कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मुगुमा खाद्यान्न अभाव

मुगु — जिल्लाका ग्रामीण भेगमा रहेका खाद्य संस्थान डिपोमा चामलको मौज्दात सकिएको छ । साउनदेखि यस क्षेत्रमा ढुवानी नहुँदा डिपो रित्तिएका हुन् ।

 मुगुमा खाद्यान्न अभाव

चालु आर्थिक वर्षको ठेक्का स्वीकृत भई नसकेको हुँदा डिपोमा चामल ढुवानी गर्न नसकिएको संस्थान प्रमुख भरत खनियाँले बताए । श्रीकोट, सोरुकोट, कालै, रातापानी र पुलु खाद्य डिपोमा चामल सकिएको छ ।
चाडबाड नजिकिँदै गर्दा खाद्य डिपोमा चामल नभएपछि स्थानीय चिन्तित बनेका छन् । डिपो क्षेत्रका स्थानीय नै चामल लिन गमगढी पुग्न थालेका छन् । डिपोमा चामल नहुँदा करान र सोरुभेगका स्थानीयलाई पनि समस्या भएको छ ।

ढुवानीका लागि बोलपत्र आहवान भए पनि सम्झौता भइनसकेका कारण दसैंमा चामल पुर्‍याउन नसकिने संस्थान प्रमुख खनियाँले बताए । गमगढीस्थित संस्थानको गोदाममा गत आर्थिक वर्षको ३ हजार ७ सय क्विन्टल चामल दसैंको निम्ति जगेडा राखिएको छ । यो चामल पनि दसैंमा सदरमुकाममै सीमित हुने भएको छ ।

गत आर्थिक वर्षमा करिब १३ हजार क्विन्टल खाद्यान्न ढुवानी भएको थियो । चालु आर्थिक वर्षमा गमगढी संस्थानका लागि सडक मार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गरिने भएको छ । चालु आवमा श्रीकोटमा १ हजार ६ सय, सोरुकोट डिपोमा १ हजार ५ सय, पुलु डिपोमा १ हजार ५ सय, कालै डिपोमा ६ सय र रातापानी डिपोमा ७ सय कोटा छुटयाइएको छ ।

छिमेकी जिल्ला हुम्लाको तल्लो भेगका सर्केगार्ड र श्रीनगर खाद्य डिपोमा पनि चामल सकिएपछि त्यहाँका स्थानीयलाई समस्या भएको छ ।

सिमकोटमा गए पनि चामल नपाइने र मुगुमा आए पनि चामल पाउन मुस्किल हुने गरेको हुम्लाका बासिन्दाको गुनासो छ । डिपोमा चामल नहुँदा स्थानीयलाई छाक टार्न मुस्किल भएको सर्केगार्ड गाउँपालिका उपाध्यक्ष जोशी धामीले बताए ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?