बार्सिलोना कोपा डे रेको क्वाटरफाइनलमा

एएफपी

म्याड्रिड — लियोनल मेसीले सुरुआती १५ मिनेटमा दुई गोल गरेपछि बार्सिलोनाले सेल्टा भिगोलाई सजिलै हराएर कोपा डे रेको क्वाटरफाइनल यात्रा तय गरेको छ । दोस्रो लेगको खेलमा बार्सिलोना ५–० ले विजयी रह्यो । 

गता साताको पहिलो लेग १–१ को बराबरीमा रहेको थियो। यससँगै बार्सिलोनाले ६–१ को अग्रता लिन सफल रह्यो। दोस्रो लेगको खेलका लागि बार्सिलोनाले बलियो टिम उतारेको थियो।

बार्सिलोनासँगै अन्तिम आठमा पुग्ने अरु टिममा रियल म्याड्रिड, एटलेटिको म्याड्रिड, भ्यालेन्सिया, लेगानेस, एलाभेस इस्पनयोल र सेभिया रहेका छन् ।

प्रकाशित : पुस २८, २०७४ ०९:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यी हुन् उत्कृष्ट

मकर श्रेष्ठ

काठमाडौँ — अघिल्लो साता त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोह सम्पन्न भयो । त्रिविका ६० आंगिक र १ हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसका ६० हजार बढी दीक्षित हुन योग्य थिए । यसपालि प्रसन्नकुमार तामाङले त्रिविकै सर्वोत्कृष्ट विद्यार्थी भएर चान्सलर पदक, प्राध्यापक संघ स्वर्ण पदक, रामकृष्ण मानन्धर स्वर्ण पदक हात पारे ।

रोशन कर्माचार्यले पनि तीन पदक प्राप्त गरे । पाँच विद्यार्थीका अनुभव र योजना :



‘आफैंजागरुक हुनुपर्छ’
प्रसन्नकुमार तामाङ

म आफैंलाई आफू विश्वविद्यालयकै उत्कृष्ट हुन्छु भन्ने लागेको थिएन । जुन दिन आफू उत्कृष्ट भएको थाहा पाएँ, साह्रै खुसी लाग्यो । मास्टर्स त सकियो तर जागिर छैन । निजी स्कुलतिर पढाउन त बोलाएको छ, मेरो लक्ष्य भने पीएचडी सकाउने हो । त्यसैले पढाइतिरै लाग्नेछु ।
‘एप्लाइड म्याथ’ मा स्वदेशमा पीएचडी छैन, त्यसैका लागि विदेश जाने तयारी गरिरहेको छु । विश्वविद्यालय वा आफ्नो विषयमा उत्ृकष्ट हुनेलाई सरकारले काम दिनुपर्ने हो तर हाम्रो सरकारले त्यतातिर ध्यानै दिएको छैन । टीयू टपर भएपछि बजारमा अरूले हेर्ने दृष्टिकोणमा मात्रै फरक छ ।
जुनसुकै विषय पढे पनि विद्यार्थीमा त्यसप्रति रुचि हुनु जरुरी छ । अनि मात्रै सफलता हात पार्न सकिन्छ । मलाई गणितमा सानैदेखि रुचि थियो र त्यसैअनुसार मिहिनेत पनि गरें । परिवारले पनि पूर्ण साथ दिएकाले पढिरहेका बेला खर्च जुटाउने समस्या थिएन । पढ्नेबाहेक अरू केही गर्नुपरेन । सेमेस्टर प्रणालीले पनि पढाइमै केन्द्रित गर्न सहयोग गरेको छ ।
मेरो पढ्ने तरिका खासै फरक छैन । पढ्ने समय बिहान ३ बजेदेखि सुरु हुन्छ । एकपटक पढ्न बस्दा कम्तीमा चार घण्टा पढ्ने गर्थें । विश्वविद्यालयमा व्यवस्थापन अलि कमजोर छ । शिक्षकको उपस्थिति नियमित हुँदैन । पूर्वाधार र ल्याब पर्याप्त छैन । परीक्षाको सिस्टम छैन । त्यसैले विश्वविद्यालयको भर ४०% मात्रै हो, ६०% विद्यार्थी आफैं जागरुक हुनुपर्छ ।


