कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बम विस्फोटमा पत्रकार र प्रहरी घाइते

कान्तिपुर संवाददाता

कास्की — पोखराको विजयपुर खोलाको पुलनेर अज्ञात समूहले राखेको बम विस्फोट हुँदा मंगलबार सञ्चारकर्मी र प्रहरी गरी दुई घाइते भएका छन् । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

बम विस्फोटमा पत्रकार र प्रहरी घाइते

प्रहरीका अनुसार रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री घाइते भएका हुन् । शंकास्पद वस्तु भेटिएको खबर पाउनसाथ ठूलो संख्यामा प्रहरी, सञ्चारकर्मी र सर्वसाधारण जम्मा भएका थिए । नजिकै गएर तस्बिर खिच्ने क्रममा विस्फोट भएको थियो । पाण्डेको टाउको र घाँटीमा बमको छर्रा लागेको थियो । घाइतेद्वयको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् ।


कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार विस्फोट भएको टाइम बम थियो । सुरुमा क्यामेराको फ्ल्यास सेन्सरले विस्फोट भएको आशंका गरिएकोमा त्यो नभई टाइम बम भएको निष्कर्षमा प्रहरी पुगेको हो ।


यसैबीच पोखराको नागढुंगा, शान्ति स्तुपनेर र प्रदेश प्रमुखको निवास नजिकैको गल्लीमा पनि शंकास्पद वस्तु भेटिएको थियो । तीनै स्थानमा राखिएका वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । संकास्पद वस्तुका कारण पोखराको नागढुंगामा घण्टा जति सडक अवरुद्ध भएको थियो । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज गरेको नेपाल बन्दका क्रममा बम राखेको शंका प्रहरीको छ ।


बागलुङ संवाददाताका अनुसार ठाउँठाउँमा राखिएका नक्कली बम आतंकले जिल्लाको जनजीवनमा प्रभाव पार्‍यो । सदरमुकामका विभिन्न स्थानमा नक्कली बम भेटिएपछि लामो तथा छोटो दूरीका सवारी चल्न सकेनन् । राति नै दुई स्थानमा विस्फोटको आवाज सुने पनि बजार खुल्न सकेन । विद्यालय, व्यपारिक संस्था लगायतका सबै कार्यालयहरू पनि बन्द छन् । सदरमुकामस्थित ट्राफिक चोकमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाले बम भएको आशंकामा निष्क्रिय पारेको थियो । उक्त वस्तु ठूलो आवाजसहित पड्केको थियो । जनधनको क्षति भने कतै नभएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।


नवलपरासी संवाददाताका अनुसार महेन्द्र राजमार्ग ओहोरदोहोर गर्ने गाडीलाई प्रहरीले एस्कर्टिङ गरेर यातायात सुचारु गरेको छ । मंगलबार बिहानैदेखि महेन्द्र राजमार्गमा हिँडेका गाडीलाई सुरक्षाका लागि भन्दै प्रहरीले एस्कर्टिङ गरेको हो । गैडाकोट, रजहर, कावासोती, चोरमारा र दुम्कीवासमा यातायात साधन रोकेर प्रहरीले स्कर्टिङ गरी यातयात सुचारु गरेको हो ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?