कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कान्तिपुुर अन्तर्क्रिया : ‘अबको प्राथमिकता आर्थिक मुद्दा’

काठमाडौँ — मुलुक प्रादेशिक संरचनामा गएपछि विकासका मुद्दाहरु पनि यसैअनुसार अघि बढ्ने अवस्थामा प्रदेशस्तरमा यसबारे गम्भीर छलफल र बहस हुन थालेको छ । प्रदेशगत रूपमा भएका विशेषता र सामथ्र्यलाई कसरी समृद्धि प्राप्तिमा उपयोग गर्ने भन्नेबारे सबैको चासो र चिन्ता छ ।

कान्तिपुुर अन्तर्क्रिया : ‘अबको प्राथमिकता आर्थिक मुद्दा’

यस्तो सामूहिक चिन्तालाई अब प्रदेश विकासमा सकारात्मक रूपले उपयोग गर्दै अघि जानुपर्ने अवस्था देखिन्छ । यही सेरोफेरोमा कान्तिपुर मिडिया ग्रुपले शुक्रबार प्रदेश नं १ को अस्थायी मुकाम तोकिएको विराटनगरमा बृहत् छलफल आयोजना गरेको थियो । छलफलका सहभागीले प्रदेश समृद्धिलगायत विषयमा राखेका धारणाको सम्पादित अंश :


प्रदेश १ अत्यधिक सम्भावना भएको प्रदेश हो । रानी–किमाथांका सडक बनेपछि चीन, भारत, भुटान, बंगलादेशको ट्रान्जिट प्वाइन्ट बन्छ । औद्योगिक विकासको उद्गमस्थल यो क्षेत्रलाई विशेष आर्थिक क्षेत्र बनाएर व्यापरिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ । जडीबुटीको पर्याप्त स्रोत भएकाले यसमा आधारित उद्योगको सम्भावना छ । प्रदेश नम्बर १ मानव संसाधन विकास सूचकांकमा मुलुकमा प्रदेश ३ पछि दोस्रो स्थानमा छ । यस प्रदेशका विशेषज्ञहरू काठमाडौंलगायत ठाउँमा पलायन भएका छन् । अहिले चीन र भारतले विदेशमा रहेका आफ्ना देशका वैज्ञानिकहरूका लागि स्टिमुलस प्याकेज ल्याएर आफ्नै देशमा फर्काइरहेका छन् । त्यसरी नै यस प्रदेशका विशेषज्ञलाई पनि फर्काउनुपर्छ ।

***

प्रदेशको विकासका लागि भौतिक संरचनाका साथै यहाँका कृषि क्षेत्रमा ‘कन्ट्रयाक्ट फार्मिङ’ को अवधारणा ल्याएर उत्पादन बढाउनुपर्छ । यो अवधारणाले विदेश पलायन भएका युवा जनशक्तिलाई फर्काएर यहीँ व्यावसायिक रूपमा कृषि कर्ममा संलग्न गराउन सक्छ । कृषिजन्य उत्पादनमा अहिलेको आयातमुखी अवस्थालाई पुन: निर्यातमुखी बनाउनसके मात्रै समृद्ध प्रदेशको निर्माण सम्भव हुन्छ किनभने १० वर्षअघिसम्म हामी धानचामल विदेश निर्यात गरिरहेका थियौं तर अहिलेको अवस्था युवाजति विदेश र धानचामल भारतबाट ल्याएर खान बाध्य छौं । जग्गा बाँझो बन्दै गइरहेको छ ।

***

समृद्ध देश र प्रदेश निर्माणका लागि राजनीतिकभन्दा आर्थिक तथा कृषि अर्थतन्त्रका मुद्दालाई मिडियाले प्राथमिकतामा राख्नु आवश्यक छ । चीन र भारतको नाका जोड्ने सडकको निर्माणकार्य चाँडै सम्पन्न गरेर विराटनगर क्षेत्रलाई चीन, भारत, भुटान, बंगलादेशको व्यापारिक केन्द्र बनाउने पर्याप्त सम्भावना छ । प्रदेश १ को मोरङ, झापा र सुनसरीमा रहेको खेतीयोग्य जग्गाको उपयोगको नीति ल्याउनुपर्छ । किसानलाई सिंचाइलगायत पर्याप्त सुविधा उपलब्ध गराएर उत्पादन बढाउँदै खाद्य सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ । विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरमा तत्काल स्तरोन्नति गरिनुपर्छ । विराटनगरको चक्रपथ तत्काल पूरा गरिनुपर्छ ।

