बार्सिलोना ११ अंक अगाडि

एएफपी

म्याड्रिड — लियोनल मेसीले अर्को उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले एथलेटिक बिल्बाओलाई २–० ले हराएर आइतबार स्पेनी ला लिगामा नजिकको प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमाथि ११ अंकको अग्रता लिएको छ ।

बार्सिलोना ११ अंक अगाडि

च्याम्पियन्स लिगमा चेल्सीलाई सिकार बनाएका मेसीले नोउ क्याम्पमा बिल्बाओविरुद्ध लगातार छैटौं खेलमा गोल गरेर बार्सिलोनालाई घरेलु लिगमा उपाधि नजिक पुर्‍याएका हुन् । ‘उनी हरेक दिन केही नयाँ गर्छन् । केही फरक गर्छन् । आफूले के गर्नुपर्छ भन्नेमा उनी धेरै सचेत छन्, जुन हरेक क्षण टिमलाई आवश्यक पर्दछ,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टे भाल्भेर्डेले मेसीबारे भने । यो सिजन मेसी २५ गोलसहित स्पेनी लिगमा सबभन्दा अगाडि छन् ।

‘धेरैपल्ट प्रशिक्षकले खेलाडीलाई सिकाउने गर्छन् तर वास्तवमा प्रशिक्षकले पनि खेलाडीसँगै सिकिरहेका हुन्छन् । आशा गरौं हामी सँगै सिकिरहने छौं,’ भाल्भेर्डेले भने । मेसीका महान् प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल गरेपछि रियल म्याड्रिड ६–३ ले जिरोनालाई हराएर तेस्रो स्थानमा उक्लियो । तर अझै रियल १५ अंकले बार्सिलोनाभन्दा पछाडि छ ।

बार्सिलोनाले प्रभाव जमाएको खेलको आठौं मिनेटमै उसलाई पाको अल्कासेरले अग्रता दिलाएका थिए । उसले बिल्बाओलाई निरन्तर दबाब दियो । ओसुमाने डेम्बेलेको पासमा मेसीले ३० औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए । बार्सिलोनाले ला लिगामा अपराजित खेल ३६ सम्म पुर्‍यायो । रियल सोसिडाडले सन् १९७९ र १९८० मा बनाएको कीर्तिमानभन्दा बार्सिलोना दुई खेलमात्र टाढा छ ।

भ्यालेन्सियालाई उछिन्दै रियल तेस्रो स्थानमा उक्लिएको हो । बेर्नाबेउको सफलतापछि रोनाल्डोले यो सिजन ला लिगामा व्यक्तिगत गोलसंख्या २२ पुर्‍याए । उनले सबैखाले प्रतियोगितामा पछिल्ला १३ खेलमा २१ गोल गरेका छन् । ‘उनले ला लिगामा मेसी (तीन गोल अगाडि) लाई भेट्टाउने आशा छ । यो उनका लागि महत्त्वपूर्ण हो र हाम्रा लागि पनि,’ रियलका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘जब रोनाल्डोले राम्रो खेल्छन्, टिमले पनि राम्रो खेल्छ ।’

दोस्रो स्थानको एट्लेटिकोले भिल्लारियलसँग २–१ ले हारेपछि बार्सिलोनालाई उपाधि समर्पण गरेजस्तै भएको छ । टर्कीका २० वर्षीय फरवार्ड इनेस उनालले अन्त्यतिर दुई गोल गरेपछि भिल्लारियलले डिएगो सिमोनीको टिमविरुद्ध जित हात पारेको थियो । एट्लेटिकोका लागि एन्टोनी ग्रिजमनले गोल गरेका थिए ।

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेको सेभिया भने लेगानेससँग २–१ ले हार्‍यो । सेभिया अविश्वसनीय रूपमा युनाइटेडलाई हराएर च्याम्पियन्स लिग क्वाटरफाइनल छनोट भएको थियो ।

नेपोलीको आस कायमै
रोम– स्पेनी डिफेन्डर राउल अल्बियोलले विजयी गोल गर्दै जेनुआमाथि १–० को सफलता दिलाएर आइतबार नेपोलीको सिरि ‘ए’ उपाधि जित्ने आशा कायमै राखेका छन् । जितसँगै नेपोलीले शीर्षस्थानको युभेन्ट्ससँगको दूरी २ अंक बनायो ।

लगातार सातौंपल्ट इटालियन लिग उपाधि जित्ने अभियानमा रहेको युभेन्ट्स आइतबार एसपीएलसँग गोलरहित बराबरीमा रोकिएको थियो । त्यसले नेपोलीलाई सन् १९९० यता पहिलोपल्ट लिग जित्ने आस देखाएको हो । अघिल्लो दुई खेलमा नेपोलीले रोमाविरुद्ध ४–२ को हार र इन्टर मिलानसँग गोलरहित बराबरीपछि लिगको उपाधि होड युभेन्ट्सको नियन्त्रणमा गएको थियो ।

बायर्नको पराजय
बर्लिन– सब्स्टिच्युट टिमो वार्नरले दोस्रो हाफमा निर्णायक गोल गरेपछि लाइप्जिगले आइतबार बुन्डेसलिगामा शीर्षस्थानको बायर्न म्युनिखलाई २–१ ले स्तब्ध बनाएको छ । नोभेम्बरयता पहिलो खेल हारेको बायर्न सबै किसमका प्रतियोगिताका १९ खेलमा अपराजित थियो । लिगमा बायर्न १७ अंकले अगाडि छ ।

प्रकाशित : चैत्र ६, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?