१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कांग्रेसको बहुमत आउँछः प्रधानमन्त्री देउवा

अन्तिम रस्साकसी

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव भइसकेको छ भने दोस्रो चरणको मतदान हुन ३ दिन मात्रै बाँकी छ । अब चुनिने नेतृत्वले संघीय शासन प्रणालीअनुसार मुलुकको बागडोर सम्हाल्ने अवसर पाउने भएकाले त्यसका लागि प्रमुख दलहरुको अन्तिम रस्साकसी जारी छ ।

कांग्रेसको बहुमत आउँछः प्रधानमन्त्री देउवा

कांग्रेसले राप्रपालगायत दलहरुसँग मिलेर लोकतान्त्रिक गठबन्धन बनाएको छ भने एमाले र माओवादीसहितका दलले वामपन्थी गठबन्धन निर्माण गरेका छन् । दुवै गठबन्धन अबको सरकार आफ्नै नेतृत्वमा बन्ने दाबी गरिरहेका छन् । चुनावपछिको राजनीतिक बाटो कता जाला भन्ने जान्नका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग कान्तिपुर संवाददाताहरु चित्रांग थापा र डीआर पन्तले धनगढीमा कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :

चुनावी अभियान कस्तो पाउनुभएको छ ?

यस पटकको निर्वाचन जित्ने र हार्नेमात्र नभई लोकतन्त्रको भविष्यसँग गाँसिएकाले महत्त्वपूर्ण छ । सबै साथीहरू आफ्नो–आफ्नो ठाउँमा खटेर लागेका छन् । जनतामा पनि निकै उत्साह पाएको छु । जुन–जुन ठाउँमा म पुगेको छु, जनता उत्साहपूर्वक कार्यक्रममा सहभागी भएका छन् । अरू चुनावभन्दा अलि फरक खाले चुनावी वातावरण बनेको छ । 


कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
जनतामा एकखाले लहर नै आएको छ । म बझाङ जान पाइन, तर बाजुरा, अछाम, दार्चुलाका दुर्गम गाउँहरूमा भएका चुनावी सभामा जनता जसरी ओइरिएर आएका छन्, यसले लोकतन्त्रको भविष्यप्रति जनता सचेत छन् भन्ने लागेको छ । भेटघाटमा पनि मतदाताले जसरी मसँग प्रतिक्रिया व्यक्त गरेका छन्, यसले नेपाली कांग्रेसले संविधान कार्यान्वयनको यो चरणमा उठाएका मुद्दाप्रति राम्रो बुझाइ रहेको छ भन्ने लागेको छ ।

 
कांग्रेस पार्टीप्रति मतदाताको बुझाइ कस्तो छ ?
म पार्टीको सभापति पनि हुँ, कांग्रेसप्रति मतदाताको उत्साह छ भन्ने महसुस भएको छ । मतदाताले लोकतन्त्रप्रति जसरी चासो व्यक्त गरे, मसँग यसले पनि देशको वर्तमान परिस्थिति र लोकतन्त्रको भविष्यका सवालमा मतदाता नेपाली कांग्रेससँग देखिएका छन् । कांग्रेसका पक्षमा जनलहर जस्तै आएको छ । बाहिर जस्ता प्रचारबाजी गरिए पनि मतदाताको भित्री मानसिकता यसभन्दा पर देखिएको छ । मतदाता कांग्रेसका मुद्दामा सहमत छन् । पहिलो चरणको निर्वाचनमा कांग्रेसको राम्रो भएको छ । पहिलेदेखि नै ती क्षेत्रमा कांग्रेस कमजोर हो, तर यसपटक भने कांग्रेसले ती क्षेत्रहरूमध्ये अधिकांशमा निर्वाचन जितेको छ ।


