्छ भन्ने विश्वास दिलाउन खोजेका छौं । गठबन्धनको उद्देश्य स्थायित्व हो भन्ने हामीले भनेका छौं । दोस्रो कुरा, विकास निर्माण र समृद्धिमा केन्द्रित भएर जनताको अहिलेको आकांक्षा र आवश्यकतालाई जोड दिएर उठाएका छौं । अर्थात्, स्थायित्व र विकास हाम्रो मत माग्ने दुइटा आधार हुन् ।

कांग्रेसले वामपन्थी सरकार आएमा लोकतन्त्र धरापमा पर्छ, अधिनायकवादी शासन आउँछ भन्ने आरोप लगाएको छ नि ?
उहाँहरूले त्यस्तो धारणा राखेर गाली गरिराख्नुभएको छ । हामी सबैले मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । त्यही संविधानको हस्ताक्षरकर्ता पार्टीले फुटेका कम्युनिस्ट जुट्दै छन् भन्दैमा अधिनायकवाद आउँछ भन्नुचाहिं हास्यापद, गलत र लाजमर्दो हो । यत्रो ठूलो लोकतन्त्रका निम्ति लडेको, बीपी–गिरिजाहरूले बनाएका पार्टीका नेताहरूले अहिले आएर अधिनायकवाद आउँछ भन्नु, पहिले ६० वर्ष पुगेपछि कम्युनिस्टहरूले मार्छन् भनेर प्रचार गरिन्थ्यो नि, हो त्यस्तै हो । शान्तिपूर्ण राजनीति, लोकतान्त्रिक प्रणालीमा हाम्रो प्रतिबद्धता भइसक्यो, संविधान सबैले मिलेर बनाइसक्यौं, त्यसैले अब त्यही संविधान कार्यान्वयनको चरणमा हामी छौं भने यहाँ अधिनायकवादको कुरा कहाँबाट आयो ? हाम्रो भनाइ त फुटेका कांग्रेसहरू सबै मिलून् भन्ने हो । धेरै पार्टी हुनुभन्दा थोरै पार्टी हुँदा देशमा विकास निर्माण र स्थायित्वका लागि फाइदा हुन्छ । राष्ट्रको हितमा हुन्छ । मैले त नेपाली कांग्रेसका साथीहरूलाई बारम्बार भनेको भन्यै छु– विजय गच्छदार अहिले मिल्नुभयो, राम्रो भयो, अब महन्थ ठाकुरजीहरूलाई पनि मिलाउनुहोस्, त्यसले कांग्रेसलाई राम्रै हुन्छ । किन बेकारमा धेरै पार्टी चाहियो ।

दुई तिहाइ पुर्‍याएर वामपन्थीहरूले संविधान नै फेर्छन् भन्ने आशंका पनि गलत हो त ?
त्यो बिल्कुल गलत कुरा हो । हामीले लोकतन्त्रको भावना र मर्मअनुसारकै घोषणापत्र सार्वजनिक गरेका छौं । त्यसभन्दा बाहिर हामी जाने कुरा छैन । उहाँहरूले दुई तर्क गर्नुभएको छ, जसमा तालमेल पनि छैन । पहिलो कुरा, मिलेर अधिनायकवाद ल्याउने भए, संविधान संशोधन गर्ने भए पनि भन्नुहुन्छ, यो आधारहीन छ । अनि अर्कोतर्फ, यो गठबन्धन अवसरवादी हो, चुनावी रणनीतिका लागि मात्र हो, पछि टुटिहाल्छ नि पनि भन्नुहुन्छ । कुनचाहिं हो उहाँहरूले भन्न खोज्नुभएको ? यसबाट के देखिन्छ भने कांग्रेसका साथीहरू अलिकति आत्तिनुभएको छ । यसरी आत्तिनुपर्ने केही कुरो छैन । लोकतन्त्रमा पार्टीहरू मिल्छन्, फुट्छन् । लोकतन्त्र, राष्ट्र र जनताको हित तथा स्थायित्वका लागि थोरै पार्टी हुनु राम्रो हुन्छ ।

एमाले र माओवादीबीच पार्टी एकता हुने कुरामै शंका छ नि ? यो चुनावी रणनीति मात्र होइन भन्ने आधार के छन् ?
हामीले पार्टीको एकता संयोजन समिति बनाएर साझा उम्मेदवार तय गरेका छौं। यो राजनीतिक स्थायित्वका लागि चुनावमा तालमेल गरेर मात्र हुँदैन भन्ने भएर हामी पार्टी एकता नै गर्ने निष्कर्षमा पुगेका हौं । पार्टी एकता गरेपछि मात्रै स्थायित्वका लागि योगदान हुन्छ भन्ने हाम्रो धारणा हो । त्यसकारण पार्टी एकता नै हुन्छ । सबैले सार्वजनिक रूपमा खुलेआम रूपमा पार्टी एकता गरियो भन्दै हिंडिएको छ । एक वा दुई महिना समय पाएको भए चुनावअघि नै एकता गर्ने थियांै तर चुनाव आइहाल्यो, प्राविधिक रूपमा मिलाउन अप्ठेरो भयो, त्यसैले निर्वाचनलगत्तै पार्टी एकता गर्ने भन्ने कुरा सबैले सार्वजनिक रूपमा भनेपछि अब यो विषयमा कसैले शंका राख्नु पर्दैन । यो विषयमा अब प्रश्नै रहेन ।

