कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

केबलकार बनाउन खुत्रुके अभियान

एक सातामा १ लाख २८ हजार रुपैयाँ संकलन भएको छ
मोहन शाही

डोटी — ‘थोपा–थोपा मिलेर समुद्र’ भनेझैं पर्यटकीय गन्तव्य खप्तडमा केबलकार सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको १० रुपैयाँ खुत्रुके अभियानमा विद्यार्थीले सहयोग गर्न थालेका छन् । 

केबलकार बनाउन खुत्रुके अभियान

स्कुले बालबालिकाहरूले आफ्नो खाजा खर्च घटाएर उक्त रकम खुत्रुकेमा जम्मा गर्न थालेका हुन् । दिपायल सिलगढी नगरपालिका–४ का वडाअध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वीरेन्द्र शाहले खुत्रुक्के अभियान सुरु गरेका थिए । ‘सानो–सानो रकमले पनि ठूल्ठूला योजना बनाउन सकिन्छ,’ अभियन्ता शाहले भने, ‘सातौं दिनसम्म आउँदा उत्साह बढाएको छ ।’


अभियानमा साना बालबालिकादेखि वृद्धवृद्धासम्मले साथ दिइरहेका छन् । बालबालिकाले पनि खुत्रुकेमा पैसा खसालेको देख्दा आफूहरू हर्षित भएको शाहले बताए । उनले सुरु गरेको अभियानमा पत्रकार, गैसस, स्थानीय तह, नागरिक समाजलगायतका प्रतिनिधिहरू सबैले ऐक्यबद्धता जनाइरहेका छन् । अभियान सञ्चालन भएको एक सातामा एक लाख २८ हजार रुपैयाँ जम्मा भएको छ । संकलित रकम मंगलबार सार्वजनिक गरिएको छ ।


शाहले यसअघि पर्यटन विकासका लागि खप्तडमा महोत्सव, खप्तड भ्रमण वर्ष, सेती नदिमा र्‍याफ्टिङजस्ता अभियान सम्पन्न गरिसकेका छन् । पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरूको हितका लागि पत्रकार महासंघ डोटी शाखाकै खातामा रहने गरी अक्षयकोष स्थापना पनि उनैले गराएका थिए । जिल्लाको कृषि, पर्यटन र कला संस्कृतिको संरक्षणका लागि शाहकै पालामा डोटी महोत्सवको सुरुआत भएको थियो । ‘आर्थिक समृद्धिका लागि पर्यटन विकास मुख्य आधार भएकोले खप्तडमा केबलकार सञ्चालन हुनुपर्ने अधिकांशको माग थियो,’ शाहले भने, ‘विभिन्न चरणमा सरकारसँग केबलकारका लागि पहल गरियो, तर कसैले वास्ता गरेनन्, अब जनता नै जाग्नुपर्छ भनेर खुत्रुक्के अभियान सुरु गरिएको हो ।’


खप्तडको मूलढोका मानिने डोटीको झिग्रानादेखि बीचपानीसम्म रहेको ढाई किलोमिटर लामो दूरीमा केबलकार बनाइने शाहले बताए । उनले केबलकार सञ्चालनका लागि ३५ देखि ४० करोड लागत लाग्ने अनुमान गरिए पनि विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिए । झिग्रानादेखि बीचपानीसम्म भिरालो तथा ठाडो उकालो रहेकाले पर्यटकहरूले खप्तड जान असहज महसुस गर्दै आएका छन् । ‘एकातिर खप्तड आफैंमा गन्तव्य क्षेत्र हो,’ डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने, ‘त्यसैमा केबलकार सञ्चालन भइदिने हो भने पर्यटकहरूको ओइरो लाग्ने आशा छ, यसले प्रदेशकै समृद्धिमा टेवा पुर्‍याउनेछ ।’


खुत्रुक्के अभियानमा निजी, सामुदायिक र सरकारी क्षेत्रका सबै पक्षलाई समेटेर समिति मार्फत अभियान

अघि बढाउने तयारी भइरहेको छ । समितिको नाममा संयुक्त खाता खोलेर अभियानलाई प्रदेशभरिमै फैलाउने योजना शाहको छ । ‘केबलकार सञ्चालनका लागि नीतिगत, प्राविधिक र अन्य पक्षको विस्तृत अध्ययन कार्य सुरु गरिसकेका छौं,’ शाहले भने, ‘केबलकार सहकारीको अवधारणाबाट अघि बढाउने कि भन्ने छलफल छौं ।’


खप्तडको पर्यटन प्रवद्र्धनका नाममा थुप्रै अनियमितता भएको आरोप लगाउँदै उनले अब खप्तडमा पर्यटक भित्र्याउन केबलकार आवश्यक रहेको बताए । १० रुपैयाँ अभियानलाई प्रत्येक गाउँ घर, सहर बजारमा लगेर सफल पार्ने दृढता व्यक्त गरे । प्रदेशका सबै जिल्लावासीको साथ लिएर केबलकारलाई साझा सम्पत्ति बनाउने योजना शाहको छ ।


आइतबारबाट सुरु उनको अभियानमा जिल्लास्थित विभिन्न व्यक्ति, संघसंस्थाहरूले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । डोटीमा रहेको शैलेश्वरी यातायात व्यवसायी संघले अभियान सफल पार्न प्रतिटिकटबाट रु. ५ छुटाउने घोषणा गरिसकेको छ भने स्थानीय पत्रिका नेपालपथ दैनिकले बिक्री भएको एक प्रति बराबर १० पैसाका दरले सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?