वाम गठबन्धनप्रति तपाईंको बुझाइ के हो ?
चुनाव नहुँदै उनीहरूले धम्की दिन थालेका छन्, चुनाव जितेपछि के गर्लान्, सहजै अनुमान गर्न सकिन्छ । जनतालाई तर्साउन थालेका छन् । ठाउँ–ठाउँमा धम्कीको भाषा प्रयोग गरिरहेका छन् । निर्वाचन नहुँदै यस्ता अशोभनीय र अलोकतान्त्रिक गतिविधि गरिरहेका छन् । प्रत्यक्ष राष्ट्रपतिको कुरा गरेर देशलाई विस्तारै तानाशाहीतिर लैजान खोज्ने प्रयत्न उनीहरू गरिरहेका छन् । यो समावेशी संविधान हो, महिला, जनजाति, अल्पसंख्यक, आदिवासी, लोपोन्मुख जातजाति सबैका हक र अधिकारको संरक्षण यो संविधानले गरेको छ । यो संविधानको मूलभूत चरित्र समावेशी र लोकतान्त्रिक हो । तर वाम गठबन्धन गतिविधि निर्वाचनअघि नै एकदलीय पद्धतिमा जाने खाले छन् । 


वाम गठबन्धनले कांग्रेसलाई कमजोर बनाउने हल्ला सही हो ? वामदेखि कांग्रेस आत्तिएको हो ?
पहिलो कुरा त, कांग्रेसको बहुमत आउनेवाला छ । कांग्रेस नै ठूलो पार्टी बन्छ । जनताले त्यो गठबन्धनको कुरा बुझेका छन् । गठबन्धनका कारण लोकतन्त्रलाई नै खतरा हुने स्थिति छ भन्ने कुरा आम मतदाताले पनि बुझेका छन् । 

तसर्थ कांग्रेसलाई कमजोर बनाउने हल्ला सपनामात्र हो । वामवालाहरू आत्तिएका छन् । गठबन्धनले के–के न होला ठानेका थिए, तर जनताको लहर लोकतन्त्रप्रति देखेपछि अहिले अनावश्यक रूपमा छुद्र र असभ्य भाषामा राजनीतिक संस्कार बाहिर गएर बोलिरहेका छन् । यो उनीहरूको कमजोर मानसिकता हो । कांग्रेस त विगतभन्दा झन् बलियो र एकढिक्का भएर अगाडि बढेको छ ।


कांग्रेसले अरू दलसँग बलियो गठबन्धन किन बनाउन सकेन ? मधेसी दलसँग चुनावी तालमेल किन भएन ?
धेरै ठाउँमा मिलेका छौं, चुनावी तालमेल भएको छ । मधेसी दलसँग पनि विभिन्न ठाउँमा तालमेल भएको छ । राप्रपा लगायतका साना पार्टीसँग पनि बिभिन्न ठाउँमा देशव्यापी रूपमा तालमेल भएको छ । लोकतन्त्रवादीहरू सबैसँग विभिन्न किसिमले तालमेल भएका छन् । मधेसी दलसँग पहिले तालमेल नभए पनि उम्मेदवारी दिँदा र दिएपछि धेरै ठाउँमा तालमेल भएको छ ।


माओवादी त अहिले पनि सरकारमा छ, कांग्रेस र माओवादीबीच अहिले कस्तो सम्बन्ध छ ? 
सम्बन्ध त राजनीतिमा हुन्छ । राजनीतिक सम्बन्धका कुरा आवश्यकताले पनि निर्धारण गर्छ । त्यस्तो तिक्तता केही पनि छैन । उहाँहरूले एमालेसँग तालमेल गर्नुभयो । त्यसपछि हामीसँग तालमेल हुने कुरा भएन । यो चुनावको बीचमा कुराकानी भएको छैन । सरकारमा सँगै थियौं । उहाँहरूले एमालेसँग गठबन्धन गर्नुभयो । यतिबेला चुनावी अभियानमा सबै दल प्रचार–प्रसारमा व्यस्त छौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीसँग राजनीति सम्बन्धी खासै कुराकानी भा’छैन ।


