कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुजलको ह्याट्रिक

इटहरी गोल्डकप
वेदराज पौडेल

इटहरी — लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलमा आइतबार रमपम झापा ११ लाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सुरुआतमै लय गुमाउँदा झापाले छिमेकी जिल्लाको यात्रा टुंग्याएको छ । 

सुजलको ह्याट्रिक

नाइजेरियन मूलका खेलाडीसहित उत्रिएको झापाले लय गुमाउँदा पहिलो हाफमै तीन गोल सामना गर्नुपर्‍यो । खेलाडीबीच तालमेल हुन नसक्दा मनाङका सुजल श्रेष्ठले पहिलो हाफमै ह्याट्रिक पूरा गरे । पाँचौं मिनेटमा मनाङका भिक्टरका पोस्टलक्षित प्रहार रिबाउन्ड भएपछि सुजलले त्यसमै गाल गदै खाता खोलेका थिए । त्यसको सात मिनेटपछि नै झापाका दिलेन लोक्तानले पेनाल्टी बक्सभित्र ह्यान्ड गरेपछि मनाङले पेनाल्टीको अवसर पायो । त्यसमा सुजलले कुनै गल्ती नगरी गोल गरे ।


झापाली समर्थकको भीड रहेको इटहरी रंगशालामा एकपक्षीय गोल हुन थालेपछि दर्शकदीर्घामा सन्नाटा छायो । खेलको १८ औं मिनेटमा मनाङका भिक्टरलाई कडा टयाकल गर्दा प्राप्त फ्रि–किक पुन: सुजलले प्रहार गरे । उनले फ्रि–किकमा गोल गर्दै ह्याट्रिक गरे भने मनाङ ३–० ले अगाडि बढ्यो । निकै दबाबमा रहेको झापाले २८ औं मिनेटमा मनाङका गोलरक्षक दिनेश थापामगरको कमजोरीमा फाइदा झापाका कर्ण लिम्बूले उठाए । पेनाल्टी बक्सभन्दा निकै अगाडि आएका दिनेशलाई छल्दै कर्णले सोझै प्रहार गरेको बल गोलमा परिणत भयो । खेल ३–१ को अवस्थामा पुग्यो ।


दोस्रो हाफसँगै झापा लयमा फर्कियो । उसले मनाङलाई केही दबाब दियो । २३ औं मिनेटमा मनाङका विमल बस्नेतको आत्मघाती गोलमा खेल ३–२ को अवस्थामा पुग्यो । झापाका खेलाडीको प्रहार विमलको टाउकोमा लाग्दै गोलमा परिणत भएको थियो । ३१ औं मिनेटमा मनाङका विशाल राईले एक गोल गरेर खेल ४–२ को स्थितिमा रह्यो । लगत्तै तीन मिनेटपछि झापाका योगेश गुरुङले मिलाइदिएको बलमा झापाका कर्ण लिम्बूले खाली पोस्टमा गोल गरेका थिए ।


मनाङका गोलरक्षक दिनेशले बल हेनरीतर्फ फाले तर योगेशले चखालीपूर्ण तबरले त्यसलाई खोसेका थिए । त्यसपछि झापाले खेल ४–३ को अवस्थामा ल्याए पनि थप गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ । झापाले केही मौका खेर फाल्यो । १५ औं मिनेटमा झापाका आवाको पासमा सुमन मैनालीको प्रहार फितलो हुँदा गोल हुन सकेन । दोस्रो हाफलगत्तै झापाका योगेश गुरुङले २५ यार्डबाट गरेको प्रहार पोल माथिबाट बाहिरियो । कर्णको पासमा पेनाल्टी बक्सभित्र रहेका योगेशले वान टच प्रहार गर्न नसक्दा गोलरक्षक दिनेशले बचाउ गरे । दोस्रो हाफको १७ औं मिनेटमा पोस्ट नजिकैबाट झापाका दिलेनको प्रहार मनाङका हेनरीले हेडबाट विफल बनाइदिए । मनाङले पाएका अवसर गुमाएको थियो । पहिलो हाफको २५ औं मिनेटमा हेमन गुरुङको पासमा पोस्ट नजिकै विशाल राई गोल गर्न चुकेका थिए । बल झापाका गोलरक्षक किशोर गिरीले बचाए ।


झापाका प्रशिक्षक प्रवेश कटुवालले लय मिल्न नसक्दा सुरुमै गोल खाएर दबाब झेल्नुपरेको बताए । दुई दिनअघि आफ्ना खेलाडी घाइते भएकाले नाइजेरियन युनाइटेडका खेलाडी समावेश गर्दा टिम सेट हुन नपाएको उनले बताए ।


मनाङका सहायक प्रशिक्षक हेमन्त आलेले समग्र प्रदर्शनप्रति सन्तुष्ट हुन नसके पनि सुरुमै पाएको सफलता टिकाइराख्न सक्दा भने जित निकाल्न सकिएको बताए । उनले दुहबी गोल्डकपको फाइनलमा आर्मीलाई पराजित गर्दा जस्तो सुजबुझपूर्ण प्रदर्शन गर्न नसकिएको बताउँदै नयाँ मैदान भएकाले दोस्रो हाफपछि ओभरकन्फिडेन्स हुँदा विपक्षीले मौका पाएको बताए ।


खेलको म्यान अफ द म्याच मनाङका ह्याट्रिककर्ता सुजल श्रेष्ठ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।


आजको खेल

त्रिभुवन आर्मीविरुद्ध

ड्रुक युनाइटेड भुटान



प्रकाशित : माघ ८, २०७४ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?