२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

‘फस्ट ह्यान्ड रिपोर्ट ल्याउँछौं’

सगरमाथा आरोहणमा जान लागेका ५ महिला पत्रकारलाई  साहित्यकर्मीहरूको साथ
कान्तिपुर संवाददाता

काठमाडौँ — सगरमाथा चढ्नेको भीड छ अहिले । यात्रीहरू दुई घण्टासम्म पालो कुरेर बसेको समाचारसमेत बाहिर आएको थियो ।

यस्तोमा पाँच महिला पत्रकार पनि सगरमाथा आरोहणकै चाँजो मिलाइरहेका छन् । उनीहरूको आरोहणले के अर्थ राख्ला ? त्यहाँ पुगेर फर्केपछि के गर्लान् ? वा, त्यहाँ जानु नै किन पर्‍यो ? यस्ता प्रश्नको जवाफ रोशा बस्नेत, कल्पना महर्जन, रोजिता बुद्धाचार्य, देउराली चाम्लिङ र प्रियालक्ष्मी कार्कीले पटक–पटक दिँदै आइरहेका छन् ।

शनिबार थापाथलीस्थित मार्टिन चौतारीमा आयोजित आह्वान संवादमा पनि उनीहरूका कुरा सुन्ने/सुनाउने वातावरण मिलाइयो । समारोहमा पत्रकार बस्नेतले सगरमाथाका फस्ट हयान्ड जानकारी लिएर आउने बताइन् । ‘हामी पत्रकार भएकाले त्यहाँको सत्य, तथ्य सूचना टिप्नेछौं, हिमालको भित्री पाटो खोज्नेछौं,’ उनले भनिन्, ‘हाम्रा विस्तृत र विरणमूलक समाचार पत्रकारितालाई उपहार हुनेछन् ।’ टोलीले आरोहणको फेसबुक लाइभ गरेर त्यहाँको वातावरण जस्ताको त्यस्तै देखाउन तारताम्य पनि मिलाइरहेको छ ।


साहित्यकार एवं समालोचक अर्चना थापाको प्रश्नमा देउरालीले एक वर्षदेखि आफूहरूको खेतीपाती नै हिमाल भएको बताइन् । ‘सबैथोक छोडेर यसमै लागिपरेका छौं,’ उनले भनिन्, ‘सगरमाथाबाट फर्किएपछि कम्तीमा एक जनालाई तान्न सकियो (सशक्त बनाउनु) भने ठूलो कुरा हुनेछ । मेरो कोसिस त्यही रहनेछ ।’ रंगमञ्च र पत्रकारितामा आबद्ध रोजिताले हिमाल आरोहणलाई दु:ख ठाने मात्र दु:ख हुने बताइन् । सानो उमेरदेखि नै सगरमाथालाई आफ्नो लक्ष्य बनाएकी प्रियालक्ष्मीले रहरले नै आफ्नो उद्देश्य निर्धारण गरिदिएको ठान्छिन् ।

एक सन्तानकी आमासमेत रहेकी कल्पनाले चाहिँ परिवार मनाउन गाह्रो परेको अनुभव सुनाइन् । ‘पहिले–पहिले साइकलमा चढेर रिपोर्टिङ जाँदासमेत मेरो टोलका मान्छेले मलाई बिग्रिएकी केटी भन्थे,’ उनले भनिन्, ‘प्यान्ट लगाउनु, जागिर खानुलाई इज्जतसँग जोडियो । अहिले सगरमाथा चढ्न खोज्दै छु । यसमा पनि प्रश्न आइरहेका छन् । तर, आफू सही भयो भने समाजले विस्तारै कुरा बुझै जान्छ भन्ने विश्वास लिएकी छु ।’

अर्चना थापासँगै साहित्यकारद्वय कुमारी लामा र उमा सुवेदीको पहलमा दुई महिनाको एकचोटि आह्वान संवाद हुँदै आएको छ । विशेष गरी महिला र अन्य समसामयिक विषयमा छलफल गरिने कुमारीले बताइन् । ‘हिमाल चढ्न लागेका यी पाँच युवा पत्रकारलाई सघाउन जरुरी छ,’ कुमारीले भनिन्, ‘यिनमा उत्साह थपौं, शुभकामना दिऊँ, यिनका कुरा सुनौं भनेर यो छलफल राखेका हौं ।’

प्रकाशित : फाल्गुन २७, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?