प्रसंग बदलौं, सरकारले निर्वाचनमा पर्याप्त सुरक्षा दिन नसकेको हो ?
केही चुनाव भाँड्न चाहने तत्त्व छन् । तर चुनावमा प्रशस्त सुरक्षा दिइएको छ । चुनाव बिथोल्न चाहने धेरै मान्छे पक्राउ परेका छन् । चुनावमा कुनै समस्या आउँदैन । केपी ओलीजीले त भोट हालिसकेर पनि चुनाव सार्दैछ भन्ने आरोप लगाएका होइनन् र ? तर चुनाव त भयो नि । निश्चिन्त भए हुन्छ, चुनावमा कुनै गडबडी हुनसक्दैन । हुन दिइने छैन ।


प्रधानमन्त्रीज्यूले गृहमन्त्री नियुक्त नगर्दा समस्या आए जस्तो लाग्दैन ?
होइन, कुनै समस्या छैन । म आफैंले गृह मन्त्रालय हेरिरहेको छु । आचारसंहिताको पनि कुरा आयो । भित्रैबाट गर्नुपर्ने, त्यसमा पनि समस्या देखिने । त्यसैले म आफैंले हेरिरहेको छु । मन्त्री नियुक्त नगर्दा कुनै समस्या भएको छैन । सुरक्षाको भरपुर व्यवस्था गरिएको छ । मन्त्री नियुक्त गर्दा आचारसंहिताको पनि ख्याल गर्नुपर्ने हुन्छ । सुरक्षा व्यवस्था कायम गर्ने कुरामा गृह मन्त्रालयले सबै सुरक्षा निकायको प्रभावकारी तालमेल कायम गरी काम गरिरहेको छ । म आफैंले पनि गृहका उच्च अधिकारीहरूबाट सुरक्षा व्यवस्थाबारे नियमित जानकारी लिने काम गरिरहेको छु ।


थुप्रै ठाउँमा आक्रमणहरू भइरहेका छन्, बम पड्केका छन्, उदयपुरमा कांग्रेसका उम्मेदवार घाइते नै भए, सुरक्षा प्रबन्धमा कमजोरी नै नभएको हो र ? 
यी सबै घटना लुकिछिपी भएका छन् । तर पनि सुरक्षा निकायले पक्राउ गरेको छ, धेरैलाई । मुद्दा लगाएको छ । सबै ठाउँमा सुरक्षा स्थितिलाई अझ बढी सुदृढ गरिएको छ । आम मतदाता, उम्मेदवार, निर्वाचन केन्द्र र चुनाव प्रचार–प्रसारका क्रममा हुनसक्ने सुरक्षा ‘थ्रेट’ र बम विस्फोटनजस्ता घटनालाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर पनि निर्वाचन बिथोल्न चाहने केही तत्त्वले लुकिछिपी केही घटना गराएका छन् । सरकार यस प्रकारका घटना हुन नदिन बलियो सुरक्षा रणनीति अन्तर्गत गम्भीरतापूर्वक लागिपरेको छ ।


दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कस्तो छ ?
सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । नेपाली सेनासहित परिचालन गरिएको छ । सुरक्षा संयन्त्रलाई पहिलो चरणमा देखिएका कमी–कमजोरीलाई सुधार गरी परिचालन गरिएको छ । सुरक्षाका कारण निर्वाचनमा कुनै खाले कमजोरी हुन नदिन सुरक्षा निकायहरू सचेत छन् । हरेक बुथ र उम्मेदवारको सुरक्षामा विशेष ध्यान दिइएको छ । देशब्यापी रूपमा उच्च सुरक्षा सतर्कता बढेको छ । 


