कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सभापतिमा देउवासँगको प्रतिस्पर्धामा मै हुन्छु : कांग्रेस महामन्त्री कोइराला

काठमाडौँ — चुनावमा पार्टीको हारपछि नेपाली कांग्रेसभित्र अहिले सभापति शेरबहादुर देउवाविरुद्ध खनिने र उनको प्रतिरक्षा गर्नेहरुको जमात नै बनेको छ । तर, महामन्त्री शशांक कोइराला भने मौन छन् । उनी पार्टी हार्नुको कारण एउटा मात्रै नभएको बताउँछन् ।

सभापतिमा देउवासँगको प्रतिस्पर्धामा मै हुन्छु : कांग्रेस महामन्त्री कोइराला

'पार्टी हार्नुमा एउटै कारण छैन । टिकट वितरण, आन्तरिक घात प्रतिघात र वाम गठबन्धन मुख्य कारण हुन् । शेरबहादुरजीले पार्टीलाई जुन रूपमा हाँक्नुपर्ने थियो, त्यो पनि सक्नुभएन ।' कोइरालासँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।


निर्वाचनको हारपछि कांग्रेस कसरी अघि बढ्छ ?


कांग्रेसको केन्द्रीय कार्यसमितिमा साथीहरूले आआफ्ना कुराहरू राखिराख्नुभएको छ । त्यहाँभित्र गुटबन्दीका कुराहरू छन् । तर, म गुटबन्दीभन्दा माथि उठ्नुपर्छ भन्ने ठान्छु । अहिले हामी प्रतिपक्षमा पुगेका छौं । प्रतिपक्षको भूमिका राम्रो बनाउन पनि पार्टीलाई संगठित भएर अघि बढाउनुपर्ने आवश्यकता छ । संगठित भयौं भने मात्रै हामी बलियो हुन्छौं । त्यसका लागि हामी गुट/उपगुटबाट माथि उठेर काम गर्नुपर्ने हुन्छ ।


त्यसका लागि तत्कालको रोडम्याप के त ?


सबभन्दा पहिला हामीले विधानमा परिवर्तन गर्नुपर्छ । संघीय संरचनाअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्नुपर्छ । अबको एक महिनाभित्र हामी महासमिति बैठक गर्छौं । त्यतिबेला विधान संशोधन हुन्छ । अहिले विधान संशोधनका लागि मस्यौदा समिति बनाएर काम अघि बढाउनेबारे कुराकानी भइरहेको छ ।


निर्वाचनमा पार्टीले पराजय भोग्नुमा धेरैका धेरै थरी विचार आए । खासगरी सभापतिको आलोचना गर्ने र आलोचनाबाट बचाउने काममा केन्द्रीय कार्यसमितिको बैठक ध्रुवीकृत छ । यसबीचमा तपाईं कहाँ हुनुहुन्छ ?


पार्टी हार्नुमा एउटै कारण छैन । विभिन्न कारण छन् । टिकट वितरण, आन्तरिक घात प्रतिघात र वाम गठबन्धन मुख्य कारण हुन् । निर्वाचनमा जसरी जानुपर्‍थ्यो, जान नसकेको साँचो हो । हाम्रो कुनै रणनीति भएन । लोकतान्त्रिक शक्ति एकै ठाउँमा उभिने त भन्यौं तर त्यो पनि सम्भव भएन । शेरबहादुरजीले पार्टीलाई जुन रूपमा हाँक्नुपर्ने थियो, त्यो पनि सक्नुभएन । समयमै केन्द्रीय समितिमा पूर्णता, पदाधिकारी मनोनयन, विभागहरू गठन गर्नुपर्‍थ्यो । देउवाजीले गर्न सक्नुभएन । सरकारको नेतृत्वमा छँदा पनि राम्रो काम भएन । राजदूत नियुक्ति, आईजीपी प्रकरण, महाअभियोग दर्ता जस्ता अलोकप्रिय निर्णयले हामीलाई कमजोर बनाउने काम गर्‍यो । निर्वाचन हार्नुमा यी सबै कारण जोडिएका छन् ।


महामन्त्रीको हैसियतमा तपाईंले सभापतिलाई पदाधिकारी मनोनयनदेखि विभाग गठन गर्नका लागि कहिल्यै भन्नुभएन भन्ने छ नि ?


धेरैपटक भनें । विभाग गठन भएपछि नै पार्टी संगठित हुने हो । अहिले त संगठन विभाग पनि छैन, नीति निर्माण बनाउने विभाग खाली छ । विदेश विभाग हेर्ने निकाय छैन । जनसम्पर्क समिति हेर्न पनि छैन । ४२ विभाग गठन नै नभई निर्वाचनमा गयौं । तर पनि यसमा शेरबहादुरजीलाई मात्रै दोष दिएर हुँदैन भन्ने मेरो धारणा हो । हामी पनि यी दोषका भागीदार हौं । शेरबहादुरजीलाई मात्रै आक्रमण गरेर पार्टी कहाँ पुग्छ ? त्यसैले अहिले हामीले सबैले पार्टीलाई गुट/उपगुटभन्दा माथि उठाउने र संगठन बनाउने काममा ध्यान दिनुपर्छ ।


निर्वाचनमा पार्टीको पराजय भएपछि नेतृत्व परिवर्तनसम्मको कुरा उठेको छ । तपाईंको समूहका नेताहरूले नेतृत्व परिवर्तनसम्मको विषय उठाउनुभएको छ । तपाईं के भन्नुहुन्छ ?


