२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गुरुङलाई राज्यको डर, केन्द्रको भर

पर्वत पोर्तेल

सिलिगुडी (भारत) — करिब ५ महिनादेखि ‘भूमिगत’ रहेका गोर्खाल्यान्ड आन्दोलनका अगुवा नेता विमल गुरुङलाई पश्चिम बंगाल राज्य सरकारले ‘हत्या’ प्रयास गरिरहेको खुलासा भारतीय जनता पार्टीका सांसद सुरिन्दर सिंह आहलुवालियाले गरेका छन् । 

गुरुङलाई राज्यको डर, केन्द्रको भर

केही दिनअघि उनले मतिगढामा पत्रकारहरूसँग विमल गुरुङलाई राज्य सरकारले हत्या गर्न षड्यन्त्र गरिरहेको जनाएका थिए । उनले विमल आफ्नो सम्पर्कमा रहेको पनि खुलासा गरेका थिए ।


दार्जिलिङमा सञ्चालन भएको पासपोर्ट सेवा केन्द्रको उद्घाटनका लागि आफ्नो निर्वाचन क्षेत्र आएका सांसद आहलुवालियाले शुक्रबार भने, ‘विमलको हत्या गर्न राज्य सरकारले ठूलो लगानी गरिरहेको सुनिएको छ, तर म सांसद हुन्जेलसम्म विमललाई कुनै हालतमा मर्न दिन्नँ ।’

गोर्खाल्यान्ड आन्दोलन अवधिभर मौन बसेका उनी आन्दोलन थामिएको करिब ५ महिनापछि दार्जिलिङ उक्लिएका हुन् । राज्यले निर्दोष व्यक्तिलाई सताउन कानुनको गलत ढंगले प्रयोग गरिरहेको उल्लेख गर्दै आहलुवालियाले भने, ‘विमललाई नैतिक समर्थन गर्नु मेरो जिम्मेवारी हो ।’ स्रोतका अनुसार विमल हाल आहलुवालियाकै संरक्षणमा रहेको अनुमान छ । तर, कहाँ छन् भन्नेबारे भने कसैले मुख खोल्न चाहेको देखिँदैन ।

गोर्खाल्यान्ड आन्दोलनकै समयदेखि पश्चिम बंगाल सरकारले कक्षा १ देखि १० सम्म राज्यका सबै शैक्षिक संस्थामा बंगला भाषा अनिवार्य गर्ने निर्णय गरेपछि गत ८ जुनबाट दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएको थियो ।

दार्जिलिङको राजभवनमा राज्य सरकारको क्याबिनेट बैठक बस्ने सुरसार हँुदै थियो । भवनबाहिर मुख्यमन्त्री ममता बेनर्जीविरुद्ध नेपालीभाषीले चर्का नाराबाजी गर्दै थिए । जसको नेतृत्व गोर्खा जनमुक्ति मोर्चा र यसका अध्यक्ष विमल गुरुङले गरेका थिए ।

यो विरोध सभालाई अग्रमोर्चामा रहेर नेतृत्व गरेका विमल त्यसपछि लगातार चर्किएको हिंसात्मक आन्दोलनमा भने बेपत्ता बने । जनताको अपेक्षा के थियो भने आन्दोलनको मोर्चा विमलले सम्हालिदिऊन् । तर, उनी त जनभावनाविपरीत आन्दोलनबाट भागेको आरोप लाग्यो । अलग्गै प्रान्तको मागसहित १ सय ५ दिनसम्म चर्किएको आन्दोलनअघि नै भूमिगत बनेका विमल अझै भूमिगत छन् ।


आन्दोलन अवधिभर उनलाई सिक्किमले ‘सेल्टर’ दिएको थियो । तर, राज्य सरकारका सुरक्षाकर्मीले उनको सेल्टरमै छापा मारेपछि उनी फरार बनेका थिए । राज्य सरकारले विमलविरुद्ध दर्जन बढी मुद्दा लगाएको छ । मदन तामाङ हत्याकाण्डदेखि पछिल्लो समय दार्जिलिङको लेप्चा बस्ती घटना र त्यसमा मारिएका प्रहरीको मुद्दा पनि उनकै टाउकोमा छ ।

आन्दोलन मत्थर भएको ५ महिना लाग्यो । तर, दार्जिलिङका ‘सुप्रिमो’ विमलको अत्तोपत्तो छैन । सुवास घिसिङको पतनपछि दार्जिलिङमा करिब दशकजति एकछत्र राज गरेका उनी अहिले कहाँ छन् ? किन भागेर हिँडिरहेका छन् ? भन्ने विषयमा उनीनिकट स्रोत पनि बेखबर छ । ‘विमल दाजु कहाँ र कुन अवस्थामा हुनुहुन्छ, हामी नै बेखबर छौं,’ गोर्खा जनमुक्ति मोर्चाका एक केन्द्रीय नेताले कान्तिपुरसँग फोनमा भने । उनका अनुसार राज्य सरकारले पछिल्लो समय सर्वाधिक खोजी गरिरहेको छ ।

उनलाई सिध्याएर दार्जिलिङको राजनीतिलाई नयाँ शिराबाट सुरु गर्ने योजनामा राज्य सरकार छ । त्यही योजना मुताविक राज्यले मोर्चाकै विनय तामाङ र अनित थापाहरूलाई ‘प्रयोग’ गरेको आरोप लगाइएको छ । ‘पछिल्लो समय विमल गुरुङले राज्यको कुनै निर्देशन मानेनन् बरु मुख्यमन्त्रीको विरोधमा उत्रिए,’ मोर्चा स्रोत भन्छ, ‘ममताले आफ्नो निर्देशन शिरोपर गर्ने नेतालाई दार्जिलिङमा स्थापित गर्न चाहिरहेकी छन् ।’

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?