पार्टी एकतापछि तपाईं र केपी ओलीमध्ये कोसँग कार्यकारी अधिकार रहन्छ ? पदीय बाँडफाँट कसरी हुन्छ ?
पार्टी एकता संयोजन समिति गठन गरेर सहमति सार्वजनिक गर्ने बेलामा लिखित रूपमा हामीले यो समितिका दुई प्रमुख नेता भनिएको छ । दुई पार्टीका अध्यक्ष नै यो पार्टी एकताका प्रमुख नेता हुने भनिएको छ । यति भनेपछि अहिले नै को–के हुने भन्ने ‘फाइनल’ त गरेका छैनौं तर पार्टी अध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्रीलगायत थुप्रै कार्यकारी पद हुन्छन्, ती पदमा हामी सजिलै एकअर्कालाई ‘एडजस्ट’ गर्न सक्छौं ।

यसका लागि केही गृहकार्य पनि भइसकेको हो ?
धेरै त भएको छैन, तर मोटामोटी कुरा भएकै छ । त्यसमा ठूलो समस्या हुँदैन ।

चुनावमा वामपन्थीको बहुमत आयो भने प्रधानमन्त्रीचाहिं को हुने हो ? तपाईं कि केपी ओली ?
औपचारिक ढंगले निर्णय गरिनसकेकाले यो कुरा भन्नचाहिं अप्ठेरो हुन्छ तर तपाईंहरूले जसरी सीधा भाषामा सोध्नुभयो । अब ठूलो पार्टी हुनुको नाताले र अहिले संख्यात्मक हिसाबले पनि प्रधानमन्त्री एमालेकै अध्यक्ष हुने प्रबल सम्भावना रहन्छ । हाम्रो बहुमत आउँछ । तीनवटै तहको सरकारमा वामपन्थीको बहुमत हुने भयो । स्थानीय तहमा त भई नै सक्यो । अब प्रदेशसभा र प्रतिनिधिसभामा पनि हुन्छ । पहिलो चरणको निर्वाचनको मतको आकलन गर्दा त हामी दुई तिहाइकै नजिकजस्तो छौं । बहुमत भएपछि प्रधानमन्त्री र अरू कुराका बारेमा हामीले मिलाएर गर्ने भनेका छौं ।

उम्मेदवारी दर्ता गर्दा एमाले र माओवादीले ६० र ४० प्रतिशतको भागबन्डा गरेका थिए, अब परिणाम त्यही अनुपातमा आएन भने दुई पार्टीबीचको सहकार्य र एकतामा असर पर्छ कि पर्दैन ?
हामीले त्यसरी सोचेका छैनौं । ३२ जिल्लामा चुनाव भइसक्यो, हाम्रो आकलनअनुसार ती जिल्लामा हामीले भनेजस्तै दुई तिहाइभन्दा बढी जित भएको साझा निष्कर्ष छ । दुवै पार्टीको ६० र ४० को अनुपात राम्रैसँग कार्यान्वयन भएको छ भन्ने रिपोर्ट छ ।

समग्रमा चाहिं त्यो कार्यान्वयन भएन भने के हुन्छ ?
समग्रमा पनि कार्यान्वयन हुन्छ । यदि भएन भने के कारणले भएन भन्ने समीक्षा हुन्छ तर कम्युनिस्ट एकता देशको स्थिरताका निम्ति आजको आवश्यकता हो भन्ने सिद्धान्तबाट हामी दायाँ–बायाँ हुँदैनौं ।

- एमालेसँग पार्टी एकता हुनेमा कसैले शंका राख्नु पर्दैन ।

- ठूलो पार्टी हुनुको नाताले प्रधानमन्त्री एमालेकै अध्यक्ष हुने प्रबल सम्भावना छ ।