***

मुलुक संघीयतामा गइसकेकाले कान्तिपुर पनि त्यसैअनुसारको संरचनामा गएर प्रदेश प्रकाशन गर्दा प्रदेशका सामाचारले प्राथमिकता पाउने थियो र यहाँको विकासमा टेवा पुग्ने थियो । अब पत्रिकामा आर्थिक पेज थप गरेर आर्थिक समाचारलाई प्राथमिकतामा राख्न आग्रह छ । मुलुक र प्रदेशको समृद्धिका लागि आर्थिक विकास आवश्यक छ । मुलुकको आर्थिक विकासमा विराटनगरको योगदान महत्त्वपूर्ण भएकाले यहाँको विकासलाई प्राथमिकतामा राख्नु आवश्यक छ । प्रदेश सरकारले आर्थिक समृद्धिको पाटोमा एक कदम अघि बढेर नीति निर्माण गर्नुपर्छ, जसले यस प्रदेशलाई समृद्ध बनाउन सबै ढोका प्रयोग गर्न सहज होस् । समृद्धि सबैको प्रयासमा हुने कुरा हो ।

***

प्रेस स्वतन्त्रता र उद्योगका बीचमा तालमेल मिलाएर अगाडि बढ्नु आवश्यक छ । मिडियाका समाचारहरू सन्तुलित बनाउनु आवयक छ । समाचारलाई विचारमुखी नबनाइदिए मिडिया क्षेत्र मर्यादित हुने थियो । पत्रिकामा विचार छाप्दा एउटै विषयका पक्ष र विपक्ष दुवै विचार सँगै छाप्दा पाठकलाई सही कुरो बुझ्न सहज हुने थियो । एकतर्फी तर्क भएका एकपक्षीय कुराले पाठकलाई भ्रमित पार्न सक्छ । कुनै पनि विषयको विचार राख्दा अर्को पक्षको कुरा पनि राख्नसके पाठकले तुलना गरेर आफ्नो धारणा बनाउन सक्नेछन् । यसमा ध्यान दिनसके सही सूचना पाठकसम्म पुग्न सक्नेछ ।

***

महिलाको लेखले मिडियामा प्राथमिकता पाइरहेका छन् । यो अवसर अझै बढाउनुपर्छ । मिडियामा सबै क्षेत्र, भाषा, धर्म, संस्कृति र वर्गलाई समेट्नुपर्छ । मिडियामा अधिकांश सेलिब्रेटी महिलाले मात्रै स्थान पाइरहेकाले सर्वसाधारणलाई पनि स्थान दिई यसको दायरा फराकिलो पार्नु आवश्यक छ । सहरका निश्चित वर्गका महिलाको मात्र कुरालाई प्राथमिकता दिनु हुँदैन । गाउँ–गाउँमा रहेका महिलाको आवाज उठाइनुपर्छ । उनीहरूलाई अवसर दिन कन्जुस्याइँ गर्नु हुँदैन । महिलालाई प्रोत्साहित गर्ने सामग्री मिडियामा आउनुपर्छ । परम्परागत शैलीको पत्रकारितामा परिवर्तन आवश्यक छ । समाजमा उठिरहेको आवाजलाई पत्रकारहरूले सामाचारको विषय बनाउनुपर्छ ।

