कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रारा पर्यटन वर्षलाई पूर्वाधार बाधक

रारा (मुगु) — कर्णाली प्रदेश सरकारले नयाँ वर्ष २०७५ को पहिलो दिन मुगुको रारातालमा भव्य कार्यक्रम आयोजना गर्‍यो । तामझामसहित आयोजना गरिएको ‘कर्णाली रारा पर्यटन वर्ष’ घोषणा कार्यक्रममा आन्तरिक तथा बाहय पर्यटकको भीड लाग्यो । ताल्चा र सदरमुकाम गमगढीका होटल भरिभराउ भए ।

रारा पर्यटन वर्षलाई पूर्वाधार बाधक

कोही टेन्टमा त कोही नजिकका गाउँमा समेत बास बसे । टेन्टमा बसेकाहरू चिसोले रातभर पिरोलिए । कतिले त टेन्ट पनि पाएनन् । बास नपाउने र भोकभोकै बस्नेको पनि कमी थिएन ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओली, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतको उपस्थिति थियो । प्रधानमन्त्री ओलीले त रारालाई पृष्ठभूमिमा राखेर राष्ट्रका नाममा सम्बोधनसमेत गरे । कर्णाली सरकारले एक वर्षभित्र पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसका लागि दैनिक १ हजार ४ सय पर्यटक ल्याउनुपर्छ । यो क्षेत्रको पहिलो पर्यटकीय गन्तव्य रारा नै हो । राराको आकर्षण बढेको पनि छ । तर, पूर्वाधार ? यो प्रश्नमा आएपछि भने कर्णाली सरकार अप्ठयारोमा पर्छ । पर्यटकको भीड लाग्दा बस्ने ठाउँकै अभाव छ । सरकारले लक्ष्य गरेअनुसारका मानिस राख्न पर्याप्त होटल र लज छैनन् ।

काठमाडौंबाट रारा पुग्न गाडी, जिप तथा मोटरसाइकलमा तीन दिन लाग्छ । नेपालगन्जबाट जहाजमा ताल्चा विमानस्थल झरेपछि करिब दुई घण्टा हिँडेर ताल पुग्न सकिन्छ । बिहानै तालमा पुग्नेले वरपर घुम्दा समय बितेको पत्तो पाउँदैनन् तर जब बास बस्ने समय हुन्छ, तब होटलको खोजी हुन्छ । अनि समस्या देखापर्छ ।

पर्याप्त पूर्वाधार तयार नगरी कर्णाली रारा पर्यटन वर्ष घोषणा गरिएकाले पनि घुम्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ । रारा तालवरपर जम्मा दुईवटा होटल छन् । डाँफे होटलमा १७ र भिलेज हेरिटेजमा ११ वटा कोठा रहेको रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकायाले बताए । उनका अनुसार दुईवटा होटलमा टेन्ट टाँगेर सुत्दा तीन सयजना मात्रै जसोतसो अटाउन सकिन्छ । ‘हावाहुरी नचलेका बेला मौसम राम्रो भए यी दुई होटलले तीन सयजनासम्म थेग्न सक्छन्,’ उनले भने, ‘हावाहुरी चले त्यो पनि समस्या हुन्छ ।’ उनी तालभन्दा बाहिर होटल बनाउनुपर्ने र ताल क्षेत्रभित्र रहेको सेनाको गुल्मलाई बाहिर सारेर राराको सौन्दर्य जोगाइराख्नुपर्ने बताउँछन् ।

तालभन्दा केही माथि मुर्मामा रहेको होमस्टेमा ११ वटा कोठा छन् । त्यहाँ पुग्न तालबाट १० मिनेट लाग्छ । अझै आधा घण्टामाथि मुर्मा टपमा पुगे करिब तीन सयजना पर्यटक अट्न सक्ने होटल छन् । लामो यात्रा गरेर आएका पर्यटकका लागि ताल्चा र गमगढी टाढा लाग्छन् । त्यहाँ पनि होटल नभएका भने होइनन् । लामो यात्रा गरेर छोटो समयका लागि आउने भएकाले ताल आसपास नै बस्न खोज्दा होटल अभाव खट्कने गरेको छ ।

