कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चचहुई...

माधव अर्याल

काठमाडौँ — दुईतिर ठूलो काठको थाम गाडिएको छ । त्यसकै माथि केप (बलो अड्काउने) पारिएको हुन्छ । त्यही केपमा बलो घुसाइन्छ । चारवटा काठकै बाँह (खट बनाउन राखिएका) हुन्छन् । त्यही बाँहमा खट (पिर्का) बनाएपछि बन्छ, चर्खे पिङ ।

चचहुई...

काठैकाठबाट बन्ने यस्तो पिङ अत्यधिक हुन्थे । बालबालिका, किशोरकिशोरी, अधबैंसे र प्रौढ सबैको रुचिको पिङ हुन्थ्यो । त्यसबेला मनोरञ्जनको साधन केही थिएन । विशेषगरी मगर बस्तीमा चर्खे अर्थात् रोटे पिङ अत्यधिक लोकप्रिय थियो ।

अहिले यस्ता पिङ बनाउन जान्ने कमै छन् । गाउँघरमा भएका युवा विदेश पलायन भए । त्यसैले यस्ता पिङ देख्नै मुस्किल छ । अहिले कहीँकतै मात्र यस्ता पिङ देख्न पाइन्छ । कतिपय गाउँमा त बनाउनै छाडिसकेका छन् ।

‘हाम्रो टोलटोलमा यस्ता पिङ लगाइन्थ्यो,’ माथागढी गाउँपालिका ४ झडेवाका गजेन्द्र पन्थीले भने, ‘अहिले निकै मुस्किलले एक/दुईवटा मात्र देखिन्छ ।’ युवापुस्ता घरमा बस्दैनन् । गाउँमा बस्ने युवा थोरै छन् । बनाउन मिहिनेत गर्नुपर्छ । पहिलाजस्तो काठ पनि पाइँदैन । त्यसैले सबैमा उत्साह, जोस र जाँगर देखिँदैन ।

गाउँमा युवापुस्ताको बसोबास नै हुन छाडेको छ । बाहिर बस्नेहरू दसंैको तीन/चार दिनअघि मात्र घर फर्किन्छन् । ‘दुई/तीन दिन लगाएर बनाउनुपर्छ,’ उनले भने, ‘अझ नयाँ बनाउन कम्तीमा ५ दिन लाग्छ ।’ जंगलबाट जथाभावी काठ काट्न पाइँदैन । बसाइँ सराइ बढी छ ।

परम्परा भुल्दै गएको र अन्यत्रै रमाइलो गर्नेको जमात बढेको छ । मगर बस्तीमा बढी यस्ता पिङ हालिन्थ्यो । चिर्तुङधारा, कसेनी, कोलडाँडा, रुप्सेलगायत गाउँमा चर्खे पिङ देखिनै छाडे ।


रम्भा गाउँपालिका २ फोक्सिङकोटका ऐवतबहादुर सारू टोलैपिच्छे चर्खे पिङ राखेको सम्झन्छन् । तर अहिले त्यस्तो छैन । आफ्नो र छिमेकी गाउँमा दसैंको घटस्थापनादेखि चर्खे पिङ राख्न आतुर हुन्थे । ‘अहिले त्यस्तो छैन,’ उनले भने, ‘युवा छैनन्, बुढापाकाले जाँगर गर्दैनन् ।’ कतिपय गाउँमा १० वर्षयता दसैंमा चर्खे पिङ देखिएको छैन । सानो छँदा काठले बनाएको चर्खे पिङ खेल्न नजिकको गाउँ पुगेको सम्झनेहरू अहिले इतिहास जस्तै भएको बताउँछन् । दसैंको टीका लगाउन हिंड्दा ठाउँठाउँमा खेलेको सम्झन्छन् । ‘साथीभाइसँगै चर्खे पिङ लाइन लागेर खेल्थे,’ माथागढी गाउँपालिका १ चिदीपानीका नारायण पराजुलीले भने ।