***

राजनीतिक सामाचार बढी प्राथमिकतामा पर्दै आएको छ । तर अब आर्थिक समाचारलाई पनि प्राथमिकतामा राख्नु आवश्यक भइसकेको छ । ठूला पार्टीहरू काठमाडौं केन्द्रित भएकाले मिडियाहरूको पहिलो प्राथमिकता पनि काठमाडौं नै रहँदै आएको छ तर अब मुलुक संघीयतामा गइसकेकाले प्रदेश र प्रदेश राजधानीलाई प्राथमिकतामा राख्नुपर्छ । प्रदेश राजधानीलगायत समग्र प्रदेशको विकासको अपेक्षा भएका सर्वसाधारणका लागि प्रदेश सरकार, कर्मचारीतन्त्रले कसरी काम गर्छ र त्यसमा मिडियाले कस्तो भूमिका निर्वाह गर्छ, त्यसमै प्रदेशको समृद्धि निहित हुन्छ । देश र प्रदेशको विकास नहुने कारण र भएको सम्भाव्यताका बारेमा मिडियाले आम पाठकलाई साक्षात्कार गराउनुपर्छ । मिडियाले देश र प्रदेशको विकास कसरी हुन्छ भन्ने पनि जानकारी दिनु आवश्यक छ ।

***

प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई ‘ग्रेटर विराटनगर’ बनाएर विकास गर्न सकेमात्रै स्थायी राजधानी बन्न सक्छ । अब सबैलाई समृद्धिको बाटोमा लाग्नु आवश्यक छ । सबैले राष्ट्रिय स्वाभिमानका लागि एकजुट भएर लाग्नुपर्छ । पर्सामा सीमास्तम्भ सारेर नेपालको ५० बिघा जग्गा भारतमा गएको छ । यस्तोमा चनाखो हुनुपर्छ । खबरदारी गरिरहनुपर्छ । यो संघीयता मास्न नदिन सबैलाई बेलैमा ख्याल गरेर अगाडि बढ्नु जरुरी छ । अत्यन्तै संवेदनशील क्षेत्र मिडियाले भड्काउपूर्ण कुरोभन्दा पनि राष्ट्रिय एकता निर्माण गर्ने सामग्री पस्किनुपर्छ । स्वस्थ जनमत बनाउनेखालका समाचार र विचार पाठकसमक्ष राख्नुपर्छ ।

***

नेपाललाई विश्वमा चिनाउने सर्वोच्च शिखर सगरमाथा भएको प्रदेश १ हो । त्यसैले यसलाई त्यसै रूपमा समृद्ध बनाउन सबैको भूमिका आवश्यक छ । संसारका सबै मिडियामा राजनीति नै पहिलो प्राथमिकतामा हुन्छ । यहाँका मिडियाले अब राजनीतिभन्दा पनि आर्थिक राजनीतिलाई प्राथमिकतामा राख्नुपर्छ । मिडियाले भ्रष्टाचार, अनुसन्धान र विकासमूलक समाचारलाई प्राथमिकतामा राख्नुपर्छ । संघीयता जगेर्नाका लागि मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सरकारबाट भइरहेका कमीकमजोरीलाई औंल्याउने र खबरदारी गरिरहने हो भने विकृति रोक्न सकिन्छ । यसमा सबै पक्षले ध्यान दिनुपर्छ । अझ सञ्चार माध्यमको त मुख्य भूमिका नै यही हो ।

***

औद्योगिक विकासले गति लिइरहेकाले यो प्रदेश चाँडै समृद्ध बन्छ । मुलुकमा विदेशी लगानी भित्रने क्रम बढेको छ । चालु आर्थिक वर्षको छ महिनामा १३ अर्ब ७० करोड विदेशी लगानी भित्रिएको छ जसमध्ये ५ अर्ब ७० करोड उत्पादनमुखी उद्योगमा लगानी भएको छ । यो सकारात्मक कुरो हो । यसले व्यापारघाटा न्यूनीकरणमा मद्दत पुर्‍याउँछ । मुलुकमा कृषिजन्यलगायत उत्पादन बढाउन आवश्यक छ । स्वदेशी लगानीका लागि प्रोत्साहित गर्न‘पर्छ । स्वदेशी लगानी हुने क्षेत्रमा विदेशी लगानी भित्र्याएर स्वदेशी लगानीकत्र्तालाई हतोत्साहित नहुने किसिमको नीति ल्याउनु आवश्यक छ ।

***

विराटनगरको विकाससँगै प्रदेश १ को विकास सम्भव छ । यहीँबाट आर्थिक विकासको आवधारणा कार्यान्वयन गरिनुपर्छ । मिडियाले आर्थिक क्षेत्रलाई प्राथमिकता दिन थालेपछि सरकार पनि प्राथमिकतामा राख्न बाध्य हुने छ । पर्याप्त प्राकृतिक स्रोत र सम्भावना भएको यो प्रदेशलाई समृद्ध बनाउन सबैले आआफ्ना ठाउँबाट लागिपर्ने हो भने विकास टाढा छैन । स्रोत परिचालन गर्न सक्नुपर्छ । औद्योगिक वातावरण बनाउनुपर्छ । लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । यसले रोजगारी पनि सिर्जना हुन्छ । आर्थिक विकास भए मात्र समाजमा शान्ति पनि कायम हुन्छ । सधैं राजनीतिक कुरा मात्रै भइरहे जनतामा निराशा छाउन सक्छ । यसैले आर्थिक विकासमा सबैले ध्यान दिनुपर्छ ।

***

सम्भावना नै सम्भावना भएको प्रदेश १ नम्बर हो । यहाँ उद्योग, व्यवसाय, पर्यटनको अत्यन्तै सम्भावना भएकाले यसमा ध्यान दिनुपर्छ । अब विकासको ठोस योजनाका साथ अघि बढ्नुपर्छ । उद्योगहरू खोलिनुपर्छ । यसबाट रोजगारी सिर्जना गर्न सकिन्छ र युवा शक्तिको विदेश पलायनलाई निरुत्साहित गर्न सकिन्छ । युवालाई व्यावसायिक खेतीमा लगाएर सिर्जनशील बनाउन सकिन्छ । कृषिमा आधुनिकीकरण गर्नुपर्छ । सञ्चार माध्यमले पनि विकासका कुरालाई प्राथमिकतासाथ पस्कन सक्नुपर्छ । सधैं नकारात्मक कुरा मात्र सुन्दा, पढ्दा निराशा ल्याउन सक्छ । महिलाका कुरालाई अझ प्राथमिकता दिएर समाचार सामग्री तयार पार्दा राम्रो हुन्छ ।

***

विराटनगरलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नु आवश्यक छ । यहाँका सडकलगायत भौतिक संरचना निर्माणमा तीव्रता ल्याउन जरुरी छ । ग्रामीण क्षेत्रका सडक, बाटो, ढल, सरसफाइलगायत समस्या समाधानका लागि सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण आवश्यक छ । यहाँका सहरहरूको ट्राफिक जामको समस्या र सिटी रिक्साको व्यवस्थापन गरेर सहज यातायात व्यवस्था गरिनुपर्छ । विकास कोही एक पक्षले मात्र गरेर सम्भव हुने कुरा होइन । यसमा सबै क्षेत्र र वर्गको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने भएकाले सबैले आआफ्नो क्षेत्रबाट इमानदारीसाथ काम गर्ने हो भने प्रदेश मात्र होइन, देशकै समृद्धि पनि धेरै टाढा छैन । खासगरी युवा शक्तिलाई विकासका काममा सक्रिय गराउन सक्नुपर्छ ।

***

बैंकिङ क्षेत्रमा दिनप्रतिदिन बढिरहेको ब्याजदरले यहाँका उद्योगी व्यवसायी मर्कामा परेका छन् । उद्योग क्षेत्र मर्कामा पर्दा असर सिधै उपभोक्तासम्म आइपुग्छ । बैंकिङ क्षेत्रका सकारात्मक र नकारात्मक कुरालाई विश्लेषणात्मक रूपमा सामाचार बनाएर पाठकसमक्ष ल्याइनुपर्छ । यो प्रदेशका सम्भावना भएका क्षेत्रलाई सामाचारको विषय बनाएर सम्बन्धित सबैलाई सुसूचित गर्नु आवश्यक छ । आर्थिक विकास भन्ने कुरा कुनै एक पक्षले मात्र गरेर हुने होइन । यसमा सबैले भरथेग गर्नुपर्छ । खासगरी सञ्चार माध्यमले ंआर्थिक सम्भावना र यसको विकासका कुरालाई नीतिनिर्मातासम्म पुर्‍याउन प्रयास गरिरहनुपर्छ । कमीकमजोरी औंल्याएर सुधार गर्नेतिर ध्यानाकर्षण गराउनुपर्छ ।

***

नगदेबाली उत्पादनमा अग्रणी जिल्लाहरू यो प्रदेशमा छन् । अलैंचीजस्ता धेरै मूल्य आउने खेतीलाई प्रोत्साहन गर्नुपर्छ । कृषि उपजले राम्रो मूल्य पाउने अवस्था आए किसान लाभान्वित हुन्छन् । गाउँ–घरमा हुने सानातिना आर्थिक गतिविधि पनि महत्त्वपूर्ण हुन्छ । यस्ता कुरालाई प्राथमिकता दिनुपर्छ । अर्थतन्त्रको मेरुदण्ड कृषि, जलस्रोत र पर्यटन हो । यी तीनैवटा कुराको यो प्रदेशमा पर्याप्त सम्भावना छ । यसैमा लगानी गरेर अधिकतम लाभ लिन सकिन्छ । यसैगरी उपभोक्ताको हितलाई ख्याल गरी सबैले काम गर्न आवश्यक छ । उपभोक्ता आवाजलाई मजबुत पार्न मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ ।

***

भाषा, साहित्य, कला, संस्कृति सबै भएपछि मात्रै देश पूर्ण हुन्छ । त्यसैले मिडियाले भाषा, साहित्य, कला, संस्कृतिलाई मर्यादित स्थान दिनुपर्छ । मुलुक संघीयतामा गइसक्दा पनि मिडियाले काठमाडौं केन्द्रित विषयवस्तुलाई प्राथमिकता दिइरहेकाले अब प्रादेशिक संस्करण ल्याएर प्रदेश र मोफसलको समाचारलाई प्राथमिकता दिनु आवश्यक छ । साहित्य, कला र संस्कृतिलाई पनि महत्त्व दिनुपर्छ । समाचारमा प्रयोग भइरहेको भाषा अलि नमिल्दो र अस्वाभाविक लाग्छ । यसलाई मर्यादित रूपमा सुधार गरिनुपर्छ ।

***

श्रम र पुँजी बजारका समाचारलाई विशेष प्राथमिकता दिनुपर्छ । पुँजी बजारको विश्लेषणात्मक समाचार आवश्यक छ । प्रदेश १ को विकासका लागि सबैले इमानदारीपूर्वक लाग्न सक्नुपर्छ । भएका स्रोत र साधनको उचित प्रयोग गर्न सके प्रदेश समृद्ध हुन धेरै समय लाग्दैन । कम पुँजी र कम लागतमा उत्पादन गर्न सकिने सम्भावना भएका थुप्रै स्रोतसाधन यस प्रदेशमा छन् । पर्यटनलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्छ । यो क्षेत्रमा उत्पादन हुने चियाको ब्रान्डिङ गर्दै प्रभावकारी रूपमा बजारीकरण गरे धेरै फाइदा लिन सकिन्छ ।

***

विराटनगरलगायत सहरहरूलाई व्यवस्थित रूपमा विकास गरिनु आवश्यक छ । स्थानीय तहले इमानदारीपूर्वक काम गरिदिएर भौतिक संरचना निर्माण गर्न आवश्यक छ । समाजलाई विकृतिमुक्त पार्न सबैले एक भएर लाग्नुपर्छ । युवा शक्तिलाई उपयोग गरी उत्पादनमूलक काममा लगाउनसके कामका लागि बिदेसिनुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ । उनीहरूको श्रम र सीप स्थानीय रूपमै उपयोग गर्नसके आर्थिक उन्नति धेरै टाढाको विषय होइन । यसमा नीतिनिर्माताको ध्यान जान जरुरी छ । मुलुकमा धेरै राजनीतिक परिवर्तन भइसकेको छ । अब पालो आर्थिक उन्नतिको हो ।

