योगा स्कुल स्थापना

काठमाडौँ — स्वदेशमै दक्ष योगा शिक्षक उत्पादन गर्नका लागि ललितपुरस्थित थसीखेलमा नेपाल स्कुल अफ योगा स्थापना भएको छ । यो स्कुल विश्व योगा एलाइन्सबाट सम्बन्धन प्राप्त हो । कतारमा १२ वर्ष श्रम गरी फर्केका चितवनका दीपक भेटवालले योगा स्कुल स्थापना गरेका हुन् ।

योगा स्कुल स्थापना

स्कुलले योगा शिक्षकको उत्पादन, नियमित योगा अभ्यास, ध्यान, रोग विशेष अनुसार थेरापेटिक योग, तनाव व्यवस्थापन लगायतका अभ्यास गरिने भेटवालले बताए ।


‘नेपालमा बजारको माग अनुसार दक्ष प्रशिक्षकको अभाव छ । योगा सिक्नको लागि भारत जानुपर्ने अवस्था छ’, स्कुलका संस्थापक भेटवालले भने,‘यसले विन्यासा कक्षाहरु सञ्चालन गर्छ ।’ स्कुलले १० वर्षभित्र एकसय वटा योगा सेन्टर विस्तार गर्ने र एक हजार दक्ष योग प्रशिक्षकहरु उत्पादन गर्ने योजना बनाएको छ ।


श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले औषधी खरिद गर्न नेपालबाट अर्बौ रुपैयाँ बाहिर गइरहेकोले योगा कक्षाहरु आवश्यक रहेको बताए । ‘जति धेरै योगा कक्षा सुरु भयो । त्यति धेरै औषधीमा लाग्ने खर्च कम हुन्छ । वार्षिक अर्बौ रुपैयाँ नेपालबाट बाहिर गइरहेको छ । सर्जरी बाहेक धेरै केशहरुमा योगाले महत्व खेल्न सक्छ,’ बिहिबार स्कुलको उद्घाटन गर्दै उनले भने, ‘नियमित योगा अभ्यास गर्नेको आत्मविश्वास बढ्छ । तुलनात्मक हिसाबले कम रिस उठ्छ । अरुको बारे सकारात्मक सोच्न थाल्छ । योगाको बारेमा म धेरै जान्दिन । तर, यसको परिणामले के आउँदछ । त्यो मैले भोगेको छु ।’


सही तरिकाले योग अभ्यास गरेमा स्वास्थ्यको लागि फाइदाजनक रहेको उनले बताए । ‘योगको अभ्यास योग्य प्रशिक्षकबाटै सिक्नुपर्छ । हात हल्लाउँदै र खुट्टा मर्काउँदैमा योगा हुँदैन । योगालाई योगाकै रुपमा अभ्यास गर्नुपर्दछ,’ उनले भने,‘त्यसो भएमात्रै योगाले सही ढंगले काम गर्नेछ ।’


उनले सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार हुनको लागि प्रोत्साहन गर्ने नीति रहेको बताए । भेटवालले आफू कतारको कर्पोरेट जीवन छोडेर योगाको दुनियाँमा प्रवेश भएको बताए । उनी कतारमा एक कम्पनीका महाप्रबन्धक थिए । ‘यो नाफामुखी हिसाबले खोलिएको होइन,’ उनले भने,‘मानिसलाई स्वस्थ्य राख्नलाई योगदान दिने गरी सेवाभावले खोलिएको हो ।’

प्रकाशित : श्रावण ९, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?