कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केन्द्र अपायकले सास्ती

बिप्लब महर्जन

सल्यान — बन्गाड कुपिन्डे नगरपालिका– १२, निगालचुला र माझकाँडाका स्थानीयलाई केन्द्र अपायक परेपछि स्थानीय सरकारी कामकाजबाट वञ्चित हुँदै आएका छन् । निगालचुलामा वडा कार्यालय भए पनि अधिकांश काम गर्न नगरपालिका पुग्नुपर्ने स्थानीयलाई बाध्यता छ । उनीहरूलाई आफ्नै नगरपालिकाको केन्द्र पुग्नुभन्दा सदरमुकाम खलंगा पुग्न नजिक पर्छ ।

केन्द्र अपायकले सास्ती

कुन क्षेत्रलाई कुन स्थानीय तहमा राख्ने भन्नेबारे अध्ययन नै नगरी विभाजन गरिएकाले आफूहरूले सास्ती भोग्नुपरेको स्थानीय गमबहादुर घर्तीले बताए । यातायात सुविधा नभएकाले पनि स्थानीयले सास्ती पाएको उनको भनाइ छ । ‘हामीलाई बन्गाडकुपिण्डे नगरपालिकाभन्दा कालिमाटी गाउँपालिकामा राखिदिएको भए सरकारी काममा सजिलो हुन्थ्यो,’ उनले भने, ‘स्थानीय तह गठनपछि हामीले झन् सास्ती भोग्नुपरेको छ ।’


एक साताअघि जग्गा पासका लागि सिफारिस लिन ६ घण्टा हिँडेर नगरपालिका कार्यालय पुगेको निगालचुलाका दिलबहादुर बुढाले बताए । ‘सिफारिस लिन नगरपालिका आउनुपर्ने र फेरि सदरमुकाम जानुपर्ने भएकाले सास्ती भोग्नुपर्‍यो,’ उनले भने, ‘एउटै कामका लागि दुई/ तीन लाग्छ । सामान्य कामका लागि पनि धेरै सास्ती भोग्नुपरेको छ ।’ सीधै सदरमुकाम आउजाउ गर्दा एक दिनमै हुने कामका लागि तीन दिन खर्चिनुपरेको उनको गुनासो छ ।


साविकका देवस्थल, मुलखोला, बाँमे, कुपिण्डे, माझँकाडा, घाँजरीपीपल र निगालचुला गरी सात गाविस मिलाएर बन्गाडकुपिन्डे बनाइएको हो । स्थानीयले दैनिक गाडी नचल्ने भएकाले आफूहरू मारमा परेको बताएका छन् । स्थानीय तह गठनपछि वडामै सेवा पाइने र सरकारी कामकाजमा सजिलो हुने भनिए पनि आफूहरूले झन् दु:ख पाइरहेको स्थानीय पिमबहादुर बस्नेतको गुनासो छ । निगालचुला र माझकाँडाका स्थानीयलाई सरकारी सेवाप्रवाहमा सहयोग पुर्‍याउन ढोरपीपलसम्म सडक निर्माण गरिएको नगरपालिका प्रमुख गोविन्द पुनले बताए । ‘चालु आर्थिक वर्षभित्रै नियमित रूपमा सल्लीबजारदेखि साना गाडी सञ्चालन हुनेछन्,’ उनले भने, ‘त्यसले दुई गाउँका स्थानीयलाई सेवा लिन सजिलो हुनेछ ।’


त्यस्तै छत्रेश्वरी गाउँपालिकाको दमाचौर, कालिमाटी गाउँपालिकाको काप्रेचौर, ढोडचौरको चाँदेकरेन्जी, शारदा नगरपालिकाको जलुके, बागचौर, माल्नेटा, ओखरेनीका बासिन्दालाई केन्द्र टाढा हुँदा सरकारी कामकाजमा समस्या छ । बाग्चौर नगरपालिकाको बाफुखोला र कोटबारा, कुमाख गाउँपालिकाको स्विकोट तथा कपुरकोटको सिनबाँङका स्थानीयले समेत केन्द्र टाढा भएको गुनासो गरेका छन् ।

भौगोलिक विकटता र सडक सुविधा नहुँदा केही गाउँका स्थानीयलाई सरकारी सुविधा प्रवाहमा समस्या भैरहेको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । उनले सबै वडासम्म सदरमुकामबाट नियमित गाडी सञ्चालन गर्ने गरी विभिन्न स्थानमा सडक निर्माणलाई तीव्रता दिएको बताए ।

प्रकाशित : वैशाख २६, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?