२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

गलत संस्कार बदल्दै किशोरी

कान्तिपुर संवाददाता

नेपालगन्ज — मुस्लिम समुदायमा सम्बन्धविच्छेद (तलाक), बहुविवाह र मधेसी समुदायमा बालविवाह र दाइजो प्रथा अझै कायम छ । ग्रामीण क्षेत्रमा छोरीलाई विद्यालय पठाउन नहुने मान्यता पनि उस्तै छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले जनचेतना तथा अन्य कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर गलत परम्परा हट्न नसकेको भन्दै यहाँका किशोरीहरू संगठित भएर कुसंस्कारविरुद्ध सक्रिय हुन थालेका छन् ।

मधेसी समुदायको बाहुल्य रहेको नेपालगन्ज उपमहानगरपालिका १८, लग्दहवा र भुजई गाउँमा मात्रै ४ किशोरी समूह गठन भएका छन् । किशोरी समूहहरू नियमित समुदायमा भएका समस्याबारे छलफल गर्छन् र त्यसको निराकरणका लागि अभिभावकलाई सचेत बनाउँदै आएका छन् । बाल विवाह गर्ने र गराउनेलाई हुने कानुनी कारबाहीलगायत विषयमा अभिभावकलाई जानकारी दिन थालेपछि आफ्नो विवाह गराउनबाट अभिभावक रोकिएको नेपालगन्ज उपमहानगरपालिका १८, लग्दहवाकी कृष्णा खटिकले बताइन् ।

किशोरी समूह १ वर्षयता १९ बालविवाह रोक्न सफल भएको छ । उनले बालविवाह र दाइजो प्रथा न्यूनीकरणलाई अभियानकै रूपमा अगाडि बढाएको बताइन् । ‘मधेसी समुदायमा सानैमा विवाह गरिदिएर गौना, थौना गर्ने चलन छ । कानुनी कारबाही र बालबालिकाको शिक्षा, प्रजनन स्वास्थ्यमा पर्ने असरबारे हामीले आफ्नै अभिभावकलाई जानकारी दिँदै आएका छौं, जसले सामाजिक कुरीति न्यूनीकरणमा सहयोग पुर्‍याएको छ,’ उनले भनिन्, ‘गलत संस्कारले समुदायलाई नै थला पारेपछि आफ्नै समुदायको संस्कारविरुद्ध अभियान थालेका हौं । गाउँका दुई किशोरी समूहमा ४५ किशोरी आबद्ध छौं ।’

आफ्नै समुदायको कुसंंस्कारविरुद्ध अभियान थालेपछि बिस्तारै सुधार हुँदै गएको दाबी किशोरी समूहको छ । सुरक्षित गर्भपतनलाई मान्यता दिन अभियान थालेपछि मुस्लिम समुदायका महिलाले नेपालमै सुरक्षित गर्भपतन गराउन थालेको मुस्लिम महिला अधिकारकर्मी सकिना तेली बताउँछिन् । बालविवाहमा थोरै भए पनि कमी आएको भुजई गाउँकी कृष्णा खटिकले बताइन् । उनले अभियानकै कारण गाउँमा आधा दर्जन बालविवाह रोकिएको जनाइन् । समुदायमा जरा गाडेर रहेको तलाक, बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, शिक्षा, प्रजनन स्वास्थ्यलगायत विषयमा किशोरीहरूले अभियान थालेको र उनीहरूलाई सहयोग गर्दै आइरहेको सिबिन नेपालगन्जका प्रमुख सिद्धराज पनेरूले बताए । महिला तथा बालबालिका कार्यालयका अनुसार बाँकेमा ६ सय बाल क्लबमा आबद्ध १२ हजार ३ सय ३६ बालबालिका छन् । त्यस्तै १ सय बढी किशोरी समूहहरू पनि क्रियाशील छन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?