***

प्रदेशको अस्थायी राजधानी घोषणासँगै चुनौती पनि थपिएका छन् । यी चुनौती सामना गर्न कसैको एक्लो प्रयास पर्याप्त हुँदैन । सबको सहकार्यबाट मात्र प्रदेश एउटा समृद्ध क्षेत्र बन्न सक्छ । महिलालाई विशेष प्राथमिकता दिएर अघि बढाउनु आवश्यक छ । महिला अघि नबढुन्जेल समाजको विकास हुन सक्दैन र समाजको विकास नभए प्रदेश र देशको विकास हुन सक्दैन । विकासमा महिलाको भूमिका महत्त्वपूर्ण हुन्छ भन्नेमा दुईमत छैन । त्यसैले अवसरका लागि प्रोत्साहन गरिनुपर्छ ।

***

मुलुकले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको छ । मातृ तथा शिशु मृत्यु दरलगायत क्षेत्रमा यहाँ उल्लेखनीय काम भएको छ । भारतलगायत अन्य मुलुकको महँगो स्वास्थ्योउपचार सेवा हाम्रा मुलुकका स्वास्थ्य संस्थाले सस्तो, सहज र सुलभ रूपमा सेवाग्राहीलाई प्रदान गरिरहेका छन् । स्वास्थ्य क्षेत्रमा भएका राम्रा कामले पनि मिडियामा प्राथमिकता पाउनुपर्छ । अलिकति कमीकमजोरी भए प्राथमिकतामा राखेर एकपक्षीय समाचार दिनु हुँदैन । पाठक सचेत भएकाले त्यसैअनुसारका सामग्री प्रस्तुत गर्नुपर्छ । अब सबै क्षेत्रका समाचारले उत्तिकै प्राथमिकता पाउनुपर्छ ।

***

मुलुकमा प्राप्त भएको उज्यालोलाई संरक्षण गर्दै बाँकी अँध्यारालाई चिर्दै अघि बढ्नु आवश्यक छ । यो प्रदेशको सबैभन्दा सम्भावनायुक्त क्षेत्र पर्यटन हो । यसको विकासमा विशेष रूपमा ध्यान दिनुपर्छ । पूर्वाधार विकासमा ध्यान दिनुपर्छ । सरकारले विशेष ध्यान दिए पर्यटनबाट धेरै लाभ लिन सकिन्छ । यसैगरी कृषि, पर्यटनजस्ता कुरालाई समाचारमा प्राथमिकता दिनुपर्छ । साना व्यवसाय पनि आर्थिक गतिविधिका लागि महत्त्वपूर्ण हुने भएकाले यसमा पनि ध्यान दिन जरुरी छ । व्यवसायीलाई प्रोत्साहन गर्ने नीति ल्याइनुपर्छ । यसो भए गाउँगाउँसम्म आर्थिक गतिविधि अझ बढेर जानेछ र यसले ग्रामीण क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्छ ।

***

मिडियामा विकासका सामाचारले विशेष प्राथमिकता पाउनुपर्छ । विकासका लागि ठोस नीति आवश्यक छ । नीतिनिर्मातालाई झकझकाउने किसिमले विश्लेषणात्मक सामाचार पस्कनुपर्छ । संवेदनशील विषयमा विशेष प्राथमिकतासाथ समाचार सम्प्रेषण भइदिए समस्या समाधानमा सहजता प्राप्त हुन्छ । आर्थिक विकास नै मुलुक र प्रदेशको समृद्धिका लागि महत्त्वपूर्ण कुरा हो । सबै पक्षले विकासमा हातेमालो गर्नुपर्ने बेला आइसकेको छ ।

