कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सीमा–स्तम्भ गायब

भवानी भट्ट

कञ्चनपुर — कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी आधाभन्दा बढी सीमा स्तम्भ हराएका छन् । मंसिर पहिलो सातादेखि दुई देशको संयुक्त सीमा सर्भे टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । 

सीमा–स्तम्भ गायब

कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म आधाभन्दा बढी सीमा स्तम्भ हराएको टोलीले जनाएको छ । यी दुई जिल्लाका सीमा स्तम्भको प्रारम्भिक सर्भे गरिएको हो । १ हजारभन्दा बढी सीमा स्तम्भको सर्भे गरिएको र त्यसमा ५० प्रतिशतभन्दा बढी हराएको टोलीमा सहभागी नापी विभागका सर्वेक्षक पूर्णबहादुर खड्काले बताए । ‘भेटिएका केही सीमा स्तम्भ पनि जीर्ण अवस्थामा छन्,’ उनले भने, ‘एक/दुईबाहेक अधिकांशलाई मर्मत र पुनर्निर्माण नै गर्नुपर्छ ।’


संयुक्त टोलीले खक्रौलाको मुख्य सीमा स्तम्भ ७ सयदेखि सर्भे सुरु गरेको थियो । शनिबार भीमदत्त नगरपालिका ९ खल्लामा रहेको ८११ नम्बर स्तम्भको सर्भेपछि पहिलो चरणको काम सकिएको छ । ‘१ सय ११ मुख्य सीमा स्तम्भका बीचमा रहेका सहायक स्तम्भ बढी हराएका छन्,’ खड्काले भने, ‘कतिपय ठाउँमा मुख्य स्तम्भसमेत गायब छन् ।


केहीलाई खोलाले बगाएको छ ।’ उनका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा सबैभन्दा बढी सीमा स्तम्भ हराएको भेटिएको छ । उक्त क्षेत्रमा भारततर्फ जंगल र खोला बढी भएकाले स्तम्भ खोज्न समस्या छ । टोलीले प्रारम्भिक सर्भे सके पनि प्रतिवेदन तयार गरिसकेको छैन । त्यसैले हराएका र जीर्ण स्तम्भको यकिन तथ्यांक बाहिर आउन भने अझै केही दिन लाग्ने सर्वेक्षक खड्काले बताए । दुवैतर्फका बासिन्दाले अतिक्रमण गरी एक–अर्काे देशको जमिन चलनभोग गरिरहेको समेत भेटिएको छ ।


प्रारम्भिक सर्भेसँगै संयुक्त टोलीले खक्रौलादेखि सीमास्तम्भ मर्मत तथा नभएका ठाउँमा नयाँ निर्माण गरिरहेको छ । सर्भे र मर्मतको काम सँगसँगै सुरु भएको हो । सीमास्तम्भ मर्मत तथा पुनर्निर्माणपछि सीमा क्षेत्रका बासिन्दाले भोगचलन गरिरहेको जमिन छाड्नुपर्ने अवस्थासमेत आउन सक्ने खड्काले बताए । ‘जति जमिन नेपाली पक्षले चलनभोग गरिरहेका छन्, त्यसको १० गुणाभन्दा बढी जमिन भारतीय पक्षले भोग गरिरहेको छ,’ उनले भने, ‘सीमा स्तम्भ मर्मत र पुनर्निर्माणपछि दुवै पक्षले आफूले अतिक्रमण गरी चलनभोग गरिरहेको जमिन छाड्नुपर्छ  ।’

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?