- हामी न चीनपरस्त, न भारतपरस्त– अब नेपाली राजनीति नेपालपरस्त भएर जानुपर्छ ।

- अधिनायकवाद आउँछ भन्नु पहिले ६० वर्ष पुगेपछि कम्युनिस्टले मार्छन् भनेजस्तै हो ।

- कांग्रेससँग दूरी बढाउने हाम्रो कुनै मनसाय छैन ।

- ३२ जिल्लाको चुनावमा हाम्रो दुई तिहाइभन्दा बढी जित भएको साझा निष्कर्ष छ ।

वामपन्थीको सरकार बनेपछि भारत र चीनबीच सन्तुलन मिल्दैन, त्यो बढी चीनतर्फ ढल्किने हुन्छ र यसले अर्को समस्या ल्याउँछ भन्ने टिप्पणी पनि सुनिन्छ नि ?
मैले त त्यस्तो कुरा त्यति धेरै सुनेको छैन । तर के भन्छु भने, पछिल्लो पटक म प्रधानमन्त्री हुँदा भारत र चीन दुवै देशसँग सन्तुलित छिमेक नीति र विश्वासको वातावरण बनेको छ । हामी कोही पनि हाम्रा छिमेकीहरूसँग नराम्रो सम्बन्ध होस् भन्ने चाहना राख्दैनौं । हामी न चीनपरस्त, न भारतपरस्त । अब नेपालको राजनीति नेपालपरस्त भएर जानुपर्छ । हिजो राजा–महाराजाहरूले ‘फुटाऊ र शासन गर’ को नीतिअन्तर्गत कोहीलाई भारतपरस्त र कोहीलाई चीनपरस्त बनाइदिने, अनि देशभित्र चाहिं जहिले पनि अराजकताको अवस्था रहने स्थिति थियो । मैले शान्तिसम्झौतासँगै अबको हाम्रो विदेश नीति नेपालपरस्त नै हुन्छ भनेको थिएँ । दुवै छिमेकी नेपाल स्थिर र विकसित होस् भन्ने चाहन्छन् । त्यो चाहनालाई हामीले पनि सदुपयोग गर्ने कुरा मुख्य हो । त्यसैले वामपन्थीहरूले जिते भने चीनतिर लाग्छन् या भारततिर लाग्छन्, या भारतको विरोध गर्छन् भन्ने बिल्कुल गलत हो । दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाउन सकिन्छ भन्ने मैले त साबित नै गरेको छु । त्यही नीति नै अघि बढ्छ ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र संविधान कार्यान्वयन गर्न कांग्रेससँग कसरी सहकार्य होला ?
मैले विभिन्न आमसभा र जनतासँग जोड दिएर भनिरहेको छु– कांग्रेससँग दूरी बढाउने हाम्रो कुनै मनसाय छैन । हामी चाहन्छौं, कांग्रेसको पनि राम्रो होस् । कांग्रेससँग विभाजन भएका शाखाहरू पनि मिलून् । दुई पार्टी सशक्त ढंगले आइदिने हो भने राजनीतिक स्थायित्व र देशको विकासका लागि राम्रो हुन्छ । वाम एकता संयोजन समितिको घोषणा गर्ने बेला मैले ‘यो गठबन्धन कसैका विरुद्ध होइन है’ भनेर भनेको छु । यो विचार मिल्नेहरूबीचकै एकताको कुरा हो । अरू विचार मिल्नेहरू पनि मिल्नुपर्छ । दोस्रो कुरा, कांग्रेससित पनि सहकार्य हुन्छ । एमाले–माओवादी मिलेपछि कांग्रेससित सहकार्य हुँदैन भनेर जुन प्रचार गरिएको छ, यो सही होइन । राष्ट्रिय मुद्दाहरूमा, जनतासँग सम्बन्धित विकासका मुद्दाहरूमा, केन्द्रीय मुद्दाहरूमा कांग्रेससँग सहकार्य गर्नुपर्छ र हुनुपर्छ । हामी सरकारमा छँदै छौं । कांग्रेससँग दुस्मनी नै गर्न खोजेको भए त्यतिबेला सरकार छोडेर बहुमत पुर्‍याएर अर्को सरकार गठन गर्न लागिन्थ्यो । त्यसबेला संसद् छँदै थियो । नेपाली कांग्रेस, शेरबहादुर देउवासँग जे सहमति भएको थियो, त्यसैअनुसार चुनावसम्म सरकारलाई समर्थन गर्ने कुरा पालन गरिरहेका छौं । नेपाली कांग्रेसलाई निषेध गर्ने, उससँग दूरी बढाउने वा सहकार्य नगर्ने भन्ने होइन । तेस्रो कुरा, शान्तिसम्झौताका केही काम बाँकी छन् । त्यो सम्झौतामा गिरिजाबाबु र मैले हस्ताक्षर गरी बनेको हो, त्यसलाई टुंग्याउन कांग्रेससँग सहकार्य गर्नैपर्छ । अब कम्युनिस्ट मिले पनि कांग्रेससँग सहकार्य हुँदैन भन्नु गलत हो । सहकार्य अहिले पनि भएको छ । म र कमरेड केपीले गठबन्धन बनेपछि शेरबहादुर देउवाजीलाई भनेका छौं, निर्वाचन राम्ररी गराउनुहोस्, हाम्रो समर्थन छ । यो पनि एक प्रकारको सहकार्य हो । यस्तो सहकार्य चलिरहेको छ ।

