कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तस्बिरमा आधा आकाश

काठमाडौँ — केही समय पहिले अभिनेता राजेश हमालले फेसबुकमा सेतै दाह्री फुलेको तस्बिर अपलोड गरेका थिए । लामो कपाल पाल्ने राजेशको सेत्तै फुलेको दाह्री नौलो त थियो नै, त्यसमाथि उनले अपलोड गरेको स्टाटस घतलाग्दो थियो । उनले लेखेका थिए– ‘जिन्दगी फुलेपछि दाह्री फुल्दो रहेछ ।’

तस्बिरमा आधा आकाश

उमेरसँग जोडिएको यस्तै गम्भीरता बुधबार पूर्वउपप्रधानमन्त्री एवं कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रकट गरिन् ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा उनी ख्याति प्राप्त महिलाहरूको तस्बिर प्रदर्शनी हेर्न पुगेकी थिइन् । बुधबार प्रदर्शनीको अन्तिम दिन थियो । तस्बिर नियाल्ने क्रममा उनले सन् १९५० मा उदाएकी बलिउड अभिनेत्री माला सिन्हाको अनुहार निकै बेर नियालिन् । नेपाली फिल्म ‘माइतीघर’ छायांकनका क्रममा मालाले खिचेका केही रोचक तस्बिर देखेर सुजाताले आफ्नो युवा अवस्था सम्झिन् । ‘उहाँको फिल्म साह्रै मन पराउँथेँ,’ सुजाताले भनिन्, ‘रूपकी खानी नै लाग्थ्यो, अहिले बूढी हुँदा पनि उति बेलाकै सुन्दरता आँखाभरि नाच्छ ।’

उमेरले अनुहारको सौन्दर्य छोपे पनि नेपालीमूलकी भारतीय अभिनेत्री मालाको योगदान इतिहासमा अब्बल छ । त्यस्तै प्रदर्शनीमा विभिन्न क्षेत्रमा अतुलनीय इतिहास कायम राखेका महिलाहरूको तस्बिर राखिएका थिए । ‘नारी शक्तिलाई सम्झौं, नारीको सम्मान गरौं’ सन्देशका साथ सांस्कृतिक संग्रहालय नेपालले तस्बिर प्रदर्शनी गरेको थियो । प्रदर्शनीले टयाम्पु चालकदेखि राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, साहित्यिक क्षेत्रमा महिला हस्तीको पहुँच र पहिचान झल्काउँथ्यो ।

इतिहासमा ठूलै योगदान दिएका तर चर्चाको हिसाबले ओझेल परेका केही महिला व्यक्तित्वको तस्बिर महत्त्वपूर्ण थियो । विसं. १८५० मा जन्मिएकी ललित त्रिपुरा सुन्दरी नेपाली भाषामा कविता लेख्ने पहिलो महिला कविको मुहार स्केच लोभलाग्दो थियो । साहित्यकार पारिजातले मदन पुरस्कार ग्रहण गर्न जाँदाको दुर्लभ तस्बिर उत्तिकै ऐतिहासिक । दलित आन्दोलनकी अग्रणी महिला लेखक मिठाईदेवी विश्वकर्मा, नेपाली फिल्मकी पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन फिल्मकी नायिका चैत्यदेवी सिंह, वरिष्ठ कलाकार वसुन्धरा भुसाल, बलिउडमा स्थापित नेपाली अभिनेत्री मनीषा कोइराला लगायतको योगदान पनि तस्बिरमै सजिएको थियो ।

राजनीति शास्त्रमा स्नातकोत्तर गर्ने प्रथम महिला अंगुरबाबा जोशीको शैक्षिक योगदानदेखि नेपाल उद्योग तथा वाणिज्य महासंघकी पहिलो महिला अध्यक्ष भवानी राणा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पहिलो महिला कुलपति रागिनी उपाध्याय, राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला सभामुख ओनसरी घर्तीलगायतका तस्बिर पनि प्रदर्शनीमा थिए ।

प्रकाशित : चैत्र १, २०७४ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?