अहिले नेतृत्व परिवर्तन होइन, पार्टीलाई मिलाएर कसरी अघि बढ्ने भन्ने मुख्य चिन्ता हो । १४ औं अधिवेशनबाट नयाँ नेतृत्व आइहाल्छ । अहिले नै नेतृत्वलाई निकालेर केही हुन्न । फेरि पार्टी हार्नुमा शेरबहादुरजीको मात्रै कमजोरी छ भन्ने होइन । हाम्रो पनि कमजोरी छ । त्यसैले पार्टीलाई उपगुटभन्दा माथि उठाएर १४ औं महाधिवेशनसम्म एकढिक्काको कांग्रेस बनाउनुपर्छ ।


तपाईं त पछिल्लोपटक पार्टी सभापति देउवाकै कित्तामा उभिनुभयो भन्ने आलोचना तपाईंकै समूहबाट बारम्बार उठेको छ । त्यस्तै हो ?


सभापति देउवा मभन्दा वरिष्ठ नेता हो । त्यो हिसाबले भनिएको हो भने ठीकै हो । तर, उहाँले गरेको सबै गल्तीलाई मैले ढाकछोप गर्ने कुरा आउँदैन । उहाँले धेरै गल्ती गर्नु भइसकेको छ । महामन्त्री भनेको पद सभापतिको सहयोगी पनि हो । त्यो भूमिकालाई मैले बुझेको छु । तर, गल्तीको नाममा म कसैको पिछलग्गु हुने कुरा हुन्न । सभापति देउवाले गल्ती गरिसक्नुभएको छ । त्यसलाई सुधार गरेर जानुपर्छ । मैले गल्ती भएका कुरा भेटेरै भन्ने गरेको छु । सच्याउने ठाउँ हुँदाहुँदै आलोचना मात्रै गरेर पनि त पार्टी बलियो हुन्न ।


निर्वाचनमा पार्टी पराजय भएपछि पनि तपाईं सभापतिका गल्तीहरूलाई ढाकछोप गरेर केही पनि नबोली बस्नुभएको भन्ने आरोप छ नि ?


नबोलेको होइन । भेटेरै भन्ने गर्छु, सार्वजनिक रूपमा मात्रै म नबोलेको हो । म पार्टीभित्रको गुट/उपगुट अन्त्य गर्न कसरी सकिन्छ भन्ने भूमिकामा छु । गुट अन्त्य गर्न सकियो भने धेरै समस्या हल गर्न सकिन्छ भन्ने पक्षमा छु । सामूहिक रूपमा सभापतिलाई तल पारेर महामन्त्रीको हैसियतले बोल्न पनि हुन्न । १४ औं महाधिवेशन कसरी अघि बढ्ने भन्नेबारे पछि मेरो आफ्नो विचार प्रस्ट नै हुनेछ ।


तपाईंले संसदीय दलको नेतामा सर्वसम्मतका लागि पार्टी सभापति देउवासँग सहयोग माग्नुभएको थियो ?


हो, म नवलपरासी गएको थिएँ । फर्कनेबित्तिकै म सीधै शेरबहादुरजीकोमा गएँ । म जानासाथै शेरबहादुरजीले म दलको नेता उठ्न लागें, सहयोग गर्नुहोस् भन्नुभयो । मैले आफ्नो कुरा राख्नै पाइनँ । म मलाई नै सर्वसम्मत बनाउनुहोस् भन्न जाँदै थिएँ । तर, उहाँले पहिला सहयोग मागेपछि मैले के भन्ने ? तैपनि सर्वसम्मत गराएर जानुहोस् भनेर फर्कें ।


तपार्इं १४ औं अधिवेशनमा देउवाको समर्थनमै पार्टी सभापतिको उम्मेदवार बन्ने चर्चा सुनिन्छ नि ?


यो गलत हो । मलाई लाग्छ, उहाँ आफैं फेरि पनि पार्टी सभापतिमा उठ्नु हुन्छ । मेरो आफ्नै परिचय छ । म कसैको पिछलग्गु हुँदिनँ । महामन्त्रीको हैसियतले सभापतिलाई मद्दत गर्ने मेरो दायित्व हो । त्यही भूमिकालाई लिएर भनिएको हो भने गलत हो । म पनि उहाँ (देउवा) को विरुद्ध उत्रिएँ भने पार्टी ध्वस्त हुन्छ । त्यसैले नबोलेको मात्रै हो । महाधिवेशन नजिक आएपछि स्वत: ध्रुवीकरण सुरु भइहाल्छ । त्यतिबेला देउवाजी र म नै सभापतिका लागि प्रतिस्पर्धी हुन सक्छौं ।


देउवा उठ्नुभयो भने तपाईं सभापतिमा नउठेर उपसभापति हुने चर्चा पनि छ ?


होइन, त्यतिबेला म सभापतिमै उठ्छु । त्यसको तयारीमा म लागिरहेको छु । जिल्ला–जिल्ला घुमिरहेको छु । अहिल्यै शेरबहादुरजीका विरुद्ध ध्रुवीकरण गरेर मैले नेतृत्वका लागि अघि बढ्नु अपरिपक्व हुन्छ । १४ औं महाधिवेशन आउन अझै दुई वर्ष बाँकी छ । त्यतिबेलाको परिस्थितिअनुसार म अघि बढ्ने विचारमा छु । आम कार्यकर्ताको भावना र राय पनि मैले बुझ्नु छ । त्यसलाई बुझेर नै अघि बढ्नेछु ।


कोइराला परिवारबाटै डा. शेखर कोइरालाले पनि सभापतिकै लागि तयारी गरेको बताइरहनुभएको छ । तपार्इं के भन्नुहुन्छ ?


हामी कोइराला परिवारमा समझदारी हुन्छ । दुइटा कोइराला एउटै पदमा उठदैनौं । हामी समझदारी गरेर नै अघि बढ्न सक्छौं । त्यसमा कुनै समस्या नै देख्दिनँ ।

प्रकाशित : चैत्र २१, २०७४ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?