घर बाहिर जित्नै गाह्रो

काठमाडौँ — टेस्ट क्रिकेटमा दर्शकको संख्या घटै छ । किनभने सबैलाई थाहा छ, कसले जित्ने छ । खेलमा यस्तो हुन्छ भने त्यो राम्रो होइन । म न्युकासल समर्थक हुँ । मलाई लाग्छ, प्रत्येक खेलमा मेरो टिम जित्ने छ । उनीहरूले पक्कै यस्तो गर्न सक्ने छैनन् तर यस्तो सम्भावना बढी छ । यदि यसलाई एसेज क्रिकेट शृंखलामा इंग्ल्यान्डले अस्ट्ेरलियालाई हराउँछ भन्ने तथ्यसँग तुलना गरिन्छ ।’ 

घर बाहिर जित्नै गाह्रो

यो भनाइ हो पूर्व इंग्लिस स्पिनर ग्रेम स्वानको । साँच्चै के टेस्ट क्रिकेट यति साह्रो पूर्वानुमान गर्न सकिने भएको हो त ?

वा भनौं क्रिकेटमा घरबाहिर जत्तिको जित्न अरु कुनै खेलमा गाह्रो छैन हो त ? जस्तो इंग्ल्यान्डकै प्रसङ्ग । यो टिमले घरमा जित्ने सम्भावना जति बढी छ, बाहिर हार्ने सम्भावना पनि उत्तिकै बढी । सन् २००१ यता इंग्ल्यान्डले घरमा एसेज शृंखला गुमाएको छैन, जबकि सन् १९८६–८७ यता इंग्ल्यान्डले अस्ट्ेरलियामा एकपल्ट मात्र जितेको छ । यसपल्ट पनि इंग्ल्यान्डले एसेज शृंखला ४–० ले गुमायो । सन् २०१३–१४ मा यो हारको अन्तर ५–० रह्यो ।

त्यसैले पनि टेस्ट क्रिकेट पण्डित एड स्मिथले पनि माने, ‘साँच्चै म पनि चिन्तित छु । टेस्ट क्रिकेटमा पूर्वानुमान गर्न कति सजिलो भएको छ ।’ यसै कारण कतै टेस्ट क्रिकेट रमाइलो पनि हुन छाडेको त छैन ? अर्को प्रश्न । टेस्ट क्रिकेटमा घरेलु टिम वास्तवमै बलियो हुन्छ । यस पछाडि धेरै कारण पनि छन् । फेरि यो खासै नयाँ तथ्य भने होइन । पछिल्ला वर्षका केही शृंखलालाई उदाहरण मान्ने हो भने पनि घर बाहिर गएर जित्ने प्रवृत्तिमा खासै परिवर्तन आएको छैन । यदि पुराना दिनसँग दाँज्ने हो भने ।

पछिल्लो सय वर्षको टेस्ट क्रिकेट इतिहास पल्टाउने हो भने घर बाहिर गएर शृंखला जित्ने सम्भावना २०–३० प्रतिशतमात्र छ । सन् ९० मा यो प्रतिशत २३ थियो । सन् २०१० तिर पुगेर यो २७ प्रतिशत भएको छ । यसरी घरेलु टिम बलियो हुनुको प्रमुख कारण त अरु केही होइन, पिच नै हो । प्रस्ट छ, टेस्ट खेल्ने सबै १० देशले आफ्ना प्रतिद्वन्द्वीका लागि फरक प्रकृतिको पिच प्रस्तुत गर्ने गर्छ । अस्ट्ेरलिया र दक्षिण अफ्रिकामा बल खुबै बाउन्स हुन्छ ।

त्यसैले त्यतातिर तीव्र गतिका बलर राजाजस्तै हुन्छन् । इंग्ल्यान्ड, न्युजिल्यान्ड र भारततिर बलले स्विङ खाने गर्छ, ब्याट्सम्यानलाई छाडेर । त्यसैले पेसम्यानभन्दा बल स्वीङ गराउन सक्ने बलर यी देशका पिचमा सफल हुने गर्छन् । हुँदा(हुँदा बल पनि फरक हुने गर्छ । जस्तो इंग्ल्यान्डतिर टेस्ट खेल्दा डयुक बल प्रयोग हुन्छ । अस्ट्ेरलियातिर कुकाबुरा । सबैलाई थाहा छ, डयुक बलले बलरलाई फाइदा दिन्छ । एउटा बलमा माहिर ब्याट्सम्यान अर्को बलमा औसत खेलाडी हुनसक्छ ।

सायद अर्को एउटा प्रमुख कारण टिमले विदेश भ्रमण गर्दा त्यसअनुसार पर्याप्त तयारी पनि गर्न सकेको हुन्न । त्यसमाथि अचेल शृंखला कम समयावधिको हुन थालेको छ । त्यसैले भ्रमणकारी टिमले अभ्यास खेल पनि कम पाउन थालेका छन् । यस्तोमा घरेलु टिमले आफूअनुकुल पिच बनाउँछ । त्यसमा खेल्ने अनुभव नै विपक्षी टिमसँग छैन भने समान टक्कर कसरी हुन्छ । त्यसमाथि विपक्षी टिमबारे खेल्नुअगाडि नै सबै थाहा भइसकेको हुन्छ ।

अझ विपक्षी टिमलाई गाह्रो हुने कारण आफूले भ्रमण गरेको देशको मौसम फरक हुनु पनि हुन्छ । आखिरमा मौसमले पनि क्रिकेटमा धेरे फरक पार्छ नै । अब मूल प्रश्न, के टेस्ट क्रिकेटमा भ्रमणकारी टिमलाई जति गाह्रो हुन्छ, त्यत्तिकै अरु खेलमा पनि हुने गर्छ त ? हार्वर्ड विश्वविद्यालयले गरेको अनुसन्धानमा के निस्केको छ भने कम्तीमा फुटबलसँग तुलना गर्दा त टेस्ट क्रिकेट पाहुना टिमका लागि निर्दयी नै साबित हुने गर्छ । तर पनि क्रिकेट अनिश्चिताको खेल हो, यसमा असम्भव भन्ने केही हुन्न ।

-मार्क हिगिन्सन, लन्डन (बीबीसी)

प्रकाशित : पुस २९, २०७४ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?