निर्वाचनमा शान्तिसुरक्षाको अवस्थालाई कसरी हेर्नुभएको छ ?
ठाउँठाउँमा बम विस्फोटका घटना भएका छन् । एकजनाको मृत्यु भइसकेको छ । केही घाइते भए । आपराधिक र अराजनीतिक खालका घटना भए । मैले गरेको हो भनेर कसैले भन्दैन । कुनै राजनीतिक मान्छे भएको भए, समूहले भनेको भए राजनीतिक उद्देश्य भन्नुपर्ने । घटना हुँदा एक पक्षले गरेको हो कि जस्तो देखिन्छ । त्यो नहुन पनि सक्छ । कोही आपराधिक पक्षले गरेको पनि हुन सक्छ । यी आपराधिक र अराजनीतिक घटना हुन् भनेर भन्न कतै द्विविधा छैन । राजनीतिक हुन् भने यो राजनीतिक उद्देश्यका लागि भन्नुपर्‍यो । राजनीतिक उद्देश्य भए त्यहीअनुसार ‘डिल’ गर्न सकिन्छ । कसैले पनि जिम्मा नलिए डिल गर्ने अर्को तरिका हुन्छ । मुख्य गरी सरकारको गृह मन्त्रालयले यी घटनालाई गम्भीरतापूर्वक लिएर नियन्त्रण गर्नुपर्नेमा त्यहाँ कहीं न कहीं कमजोरी देखिएको छ । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका मान्छेलाई छोड्ने कुरा पनि गरे । सरकारको नेतृत्व गर्ने पार्टीकै कतिपय मान्छे नरम भएजस्तो देखिएको थियो । दुई–चार दिन वामलाई परोस् भनेर न्यानो मानेका थिए । पछि विस्फोटका घटना उनीहरूप्रति पनि भए । त्यसपछि नियन्त्रण गर्न खोजेजस्तो देखिन्छ । यी घटना नियन्त्रण गर्न जुन तत्परता र कडाइ गर्नुपर्ने हो, खास भएको छैन । सरकारले यसलाई गम्भीर रूपले लेओस् । बम विस्फोटनका घटना बनाएर राजनीतिक कोर्स यताउता पार्ने कसैले दिवा सपना नदेखे हुन्छ । पार्टी, जनता सबै तयार छन्, देशले सही दिशा लिइरहेको छ । अपराधीजस्तो लुकेर–छिपेर बम विस्फोट गराएर राजनीतिक कोर्स फेरिन्छ भन्नु त्यसभन्दा मूर्खता केही होइन ।

तपाईं पुत्रवियोगको शोकमा हुनुहुन्छ, शोकका बेला चुनावमा होमिनुपर्दा कस्तो लागेको छ ?
निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला छोरा प्रकाशलाई निर्वाचन व्यवस्थापनका केही कामका लागि चितवनबाट काठमाडौं पठाएको थिएँ । यही घरमा बसिरहेका बेला अचानक हृदयाघात भएर उसको निधन भयो । निर्वाचनको मुखमा परिवार र पार्टीका लागि मर्माहत घटना थियो त्यो । मैले आर्यघाटमा दागबत्ती दिँदै गर्दा मनमा स्वत: आयो– यो देशका सबै युवायुवती मेरा लागि प्रकाश हुन् । त्यही सोच्दै जनतातिर फर्केर मेरा दुई हात उठे । अहिले चितवनका सभामा भन्ने गरेको छु– मेरा लागि देशका सबै युवायुवती प्रकाश हुन्, उनीहरूको उन्नति, रोजगारी र देशका लागि काम गर्नु मेरो बाँकी जीवनको संकल्प हो । प्रत्येक घरमा प्रकाश ल्याउँछु भनेको छु । अर्को पाटो के हो भने प्रकाश सफल भएर गयो । उसले ३६ वर्षमा झन्डै ७२ वर्ष बाँचेर गयो जस्तो लाग्छ । उसका पछिल्ला काम हेर्दा परिपक्व हुँदै आएको थियो । आम जनता र युवाको उसप्रति सद्भाव र परिवारप्रति समवेदना देखा पर्‍यो । अहिले मेरा लागि त्यही नै शक्ति हो । मैले शोकबाट शक्ति पाएको छु । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी भावुक भएर आफ्नै परिवारको सदस्य गुमेजस्तै समवेदना दिनुभयो । चीन सरकारले तुरुन्तै समवेदना पठायो, राष्ट्रसंघबाट पनि समवेदना आयो । देशभरिबाटै समवेदना आए, यो पार्टी, त्यो पार्टी भन्ने नै भएन । घटना अप्रत्याशित, अकल्पनीय गरी आयो तर जनताबाट मलाई ठूलो ताकत मिलेको छ ।