‘बेरोजगार छैन’
गौरी थापा

मैले पढेको नयाँ विषय (जैविक प्रविधि) हो । यो विषय अध्ययन गर्न विगतमा विदेश जानुपर्ने बाध्यता थियो । पढाइ सकाएपछि स्वदेशमै सहजै जागिर पाउन सकिन्छ, आफंै पनि व्यवसाय गर्न सकिन्छ ।
कुनै विषयको गहिराइमा पुगेर खोजी गर्न मलाई सानैदेखि मन लाग्थ्यो । अहिले यही क्षेत्रको पढाइ सकाएँ । त्यसमा पनि उत्कृष्ट भएँ । बायो टेक पढ्दा जति चासो दिन्थें, प्रयोगात्मकमा पनि त्यति नै गहिरिएर खोज गर्थें । यो विषयमा प्रयोगात्मकबाट धेरै सिक्नुपर्छ । मिहिनेतले नै मलाई स्वर्णपदक दिलायो ।
पढाइ सकाउनेबित्तिकै बेरोजगार बस्न परेको छैन । अहिले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा रिसर्च एसिस्टेन्टका रूपमा काम गरिरहेकी छु । त्यसबाहेक बायो टेक ग्रुपसँग विभिन्न अध्ययन पनि गरिरहेकी छु । गाई, भैंसी ‘ब्याउने’ भयो/भएन भन्ने पत्ता लगाउन अहिले तीन महिना लाग्छ । एक महिनाभित्रै थाहा पाउने ‘किड’ बनाउने काम अब गर्दैछौं । स्वदेशमै कृषि, चिकित्सा, खाद्यलगायत क्षेत्रमा प्रविधिको माध्यमबाट दैनिक जीवनमा आइपरेका समस्याको समाधान निकाल्ने प्रयासमा लाग्नेछु ।


चाहना अर्थशास्त्री
रोशन कर्माचार्य

बिहान पढाउँछु । बेलुका एमफिल कक्षामा जान्छु । यसरी नै दैनिकी चलिरहेको छ । पाटन संयुक्त क्याम्पसमा अर्थशास्त्रमा एमए अध्ययन गर्दा पनि दिउँसो तीन स्कुलमा गणित पढाउँथें । बिहान क्याम्पसमा पढ्थें । राति घरमा आफंै पढ्थें ।
दिनभरि व्यस्त भए पनि निकै मिहिनेत गरेर पढेको थिएँ । पढ्दा पनि बुझेर मात्रै अघि बढ्थें । पास गर्नका लागि मात्रै पढ्ने होइन । बुझेर पढ्नुपर्छ, त्यसका लागि रुचि पनि हुनुपर्छ । पढाइप्रति मोह हुनुपर्छ । कक्षा जानु र नजानुले सिकाइमा धेरै असर गर्छ । शिक्षकसँगको सम्बन्ध नजिक भयो भने धेरै कुरा सिक्न सकिन्छ । शिक्षकसँगै अनुसन्धान गर्ने मौका पनि पाइयो । मैले स्वर्ण पदक पाउनुमा शिक्षकको पनि ठूलै योगदान छ ।
‘टपर’ हुँदैमा जागिर त कसैले दिँदैन । योग्यता छ भने जागिरको समस्या पनि हुँदैन । मलाई सरकारी जागिर जाने खासै रुचि छैन । आफैं अनुसन्धान गर्नेतर्फ चासो लागेको छ । पढाइ अर्थशास्त्रको भएकाले अर्थशास्त्री बन्ने चाहना छ ।


दम्पती नै अगाडि
यसपालि एमएड गणितमा प्रेमप्रसाद दाहालले ७३.४०% अंकसहित स्वर्ण पदक जिते भने उनकी पत्नी लक्ष्मी सुवेदी एमए नेपालीमा ६८.२०% अंक ल्याएर ‘टपर’ भइन् । पदक जित्नु त्यति सहज छैन, उनीहरूलाई थाहा छ ।
प्रेम एमएड अध्ययनरत छँदा तीन स्कुल पढाउँथे र साँझमा ताहचलस्थित महेन्द्ररत्न क्याम्पसमा पढ्न पुग्थे । बेलुका घर फर्केर कक्षामा पढेको विषयको अभ्यास गर्थे । गत फागुनमा लक्ष्मीसँग विवाह गरेका उनले चैतयता सानोठिमी क्याम्पसमा पढाइरहेका छन् । लक्ष्मी चाबहिलमै निजी स्कुलमा पढाउँछिन् ।
यी दम्पतीको चाहना त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक बन्नेछ । अहिले दुवै पार्ट–टाइमर शिक्षक हुन् । ‘त्रिवि सेवा आयोग खुल्नेबित्तिकै प्रतिस्पर्धा गर्नेछु,’ प्रेमले भने, ‘टपर भएपछि एउटा प्लेटफर्म मात्रै बनेको छ । उत्कृष्टलाई विश्वविद्यालय नै रोजगारी दिन भने सकेको छैन । त्यस्तो सिस्टम बसाल्नुपर्छ ।’ आ–आफ्ना विषयमा पदक जितेकामा दुवै दंग छन् । ‘संघर्षबाटै सफलता मिलेको हो,’ उनीहरूले भने, ‘प्राध्यापक बन्न हामी अझै संघर्ष गर्न तयार छौं ।’
shrestha.makar@gmail.com

प्रकाशित : पुस २८, २०७४ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT