१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

“अनुवादमा अंग्रेजी प्रभुत्व”

‘सम्बन्धित व्यक्ति वा निकायबाट स्वीकृति नलिनु, अनुवादको मर्म नबुझेका व्यक्तिले अनुवाद गर्नु, अनुवादको भाषा सबल नहुनु, एकै अनुवादकले छोटो समयमा धेरै पुस्तक अनुवाद गर्नु र अनुवादको सम्पादन नगराउनुले अनुवादको गुणस्तरमा ह्रास आएको छ ।’

काठमाडौँ — पछिल्लो समय मौलिक मात्रै नभई अनूदित कृतिहरूले पनि उत्तिकै चर्चा पाउने गरेका छन् । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले हिन्दी र अंग्रेजी भाषाबाट नेपालीमा अनूदित साहित्यबारे चर्चा चलायो ।

“अनुवादमा अंग्रेजी प्रभुत्व”

कार्यक्रममा नेपाली अनुवादकहरू अंग्रेजी केन्द्रित हुँदै गएको त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक बलराम अधिकारीले बताए । ‘नेपालीमा अनूदित अंग्रेजी साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले ‘पहिले पहिले संस्कृत, बङ्गला, हिन्दी भाषाबाट हुने गरेको अनुवाद हाल आएर अंग्रेजीतर्फ साँघुरिँदै गएको र अनुवादमा अंग्रेजी भाषाको प्रभुत्व रहेको’ बताए ।

पछिल्लो समय निजी प्रकाशन गृहहरूले अंग्रेजी भाषाका बहुचर्चित आख्यान र जीवनीपरक कृति नेपालीमा अनुवाद गरी व्यावसायिक प्रयोजनका लागि मात्र उपयोग गर्न थालेको उनले दाबी गरे । ‘अनुवादको संख्यात्मक वृद्धिले व्यावसायिकताको संकेत गर्छ तर व्यावसायिकताका लागि संख्याका साथै गुणात्मकतामा पनि वृद्धि गर्नुपर्छ,’ उनले भने, ‘नाफा आर्जनबाट अभिप्रेरित भएका कारण नेपालीमा अनूदित अधिकांश पुस्तकहरू स्तरीय छैनन् । सम्बन्धित व्यक्ति वा निकायबाट स्वीकृति नलिनु, अनुवादको मर्म नबुझेका व्यक्तिले अनुवाद गर्नु, अनुवादको भाषा सबल नहुनु, एकै अनुवादकले छोटो समयमा धेरै पुस्तक अनुवाद गर्नु र अनुवादको सम्पादन नगराउनुले अनुवादको गुणस्तरमा ह्रास आएको छ ।’

विश्व साहित्यमा आफ्नो स्थान बनाइसकेका लेखकका सामान्य कृतिको अनुवादका लागि सम्बन्धित निकायले पाँच सय डलरदेखि २ हजार डलर माग गर्ने गरेको उनले जनाए । भने, ‘नेपाली प्रकाशन गृहहरू अनुवादको अनुमतिका लागि मात्रै यत्रो रकम लगानी गर्न सक्दैनन् । त्यसैले नेपालमा दुई प्रकारका अनुवाद पाइन्छ । पहिलो अनधिकृत छन् तर समकालीन छन् ।

दोस्रो प्रतिलिपि अधिकारबाट मुक्त छन् तर पुराना छन् ।’ कार्यक्रममा डा. रामदयाल राकेशले ‘नेपालीमा अनूदित हिन्दी साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै हिन्दी भाषाबाट नेपालीमा अनुवाद गर्नु जरुरी रहेको भए पनि नेपाली साहित्यबाट हिन्दी भाषामा धेरै कृतिहरू अनूदित गरिनुपर्ने बताए ।

‘नेपालको एउटा सम्पर्क भाषा पनि हो हिन्दी । प्राय:जसो नेपाली लेखकहरू हिन्दी बुझ्ने गर्छन्, फकाउन गाह्रो हुन्छ,’ उनले भने, ‘तर हिन्दी भाषाभाषी साहित्यकारहरूलाई नेपाली भाषा विल्कुलै सम्प्रेषणीय हुँदैन ।’ त्यसैले नेपालीबाट हिन्दी भाषामा अनुवाद हुन आजको आवश्यकता हो भन्ने लाग्छ उनलाई ।


नेपाली साहित्य अंग्रेजीमा अनुवाद भयो भने मात्रै विश्व साहित्यमा पुगेर साहित्यको सबैभन्दा ठूलो पुरस्कार मानिने ‘नोबेल पुरस्कार’ दाबी गर्न सक्ने भएकोले अनुवाद बढाउन वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले बताए । अनुवाद भएन भने जतिसुकै स्तरीय लेखे पनि विश्व साहित्यसम्म पुग्न नसक्ने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए । बंगलादेशको साहित्य अनुवाद भएकैले विश्व साहित्यमा बङ्गला साहित्यको प्रभाव देखिएको प्रा.डा. अभि सुवेदीले बताए । ‘प्यालेस्टाइनका साहित्य अनुवाद गरिएपछि मात्रै प्यालेस्टाइन देश र त्यहाँको साहित्य बाहिर चिनिन थाल्यो,’ उनले भने, ‘यो महत्त्वपूर्ण विषय हो । निरपेक्ष भने होइन ।’

प्रकाशित : चैत्र १, २०७४ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?