तपाईं, जसले युद्ध हाँक्नुभयो, माओवादीलाई शान्ति प्रक्रियामा ढाल्नुभयो, गणतन्त्र ल्याउन योगदान पुर्‍याउनुभयो, संविधान जारी गर्न भूमिका खेल्नुभयो र अब त्यसको कार्यान्वयनका लागि निर्वाचनमा जाँदै हुनुहुन्छ । कस्तो महसुस भएको छ ?
इतिहासमा थोरै मान्छेलाई मात्र यस्तो अवसर प्राप्त हुन्छ, जो मलाई भयो । मैले विद्रोह गरें, त्यो विद्रोहलाई शान्तिपूर्ण अवतरण गराएँ । त्यो विद्रोहमार्फत् ठूलो राजनीतिक परिवर्तन भयो । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई डोर्‍याउने मुख्य कारक पनि मैले नेतृत्व गरेको आन्दोलन बन्यो । अनि शान्तिसम्झौता पनि सफल ‘स्टोरी’ का रूपमा आएको छ । अहिले अमेरिका र युरोपमा यसको अध्ययन हुँदै छ, यसरी सफल कसरी भयो भनेर । संविधानसभाबाट संविधान बनाउने ६०–६५ वर्षदेखिको मुद्दा थियो । त्यसमा पनि मैले नेतृत्व गर्ने अवसर पाएँ । संविधान कार्यान्वयन गर्ने बेला के हुन्छ भन्ने थियो । स्थानीय तहको निर्वाचनमा सिंगो देश मधेस, पहाड, हिमाल, तराईलाई ल्याउने भूमिका प्रधानमन्त्रीका रूपमा मेरो रह्यो । त्यसकारण अब प्रदेश र संघको निर्वाचन भइसक्यो भने पनि हुन्छ । त्यसो हुँदा म आफूलाई गौरवशाली पात्रका रूपमा पाउँछु । यति अवसर– विद्रोह, ठूलो राजनीतिक परिवर्तन, शान्ति प्रक्रियाको सफल कार्यान्वयन, संविधानसभा, संविधान घोषणा र त्यसको कार्यान्वयन अनि स्थिर सरकार बनाउने र नेतृत्व गर्ने अवसर आइपुग्यो । यो प्राप्त गर्न धेरै चुनौती र अग्निपरीक्षामा म छिर्नुपर्‍यो । ठूला अप्ठ्याराको सामना नगरी यो आएको होइन । इतिहास र जनताले यसको उच्च मूल्यांकन गर्छन् भन्नेमा म विश्वस्त छु । अब त मेरा लागि राष्ट्र र जनताबाहेक अरू स्वार्थ छैन ।

प्रकाशित : मंसिर १७, २०७४ ०८:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गठबन्धन, फर्जी मत र बेनामी विस्फोटन

कृष्ण खनाल

दोस्रो चरणको चुनावको दिन नजिकिँदै छ । २१ गतेको मतदानपछि नयाँ संविधानअनुसार चुनावको एउटा चक्र सकिन्छ र संविधाननिर्दिष्ट प्रणालीले गति लिन्छ भन्ने आशामा मानिस छन् । तर पहिलो चरणमा प्रयोग भएका बन्द बाकसहरू ‘प्रोक्सी’ मतपत्रका ठेलीले भरिएका समाचार यत्रतत्र छाएका छन् ।

