‘नेपालको स्थायित्वमा सघाउँछौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले नेपालको भूराजनीतिक महत्त्व विश्वमा बढ्दै गएको र विश्वको नजर यहाँ परेको विश्लेषण गरेको छ ।

‘नेपालको स्थायित्वमा सघाउँछौं’

पार्टीको विदेश विभागका उपमन्त्री को इचोउ नेतृत्व टोलीले उच्चस्तरीय राजनीतिक भेटघाटमा यस्तो धारणा व्यक्त गरेको हो । एकअर्काप्रति विश्वासको वातावरण नै अहिलेको अन्तर्राष्ट्रिय मामिलाको प्रमुख चुनौती रहेको बताउँदै टोलीले त्यसमा दुवै पक्ष सतर्क रहनुपर्ने उल्लेख गरेको हो ।

छिमेकको पछिल्लो राजनीतिलाई चीनले निकै नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै टोलीले ‘नेपालको विकास र स्थायित्वका लागि उच्चतम सहयोग गर्न चीन सधैं तयार रहेको’ जनाएको छ । चिनियाँ टोलीले नेपाल नयाँ चरणमा प्रवेश गरेको भन्दै विश्वासको आधारमा नयाँ ढंगले सम्बन्धलाई थप मजबुत बनाएर अघि बढाउनुपर्ने उल्लेख गरेको चिनियाँ दूतावासले जनाएको छ ।

चिनियाँ टोलीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका नेतासँग छुट्टाछुट्टै भेटेको छ । उपमन्त्री कोले भेटहरूमा यस क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिका लागि दुवै देश मिलेर धेरै गर्न सकिनेसमेत उल्लेख गरे । विश्व समुदायसँग दलीयस्तरमा सम्बन्ध राख्ने चिनियाँ नीतिअन्तर्गत टोली आएको बताइएको छ ।

तीन महिनाअघि सम्पन्न पार्टी महाधिवेशनका निर्णयबारे दलका शीर्ष नेतालाई जानकारी गराउने उद्देश्य टोलीको रहेको पनि जनाइएको छ । सबै उच्चस्तरीय भेटघाटमा चिनियाँ राजदूत यु होङलगायत अधिकारी उपस्थित थिए । उपमन्त्री कोले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरू देउवा र दाहाल तथा फोरम अध्यक्ष यादवलाई चीन भ्रमणको निम्तो पनि दिएका छन् ।

टोलीले एमाले र माओवादीबीच एकता गर्न भएको ७ बुँदे सहमतिबारे चासो देखाएको थियो । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालसँगको भेटघाटमा उनीहरूले कम्युनिस्टबीच सहमति र सहकार्य हुनुपर्ने धारणा राखेका थिए ।

भेटमा दाहालले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुवै पार्टी पुगेको जनाएको सचिवालयले उल्लेख गरेको छ । यो सहमति नेपालको विकास र स्थायित्वका लागि ऐतिहासिक परिघटना भएको समेत दाहालले उल्लेख गरेका थिए । चिनियाँ नेताले कम्युनिस्ट दलहरू एक भएकोमा खुसी व्यक्त गर्दै यसले मुलुकको राजनीतिक स्थायित्व र विकासमा धेरै काम हुनेसमेत बताएका थिए ।

चिनियाँ नेता कोले नेपालको विकासमा सहयोग पुर्‍याउन चीनले नेपालकै प्रस्ताव पर्खिरहेको भन्दै प्रधानमन्त्री ओलीसमक्ष धारणा व्यक्त गरेको एक अधिकारीले जनाए । देउवासँगको भेटमा छोटो समयमा ऐतिहासिक निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ लगेकोमा खुसी व्यक्त गरेको उनका सल्लाहकार दिनेश भट्टराईले बताए । टोली बुधबार बेइजिङ फर्कनेछ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?