सुरक्षा निकायबीच समन्वय कसरी मिलाइएको छ ?
सुरक्षा निकायबीच समन्वय राम्रो भएको छ । सूचना संयन्त्र बलियो बनाइएको छ । सबै निकायले एकआपसमा राम्रो तालमेल गरेर सुरक्षा व्यवस्था सुदृढ गरिरहेका छन् । चुनावी सुरक्षामा कुनै कसर बाँकी राखिँदैन । ढुक्क भएर निर्वाचन गतिविधिमा संलग्न भए हुन्छ । सरकार चुनावमा संलग्न सबै पक्षलाई निर्धक्कका साथ दोस्रो चरणको निर्वाचनमा सहभागी हुने वातावरण बनाउन कुनै कसर बाँकी राख्ने छैन ।


बम पड्काउने विरुद्ध खासै कारबाही भएको पाइँदैन, सरकार किन नरम भएको ?
किन भएको छैन, कारबाही ? धेरै मान्छे पक्राउ परेका छन् । धेरै माथि त मुद्दा नै चलाइएको छ । सुरक्षाका विषयमा कुनै खाले सम्झौता हुनसक्दैन ।


सरकारको शक्ति प्रयोग गरेर कांग्रेसले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्‍यो भन्ने एमालेको आरोप छ नि ?
यो एकदम गलत आरोप हो । कुन ठाउँमा आचारसंहिता उल्लंघन भयो, ठोस प्रमाणसहित भन्नुपर्‍यो नि । केही प्रशासनिक तथा सुरक्षा अधिकारीको सरुवाको विषयलाई लिएर कसैले आचारसंहिता उल्लंघन गर्‍यो भन्छ भने त्यसमा सरकार चुप लाग्दैन । जे–जति सुरक्षा र प्रशासनिक निकायका कर्मचारीको सरुवाका निर्णय भएका छन्, ती सबै सम्बन्धित ठाउँको सुरक्षा व्यवस्थालाई मध्यनजर गरेरै भएका हुन् । त्यस्तो आचारसंहिता नै उल्लंघन हुनेगरी व्यापक रूपमा भएको छैन । सुरक्षा जस्तो संवेदनशील विषयमा सरकारले निर्वाचन आयोगको सहमतिमा काम गरेको छ । यो सरकारको दायित्व पनि हो । यसले निर्वाचन सुरक्षा प्रभावकारी हुन्छ । 


निर्वाचनमा धाँधली भएको संकेत पाउनुभएको छ ?
धेरै ठाउँमा वाम गठबन्धनले बुथ कब्जा गरेका छन् । बाजुरामा मतदाताभन्दा बढी मत पनि खसेका छन् । ६–७ ठाउँमा बुथ नै कब्जा गरेका छन् । विदेशमा भएका जिल्ला बाहिर रहेका सबै मतदाताको मत खसालिएको रिपोर्ट आएको छ । यो विषयमा मुद्दा पनि परेका छन् । एउटै मतदाताले धेरै भोट हालेको कुरा त मिडियामा पनि आएको छ । अर्काको मताधिकार खोस्ने कसैलाई अधिकार हुँदैन । यस सम्बन्धमा निर्वाचन आयोगले पनि आफ्नो तहबाट अनुगमन गरेकै हुनुपर्छ । निर्वाचन आयोग र सुरक्षा निकाय तथा राजनीतिक दलका नेता–कार्यकर्ताले समेत निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भूमिका निर्वाह गर्नुपर्छ । बुथ कब्जा गर्ने, मृत्यु भइसकेको, विदेशमा रहेको, बसाइँ सरी अन्यत्र गएका मतदाताको फर्जी मत हाल्ने काम कुनै पनि बहानामा क्षम्य हुनसक्तैन । यस्ता गतिविधि हुन नदिन निर्वाचन आयोगलाई आवश्यक सहयोग गर्न सरकारका तर्फबाट कुनै प्रकारको कमी हुनदिइने छैन ।