सँगसँगै बम विस्फोटनका घटना व्यापक रूपमा बढेका छन् । दोस्रो चरणको मतदान पूर्वसन्ध्यामा भएका यी घटनाले मतदातामा भय पैदा त गर्छ नै । स्थिरता र समृद्धिका दाबीलाई पनि फिक्का बनाउँदै छ । यसैको सेरोफेरोमा केही विचारविमर्श गर्नु सामयिक लागेको छ ।
पहिलो चरणको मतदानमा सरदर ६५ प्रतिशत मत खस्यो । डोल्पा, रसुवा, बाजुरा, हुम्लामा ८० प्रतिशत हाराहारी मतदान भएको सञ्चार माध्यमले बताएका छन् । यस्तै मुगु, मनाङ, मुस्ताङमा ७० देखि ७५ प्रतिशत मतदान भएको छ । सुन्दा पनि आश्चर्य लाग्छ, जाडो बढेको छ, हिमाली क्षेत्रका मानिस जाडो छल्न बसाइँ सर्ने बेला हो यो । बझाङ, बाजुराका मानिस कामको खोजीमा भारत पस्ने सिजन पनि यही हो । तर भोट भने सबैले हालेका छन् । यो कसरी भयो होला, ती ठाउँका जीवन व्यवहारको सामान्य जानकारी राख्ने जोसुकैलाई आश्चर्य लाग्छ । चुनावका बेला धेरै मतदान हुनु राम्रो कुरा हो । तर मतदान सकिएपछि बिस्तारै कुरा खुल्न थाल्यो, यीमध्ये कतिपय ठाउँमा अत्यधिक संख्यामा प्रोक्सी मतदान भएछन् । कतिपय ठाउँमा महिलाले चुनाव चिह्न ठम्याउँदैनन्, बिगार्छन् भनेर उनका हातबाट मतपत्र छिन्दै पुरुषले नै छाप लगाएछन् । कर्णालीका कतिपय ठाउँमा कुलदेवता छोएर यो वा त्योलाई भोट दिन कबुल गराइने चलन व्यापक रहेछ । थोरै मतदाता छन्, भौगोलिक विकटता छ भनेर मतको दुरुपयोग र गलत अभ्यासलाई दल र तिनका प्रतिनिधिहरू आफैंले प्रोत्साहित गर्नु अर्को विडम्बना हो । यस्ता अनेक अनियमितता र गलत अभ्यास दोस्रो चरणमा पनि नहोला भन्ने होइन । तौरतरिका फरक होला पैसा, प्रतिष्ठा, बाहुबलले मतदान प्रभावित हुने कुरा जताततै सुनिन्छ ।
चुनाव लोकतन्त्र अभ्यासको सबैभन्दा प्रत्यक्ष र महत्त्वपूर्ण काम हो । प्रत्येक मतदाताले स्वतन्त्र र निर्भयसाथ प्रयोग गर्ने एक–एक भोटको गणनाले लोकतन्त्रको यो पक्षलाई सार्थकता दिन्छ । त्यसैले एउटै भोटको फरकमा पनि एउटा उम्मेदवारले जित्छ र अर्कोले हार्छ । हार्नेले पनि बहुमतको कदर गर्दै अर्को चुनावको अवधिसम्म प्रतीक्षा गर्छ । त्यसैकारण प्रत्येक भोटका लागि उम्मेदवारले भरमग्दुर प्रयत्न गर्छन् । चुनावबाट प्राप्त परिणामलाई आवधिक तर लोकप्रिय जनादेश मान्दै त्यसको सम्मान र एउटा निश्चित अवधिका लागि आधिकारिक प्रयोग अर्थात् वैधता रहन्छ । तर जब त्यो मत गलत रूपमा प्रयोग भएको छ, अर्कैले हालिदिएको फर्जी अर्थात् प्रोक्सी मत हो भन्ने कुरा थाहा हुन्छ, चुनावी जनादेशको महत्त्व र ताकत पनि घट्छ । त्यो जानादेश केवल नियमकानुन र प्रक्रियाको प्राविधिकतामा सीमित हुन्छ । त्यसको लोकप्रियता पनि रहँदैन । सायद यस्तै कारण होला, नेपालमा चुनावपछि जित्ने दल र नेताको हैसियत हरुवा गोरुको जस्तो हुने गरेको छ । त्यसको आधिकारिकता र सम्मान रहने गर्दैन । राज्यको संयन्त्रलाई चलायमान राख्न सक्तैन, डेलिभरी दिँदैन । अहिले बहुमत र स्थिर सरकारको नारालाई प्रमुख मुद्दा बनाएको एमाले–माओवादी नेतृत्व र लोकतन्त्र रक्षाको दाबी गर्ने कांग्रेस नेतृत्वको गठबन्धन दुवैले पनि बुझ्न जरुरी छ, भोटको संख्या गन्ती मात्र चुनावको उद्देश्य होइन । जसरी पनि जित्ने मानसिकताले दल वा व्यक्तिले त जित्ला, पद्धति र मूल्यले भने हार्छन् । संविधान कार्यान्वयनको प्रारम्भमै यो चुनाव कतै त्यस्तै सिद्ध नहोस् ।
यो चुनावमा देखिएको अर्को गम्भीर विषय हो, बम विस्फोटनको बढ्दो घटना । यस्ता घटनाका लागि कसैले जिम्मेवारी लिएका छैनन् । यो अरू संवेदनशील भएको छ । यसका पछाडि आएको माओवादीबाट चोइटेको विप्लव समूहलाई जिम्मेवार ठान्ने गरिएको छ । उसका कार्यकर्ता समातिएका छन् तर घटनाक्रम रोकिएको छैन, बरु बढ्दो छ । यी विस्फोटन प्रारम्भमा खासै क्षति नहुने गरी रोल्पा, रुकुममा माओवादी केन्द्रका उम्मेदवार र प्रचारप्रसारप्रति लक्षित प्रतीकात्मक शैलीका देखिन्थे । यसका लागि विप्लव समूहलाई जिम्मेवार ठान्नु स्वाभाविक पनि देखिन्थ्यो । तर पछिका खासगरी नुवाकोट, तनहुँ, सुनसरी, तुलसीपुर (दाङ), उदयपुर घटना निकै गम्भीर खालका छन् र कांग्रेसतर्फ बढी केन्द्रित छन् । कांग्रेसका मतदातालाई तर्साउन लक्षित छ । गएको सप्तान्तमा यो काठमाडौं केन्द्रित भएको छ । यसको अर्थ, यसले सत्ताको केन्द्रमा धावा बोल्ने हैसियत बनाएको सन्देश प्रचार गर्ने पनि हुन सक्छ । 
