२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘जाँदा ट्रेनमा आउँदा प्लेनमा’

अभियान सार्थक बन्दै
विनोद पाण्डे

काठमाडौँ — ‘धेरै कष्टपछि बल्ल दिल्ली पुगियो, अनिधो र भोकले ज्यान खत्तम भइसक्यो’ नेपाल दृष्टिविहीन क्रिकेट टोलीका कप्तान कृतन श्रेष्ठ दुवालले फेसबुकमा पोस्ट गरेको यो मार्मिक शब्दले धेरैको मन कुँडिएको थियो । 

‘जाँदा ट्रेनमा आउँदा प्लेनमा’

नेपाल दृष्टिविहीन क्रिकेट टोली पहिलोपल्ट वानडे विश्वकप खेल्न पाकिस्तान जानु थियो । तर, कुनै सहयोग नपाउँदा टोली बसको लामो यात्रामा भारतको दिल्ली, अमृतसर हुँदै पाकिस्तानको लाहोर पुग्नुपरेको थियो ।


हुन त यसअघि दुईपल्ट ट्वान्टी–२० विश्वकप खेल्न भारत लाग्दा पनि नेपाली दृष्टिविहीन क्रिकेट टोली यसरी नै गन्तव्य पुगेको थियो । यसअघि नै सञ्चारमाध्यममा नेपाली दृष्टिविहीन टोली कठिन यात्रा गरेर विश्वकप खेल्न जान लागेको समाचार आइसकेको थियो ।


दृष्टिविहीन क्रिकेटरसँग भन्नलाई मनभरी गुम्सिएर बसेका धेरै पीडा छन् । तर, उनीहरू ‘सबैलाई समान व्यवहार हुनुपर्छ’ भनेर भन्न पनि सक्दैनन् । धन्न, विश्वकपमा जानुअघि यसपालि उनीहरूले तयारीका लागि खेल्न योग्य मैदान पाएका थिए । विगतमा उनीहरूले यही सुविधा पाउन संघर्ष गरेका थिए ।


गोरखपुर पुगेपछि दृष्टिविहीन क्रिकेट टोलीले ट्रेन आउन अझै समय लाग्ने थाहा पाएका थिए । ट्रेन कतिखेर आउने निश्चित थिएन । कुरेको भए नेपालको पाकिस्तानसँग हुने विश्वकपको पहिलो खेल नै छुट्न पनि सक्थ्यो । त्यही भएर दिल्लीबाट २२ मध्ये आधा टोली बसमै अमृतसर लागेको समाचार आयो ।

यो सबै पक्षबारे नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) पूरै अपडेट भएर बसेको थियो । यसका अध्यक्ष भानु सिग्देलले आफ्नो समूहलाई लिएर नेपाल दृष्टिविहीन क्रिकेट टोलीका लागि अभियान सुरु गरेको थियो । उनले त्यसपछि नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खडालाई सम्पर्क गरे । पारसले आर्थिक र नैतिक समर्थन गरेपछि यो अभियानले ठूलो रूप पायो ।


पारसले ‘दृष्टिविहीन क्रिकेटर्सको सहयोगार्थ एनसीएसएसको अभियान’ नारामा व्यक्तिगत ५० हजार रुपैयाँ दिने घोषणा गरे । उनले नै सञ्चारमाध्यममा विश्वकप खेल्ने दृष्टिविहीन क्रिकेट टोलीलाई समान व्यवहार हुनुपर्ने जनाउँदै ‘जाँदा रेलमा फर्किंदा प्लेनमा’ भन्ने नारा अगाडि सारे । त्यसैमा केहीले ‘स्वाभिमानको अभियान’ भन्ने नारा पनि थपेका छन् ।


एनसीएसएसको यो अभियानपछि उनीहरूलाई प्रधानमन्त्री कार्यालयदेखि राष्ट्रिय खेलकुद परिषद्सम्मले सम्पर्क गरेको छ । परिषद्ले ४ लाख दिएका कारण विश्वकप जानका लागि टोलीका बन्द प्रशिक्षण र बसको टिकट काट्न पुगेको थियो । तर, यो दृष्टिविहीन क्रिकेटरका लागि पर्याप्त थिएन ।


सेमिफाइनलसम्म पुग्ने लक्ष्य बनाएको नेपाल दृष्टिविहीन टोली लाहोरमा पाकिस्तान र बंगलादेशसँग पराजित भइसकेको छ । त्यसपछि नेपाल थप खेल्न यूएई लाग्नेछ । निर्धारित तालिकाअनुसार यूएईमा आफ्नो खेल सिध्याएपछि नेपाली टोली पुन: पाकिस्तान हुँदै त्यहाँबाट बस, ट्रेनमा दिल्ली भएर नेपाल फर्किने कार्यक्रम छ ।


एनसीएसएसको यो अभियानमा बिहीबार रातिसम्म ३ लाख १७ हजार २ सय ६५ रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ । एनसीएसएसको अहिलेको अभियान भनेको नेपाली दृष्टिविहीन टोलीलाई सिधै यूएईबाट प्लेनमा काठमाडौं फर्काउने हो । त्यसका लागि प्रतिव्यक्ति २३ देखि २५ हजार टिकट भाडा लाग्नेछ । यूएईबाटै नेपाली टोलीलाई प्लेनमा काठमाडौं ल्याउने हो भने ५ लाखजति खर्च हुने जनाइएको छ ।

यसका लागि एनसीएसएसका अध्यक्ष सिग्देल नेपाल दृष्टिविहीन टोलीका लजिस्टिक म्यानेजर निरोज गिरीसँग दैनिक सम्पर्कमा छन् । ‘गिरीले २० जनवरीमा प्लेन टिकट बनाउनुभयो भने यूएईबाट फर्किन्छु भन्नुभएको छ,’ सिग्देलले भने । सिग्देल नेपाली टोलीलाई यूएईबाटै प्लेनमा फर्काउने अभियान सार्थकता नजिक पुगेको बताउँछन् ।

‘अहिलेसम्म उठेको रकम नेपाली टोलीलाई काठमाडौं प्लेनमा ल्याउन अपुग छ, यो सातासम्म हाम्रो अभियानलक्षित रकममा पुग्ने विश्वास लिएको छु,’ सिग्देलले भने, ‘रकम बढी भए हामी त्यो विश्वकप खेलेको टोलीको सम्मानार्थ दिनेछौं ।’


एनसीएसएसको त्यो अभियानमा पारससहित पारस लुनिया, अमृत भट्टराई, विनोद दास, सुनील धमला, अनिल शाह, सन्दीप लामिछाने, सिद्धान्त लोहनी, रोहित पौडेल, प्रति जिसी, सोपमाल कामी, सोनु तामाङ, नीरा राजोपाध्याय, वीरेन्द्र शाह, विजयकुमार शर्मा, एलबी क्षेत्री, सन्जिव पाण्डे, दुर्गा पाठक, प्रशान्त मल्ल लगायत क्रिकेट सर्कलले आर्थिक सहयोग गरेका छन् ।


सांसद गगन थापासहित धनगढी क्रिकेट एकेडेमी, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, युनिभर्सिटी, थ्री स्टार क्लबलगायतका सहयोगी हातको साथमा एनसीएसएस नेपाल दृष्टिविहीन क्रिकेट टोलीलाई प्लेनमा यूएईबाट काठमाडौं ल्याउने अभियान नजिक पुगेको छ ।


प्रकाशित : पुस २८, २०७४ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?