तपाईंको निर्वाचन क्षेत्रमा कस्तो प्रतिस्पर्धा भइरहेको छ ?
डँडेलधुरा जनमत संग्रहमा पञ्चायतको जमानत जफ्त गर्ने जिल्ला हो । हामी लोकतन्त्रवादी बुथ कब्जा गर्ने, जनताका मत दिने प्रक्रिया अवरुद्ध गरेर प्रभावित गर्नेमा विश्वास गर्दैनौं । जनमतको सम्मान नै लोकतन्त्रवादीको पहिलो राजनीतिक सर्त हो । तर विपक्षीहरूले केही ठाउँमा बुथ कब्जा गर्नसक्ने सम्भावनाका कुरा पनि आएका छन् । त्यसो हुन नदिन सबै सचेत छन् । मेरो निर्वाचन क्षेत्रमा सहज रूपमा चुनावी अभियान सञ्चालनमा छ । कार्यकर्ताहरू लागेका छन् । विगतभन्दा पनि राम्रो मतले म निर्वाचित हुन्छु । दुवै प्रदेशसभा र प्रतिनिधिसभामा सहज रूपमा निर्वाचन जित्ने स्थिति छ ।


चुनावी प्रचार–प्रसारको शैली र गतिविधिलाई कसरी हेर्नुभएको छ ?
यो चुनाव धेरै महत्त्वपूर्ण रहेको छ । सबै दलका नेता–कार्यकर्ता आफ्नो दलका उम्मेदवारलाई जिताउन खटिरहनुभएको छ । म एक्लै भनौं, प्रचार–प्रसारको अन्तिम चरणमा ७ नम्बर प्रदेशका गाउँ–गर्खासम्म हेलिकप्टरबाटै पुगिरहेको छु । केही ठाउँमा हामीले पार्टीका शीर्ष नेताहरूसँगै चुनावी सभामा पुगेर भोट माग्यौं । उहाँहरू आफ्नो निर्वाचन क्षेत्रसँगै आसपासका जिल्लामा हुनुहुन्छ । म पूर्वको पाँचथर ताप्लेजुङदेखि सुदूरको दार्चुला, बैतडीसम्म पुगेंँ । निर्वाचनप्रति जताततै जनताको ठूलो उत्साह देखेंँ । कांग्रेसको पक्षमा लहर नै देखेंँ ।
एउटा कुरा यहाँ भन्नैपर्ने हुन्छ । मैले हालसम्मका कुनै चुनावमा पनि अरूलाई आक्षेप लगाउने, छुचो भाषा प्रयोग गर्ने र झुठो कुरा कहिल्यै गरिन । तर केही प्रतिस्पर्धी दलका ठूला नेताहरूले अत्यन्त अमर्यादित भाषामा चुनावी अभियान चलाइरहेका छन् । सबै थोक आफैंले गरेको दाबी गरिरहेका छन् । धाक–धम्कीका कुरा गर्छन् । लोकतन्त्रमा सबैको समान अधिकार हुन्छ । जनताले यो कुरा बुझ्न थालेका छन् । जुन कुरा उनीहरू बोलिरहेका छन्– संविधान संशोधनको कुरा, ५० वर्ष शासन गर्ने कुरा कांग्रेसको अन्तिम प्रधानमन्त्री देउवा हुन् भन्नेजस्ता कुरा जनताले बुझिसकेका छन् । मतदाताहरू यस्तो खाले प्रचार–प्रसार गर्ने दलहरू त झनै खतरनाक हुने बताउन थालेका छन् ।


