कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विदेशमा सेल्टर खोल्न सहज

कान्तिपुर संवाददाता

काठमाडौँ — खाडी तथा मलेसियामा अलपत्र नेपाली कामदारलाई उद्धार गरी राख्न न्यूनतम मापदण्डको आश्रयस्थल (सेल्टर) खोल्ने बाटो खुलेको छ । श्रम तथा रोजगार मन्त्रालयले यससम्बन्धी कार्यविधि पारित गरेको छ । 

श्रमले गृह, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयको सहमतिमा कार्यविधि पारित गरेको हो । सेल्टर नहुँदा उद्धार गरिएका र आफैं दूतावासको सम्पर्कमा आएका अलपत्रहरूलाई सुरक्षित तरिकाले राख्न समस्या थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ३ वर्षअघि कार्यविधि बनाई श्रम मन्त्रालय पठाएको थियो । ‘कार्यविधि पारित भएपछि गन्तव्य देश र नेपालमा महिला र पुरुषका लागि छुट्टाछुट्टै सेल्टर स्थापना गर्ने बाटो खुलेको छ,’ बोर्डका कार्यकारी निर्देशक रघुराम काफ्लेले भने, ‘अब दूतावासले माग गर्ने बजेट बोर्डले उपलब्ध गराउन सक्छ ।’ खाडी तथा मलेसियामा हाउसमेड (घरेलु कामदार) का रूपमा रोजगारीमा गएका र समस्यामा परेर आउने महिला कामदारका लागि दूतावासले परिसरभित्र अस्थायी बासको व्यवस्था मिलाउँदै आएका छन् ।


‘कोठा अभावले परिसरभित्र टिनको टहरा बनाएर महिला कामदारलाई राख्नुपर्ने स्थिति छ । १० जना अट्ने कोठामा जसोतसो २० जनासम्म राखेका छौं,’ साउदीस्थित नेपाली दूतावासका उपप्रमुख आनन्दराज शर्माले कान्तिपुरसँग भने ।


‘उद्धारका लागि दूतावासको गेटमा आइसकेपछि फर्केर जानुस् भन्ने स्थिति आउँदैनन्,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन् । हाउसमेडले काम गर्ने घरधनीले सहयोगी भूमिका निर्वाह नगरिदिएको खण्डमा महिला कामदारलाई ५/६ महिनासम्म दूतावासले राख्ने गरेका छन् ।

पारित कार्यविधिअनुसार अब दूतावासले सुविधायुक्त सेल्टर स्थापना गर्न सक्ने छन् । ‘सेल्टरका लागि आवश्यक स्रोत दूतावास आफैंले खोज्न पनि सक्छ वा बोर्डबाट लिन पनि सक्छ,’ काफ्लेले भने ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?