***

प्रदेशको समृद्धिका लागि भाषा, साहित्यको विकास आवश्यक छ । भौतिक विकाससँगै भाषा साहित्यको विकास महत्त्वपूर्ण हुन्छ । सबै भाषाभाषीले एकअर्काको भाषा, धर्म, संस्कृतिको संरक्षण र संवद्र्धनका लागि काम गरिदिए समाजिक सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विभिन्न भाषामा योगदान पुर्‍याउनेलाई प्रोत्साहित गर्न कान्तिपुरको भूमिका महत्त्वपूर्ण हुन सक्छ । यसका साथै भाषा, धर्म, संस्कृति र कलाका क्षेत्रको विकासका लागि लगानीको ग्यारेन्टी भइदिए प्रदेश समृद्ध बन्न सक्छ ।

***

आर्थिक विकास नै मुख्य एजेन्डा हुनुपर्छ । युवा उद्यमीलाई प्रेरित गर्न सक्नुपर्छ । यसो भए उनीहरूको सीप स्वदेशमै उपयोग हुने वातावरण बन्छ । विदेश पलायन रोकिन्छ । यस्तै सामग्री मिडियाले दिनुपर्छ । युवा शक्ति नै विकासको मूल आधार भएकाले उनीहरूलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्नेखालको नीति प्रदेश र केन्द्रीय सरकारले पनि अवलम्बन गर्न सक्नुपर्छ । युवालाई सकारात्मक काममा उपयोग नगरे उनीहरू बहकिन सक्छन् र यसले समाजमा नकारात्मक गतिविधि बढ्न सक्छ भन्ने ख्याल गर्नुपर्छ ।

***

कुन क्षेत्र, कुन प्रदेशमा के सम्भावना छ भन्नेबारे मिडियाले समाचार सम्प्रेषण गरिदिए लगानीकर्ता सुसूचित भएर लगानी गर्न आकर्षित हुन सक्ने वातावरण बन्छ । अन्तर–प्रदेश लगानीको नीति आवश्यक छ । उद्योगी, व्यवसायीलगायत पक्षले गम्भीरतापूर्वक भूमिका निर्वाह गर्नु आवश्यक छ । मुलुक प्रादेशिक संरचनामा गइसकेकाले कान्तिपुर मिडिया ग्रुपले पनि सोहीअनुसारको संरचना निर्माण गरेर प्रादेशिक संस्करण प्रकाशन, प्रसारण गर्नु आवश्यक छ । यसो भए सबैले आफ्ना समस्या सार्वजनिक रूपमा राख्न सक्ने वातावरण बन्छ ।

***

आर्थिक समृद्धिको वातावरण तयार गर्न सबै पक्षको भूमिका अपरिहार्य छ । भौतिक संरचनाको विकास गरी यहाँका पर्यटन, कृषि, उद्योग, व्यवसाय, जलविद्युत लगायत क्षेत्रको विकासमा जुट्नुपर्छ । प्रादेशिक सरकारले ठोस नीतिनियम बनाउनुपर्छ । सम्भावना मात्र भएर पुग्दैन, त्यस्ता क्षेत्रमा पूर्वाधार विकास गर्दै आर्थिक लाभ लिन सक्नुपर्छ । यसको विकासका लागि कान्तिपुर मिडिया ग्रुपको समेत भूमिका अपरिहार्य छ ।

***

ठोस नीति ल्याएर एक द्वार प्रणालीमा अघि बढ्नुपर्छ । मिडियाको भूमिका सबै क्षेत्रमा स्पष्ट दृष्टिकोण निर्माण गर्न मद्दत मिल्ने समाचार सामग्री पस्कनु हो । आर्थिक विकासको मुद्दालाई प्राथमिकता दिनुपर्छ । शिक्षा क्षेत्रमा गर्न सकिने सुधारका काम गर्न ढिलाइ गर्नु हुँदैन । प्रदेशमै गुणस्तरीय शिक्षाको अवसर सिर्जना गरिनुपर्छ । पढ्नकै लागि राजधानी र अन्यत्र गइरहनुपर्ने अवस्था अन्त्य हुनुपर्छ । प्रदेश सरकार र संसद्ले प्रदेशको विशेषताका आधारमा नीति निर्माण गर्नुपर्छ ।

प्रस्तुति : माधव घिमिरे

प्रकाशित : माघ ७, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?