कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

राखेप च्याम्पियनसिप - आर्मीको वर्चस्व

काठमाडौँ — आर्मीका खेलाडीले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दोमा ९ स्वर्ण पदक जितेका छन् । पूर्व ओलम्पियन संगीना वैद्यको प्रशिक्षणमा रहेको आर्मीले गेरोगीमा ७ स्वर्ण, ५ रजत र ३ कांस्य तथा पुम्सेमा २ स्वर्ण, २ रजत र १ कांस्य जित्यो ।

राखेप च्याम्पियनसिप - आर्मीको वर्चस्व

प्रहरी क्लब गेरोगीमा ६ स्वर्ण, ४ रजत र ३ कांस्य तथा पुम्सेमा २ स्वर्ण, १ रजत र २ कांस्य जित्दै दोस्रो भयो । एपीएफ क्लबले तेस्रो हुँदा गेरोगीमा २ स्वर्ण, ३ रजत र ३ कांस्य तथा पुम्सेमा १ स्वर्ण र २ कांस्य जितेको थियो । गेरोगी र पुम्सेमा मध्यमाञ्चल र पूर्वाञ्चलका खेलाडीले १–१ स्वर्ण जिते । गेरोगीको पुरुष ८७ केजीमा मध्यमाञ्चलका भूपेन श्रेष्ठ र महिला पुम्सेको २० वर्षमुनि पूर्वाञ्चलकी सिना मादेनले स्वर्ण जिते ।


सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको प्रतियोगिताको गेरोगीतर्फ पुरुषमा १२ औं सागका रजतधारी पुलिसका वीरबहादुर महरा र महिलामा एपीएफकी अस्मिता खड्का उत्कृष्ट खेलाडी चुनिए । वीरबहादुरले ६३ केजीमुनि स्वर्ण जिते । अस्मिताले ४९ केजीमुनि फाइनलमा आर्मीकी काजल श्रेष्ठलाई १२–६ अंकले पराजित गर्दै स्वर्ण जितेकी थिइन् । पुम्सेतर्फ पुरुषमा एपीएफका नवीन श्रेष्ठ र महिलामा आर्मीकी नीता गुरुङ उत्कृष्ट खेलाडी भए । नवीनले १६ वर्षमुनि र नीताले २० वर्षमाथिको तौलमा स्वर्ण जितेका थिए । उत्कृष्ट सबैले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।


फुटबल

दाङ– राखेप च्याम्पियनसिप २८ औं पुरुष राष्ट्रिय फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार घोराहीस्थित भरतपुर मैदानमा सम्पन्न फाइनलमा पुलिसले त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको थियो । पेनाल्टीमा पुलिसका सुमन लामा, बुद्ध लामा, तेज तामाङ, दिनेश राजबंशी र नीरकुमार राईले गोल गरे । आर्मीका जर्ज प्रिन्स कार्की, हिरण्य मगर, विवेक बस्नेत र रुपेश केसीले गोल गरे । आर्मीका राजीव गुरुङको प्रहार गोलरक्षक रोशन खड्काले बचाएका थिए ।


एपीएफ क्लबले सुदूरपश्चिमलाई टाइब्रेकरमा ४–३ ले हराएर तेस्रो स्थान कब्जा गर्‍यो । २–२ गोल भएको निर्धारित समयमा एपीएफबाट महेश लामा र आशिष लामा गोल गर्दा सुदूरपश्चिमको दुवै गोल मणिराम चौधरीले गरे । टाइब्रेकरमा एपीएफका अमृत अधिकारी, सन्तोष कटुवाल, मानबहादुर राना र सुमित आलेले गोल गरे । सुदूरका सुनील धामी, राजेन्द्र ठगुन्ना र राकेश हमाल गोल गर्न सफल भए ।


हकी

हेटौंडा– राष्ट्रिय हकी प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ आर्मी टिम च्याम्पियन भएको छ । शनिबार पुरुषतर्फ आर्मीले सुदूरपश्चिमलाई २–१ र महिलातर्फ मध्यमाञ्चललाई ४–० गोलले हरायो । नेपाल हकी संघको आयोजनामा वन विज्ञान मैदानमा पुरुषमा १७ औं र महिलामा दोस्रो संस्करण हो । आर्मीबाट दीपेन्द्र ऐरले ५९ औं र प्रदीप राजवंशीले ६९ औं मिनेटमा गोल गरे । सुदूरपश्चिमका राजेन्द्र कार्कीले ३२ औं मिनेटमा एक गोल गरे । महिलामा आर्मीलाई जिताउँदा सीता चौधरीले दुई, पिंकी सिंजाली र सीतामाया बलले १–१ गोल गरे । पूर्वाञ्चलका मनोज चौधरी र आर्मीकी सीतामाया बल उत्कृष्ट खेलाडी भए । दुवैले ५ हजार रुपैयाँ पाए ।


ब्याडमिन्टन

कञ्चनपुर– महेन्द्रनगरमा सम्पन्न ३९ औं राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा आर्मी वर्चस्व जमाएको छ । ७ मध्ये ६ स्वर्ण आर्मीका खेलाडीले जिते । पुरुष टिमको स्वर्णमात्र एपीएफले जितेको हो । आर्मीका रत्ज्नजित तामाङले एपीएफका दिपेश धानीलाई हराएर उपाधि जिते । पहिलो सेट १९–२१ ले पछि परेका रत्नले दोस्रो सेटमा दीपेशलाई लगातार ११ अंकसम्म कुनै मौका दिएनन् । त्यसपछि लयमा फर्कन खोजेका दिपेशलाई ६ अंकमा रोक्दै खेल बराबरीमा ल्याए । तेस्रो सेटमा २१–१२ आफ्नो पक्षमा पारेर रत्नले उपाधि कब्जा गरे । उनले डबल्समा नवीन श्रेष्ठसँग मिलेर उपाधि जिते । उनीहरूले दीपेश र विजित थापामगरको जोडीलाई २१–१९, २१–१४ ले हराएका थिए । रत्नजितले मिक्स डबल्समा दिदी नङसलसँग मिलेर स्वर्ण जिते । उनीहरूले एपीएफका विजित र शोभा गौचनको जोडीलाई १६–२१, २१–१९, २१–१० ले पराजित गर्दै उपाधि जितेका थिए ।


महेन्द्रनगरस्थित कभर्डहलमा महिला सिंगल्समा आर्मीकी नङसलले एपीएफकी शिक्षा श्रेष्ठलाई २१–१३, २१–१४ ले हराएर उपाधि जितिन् । नङसलको यो लगातार तेस्रो उपाधि हो । महिला डबल्समा नङसलले अनुमाया राईसँगको जोडीमा उपाधि जितिन् । उनीहरूले एपीएफका पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठलाई २१–१९, २१–१५ ले हराए ।


सफ्ट टेनिस

विराटनगर– १० औं राष्ट्रिय सफ्ट टेनिसको महिलातर्फ मध्यमाञ्चलले वर्चस्व जमाएको छ । एकलमा साबिक विजेता मध्यमाञ्चलकी मेघा श्रेष्ठले आफ्नै टिमकी चन्द्रमाया राईलाई ४–१ को सेटले हराएर उपाधि सुरक्षित गरिन् । मध्यमाञ्चलकी एलिजा रञ्जित र पश्चिमाञ्चलकी प्रीति थापा तेस्रो भए । महिला डबल्सर्फ मध्यमाञ्चलका चन्द्रमाया र एलिजाको जोडीले मेघा र आयुष्मा रञ्जितको जोडीलाई ५–३ सेटले हराएर स्वर्ण जितेको छ । मध्यमाञ्चलका कृपा शर्मा र सुनीरा थापा तथा सुदूरपश्चिमका भावना श्रेष्ठ र अस्मिता धामीले कांस्य पदक जिते । महिला टिम इभेन्टमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ३–० को सोझो सेटले हराएर उपाधि जित्दा मध्यमाञ्चल र सुदूरपश्चिम तेस्रो भए । पुरुष एकलतर्फ डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलका प्रदीप खत्रीले फाइनलमा पूर्वाञ्चलका युनेश योञ्जनको सामना गर्ने छन् ।

प्रकाशित : माघ ७, २०७४ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?