कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सुन तस्करी र हत्या प्रकरण : ६३ जनालाई मुद्दा, १७ अर्ब १ करोड ८० लाख बिगो मागदाबी

व्यक्तिपिच्छे फरक अभियोग— कर्तव्य ज्यान, संगठित अपराध, अपहरण, शरीर बन्धक र सुन तस्करी मुद्दा
विनोद भण्डारी

विराटनगर — ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध बुधबार मुद्दा दायर भएको छ । त्रिभुवन विमानस्थलबाटै गायब पारिएको तस्करीको सुन र सुन भरिया भनिएका सनम शाक्यको हत्या प्रकरणमा उनीहरूमाथि सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यानसहित ५ वटा अभियोगसहित मुद्दा दर्ता गरेको हो ।

सुन तस्करी र हत्या प्रकरण : ६३ जनालाई मुद्दा, १७ अर्ब १ करोड ८० लाख बिगो मागदाबी

मुद्दा चलाइएकामध्ये २९ जना प्रहरी नियन्त्रणमा छन् भने मुख्य कारोबारीसहित ३४ जना अझै फरार छन् ।

मुद्दा दायर गरिएकामा एक पूर्वडीआईजी, बहालवाला प्रहरीहरू एक एसएसपी, एक एसपी, दुई डीएसपी, एक सई र एक जवानसमेत छन् । अभियुक्तहरूविरुद्ध व्यक्तिपिच्छे फरक–फरक मुद्दा चलाइएको जिल्ला अदालत, मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । उनका अनुसार उनीहरूविरुद्ध संगठित अपराध (आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको), सुनको अवैध कारोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानमुद्दामा अभियोगपत्र दर्ता भएको छ ।

सुन तस्करीको संगठित समूहले सन् २०१५ जुलाईयता ३९ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको उनीहरूको खातापाताबाट पुष्टि भएको भन्दै १ सय ५३ पृष्ठको अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो मागदाबी गरिएको दुलालले जनाए ।

जिल्ला अदालतमा बुधबार हाजिर गराइएका २९ अभियुक्तमा पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्य छन् । बयान दिन मंगलबार विराटनगर पुगेका एसएसपी लोहनीलाई मोरङ प्रहरीले बुधबार पक्राउ पुर्जी थमाएर अदालतमा हाजिर गराएको थियो । एसएसपी लोहनी र डीएसपी केसीलाई संगठित अपराधमा संलग्नलाई भगाउन सहयोग गरेको अभियोग लगाइएको स्रोतको दाबी छ ।

पूर्वडीआईजी निरौलालाई सुन तस्करी र संगठित अपराधको अभियोग लगाइएको छ । त्यस्तै, एसपी खनाल र डीएसपी राउतमाथि सुन तस्करी र संगठित अपराधीलाई भगाएको अभियोग लगाइएको स्रोतको दाबी छ । पूर्वडीआईजीदेखि डीएसपीसम्मलाई हतकडी नलगाई भरिया शाक्यको शवसहित प्रहरी नियन्त्रणमा रहेको बा१२च ५९६३ नम्बर स्कारपियो गाडीमा अदालत पुर्‍याइएको थियो । अन्य अभियुक्तलाई भने हतकडी लगाएर प्रहरीको वान टेन गाडीमा राखेर लगिएको थियो ।

हतकडी लगाएर अदालत पुर्‍याइएका अभियुक्तहरूमा टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, आरके भन्ने राजेन्द्र शाक्य, चाचाजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल, बालकृष्ण सञ्जेल, विष्णुबहादुर खड्का, एलबी मगर भनिने लालबहादुर मगर, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङ, हेमन्त गौतम, राजु महर्जन, राजन थापा, अमरमान डंगोल र तुलाराम थारू छन् । उनीहरूलाई सुन तस्करी, संगठित अपराध, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा लगाइएको स्रोतको दाबी छ ।

अभियोगपत्रमा व्यक्तिपिच्छे फरक–फरक अभियोग लगाइएको स्रेस्तेदार दुलालले खुलाए । अभियुक्तहरूसँग बिहीबारबाट बयान सुरु हुने उनले बताए । सुनका मुख्य कारोबारी ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहित मोहनकुमार अग्रवाल, नर्वदा खरेल उप्रेती, दुर्गा खरेल, भीमकुमारी खरेल, रमेश उप्रेती, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, मोहम्मद उस्ताम मियाँ, भविन राई, कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दाबा शेर्पा, भोजराज भण्डारी, रक्षा भण्डारी, प्रयास पराजुली र सुरेन्द्र गौतमसहित ३४ जना प्रहरीको खोजी सूचीमा छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको टोलीले फागुन १९ गते बा१२च ५९६३ नम्बरको स्कारपियो गाडीको सिटमुनि शाक्यको शवसहित घटनामा संलग्न ३ जनालाई विराटनगर महानगरपालिका–३ को कन्यामार्गबाट नियन्त्रणमा लिएर मोरङ प्रहरीलाई बुझाएको थियो । सुरुमा महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी लोहनीसहितको टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानमा कैफियत देखिएको भन्दै एसएसपी लोहनी र डीएसपी केसीलाई मुख्यालय तानेर मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा उच्चस्तरीय विशेष छानबिन समिति गठन भएको थियो । समितिले अनुसन्धानका क्रममा पूर्वडीआईजी, बहालवाला एसएसपी, एसपी, डीएसपी, सई र जवानसहित २६ जनालाई पक्राउ गरेको थियो । शाक्यको शवसँगै उर्लाबारीका मोहन काफ्ले, नरेन्द्र कार्की र काभ्रेका टेकबहादुर मल्ल ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गत माघमा दुबईबाट ३३ किलो सुन तस्करी भएर काठमाडौं भित्रिएको थियो । उक्त सुन भारत पुर्‍याउने सिलसिलामा झापाको भद्रपुर पुर्‍याएपछि शाक्य सुन मालिकसँग सम्पर्कविहीन भएको अनुसन्धान स्रोतको दाबी छ । उक्त स्रोतका अनुसार शाक्य सम्पर्कविहीन भएपछि मालिकले उनलाई पटक–पटक सम्पर्क प्रयास गरे । उनी सम्पर्कमा नआएपछि अरू भरिया काभ्रेका ठकुरी, उर्लाबारीका कार्की र काफ्लेलाई खटाएर करेन्ट लगाउँदा शाक्यको मृत्यु भएको अनुसन्धान स्रोतको भनाइ छ ।

प्रहरीले शाक्यको शवसहित इन्भर्टरका दुइटा ब्याट्री र करेन्ट लगाउन प्रयोग गरिने विद्युतीय उपकरण फेला पारेको थियो । सुनको भरिया समूहले शाक्यलाई चार दिन आफ्नो नियन्त्रणमा राखेर चारकोसे जंगलको पथरी, धरान र सिरहाका विभिन्न स्थानमा लगेर करेन्ट लगाई सुन कहाँ छ भनेर सोधेको थियो । त्यही क्रममा मोरङको पथरीस्थित जंगलमा शाक्यको मृत्यु भएको पाइएको प्रहरी स्रोतको भनाइ छ ।

प्रकाशित : वैशाख २०, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?