मनाङ खप्तडको सेमिफाइनलमा

धनगढी — डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब धनगढीमा जारी नेपाल आइस दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधि रक्षाको बाटोमा एक कदम अगाडि बढेको छ । 

मनाङ खप्तडको सेमिफाइनलमा

मनाङले शुक्रबार रूपन्देही ११ लाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । फाइनल पुग्नका लागि मनाङले शनिबारै विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । दोस्रो सेमिफाइनल आइतबार आयोजक सुदूरपश्चिम ११ र एपीएफ क्लबबीच हुनेछ ।

एकपक्षीय नतिजा निकालेको मनाङको जित जारी प्रतियोगितामा फराकिलो अन्तरको हो । यसअघि थ्री स्टारले रमपम झापालाई ३–१ ले हराएको थियो ।

धनगढी रंगशालामा खेलको २० औं मिनेटमा मनाङले गोलको खाता खोल्यो । विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै मनाङलाई अग्रता दिलाए । मध्यान्तरसम्म १–० कै अग्रतामा खेल टुग्याएको मनाङका लागि दोस्रो गोल आत्मघाती उपहार मिल्यो । रूपन्देहीका छिरिङ गुरुङले बल बचाउने क्रममा ५५ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए । मनाङले थप दुई गोल अन्तिम समयमा गरेको हो । ८३ औं मिनेटमा विशाल राई र ८४ औं मिनेटमा विमल रानाले गोल थप्दै मनाङलाई विजयी गराए । भिक्टोर म्यान अफ द म्याच घोषित भए । उनले १० हजार पुरस्कार पाए ।

खेलको अधिकांस समय बल मनाङको कब्जामा रहे पनि केही गोल गर्ने प्रयासबाट रूपन्देही चुकेको थियो । रूपन्देहीले पहिलो हाफमा पाएका तीन मौका गुमायो । टोलीले दोस्रो हाफमा पनि केही अवसर खेर फाल्यो । मनाङका प्रशिक्षक हेमन्त आलेले खेलाडीबीच राम्रो समन्वय हुँदा सानदार जित हासिल गरेको बताए । उनले भने, ‘चिरपरिचित प्रतिद्वन्द्वीका सबै रणनीति चिर्न सकेका कारण हामी सफल भयौं ।’

प्रशिक्षक आलेले आगामी खेलबारे भने, ‘सेमिफाइनल खेल ५०–५० को हुने हो । आर्मीविरुद्ध आफ्नो टिमले जित हासिल गर्नेमा ढुक्क छु ।’

रूपन्देहीका कप्तान दिलीप क्षेत्रीले आफ्ना खेलाडीको गल्तीमा हार बहोर्नुपरेको बताए । उनले भने, ‘पहिलो हाफमै गोल खाएपछि गोल फर्काउने रणनीतिअनुरुप खेल्दा थप गोल खानुपर्‍यो । टिम समन्वयमा पनि अभाव देखियो ।’

प्रकाशित : पुस २९, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?