१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भुइँखाट’ लिएर शाह 

कान्तिपुर संवाददाता

काठमाडौँ — कथासंग्रह ‘छापामारको छोरो’ मार्फत मदन पुरस्कार पाएका कथाकार महेशविक्रम शाह सातौं कथासंग्रह ‘भुइँखाट’ लिएर आएका छन् । राजधानीमा शनिबार प्रा. अभि सुवेदी र लेखकद्वय नारायण ढकाल र नयनराज पाण्डेले उनको कृति लोकार्पण गरे ।

भुइँखाट’ लिएर शाह 

सुवेदीले ‘अहिलेको चुनौती भनेको कथा अलग हो भनेर चिनाउने रहेको’ बताए । शाहको पहिलो कृति ‘सटाहा’ मा वर्णन गरिएको थारू समुदायको मूल्य, मान्यता र संस्कृतिले आफू अभिभूत भएको उल्लेख गर्दै ढकालले ‘भुइँखाट’ सम्म आइपुग्दा पनि यसले निरन्तरता पाएको बताए । लेखकका कथाहरूमा परिवेश, विषयगत विविधता पाइने पाण्डेले दाबी गरे । ‘शाहले मधेस, हिमाल, पहाडदेखि पाश्चात्य जगतका कथा र पात्रहरू समेटेका छन्,’ उनले भने, ‘लेखकले समयक्रमलाई पछ्याउँछन् । समयसँग संवाद गर्नु शाहको विशेषता पनि हो ।’


शाहले आफू आत्मैदेखि साहित्यकार भएको बताए । ‘त्यसको उदाहरण मेरा कृतिहरू हुन्,’ उनले भने, ‘सुदूर गाउँको एउटा कुनाबाट फुत्त निस्केको थियो मेरो कथा । त्यो कथामा आफ्नै बालवयको भोगाइ पोखेको थिएँ । मैले भोगेको जीवन बाह्य आँखाले हेर्दा मेरै निजी सम्पत्ति जस्तो देखिए पनि त्यो मेरो आफ्नै होइन ।’ जीवन भोगाइका क्रममा भेटिएका पात्रहरूको अंश कथामा मिसिएको उनले बताए ।

१८ कथाहरूको संग्रह फाइनप्रिन्टले छापेको हो । शाहका यसअघि ‘अफ्रिकन अमिगो’, ‘काठमाडौंमा कमरेड’, ‘सिपाहीकी स्वास्नी’ र ‘ज्याक्सन हाइट’ जस्ता कथासंग्रह प्रकाशित छन् ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?