उनका अनुसार पछिल्लो १५ वर्षयता भने त्यस्तो पिङ खेल्ने त परैको कुरा, देख्नसमेत पाएका छैनन् । रामपुर नगरपालिका, निस्दी, पूर्वखोलाका अधिकांश गाउँमा जतासुकै यस्ता पिङ राख्थे । अहिले भने त्यस्तो नदेखिएको रामपुर नगरपालिका ९ खालीवन, जब्गादीका दयाराज ढकालले बताए । उनको पनि अनुभव उस्तै छ । गाउँभन्दा दुई घण्टा टाढा पनि चर्खे पिङ खेल्न पुगेको उनले सुनाए । तर, अहिले भने कहीं देखिएको छैन । कति वर्षदेखि खेल्नै नपाएको उनको अनुभव छ । पछिल्लो १०/१२ वर्षयता देख्न पनि निकै टाढा पुग्नुपरेको छ ।

पहाडी जिल्लाका बस्ती पछिल्लो समय सुनसान छन् । प्राय: सबैको एउटै कुरा सुन्न पाइन्छ । ‘दसैंमा चर्खे पिङ खेल्न पाइन छाडियो,’ उनले भने, ‘सबैले यही भन्न थालेका छन् ।’ चर्खे पिङ पहिले–पहिले निकै लोकप्रिय खेल थियो । दसैंका बेला गाउँका युवायुवती मिलेर त्यस्तो पिङ बनाउने चलन थियो ।

अहिले कतिपयले परम्परा भुल्दै गए । पिङ देख्नसमेत मुस्किल भइसकेको छ । कतिपय गाउँमा भने परम्परा धान्न यस्ता पिङ बनाउँछन् । तराईमा पहाडबाट झरेका पिछडिएको बस्तीमा अझै चलन छ । पहाडमा दुर्गम गाउँमा कतिपय स्थानमा पिङ देख्न पाइन्छ ।

निस्दीका ज्यामिरे, मित्याल, अर्चले, गल्धाका केही भागमा अझै बनाउने चलन छ । पूर्वखोलाका केही गाउँमा पनि पिङ बनाएर खेल्छन् । ‘यस्तै हो भने केही वर्षपछि यहाँका गाउँमा पनि देखिन मुस्किल पर्छ,’ उनले भने, ‘परम्परालाई भुल्ने काम सबैबाट हुँदैछ ।’

युवापुस्ताको बसाइँ गाउँमा नहुँदा बनाउनै मुस्किल परेको हो । बजारमा खेल्न पाइने ठूला–ठूला चर्खे पिङको सानो र परम्परागत रूप नै गाउँघरमा बनाइने पिङ हुन् । त्यस्ता पिङको आफ्नै महत्त्व छ । युवायुवती दसैं/तिहार आउन थालेपछि पिङ बनाउन जुट्ने बेला थियो । ‘पछिल्लो पुस्ताका युवायुवतीलाई त्यस्ता पिङ बनाउने कुनै चासो नै छैन,’ रामपुर नगरपालिका ९ बरभन्ज्याङका ज्ञानबहादुर गाहाले भने, ‘हामी सानो हुँदा गाउँमै तीन/चार स्थानमा रोटे अर्थात् चर्खे पिङ हुन्थ्यो ।’

पछिल्लो पुस्ताका युवा अत्यधिक विदेश मोहमा छन् । कतिपय दसैंमा आउने गर्छन् । अधिकांश दसैं मनाउनसमेत आउँदैनन् । यहाँ बस्नेहरू पिङको काम गर्न सक्दैनन् । पुरानो पुस्ता पनि बसाइँ सराइ गरेर हिंडेका छन् । दसैं र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने उनीहरूलाई चर्खे पिङ बनाउने फुर्सद पनि छैन ।

प्रकाशित : आश्विन २५, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?