२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘संघीयताको स्थायित्वमा सघाउँछौं’

काठमाडौँ — नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले नेपालको संघीयता स्थायित्वका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।

‘संघीयताको स्थायित्वमा सघाउँछौं’

अस्ट्रेलियन सहयोगमा इसिमोडद्वारा सप्तरीको सप्तकोसी नगरपालिका बलारदहमा आयोजित सौर्य ऊर्जाबाट सिँचाइको शुभारम्भ गर्दै राजदूत बडले नेपालको खाद्य सुरक्षा, ऊर्जा तथा पूर्वाधारमा सहयोग गर्ने अस्ट्रेलियन सरकारको सोच रहेको खुलाए । उनले नेपालका १ लाख ३० हजार लघु उद्यमीलाई अस्ट्रेलिया सरकारले प्रत्यक्ष सहयोग गरिरहेको बताउँदै अगामी दिनमा मझौला र ठूला उद्यमीलाई सहयोगको कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

नेपालका ३० हजार विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको उल्लेख गर्दै उनले हरेक वर्ष ३० हजार अस्ट्रेलियन पर्यटक नेपाल आउने गरेको बताए । पर्यटन र कृषि क्षेत्रको विकासका लागि नेपाललाई सहयोग गर्न नेपाल सरकारसित समन्वय भइरहेको उल्लेख गर्दै बडले निजी क्षेत्रसित समन्वय गरेर अगाडि बढ्नु नै नेपालको विकासको आधार भएको बताए ।

कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘कृषि उत्पादन र बिक्री वितरणका लागि मात्र होइन, समुदायको विकासमा पनि महत्त्वपूर्ण हो ।’ कार्यक्रममा उनले सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणालीअन्तर्गत पानी पम्पको पनि शुभारम्भ गरे । इसिमोडका निर्देशक वसन्त श्रेष्ठले पानी कृषिको अभिन्न अंग रहेको बताउँदै सिँचाइ सुविधा अभावमा खेत बाँझै राख्नुपर्ने अवस्थामा इसिमोडले सौर्य ऊर्जाबाट सिँचाई प्रणालीको विकास गरेर कृषिमा सहयोग गरेको बताए । सप्तरीमा प्रारम्भिक चरणमा ३० कृषकलाई सौर्य ऊर्जाबाट सिँचाइ गर्न सोलार पम्प वितरण गरिएको छ ।

इसिमोडका अनुसार पुरुष कृषकलाई ६० प्रतिशत र महिला कृषकका लागि ७० प्रतिशत अनुदानमा सोलार पम्प वितरण गरिएको हो । कार्यक्रममा एनएमबी बैंकले बाढीपीडित किसानलाई ११ प्रकारका तरकारीको बीउसमेत वितरण गरेको थियो ।

प्रकाशित : चैत्र २५, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?