रारा विकास समितिका अध्यक्ष रोकाय तालवरपर करिब ६ सय पर्यटक अटाउने गरी पूर्वाधार बनाउन सकिने बताउँछन् । ‘अहिले पनि वरपर गरेर धेरै नै अटाउन सकिन्छ, एकैपटक ठूलो भीड लाग्दाचाहिँँ समस्या हुने गरेको छ,’ नेपाल पर्यटन व्यवसायी संगठन कर्णालीका प्रदेश संयोजकसमेत रहेका रोकायाले भने । उनी यसको विकल्पका रूपमा ताल्चामा ‘कम्युनिटी लज’ व्यवस्था गर्नुपर्ने बताउँछन् । ‘सुर्खेतदेखि रारासम्मका गाउँपालिका र नगरपालिकाले ‘कम्युनिटी लज’ सञ्चालन गर्नु आवश्यक छ,’ उनले भने ।

यो वर्षभित्र पूर्वाधार बनिसक्छ : पर्यटनमन्त्री
पर्यटकका लागि पर्याप्त पूर्वाधार नभएको गुनासो उठिरहेका बेला ‘कर्णाली रारा पर्यटन वर्ष’ घोषणा कार्यक्रममा पुगेका पर्यटनमन्त्री अधिकारीले ०७५ सालभित्रै कर्णालीमा आवश्यक पूर्वाधार बनिसक्ने दाबी गरे । ‘रारा कर्णाली भ्रमण वर्ष सफल पार्न राम्रा पर्यटकीय स्थलको विकास गर्न सरकारले पूरापुर सहयोग गर्छ,’ उनले भने, ‘प्रदेश सरकारसँग मिलेर काम गर्छौं ।’ उनले रारालाई फोहोरबाट जोगाउने, ताल वरपर पैदलमार्ग र ठाउँठाउँमा साइकल लेन निर्माण गर्ने योजना पनि सुनाए । घोषणा कार्यक्रममा राराको प्रशंसामा धेरै शब्द खर्चिए पनि पर्यटनमन्त्री अधिकारीले एक वर्षभित्रै पूर्वाधार कसरी बनिसक्छ र पर्यटकलाई बासको समस्याबाट कसरी पार लगाइन्छ भन्नेचाहिँ बताएनन् ।

ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्छ । ताल वरपर पर्यटकमैत्री सूचना बोर्ड देख्न पाइँदैन । तालमा बोटिङका लागि पर्याप्त डुंगा पनि छैनन् । अहिले तीनवटा डुंगा मात्र सञ्चालनमा छन् । रारा कर्णाली पर्यटन वर्ष प्रचारप्रसार समिति संयोजक एवं कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले ५ लाख पर्यटक रारामा मात्र नभई सिंगो प्रदेशका पर्यटकीय गन्तव्यमा पुर्‍याउने लक्ष्य लिएको बताए । ‘रारामा मात्र पाँच लाख पर्यटक पुर्‍याउने भन्ने होइन, कर्णाली पर्यटन वर्ष हो,’ उनले भने, ‘सुरुवात राराबाट गरियो, नौवटा जिल्ला छन् यो प्रदेशमा, सबै ठाउँमा पर्यटक पुर्‍याउने हो ।’ उनले एक दिनमा एक हजार पर्यटक आउने र वर्ष दिनमा अधिकतम पाँच लाख पुर्‍याउने लक्ष्य लिएको बताए ।

रावलले पनि राराको पूर्वाधार विकासका लागि योजना बनाउँदै कर्णाली सरकारले नीति तथा कार्यक्रममा ल्याउने तयारी थालेको बताए । ‘तत्काल रारा पुग्ने बाटो सुधार्न जरुरी छ । तालनजिक होटल बनाउँदा त्यहाँको सौन्दर्य बिग्रिन्छ, यस्तो ताल अन्यत्र भए पनि यसको छुट्टै सौन्दर्य छ,’ उनले भने, ‘होमस्टे, सडकको स्तर र जहाजको सेडयुलमा समस्या छ, भौतिक पूर्वाधार पयाप्त छैन भन्ने हामीले पनि महसुस गरेका छौं ।’

रारा घुम्न आउने पर्यटकका लागि होमस्टे बनाउने सोच कर्णाली सरकारको छ । जुम्लाको नाग्मदेखि रारासम्म पुग्ने बाटो पिच गर्न प्रधानमन्त्रीसँग माग गरिएको पनि उनले बताए । ०६९ साल पुसबाट सडक सञ्चालनमा आएका हो । सुर्खेतबाट ताल्चा २ सय ९४ किमि छ । ताल्चाबाट कोही पैदलै त कोही घोडा चढेर ताल पुग्छन् । घोडाका कारण पानी पर्दा पैदल मार्ग हिलाम्य हुने गरेको छ । हिँडेर जाँदा चिप्लिने डर हुन्छ ।

प्रकाशित : वैशाख १३, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?