खेलको थलो

सुरेन्द्र हमाल

काठमाडौँ — खलाडीले आफ्ना लागि खेल छान्ने कि प्रशिक्षकले खेलाडीलाई उपयुक्त खेल छान्ने हो, यो प्रश्न निकै महत्त्वपूर्ण लाग्छ । मैले सुरुआती दिनमा धेरै खेल खेलें, टेबलटेनिसदेखि क्रिकेट, अनि भलिबलसम्म पनि । तर ती सबै खेल मेरो शरीरअनुसार मिल्ने थिएन ।

खेलको थलो

खासमा मेरो शरीर भारोत्तोलनका लागि ठीक थियो, पछि मेले यसै खेलमा आफूलाई स्थापित गरें । नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक र एसियाली खेलकुदजस्तो माथिल्लो स्तरको प्रतियोगितासम्म खेलें ।

मैले सुरुदेखि नै भारोत्तोलनमा आफूलाई सहभागी गरेको भए, मैले अझ राम्रो प्रदर्शन सक्ने थिएँ भन्ने लाग्छ । सुरुमा म अरू खेलतिर आकर्षित भएँ । यस्तै अरू धेरै आफू सुहाउँदोभन्दा पनि अरू खेलतिर नजिकिएको हुन सक्छ । यस्तो हुनुपछाडि आफू नजिकका परिवारको सदस्य अथवा साथीभाइले कुन खेल खेलेको थियो, त्यो कारण निर्णायक हुन सक्छ । यसबारे मैले आफ्नो धारणा धेरै पटक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवहरूलाई जानकारी दिइसकेको छु ।

खेलाडीले कुन खेल रोज्ने हो, त्यसमा परिवर्तन आउनुपर्छ भन्ने मेरो सोच हो । खासमा प्रशिक्षकले युवा तथा किशोर खेलाडीलाई उपयुक्त खेल छानेर त्यसलाई अभ्यस्त पार्नुपर्छ । खासमा प्रदेश नम्बर ५ मा खेलकुदको प्रचुर सम्भावना छ । खेलकुदको माध्यमबाट यो प्रदेशले आफ्नो परिचय बनाउन सक्छ । खेलकुदले यो प्रदेशमा विकास र समृद्धि ल्याउन मद्दत गर्न सक्छ । यो क्षेत्र भारतसँग सीमा जोडिएको प्रदेश पनि हो । त्यसैले मेरो विचारमा यहाँ क्रिकेटको सबैभन्दा बढी सम्भावना छ ।

भारत अहिले विश्व क्रिकेटको सबैभन्दा ठूलो शक्ति हो । यो निकै धनी पनि छ । फेरि भारतले वान–डे क्रिकेटको विश्वकप पनि जितेको छ । अहिले त्यहाँ आईपीएल चलिरहेको छ र यसको प्रभाव पूरा विश्व क्रिकेटमा छ । भारतसँग नजिक रहेको कारण त्यहाँ सर्वाधिक लोकप्रिय र सफल रहेको खेलको प्रभाव यता पनि पर्नु स्वाभाविक हो । खासमा दक्षिण एसियामै क्रिकेट निकै लोकप्रिय छ । भारत मात्र होइन, पाकिस्तान र श्रीलंकाले पनि वान–डे विश्वकप जितिसकेका छन् ।

अहिले बंगलादेशले पनि विश्व क्रिकेटमा उत्तिकै प्रभाव पारिरहेको छ । बंगलादेशले टेस्ट मान्यता पाएयता क्रिकेटमा ठूलो छलाङ मारेको छ । हामीले यो तथ्यबाट फाइदा लिन सक्नुपर्छ । युरोपतिर फुटबल निकै लोकप्रिय छ । सीमा जोडिएका ठूला देशले फुटबलमा आफ्नो छिमेकीलाई सहयोग गरेका धेरै उदाहरण छन् । यसले गर्दा समग्र युरोपमा फुटबल माथिल्लो दर्जाको छ । हामीले पनि यो क्षेत्रमा क्रिकेटको निकै विकास गर्न सक्छौं र यो मोडललाई पछ्याउन सक्छौं ।
मेरो विचारमा प्रदेश ५ ले नेपाली क्रिकेटमा ठूलो योगदान दिन सक्छ । यो प्रदेशमा खास–खास समुदायका मानिसको बसोबास छ र उनीहरू प्रकृतिसँग निकै नजिक छन् । थारू र मधेसी समुदाय खेती किसानीमा बढी संलग्न छन् । यसैले उनीहरू माटोसँग बढी जोडिएका छन् । उनीहरूको शारीरिक विकास पनि यसैअनुसार भएको छ । अधिकांश कम उचाइका छन् तर उनीहरू शारीरिक रूपमा बलिया छन् । यसमा उनीहरूको संस्कृति पनि उत्तिकै जोडिएको हुन्छ । उनीहरूका लागि यसैअनुसारको खेल ठीक हुन सक्छ । प्रश्न हुन सक्छ, उनीहरूका लागि कुन खेल ठीक हुन्छ त ? मेरो विचारमा हाम्रो प्रदेशका लागि क्रिकेटसँगै कपर्दी, कुस्ती, भारोत्तोलन, बक्सिङ र एथलेटिक्सजस्ता खेल उपयुक्त हुन सक्छन् । यसका लागि अनुसन्धान पनि आवश्यक हुन्छ । प्रदेश नम्बर ५ खेलकुदको भौतिक पूर्वाधारमा भने निकै पछाडि छ र कमजोर पनि छ । खेलको विकाससँग त्यस क्षेत्रको भौतिक पूर्वाधार जोडिएर आउने गर्छ ।

हामीसँग नेपालगन्जमा मात्र रंगशाला छ, राजधानी बुटवल भए पनि यहाँ रंगशाला छैन । भैरहवामा नाम मात्रको रंगशाला छ । दाङमा खेलकुदकै लागि भनेर जग्गा रहेको छ । राप्तीपारि रहेको यो जग्गा खेलकुदका लागि निकै उपयुक्त छ र हामीले त्यहाँ खेलकुदका लागि सुविधायुक्त एकेडेमीजस्तो बनाउन सक्छौं । भारतको पटियालाजस्तो प्रकारको खेलकुदको संस्था छ, हामीले यहाँ पनि त्यसै प्रकारको बृहत् केन्द्र बनाउन सक्छौं ।

त्यहाँ ‘पावर ट्रेनिङ’ को पनि सम्भावना पनि धेरै छ । यसबाहेक पनि हामीलाई अरू धेरै खेलकुदका भौतिक पूर्वाधारको आवश्यकता छ । खेललाई लिएर हाम्रो समयको सोच र अहिलेको विचारमा धेरै परिवर्तन आइसकेको छ । अहिलेका खेलाडी नजिकै खेलस्थल होस् भन्ने चाहन्छन्, हाम्रो समयमा जस्तो लामो दूरी तय गरेर प्रशिक्षणका लागि जान तयार हुँदैनन् । यो तथ्यलाई पनि हामीले ध्यान दिनुपर्छ । एउटा तथ्य के निश्चित छ भने प्रदेश ५ मा खेलकुदको ठूलो सम्भावना छ र यसले समग्रमा यो क्षेत्रको विकास र प्रगतिमा नै मद्दत गर्नेछ ।


-सुरेन्द्र हमाल
प्रदेश सांसद एवं पूर्वखेलाडी
(हिमेशसँगको कुराकानीमा आधारित)

प्रकाशित : जेष्ठ ११, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?