कुनै राजनीतिक समूहले जिम्मा नलिएका कारण यसलाई आपराधिक गतिविधि भनेर पनि चित्रण गर्ने गरिन्छ । देशको मुख्य राजनीतिक प्रक्रियामाथि नै घात हुने गरी बम पड्काउनु राज्यविरुद्धको अपराध हो । तर राज्यका जिम्मेवार निकाय र अधिकारीहरू यो खुलेर भन्न सकिराखेका छैनन् वा चाहँदैनन् । एमाले यसलाई सरकारको कमजोरी भनेर चुनावी फाइदा लिने रणनीतिमा छ । रुकुम, रोल्पाका केही उम्मेदवारबाहेक माओवादी केन्द्रको खासै कुनै प्रतिक्रिया आएको छैन । सञ्चार माध्यममा गृहमन्त्रीको जिम्मेवारी कसैलाई नदिएर प्रधानमन्त्री आफैंले राखेका कारण यसको प्रभावकारी नियन्त्रण हुन नसकेको भन्ने कुराको बढाइचढाइ मात्र पाइन्छ । अहिलेको हाम्रो प्रणालीमा कुनै खास परिस्थितिमा प्रधानमन्त्रीसँग सबै मन्त्रालय रहन सक्छन्, रहेका दृष्टान्त पनि छन् । अलगअलग मन्त्रीहरू रहेको अवस्थामा पनि सुरक्षालगायत राज्यको समग्र कामका लागि राजनीतिक रूपमा प्रधानमन्त्री जिम्मेवार हुन्छन् । तसर्थ अहिलेका घटनाका लागि एकले अर्कोतर्फ औंला ठड्याउनेभन्दा पनि यसको मूल कारणतर्फ गम्भीर हुन जरुरी छ । 
बम विस्फोटका घटनालाई दुई किसिमबाट हेर्न सकिन्छ । पहिलो त, यो कुरा अहिलेको राजनीतिक/संवैधानिक विकाससँग असहमत हुँदै यसलाई खुला चुनौती दिने विप्लव समूहको संलग्नतामा शंका गर्नु पर्दैन । ऊ संलग्न छैन भने त्यसको सार्वजनिक पुष्टि गर्नुपथ्र्यो । त्यो समूहलाई जिम्मेवार मान्ने हो भने उसको राजनीतिक आयतन निकै बढेको स्वीकार गर्नुपर्ने हुन्छ । त्यो भनेको शान्ति प्रक्रिया असफल भएछ भनेर मान्नुपर्ने हुन्छ । माओवादी केन्द्रले आफ्नो नेतृत्व र सांगठनिक पकड पुरै गुमाएछ भनेर बुझ्नुपर्ने हुन्छ । सशस्त्र विद्रोहका क्रममा उसले हिजो प्रयोग गरेका औजार, अपनाएका प्रविधि र प्रशिक्षित गरेका जमात आज उसको पकडबाट बाहिरिएछन् र राजनीतिक वा आपराधिक जुनसुकै प्रयोजनका लागि उपलब्ध छन् भनेर बुझ्नुपर्ने हुन्छ । चुनावपछि माओवादी केन्द्र त एमालेमा विलय होला तर सशस्त्र विद्रोहको उसको लिगेसी नयाँ संगठित राजनीतिक चुनौतीका रूपमा पुनरुत्थान हुन थालेको संकेत दिन्छ । जसरी हिजो देशी–विदेशी शक्तिले माओवादीको उपयोग गरे र माओवादीले पनि उपयोग गरे, त्यही अवस्था फेरि पनि नबन्ला भनेर ढुक्क हुने स्थिति रहेन ।
दोस्रो कुरा, यसको कसैले राजनीतिक जिम्मेवारी पनि नलिने र आफ्नो संलग्नता नरहेको कुरा पनि सार्वजनिक नगरेको अवस्थामा यी घटना चुनावलाई प्रत्यक्ष प्रभाव पार्नका लागि मात्र घटाइएका हुन् भनी बुझ्नुपर्ने हुन्छ । राजनीतिक अभीष्ट पूरा गर्न अपराधीलाई राजनीतिक संरक्षण दिन हाम्रा पार्टी र नेताहरू पछि परेका छैनन् । यसका दृष्टान्त बढेका छन्, घटेका छैनन् । यस्तो अवस्थामा यो वा त्यो समूह भनी शंकाभन्दा घटनामा प्रत्यक्ष संलग्न भएका र हुन लागेका व्यक्तिहरूमाथि कारबाही र निगरानी केन्द्रित हुनुपर्छ । चुनावका बेला कसैले जिम्मा नलिने हिंसात्मक गतिविधि भनेको पुरै आपराधिक काम हो । यो अपराध कर्म चुनावमै संलग्न व्यक्ति वा समूहबाट हुन सक्तैन भन्ने पनि छैन । चुनावपछि पनि यसको खोजबिन र सजाय प्रक्रिया चल्नुपर्छ । जिम्मेवार भेटिए राजनीतिक दल, नेता वा प्रतिनिधि जो हुन्, सार्वजनिक गरिनुपर्छ र दण्डित पनि । चुनाव भनेको शासनमा पुग्न र हैकम जमाउन चाहनेहरूको वैधताका लागि होइन, विधि र प्रक्रियाको शासनका लागि हो । चुनावी सहयोग र समर्थनका आडमा दण्डहीनताले कहींकतै ठाउँ पाउनु हुन्न ।
यसका बाबजुद चुनावको प्रचारप्रसार चर्किएको छ । मौखिक कटाक्षबाहेक कुनै उम्मेदवार वा दलहरू भौतिक भिडन्तमा उत्रिएका छैनन् । आआफ्नो पक्षमा दलीय गठबन्धनसहित प्रमुख दलहरू चुनावमा सहभागी भए पनि त्यसका कारण मतदातामा तनाव छैन । एकप्रकारले अहिलेको चुनावी प्रतिस्पर्धा सतहमा हेर्दा शान्त र सौहार्दपूर्ण देखिन्छ । यो राम्रो पक्ष हो । 
यो चुनावको सबैभन्दा चर्चित पक्ष दलहरूको चुनावी गठबन्धन हो । खासगरी एमाले–माओवादी नेतृत्वको गठबन्धन चर्चाको केन्द्रीयतामा छ । यसले चुनावी गठबन्धन मात्र होइन, पार्टी एकताको साझा अभियानलाई पनि समेटेको छ । कम्युनिस्ट एकताको कुराले पार्टीवृत्त बाहिरका कम्युनिस्टहरूमा पनि उत्साह जगाएको छ । एमाले अध्यक्ष केपी ओली कम्युनिजमको कुराभन्दा ‘स्थिर सरकार र समृद्धि’ को आकर्षक नारासहित कांग्रेसविरुद्ध अत्यन्त आक्रामक प्रचार शैलीमा उत्रिएका छन् । यो अस्वाभाविक कुरा होइन, चुनावका बेला मतदाताले पनि यस्तो स्वाद खोजेका हुन्छन् । यो चुनावी अभियानमा उनको जोडाको अर्को कसैले ‘स्टार क्याम्पेनर’ को हैसियत बनाउन सकेका छैनन् । गठबन्धनको अर्को घटकको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने माओवादीले कम्युनिस्ट सिद्धान्तका लागि यो एकता गरेको र चुनावपछि कम्युनिस्ट सिद्धान्त तथा मान्यताले राज्यमा नीतिगत ठाउँ पाउनेछ भनी आफ्ना कार्यकर्तालाई आश्वस्त बनाउन प्रयत्नशील देखिन्छन् । गठबन्धनको औचित्य पुष्टि गर्न उनी भन्दै छन्, ‘अबको ४०/५० वर्षसम्म कम्युनिस्ट सरकार । अब कम्युनिस्टले सरकार चलाउँछ ।’
एमालेसँगको यो सहयात्रालाई अध्यक्ष दाहालले अतिरञ्जित पनि गर्दै छन् । यसलाई उनले २५ वर्षदेखिको प्रयासको परिणाम भनेका छन् । साथै ‘माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नेतृत्व एमालेले गरेको हो । १२ बँुदे सहमतिको मस्यौदा माओवादी र एमालेले रोल्पामा बसेर तयार पारेका थिए’ आदि धेरै कुरा थपथाप पनि गर्दै छन् । यस्तै अतिरञ्जना कुनै बेला उनी गिरिजाप्रसाद कोइरालाका बारेमा पनि गर्थे । छिट्टै ‘महान् सफलता’ को गाना गाउने उनको प्रवृत्तिगत अन्तर्यमा लघुताभासको मनोदशा पनि उत्तिकै देखिन्छ । बन्दुक बोकेको बेला आकर्षक तर रहस्यमयी व्यक्तित्व बनाएका प्रचण्ड अहिले कुनै पनि बेला कतैतर्फ पनि लामो छलाङ लगाउन सक्ने बुझिनसक्नु राजनीतिक पात्र भनेर चर्चित छन् । सिद्धान्तभन्दा उपयोग र उपभोगवादी प्राथमिकता उनको राजनीतिक कार्यदिशा बनेको प्रतीत हुन्छ । भनिन्छ, लामो संघर्षका दौरानमा कारावास, प्रवास वा भूमिगत जीवनमा भोग्नुपरेका वञ्चितीले धेरै नेतालाई चाँडै सबै अवसर र सुविधा हत्याइहाल्ने मानसिकताको सिकार बनाउने गर्छ । महात्मा गान्धी, नेल्सन मन्डेला केही अपवाद हुन् ।
अर्कातर्फ नेपाली कांग्रेसको समग्र चुनावी अभियान प्रतिरक्षात्मक बनेको छ । एमाले–माओवादी गठबन्धनका कारण मुलुकमा कम्युनिस्ट तानाशाहीको जोखिम बढेको भन्दै लोकतन्त्रको रक्षाका लागि ऊ गैरकम्युनिस्ट मतदातालाई आफ्नोतर्फ आकर्षित गर्ने प्रयत्न गर्दै छ । प्रचारप्रसारमा दौडिए पनि कांग्रेस सभापति शेरबहादुर देउवा ‘क्याम्पेनर’ जस्ता देखिन्नन् । सनातनी प्रचार शैलीको नमुना छ, कांग्रेसको प्रचारप्रसार । गठबन्धन नाम मात्रको छ । केही नेताको निर्वाचन क्षेत्रकेन्द्री साँठगाँठभन्दा बढी यसको आकार र आयतन देखिन्न । साथै, ‘लोकतान्त्रिक गठबन्धन’ भने पनि यसका घटकहरूको पृष्ठभूमिले लोकतन्त्रको न विश्वसनीयता दिन्छ, न त लोकतन्त्रवादी मतदातालाई उत्साह नै । प्रतिस्पर्धीहरूसँग विचार, नीति र मुद्दामा आक्रामक हुन नसक्ने नेताले चुनावमा आफ्ना पक्षका मतदातालाई उत्साहित गर्न सक्तैन । तथापि गैरकम्युनिस्ट लोकतन्त्रवादी मतदाताको समर्थनको सुविधा कांग्रेसलाई प्राप्त हुने कुरामा त्यति शंका गर्न नपर्ला । केही नयाँ समूह वा व्यक्तिहरू विकल्पका रूपमा प्रस्तुत हुन खोजे पनि त्यस्ता मतदाता समूहमा कांग्रेसको वैकल्पिक शक्ति अझै बनिसकेको देखिन्न ।

प्रकाशित : मंसिर १७, २०७४ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT