२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

राष्ट्रिय खेललाई एफएनसीसीआईको साथ

स्थानीयदेखि केन्द्रीयस्तरसम्म भलिबल प्रतियोगिता हुने
अहिलेसम्मकै ठूलो बजेट १ करोड २० लाख रुपैयाँ
ध्रुव तुलाधर

काठमाडौँ — नेपालको राष्ट्रिय खेलमा ‘भलिबल’ ले मान्यता पाएको ९ महिना बितिसकेको छ । जेठ ८ मा सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । यसअवधिमा राष्ट्रिय खेल भनिए पनि भलिबलले देशव्यापी कार्यक्रमको खाका पाउन सकेको थिएन ।

राष्ट्रिय खेललाई एफएनसीसीआईको साथ

आइतबार नेपाली भलिबलका लागि ऐतिहासिक दिन साबित भएको छ । निजी क्षेत्रकै प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले भलिबलसँग ठूलो सहकार्य गरेको छ ।


देशको जुनसुकै भू–भागमा पनि खेल्न सकिने खेल हो भलिबल अनि राष्ट्रिय खेल । त्यसैलाई आधार मान्दै एफएनसीसीआई भलिबल विकासमा अग्रसर बनेको अध्यक्ष भवानी राणाले बताइन् । ‘देशको आर्थिक विकाससँगै सामाजिक रुपान्तरणको अभियानमा खेलकुदको भूमिका महत्त्वपूर्ण छ । जहाँ युवाको सहभागिता उल्लेख्य हुन्छ । हामीले नयाँ कार्य थालनीका रूपमा राष्ट्रिय खेलको विकासमा सहकार्य गरेका हौं,’ अध्यक्ष राणाले भनिन् ।


सरकारी उपस्थितिमा आइतबार एफएनसीसीआई र नेपाली भलिबलको प्रतिनिधिमूलक संस्था नेपाल भलिबल संघले समझदारीपत्रमा हस्ताक्षर गरे । तीनवर्षे समझदारीअनुसार दुवै संस्थाको सक्रियतामा एफएनसीसीआई कप राष्ट्रिय भलिबल प्रतियोगिता गरिनेछ । महिला–पुरुष दुवै विधामा हुने प्रतियोगितालाई संघीय संरचनाअनुसार स्थानीय स्तरबाटै सुरु गरिने छ । ‘राष्ट्रिय खेल भलिबलको माध्यमबाट महासंघलाई स्थानीय स्तरमा लगेर खेलकुद र स्थानीय आर्थिक विकाससँग जोडिने हाम्रो लक्ष्य हो,’ अध्यक्ष राणाले थपिन् ।


प्रतियोगिता स्थानीय स्तरबाट सुरु भएर केन्द्रीय स्तरमा आइपुग्नेछ । पहिलो चरणमा स्थानीय गाउँ, नगरका टिमले जिल्ला स्तरको छनोटमा प्रतिस्पर्धा गर्नेछन् । जुन माघ २५ देखि फागुन १० सम्म चल्नेछ । त्यसपछि जिल्लाबाट प्रदेशस्तरमा प्रतिस्पर्धा गराइने छ । प्रदेश स्तरको प्रतियोगिता फागुन १० देखि चैत १० सम्म हुनेछ । तेस्रो चरणमा प्रदर्शनका आधारमा हरेक प्रदेशबाट १–१ टोली हुनेछन् । सातै प्रदेशबाट छानिएको टोलीबीच केन्द्रीय स्तरमा प्रतियोगिता हुनेछ । यो प्रतियोगिता चैत २०–२८ सम्म गरिने प्रतियोगिताका सह–संयोजक भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए । उनका अनुसार विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउने छन् ।

उनले जिल्ला र प्रदेशमा टिमको सहभागिता हेरेर नकआउट वा लिगकम नकआउटका आधारमा खेलाइने बताए । यो प्रतियोगितामा विभागीय टोलीहरू (आर्मी, पुलिस र एपीएफ) ले सहभागिता जनाउन पाउन छैनन् ।


‘राष्ट्रिय खेललाई गाउँका कुना कन्दरासम्म पुर्‍याउँदै खेलाडी उत्पादनको अभियान हो । यसले नेपाली भलिबलमा ठूलै परिवर्तन आउँछ भन्ने आशा छ,’ महासचिव चन्दले भने । उनको भनाइमा साथ दिँदै प्रतियोगिता संयोजक रहेका एफएनसीसीआई सदस्य रविन श्रेष्ठले भने, ‘महासंघले आफ्नो मुलुकभर रहेको बलियो सञ्जाललाई भरपूर उपयोग गरेर भलिबलमा परिवर्तन ल्याउने छ ।’


महासंघको वर्तमान कार्यसमितिको तीनवर्षे कार्यकाल मध्यनजर गर्दै तीनवर्षे समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसको पहिलो संस्करणकै कुल बजेट १ करोड २० लाख रुपैयाँ रहेको छ । यो नेपाली खेलकुदमै निजी संस्थाले खर्च गर्न लागेको ठूलो बजेट हो ।


महासंघको वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले राष्ट्रिय खेलको विकासमा यो समझदारी कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । ‘अहिले क्रिकेटमा थु्रपै व्यापारिक प्रतिष्ठानको संलग्नता छ । फ्रेन्चाइज टिम किनेर औद्योगिक प्रतिष्ठानहरू क्रिकेटतर्फ आकर्षित छन् । हामी पनि राष्ट्रिय खेल भलिबलमा फ्रेन्चाइजको अवधारणा ल्याउन सक्छौं भन्ने विश्वासमा यो अभियान सुरु गरेका छौं ।’


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली खेलकुद विकासमा निजी क्षेत्रको सहकार्य खोजिएको अवस्थामा एफएनसीसीआईको प्रवेशले सकारात्मक सन्देश दिने बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भलिबल राष्ट्रिय खेलका रूपमा कार्यान्वयन चरणमा रहेकाले यो कार्यक्रम ‘माइल स्टोन’ बन्ने दाबी गरे । उनले सरकारकै संलग्नतामा एफएनसीसीलाई भलिबलमा प्रवेश गराएको जानकारी गराए ।


नेपाली खेलकुदमा भलिबल संघ पनि पुरानै संघमा पर्दछ । नेपाल भलिबल संघ स्थापना भएको नै ४४ वर्ष भइसकेको छ । यो अवधिमा नेपाली पुरुष भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट यसै वर्षमात्र पहिलो कांस्य पदक जितेको थियो । मनोरञ्जन रमण शर्माको नेतृत्वमा रहेको भलिबल संघ दुई साताअघि मात्र ठूलो प्रायोजक पनि भित्र्याउन सफल भएको थियो ।

प्रकाशित : माघ ८, २०७४ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?