कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुलिसको वर्चस्व कायमै

काठमाडौँ — नेपाल पुलिस क्लबले ३९ औं हुआवे राष्ट्रिय टेबलटेनिसको डबल्सतर्फ महिला र पुरुष विधाको दुवै उपाधि हात पारेको छ । विभागीय वर्चस्व कायम राख्दै राखेप च्याम्पियनसिपअन्तर्गत जारी प्रतियोगितामा पुलिसका युगल जोडीले दुवै विधामा आर्मीका खेलाडीलाई पराजित गरे ।

पुलिसको वर्चस्व कायमै

महिलातर्फ साबिक विजेता आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीलाई पराजित गर्दै पुलिसका नविता श्रेष्ठ र एलिना महर्जनले उपाधि हात पारे । पहिलो दुई सेट ११–४, १२–१० ले जितेका आर्मीका खेलाडीले त्यसपछि लय गुमाएका थिए । नविता र एलिनाको जोडीले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम तीन सेटमा

११–७, १२–१०, ११–५ को अग्रता लिए । चौथो सेटमा ९–७ ले पछाडि परेको स्थितिमा म्याच प्वाइन्ट बचाउँदै पुलिसको जोडी उपाधि जित्न सफल रह्यो ।


फाइनलमा आर्मीविरुद्ध खेल्दै पुलिसकै स्यान्टु श्रेष्ठ र दीप साउन । तस्बिर : एएनटीटीए


लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा पुरुषतर्फ पुलिसका स्यान्टु श्रेष्ठ र दीप साउनले आर्मीका नारायण घिमिरे र कृष्ण थापामगरलाई पराजित गर्दै उपाधि जिते । एकतर्फी फाइनलमा ११–३, ११–२, ११–५ को सोझो सेटमा जित हात पार्दै स्यान्टु र दीपको जोडीले पुलिसको दबदबा कायम राख्यो । त्यसअघि सेमिफाइनलमा उनीहरूको जोडीले एपीएफका पुरुषोत्तम बज्राचार्य र अमरबहादुर मल्ललाई पाखा लगायो । साबिक विजेता पुलिसका प्रदीप रोक्का र विनेश खनियाँलाई पराजित गरेका आर्मीका कृष्ण र नारायणले फाइनलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । एकलतर्फ विभागीय टोलीका शीर्ष खेलाडी क्वाटरफाइनलमा स्थान बनाउन सफल रहेका छन् । पुरुषतर्फ शीर्ष वरीयताका स्यान्टु श्रेष्ठ, दीप साउन, अमरबहादुर मल्ल लगायतका खेलाडी अगाडि बढे भने महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, स्वेच्छा नेम्वाङ र रविना महर्जन पनि अगाडि बढेका छन् । सम्पूर्ण खेल शनिबार सकिने छ ।

प्रकाशित : पुस २९, २०७४ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?