डँडेलधुरामा तपाईं, कैलालीमा आरजु देउवा कस्तो लागेको छ ? केही समयपछि तपाईंका छोरा पनि राजनीतिमा आउने होलान् ?
मैले आरजु देउवालाई टिकट दिएको होइन । देशका धेरै निर्वाचन क्षेत्रबाट उनलाई निर्वाचन लडाउन कार्यकर्ताले माग गरेका हुन् । उनले कैलाली–५ मा लड्ने इच्छा राखिन् । कैलालीबाट समेत उनलाई चुनाव लड्न माग गरिएको हो । उनको आफ्नो राजनीतिक छवि छ, आफ्नो किसिमले राजनीति गरिरहेकी छन् । यसमा मेरो कुनै भूमिका छैन । गाउँ स्तर, नगर स्तर, जिल्ला स्तरबाट सिफारिस हुँदै कार्यकर्ताको माग बमोजिम उनले टिकट पाएकी हुन् । दुई/दुईपटक उनी समानुपातिकबाट सांसद भएकी हुन् । उनी लगातार कांग्रेसको महाधिवेशन, महासमिति प्रतिनिधिमा निर्वाचित हुँदै आएकी छन् । निर्वाचन लड्ने उनको आफ्नो व्यक्तिगत राजनीतिक जीवनको कुरा हो । अब रह्यो, छोराको कुरा, ऊ पढ्दैछ । उसलाई राजनीतिमा अहिल्यै कुनै ‘इन्ट्रेष्ट’ छ जस्तो मलाई लाग्दैन । श्रीमती चुनाव लड्न लागिन् भनेर चर्चा गर्नुपर्ने कुनै प्रमुख विषय हो जस्तो मैले ठानेको छैन । हाम्रो संविधानमा महिलाहरू, दलित, मुस्लिम, आदिवासी लगायत सीमान्तकृत नागरिकलाई आरक्षणको व्यवस्था गरिएको छ । हामीले हाम्रो संविधानको समावेशी भावना अनुसार संविधान कार्यान्वयन गर्दै जानुपर्छ । 


यो निर्वाचनमा कांग्रेसको परिणाम कस्तो आउला ?
नेपाली कांग्रेस देशको सबभन्दा ठूलो पार्टी हुनेमा म ढुक्क छु । सकभर कांग्रेसको बहुमत आउँछ भन्ने लागेको छ । किनभने यो लडाइँ लोकतन्त्रवादी र वामपन्थी बीचको विचारको लडाइँमा परिणत भएको छ । वामपन्थीहरूले निर्वाचन जिते भने के होला भन्ने त्रास अहिलेबाटै जनतामा फैलिएको छ । निर्वाचन जितेपछि ५० औं वर्ष शासन गर्छौं भनेर उनीहरूले अधिनायकवादको संकेत दिएका छन् । लोकतन्त्रका लागि ७ दशकसम्म लडेका जनताले सूक्ष्म रूपमा कुरा बुझिरहेका 
छन् । लोकतन्त्रको विकल्प खोज्ने तत्त्व पराजित हुन्छन्, जनताले पराजित गर्छन् । अधिनायकवादको सपना नदेखे हुन्छ, कसैले । बहुमत आउन नसके पनि ठूलो पार्टी कांग्रेस बन्नेमा म ढुक्क छु । राप्रपा, मधेसी दल सबै लोकतन्त्र चाहने शक्तिहरू एकठाउँमा आउँदा निर्वाचनपछिको सरकार पनि कांग्रेसको नेतृत्वमा हुन्छ ।


कांग्रेस प्रतिपक्षमा बस्ने अवस्था आउन सक्छ भन्ने लाग्दैन ?
त्यो अवस्था आउँदैन । मैले अघि पनि भनेंँ– यो चुनाव सामान्य चुनाव होइन । यो भोलि नेपालको राजनीतिक व्यवस्था कस्तो हुने ? जनताले बनाएको संविधान नमान्नेहरू र जनताले बनाएको संविधान मान्ने बीचको लडाइँ पनि हो । कांग्रेस जनताले बनाएको संविधानमा विश्वास गर्छ । जनताको मतलाई आदेश मानेर हिंँड्ने कांग्रेस र जनताको लोकतन्त्रप्रतिको विश्वासप्रति कुठाराघात गरेर ५० औं वर्ष अधिनायकवादी शासन व्यवस्था चलाउने मनसाय बोकेका पक्ष बीचको यो संघर्षमा जनता कांग्रेसको साथमा छन् । सबैले ढुक्क भएर मतदान गरे हुन्छ । राणासँग, राजासँग, पञ्चायतसँग र अराजकतासँग लडेर स्थापित भएको लोकतन्त्र कसैले मास्न सक्दैन । कांग्रेस लोकतन्त्रको पहरेदारका रूपमा मजबुत स्थितिमा उभिएको छ । प्रतिपक्षमा बस्ने स्थिति आउँदैन । लोकतन्त्रको संस्थागत विकास र समृद्धिको नयाँ अभियान पनि कांग्रेसको नेतृत्वमा सम्पन्न हुन्छ ।


तपाईं शीर्षनेताहरू प्रचण्ड, केपी ओली, रामचन्द्र पौडेल, कृष्ण सिटौला, झलनाथ खनाल, माधव नेपाललाई जिताउन सहमति भएको हो ? कुरा त्यस्तै छ ।
यस्तो कुनै सहमति भएको छैन । यो निर्वाचन हो, निर्वाचनमा यसरी सहमति हुनसक्दैन । शीर्ष नेताहरू संसद्मा आउन् भन्ने कुरामा पनि जनताले फैसला गर्ने हो । अमूक–अमूक नेता मिलेर चुनाव जित्ने अनि अरू साथी कहाँ जाने ? लोकतन्त्रमा यस्तो हुनसक्दैन । जनताले जसलाई मत दिन्छन्, उसले जित्ने हो । कोही ठूला र सानो भन्ने कुरा हुनसक्दैन । जनमतको सबैले कदर गर्नुपर्छ । लोकतन्त्र पनि यही हो । लोकतन्त्रमा यस्तो मिलेमतो हुँदैन । त्यसो हो भने किन चुनाव गराउनुपर्‍यो ? ठूला नेता सबैलाई निर्विरोध गरिदिए भइगयो नि । जनतामा जाने हो । जनताको ‘म्यान्डेट’ लिएर आउनुपर्छ ।


तपाईंले संविधान कार्यान्वयन हुने निर्वाचन सम्पन्न गर्दै हुनुहुन्छ, कस्तो महसुस भएको छ ?
राजनीतिक जीवनमा धेरै खुसीका क्षण आए होलान् । तर यो ऐतिहासिक जिम्मेवारी मेरो नेतृत्वमा भइरहेको छ, जसबाट म पूर्णरूपमा सन्तुष्ट छु । ऐतिहासिक स्थानीय निर्वाचन भयो । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भयो । अब दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि लोकतन्त्रको जग मजबुत हुन्छ । देशले स्थिर राजनीतिक व्यवस्था पाउँछ, जसले गर्दा अब देश समृद्धिको दिशातिर उन्मुख हुन्छ । कांग्रेसको नेतृत्वमा संविधान बन्यो र संविधान जारी भयो, यसको संस्थागत विकास पनि कांग्रेसको नेतृत्वमा भइरहेको छ । कांग्रेस सभापतिका नाताले मेरो नेतृत्वमा संविधान कार्यान्वयनको चरण पूरा भइरहेको छ, यसमा खुसी नहुने कुरै भएन । अझै सबै थोक पूरा भइसकेको भने होइन । कांग्रेसले आर्थिक समृद्धिका कुरा उठाएको छ । 
अब हामी संघीय संरचनामा गएका छौं । सबै क्षेत्रमा आफ्नै किसिमका अवसर र चुनौती छन् । सम्भावना छन् । सबै अवसर र सम्भावनालाई योजनाबद्ध रूपमा अगाडि बढाएर मुलुकलाई 
आर्थिक समृद्धिको मार्ग अगाडि बढाउनु आवश्यक छ । कांग्रेसका भावी कार्यक्रमहरू यही दिशातिर लक्षित हुनेछन् ।

 

 

 

प्रकाशित : मंसिर १८, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?